+
+
अन्तर्वार्ता :

म तेस्रो धारबाट कांग्रेस महामन्त्रीको उम्मेदवार

अमृत सुवेदी अमृत सुवेदी
२०७८ भदौ २७ गते १९:५०

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १३औं अधिवेशनमा प्रदीप पौडेल १ हजार ७०९ मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । विद्यार्थी आन्दोलनबाट आएका उनी तेस्रो धार भनिएको कृष्णप्रसाद सिटौला समूहबाट विजयी बनेका थिए । १३ औं महाधिवेशनकै प्यानललाई निरन्तरता दिँदै १४ औं महाधिवेशनमा आफू पार्टी महामन्त्रीको उम्मेदवार बन्ने उनी बताउँछन् । पौडेलसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :

महामन्त्रीको उम्मेदवारी घोषणा गर्न गाह्रो भइरहेको अवस्था हो ?

म क्रियाशील सदस्यता छानबिन समितिमा सदस्य थिएँ । अहिले समिति नरहे पनि हामीले सचिवालयलाई सहयोग गरिरहेका छौं । क्रियाशील सदस्यता विवाद टुंगिएपछि र वडाहरुमा अधिवेशन भइसकेपछि उम्मेदवारी घोषणा गर्छु । औपचारिक रुपमा घोषणा नभए पनि म महामन्त्रीमा उठ्दैछु भनेर सबैलाई थाहा छ । २–४ दिनभित्रै घोषणा पनि गर्छु ।

प्रतिस्पर्धीहरुको अवस्था हेरेर उम्मेदवारी घोषणाको निर्णय गर्ने हो ?

त्यसरी कुरिरहेको होइन । सबै जिल्लाका वडामा अधिवेशन भएपछि उम्मेदवारी दिउँला भन्ने हो । आफूलाई महामन्त्रीको स्वभाविक उम्मेदवार सम्झिएर, नेपाली कांग्रेसलाई समग्र ढंगबाट सच्याउने, प्रभावकारी ढंगले पार्टी गतिविधि सञ्चालन गर्ने योजनासहित मैदानमा आउँछु ।

तेस्रो धारमै अडिग रहेर महामन्त्रीमा उम्मेदवारी दिँदैछु । महाधिवेशनमा धारहरु उदाउने, गुटहरु जन्मिने परिस्थिति बन्छ नै । हामी अलिकति भिन्न ढंगको वैचारिक हिसाबले संगठित हुने, फरक ढंगबाट प्रस्तुत हुने सोचका साथ अगाडि बढिरहेका छौं ।

कहिलेसम्म प्यानल बन्ला, के छलफल भइरहेको छ ?

यो कांग्रेसको आन्तरिक लोकतन्त्रको कुरा हो, जनतामा जाने विषय होइन । स्वभाविक हिसाबले एउटा विचार समूह एक ठाउँमा उभिन्छौं । केन्द्रीय महाधिवेशन आउन अझै दुई महिना बाँकी छ । प्यानल त उम्मेदवारीको प्रक्रियासँगै पनि बन्न सक्छ ।

अघिल्लो महाधिवेशनमा तेस्रो धार भनिएको कृष्णप्रसाद सिटौला नेतृत्वको समूहमा जोडिनुभएको छ । अब पनि त्यो समूहबाटै तपाईंको उम्मेदवारी आउँछ ?

त्यही धारमै अडिग रहेर महामन्त्रीमा उम्मेदवारी दिँदैछु । महाधिवेशनहरुमा धारहरु उदाउने, गुटहरु जन्मिने परिस्थिति बन्छ नै । हामी अलिकति भिन्न ढंगको वैचारिक हिसाबले संगठित हुने, फरक ढंगबाट प्रस्तुत हुने सोचका साथ अगाडि बढिरहेका छौं । महाधिवेशनको प्यानल पनि अब चाँडै सार्वजनिक हुन्छ । अरु धेरै जना संगठित हुने अवस्था पनि बन्छ ।

अघिल्लो महाधिवेशनमा सिटौला समूहबाटै महामन्त्रीको उम्मेदवार बनेका गगन थापा अहिले अर्कै समूहबाट उम्मेदवारी घोषणा गरिसक्नुभयो । उहाँ अन्त लागेको यो समूहबाट जित सुनिश्चित नदेखेर कि तपाईं पनि उम्मेदवार भएर ?

गगनजीले हामीबाट छुट्टिएको वा अन्तै गएको भन्नुभएको छैन । हामी १३ औं महाधिवेशनकै संगठित समूह हौं । अहिले यो अझै फैलिएको छ । महाधिवेशनमा प्रतिस्पर्धाका लागि विभिन्न ढंगबाट संगठित हुने कुरा हुन्छ नै  । चालु स्वरुपलाई निरन्तरता दिएर अगाडि बढ्ने परिस्थिति पनि बन्छ । हामी यसमा छलफल पनि गर्नेछौं ।

नेपाली कांग्रेसभित्र यथास्थितिलाई बदल्न खोजिएको छ । परिवर्तन पक्षधरहरु संगठित हुने कुरा स्वभाविक हुन्छ । यो व्यक्ति व्यवस्थापनको कुरा मात्र होइन, वैचारिकी निर्माणको विषय पनि हो । यो जित–हारको कुरा मात्र होइन, नेपाली कांग्रेसलाई वैचारिक र कार्यक्षमताको दृष्टिबाट शसक्त बनाउने विषय पनि हो ।

अघिल्लो महाधिवेशनमा सफलता मिलेन, यसपालि यो धार स्थापित हुन्छ त ?

सीमित घेराबाट पार्टी बन्दैन, नेतृत्व सफल हुँदैन । त्यसैले कांग्रेसभित्र वैचारिकी निर्माण गर्ने, कमजोरी हटाएर आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने, राष्ट्रिय मुद्दाहरु उठाउने र त्यसको नेतृत्व गर्ने परिस्थिति निर्माण गर्न हामी लागिरहेका छौं ।

एउटा व्यक्ति पदमा आउनेभन्दा पनि उसले के विचार बोकेको छ ? उम्मेदवारी केका लागि हो ? अहिलेको स्थिति र समस्यालाई कसरी समाधान गर्छ भन्ने कुरा महत्वपूर्ण हो । नेतृत्व र पार्टीका साथीहरुसँग छलफल गरेर, एजेण्डामा आफूलाई जोडेर उम्मेदवारी दिन्छु । एउटा मियो समाउनै पर्ने, हिजोदेखिकै समूहबाट प्रतिनिधित्व गर्नुपर्ने अवस्था भयो ।

यो महाधिवेशनबाट तेस्रो धार र तेस्रो पुस्ता जबर्जस्त रुपमा उदाउँछ । यो महाधिवेशनले युवा खोज्छ, धेरै पदमा नयाँ अनुहार ल्याउँछ । कांग्रेसमा केही नयाँ हुनेवाला छ ।

कांग्रेसको महाधिवेशनमा पुस्ता हस्तान्तरणको विषय जोडतोडले उठ्छ तर नेतृत्व र पदाधिकारी पुरानै दोहोरिन्छन् । यो महाधिवेशनबाट परिवर्तन सम्भव छ ?

१४औं महाधिवेशनबाट पुस्तान्तरण हुने निश्चित छ । यो महाधिवेशनले तेस्रो पुस्तालाई पदाधिकारी र केन्द्रीय समितिमा ल्याउँछ ।

उमेरकै हिसाबले सुविधा पाउनुपर्छ भन्ने होइन अब कसले के विचार बोकेर ल्याएको छ भन्ने कुराले महत्व पाउँछ । एजेण्डा, सम्भावना र समयको माग अनुसार छनोट हुन्छ ।

यसका आधारहरु के–के देख्नुभयो ?

अहिले प्रतिनिधित्व पनि पहिलेभन्दा धेरै छ । त्यसमा पनि युवाको आकर्षण बढेको छ । समावेशी पनि बन्दै गएको छ । समाजका विभिन्न पक्षलाई जोड्ने परिस्थिति कांग्रेसभित्र विकास भइरहेको छ । वडा तहकै निर्वाचनले पनि सुखद् संकेत दिइरहेको छ । त्यहाँबाट क्षेत्रीय प्रतिनिधि भएर आएकाहरुको अनुहारले शुभसंकेत दिइरहेको छ ।

पार्टीमा परम्परागत गुट र मनोविज्ञान हाबी हुने भएकोले परिवर्तन त्यति सजिलो हुँदैन । तर, अहिले युवाको संख्यात्मक प्रतिनिधित्व ज्यादा देखिएको छ । तल्लो तहमा युवा हुँदैमा नेतृत्वमा पनि पुग्छन् भन्ने नहोला, तर आशा गर्ने ठाउँ दिएको छ । क्षेत्रीय प्रतिनिधि बनेर आएका युवाले छान्ने महाधिवेशन प्रतिनिधि युवा नै हुने सम्भावना बढी हुन्छ । महाधिवेशन समितिमा त्यही युवापुस्ताको बाहुल्यता भयो भने केन्द्रीय नेतृत्वमा पनि युवा प्रतिनिधि बढ्छ ।

गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसक्नुभयो । डा. मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, डा. प्रकाशशरण महतलगायत पनि महामन्त्रीमा उठ्ने चर्चा छ । तपाईंले राजनीति शुरु गर्दा स्थापित भइसकेका नेताहरु पनि छन्, प्रतिस्पर्धा कस्तो होला ?

नेतृत्वमा आँट गर्न नसकेको तर कार्यकारी भूमिका चाहेको व्यक्तिले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने कुरा स्वभाविक हो । पार्टीमा योगदान गरेको, गर्न सक्ने विश्वास बोकेको पात्र नै उम्मेदवार बन्ने हो । आफूलाई प्रभावकारी भूमिकामा उभ्याउने, म भोलि नेतृत्वमा आउने हो है भन्नका लागि पनि महामन्त्रीको दाबेदार हुनु स्वभाविक हो ।

उम्मेदवारी दिने सबै नेताप्रति मेरो श्रद्धा, आदरभाव छ । तर, नेतृत्व उमेरको होइन, एजेण्डाको आधारमा हुनुपर्छ । धेरै वर्ष झोला बोक्दैमा वा युवा हुँ भन्दैमा नेता भइँदैन । अहिलेको समस्या पहिचान गरेर समाधान दिन र परिवर्तनलाई आत्मसात गर्न सक्नेहरु नेतृत्वमा आउनुपर्छ ।

महामन्त्रीका अरु उम्मेदवार पनि एकसे एक हुनुहुन्छ, युवा पनि हुनुहुन्छ । यो प्रतिस्पर्धामा जसले जिते पनि कांग्रेसले जित्ने हो । व्यक्ति को आयो भन्दा पनि कस्तो व्यक्ति आयो र अब कांग्रेस कस्तो होला भन्ने कुरा मुख्य हो ।

नेपाली कांग्रेस सच्चिएर, प्रष्टिएर आएको सन्देश दिन जरुरी छ । नेपाली जनतालाई ‘अपडेटेट’ कांग्रेस चाहिएको छ । यी कार्यभार पूरा गर्ने विश्वासका साथ मैले महामन्त्रीमा उम्मेदवारी दिन लागेको हुँ ।

कांग्रेसमा आशाका नजरले हेरिएका युवा नेताहरु एउटै पदमा लड्नुभन्दा सबै अट्ने बनाउन सम्भव थिएन ? सबै जनाले गुटगत छहारी नै किन रोज्नुपरेको हो ?

मैले त आशा जगाउने, पार्टीमा तरंग ल्याउने ढंगबाट मुख्य नेतृत्वदेखि तलसम्मै प्यानलै बनाएर अगाडि बढौं भनेको हुँ । तर, त्यस्तो हुन सकेन । धेरैले महामन्त्रीमै आफूलाई योग्य ठानेपछि प्रतिस्पर्धा हुने कुरा अनौठो भएन । त्यसका लागि आ–आफ्नो विचार मिल्ने समूहमा लाग्नु स्वभाविकै हो । अब प्रतिस्पर्धालाई हार्दिकतापूर्ण बनाउने हो । जित्ने र जितको नजिक पुग्ने जो कोही नेता हुन सक्छ । आफूलाई भूमिकामा राख्न सक्छ ।

अब व्यक्तिभन्दा पनि उसले ल्याउने विषयको प्रतिस्पर्धा जरुरी भयो । आशा गरिएका व्यक्तिहरुबीचको प्रतिस्पर्धा हो भने यसबाट पार्टीलाई थुप्रै कुरा प्राप्त हुनुपर्छ । केका लागि प्रतिस्पर्धा ? केका लागि आफूलाई उभ्याइएको ? त्यो आधार तय हुनुपर्छ । प्रतिस्पर्धीका एजेण्डाहरु सिंगो पार्टीको एजेण्डा र बहसको विषय हुनुपर्छ । प्रतिस्पर्धा पनि महाधिवेशनबाट खुराक प्राप्त हुने गरी गरौं ।

नेतृत्वका लागि तीनवटा प्यानल हुने देखियो । एउटै समूहमा धेरै जना आकांक्षी हुँदाको फाइदा–बेफाइदा के–के हुन् ?

मैले अघि नै भने, यसपटक नेपाली कांग्रेसको महाधिवेशन पहिलाभन्दा फरक हुनेवाला छ । तर, विडम्बना के छ भने योजना, कार्यक्रम र विचारका आधारमा प्रतिस्पर्धा भन्दा पनि व्यक्तिहरुको टकराव हुने देखिन्छ । थुप्रै समस्या छन् ।

अर्कोतिर थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय एजेण्डा छन्, जसको उत्तर खोज्नु, कांग्रेसको आधिकारिक धारणा बनाउनु छ । यस्ता एजेण्डामा प्रतिस्पर्धा नभए व्यक्तिगत प्रतिस्पर्धा हुन्छ । त्यसैले पछिल्लो पुस्ता फरक ढंगले प्रस्तुत हुन परेको छ ।

धेरै जना प्रतिस्पर्धामा आउँदाका फाइदा र बेफाइदा दुवै छन् । लामो समय पार्टीमा योगदान गरेका क्षमता भएका नेताहरु पनि प्रतिस्पर्धा गरेर बाहिरिने सम्भावना पनि उत्तिकै हुन्छ । यो पटक सभापतिमा उम्मेदवारी घोषणा गरेकामध्ये धेरै नेता राजनीतिबाट बाहिरिनु पर्ने पक्का छ ।

प्रतिस्पर्धीबाटै योग्य व्यक्ति आउने सम्भावना पनि हुन्छ । यो महाधिवेशनमा छनोटको दायरा फराकिलो हुने देखिँदैछ । मुख्य पदका धेरै प्रतिस्पर्धी हुँदा नेतृत्व ‘सिफ्ट’ हुने सम्भावना पनि उत्तिकै छ । व्यक्तिबीचकै टकराव हो, पदकै लडाइँ हो भन्ने देखियो भने चाहिं निराशा ल्याउँछ ।

उमेरकै हिसाबले सुविधा पाउनुपर्छ भन्ने होइन अब कसले के विचार बोकेर ल्याएको छ भन्ने कुराले महत्व पाउँछ । एजेण्डा, सम्भावना र समयको माग अनुसार छनोट हुन्छ ।

महामन्त्रीको उम्मेदवार बन्दैगर्दा कांग्रेस पार्टीको आन्तरिक जीवन र अरु विषयमा तपाईंका एजेण्डाहरु पनि होलान् नि ?

कांग्रेसका आन्तरिक व्यवस्थापनका थुप्रै विषय छन्, जसमा महामन्त्रीको भूमिका हुन्छ । त्यसका लागि विधान सच्याउनुपर्ने होला ।

बाह्य रुपमा पनि कांग्रेसले प्रष्ट्याउन बाँकी थुप्रै विषय छन् । हामी आफूलाई समाजवादी भन्छौं, तर समाजवादी दृष्टिकोण निर्माण गर्ने सवालमा आफूलाई प्रष्ट्याउन सकेका छैनौं । आफूलाई जनजीविकाको सवालसँग जोड्न सकिरहेका छैनौं । शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायातजस्ता नागरिकका सवाललाई प्रष्ट्याउन सकेका छैनौं । सत्तामा हुँदा थुप्रै पटक गल्ती, कमजोरी गरेका छौं । हामीले त्यो अनुभवका आधारमा सच्चिएर अगाडि बढ्नुपर्ने हुन्छ ।

मुलुकका राष्ट्रिय मुद्दाहरुमा लक्ष्य निर्धारण गरेर कांग्रेस अगाडि बढ्नुपर्ने अर्को विषय छ । पार्टीले समृद्धिको आधार तयार गर्नुपर्ने छ । कांग्रेस धेरैको भरोसाको दल हो । नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको दल हो कांग्रेस । यी सवालमा कांग्रेस सशक्त रुपमा प्रस्तुत हुन सकिरहेको छैन । नेपाली कांग्रेस सच्चिएर, प्रष्टिएर आएको सन्देश दिन जरुरी छ ।

नेपाली जनतालाई ‘अपडेटेट’ कांग्रेस चाहिएको छ । यी कार्यभार पूरा गर्ने विश्वासका साथ मैले महामन्त्रीमा उम्मेदवारी दिन लागेको हुँ ।

तपाईं क्रियाशील सदस्य छानबिन समिति सदस्य हुनुभयो । कांग्रेसमा जहिल्यै सदस्यता विवाद किन हुन्छ ?

चार वर्षमा गर्नुपर्ने काम ४० दिनमा गर्न खोज्दा समस्या आउँछ । अधिवेशन आउन लागेपछि मात्र क्रियाशील सदस्यताको काम गर्न थाल्दा यस्तो भएको हो । यही कारण सधैं विवाद हुन्छ ।

अर्को कुरा, क्रियाशील सदस्यता वितरणको विषय अधिवेशनको गणितसँग जोडिन्छ । भोट दिनेलाई सदस्यता दिने, भोट नदिनेलाई निषेध गर्ने मनोवृत्तिका कारण पनि समस्या आएको हो ।

अन्ततः महाधिवेशन हुँदैछ, सरकारको नेतृत्व कांग्रेसले नै गरेको छ र लगत्तै निर्वाचनमा जानुपर्ने छ । कांग्रेसमा यसको प्रभाव र असर कस्तो होला ?

संविधानका मूलभूत विषयहरुमाथि प्रहार हुन थालेको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताका सवालमा प्रश्नहरु उठिरहेका छन् । यस्तो बेलामा हुन लागेको महाधिवेशन र त्यहाँ उठ्ने एजेण्डाहरुले सरकार र आउँदो चुनावसम्म प्रभाव र असर पार्न सक्ने देखिन्छ ।

कांग्रेसले चुनावको तयारी पनि गर्छ । पार्टीले लिने विचार र एजेण्डामा जनताको विषय र चुनावी परिणाम निर्भर हुन्छ ।

यो सरकार लामो समय रहँदा निर्वाचनमा फाइदा नहुने स्थिति बन्न सक्छ । त्यसैले संवैधानिक व्यवस्थाभित्रबाट जतिसक्दो छिटो निर्वाचन गराउने कोशिश गर्नुपर्छ । त्यतिञ्जेल सरकार निर्णयहरुमा विवादित हुनु हुँदैन, नियुक्तहरुमा चुक्नु पनि भएन । सकेसम्म धेरै ‘डेलिभर’ हुनुपर्छ । महामारीबाट बचाउने परिणामुखी योजना हुनुपर्‍यो । अघिल्लो सरकारले भद्रगोल बनाएको निकायहरुलाई चुस्तदुरुस्त पार्न पर्‍यो ।

धेरै काम नहुन सक्ला, तर एकाध परिवर्तन त गरेर देखाउनै पर्‍यो । सरकार थोरै समय चलाउने, बिग्रने गरी निर्णयहरु नगर्ने र यहीबीच निर्वाचनमा जान सक्दा कांग्रेसले सबैलाई हराउने अवस्था बलियो बन्छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?