+
+

तीन हजारदेखि डेढ लाखसम्मका हेल्मेट, कसरी छान्ने सुरक्षित हेल्मेट ?

गौरव कुमार पाठक गौरव कुमार पाठक
२०७८ भदौ २९ गते १६:४२

मोटरसाइकल चढ्नेहरुको लागि नेपालभर हेल्मेट अनिवार्य गरिएको छ । हरेक मोटरसाइकल चालकले अनिवार्य हेल्मेट पनि लगाउँछन् । तर के ती हेल्मेटहरु साँच्चै सुरक्षित छन् त ?

बजारमा गुणस्तर चिह्न प्राप्त नभएका चिनियाँ र लोकल हेल्मेटहरु प्रशस्तै पाइन्छन् । तर ती हेल्मेटहरु सुरक्षाको दृष्टिले उचित हुँदैन । सबै सामानको छुट्टाछुट्टैै गुणस्तर हुन्छ । चामलको लागि छुट्टै, डण्डीको लागि छुट्टै गुणस्तर तोकिए जस्तै विश्व बजारमा हेल्मेटको पनि छुट्टै गुणस्तर तोकिएको हुन्छ । हेल्मेट किन्दा त्यस्तो सर्टिफाइड हेल्मेट खोज्नुपर्छ ।

हेल्मेटको गुणस्तर के हो ?

गुणस्तरको हिसाबमा हेल्मेटको पनि छुट्टाछुट्टै स्ट्याण्डर्ड हुन्छ । हेल्मेटको स्टेण्डर्डको लागि अमेरिकामा डट, युरोपको गुणस्तर चिह्न प्राप्त हेल्मेटमा ईसीई चिह्न हुन्छ । त्यस्तै, हेल्मेट सरकारी तहबाट मात्रै गुणस्तर चिह्न प्राप्त गरिँदैन । निजी एवं गैर नाफामूलक संस्थाले पनि हेल्मेटको गुणस्तर तोक्ने गर्छन् । जस्तो स्नेल मेमोरियल फाण्डेसनले पनि गुणस्तर चिह्न प्रदान गर्छ । यी गुणस्तर चिह्न (स्नेल चिह्न) युक्त हेल्मेटहरु पनि नेपाली बजारमा प्रशस्तै पाइन्छ ।

अर्काे सार्प पनि युकेको स्वतन्त्र रुपमा हेल्मेटको गुणस्तर चिह्न प्रदान गर्ने संस्था हो । अहिले यसबाहेक चीनमा छुट्टै, थाइल्याण्डको छुट्टै गुणस्तर चिह्न प्राप्त हेल्मेटहरु हुन्छन् । ती जुनसुकै देशको भए पनि गुणस्तर चिह्न प्राप्त हेल्मेटहरु भएको खण्डमा त्यो सुरक्षित हुन्छ । त्यसैले हेल्मेट खोज्दा गुणस्तर चिह्न प्राप्त हेल्मेट नै खोन्नुपर्छ ।

गौरव कुमार पाठक

हेल्मेटको न्यूनतम मापदण्ड के हो ? कस्तो हेल्मेट बढी सुरक्षित हुन्छ ?

हेल्मेटको न्यूनतम मापदण्ड भनेकोे आईएसआई मार्ट युक्त हेल्मेट हो । तर यो मापदण्ड हेर्दा पनि ध्यान दिनुपर्ने कुरा भनेको आईएसआई मार्ट स्टिकर टाँसेको हुनुहुँदैन । त्यो हेल्मेटमै एटेज भएको हुनुपर्छ ।

हेल्मेट २ थरीको प्रविधिबाट बनेको हुन्छ । एउटा थर्माेप्लास्टिकबाट र अर्काेथरी फाइबर कम्पोनेन्टबाट । थर्माेप्लास्टिकले बनेको वा दुईवटा इपीएसले बनेका हेल्मेटहरु चारवटा इपिएसले बनेको हेल्मेटको तुलनामा कम सुरक्षित हुन्छन् । अर्थात् दुईवटा इपीएसले बनेको हेल्मेट फुट्यो भने २ फक्ल्याँटा बन्छ । यसमा दुई भाग जोड्ने काम मात्रै हुन्छ । तर चार वटा इपीएस हुनेमा एकले अर्काेको साहाराको काम गर्ने भएकोले यो बढी सुरक्षित हुन्छ । त्यसैले हेल्मेट किन्दा सकेसम्म चारवटा इपीएस भएको हेल्मेट किन्नु राम्रो हुन्छ । यद्यपि दुईवटा ईपीएस भएको हेल्मेट असुरक्षित भने हुँदैन । यसमा पनि गुणस्तर चिह्न भने छ÷छैन हेर्नुपर्छ ।

यसरी सर्टिफिकेसन नभएको हेल्मेट किन्दा पछि भाइजर बिग्रिने, लक छिटो बिग्रिने जस्ता समस्याहरु बढी देखिन्छ ।

हेल्मेट किन्दा ध्यान दिने कुराहरु केके हुन् ?

हेल्मेट किन्दा मुख्यतया ध्यान दिनुपर्ने भनेको पैसा र गुणस्तर हो । सस्तोको लागि गुणस्तरसँग सम्झौता गर्ने र गुणस्तरको नाममा महँगै हेल्मेट किन्नुपर्छ भन्ने हुँदैन । बजारमा गुणस्तर चिह्न प्राप्त तीन हजार रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्मका हेल्मेट पाइन्छ । त्यसैले सबैभन्दा पहिले कतिसम्म खर्च गर्ने भन्ने यकिन गरेर सोही अनुसार गुणस्तरको हेल्मेट खोज्नुपर्ने हुन्छ ।

हेल्मेट किनेपछि के गर्ने ?

हेल्मेट किनेर मात्रै हुँदैन । हाम्रो सुरक्षाको लागि किनिएको हेल्मेटको हामीले पनि सुरक्षा गर्नुपर्छ । हेल्मेट किनेपछि केही कुरामा हामीले ख्याल गर्नुपर्ने हुन्छ । सामान्यतया हेल्मेट बोक्ने तरिका धेरैलाई थाहा नहुन सक्छ । हेल्मेट बोक्दा लक लगाउने भाग र क्लिपलाई समातेर हिन्ने गर्नुपर्छ । हामी एउटा हेल्मेट धेरैसँग बाँडिचुँडी गरेर लगाउँछौं । तर यो आफैँमा गलत कुरा हो । हाम्रो छालासँग सम्बन्धित कुराहरु सकेसम्म अरुलाई दिनुहुँदैन । अन्यथा, हेल्मेटको साइज बिग्रिने, अन्य विभिन्न छालासम्बन्धी रोगहरु सर्ने र हेल्मेट छिटो बिग्रने सम्भावना समेत हुन्छ । त्यसैले सकेसम्म हेल्मेट सेयर गर्नु हुँदैन ।

लगाउँदै जाँदा हेल्मेट बिग्रन सक्छ । त्यसलाई सफा गर्दा केमिकलको प्रयोग गर्नुहुँदैन । हेल्मेट सफा गर्दा चिसो कपडाले सफा गर्न सकिन्छ । अन्यथा हेल्मेट क्लिनर लगाउन सकिन्छ ।

भ्यालेन्टिनो रोसीको हस्ताक्षर युक्त हेल्मेटको मूल्य कति ?

इटालियन प्रख्यात मोटरसाइकल राइडर भ्यालेन्टिनो रोसीको हस्ताक्षरयुक्त हेल्मेट पनि नेपाली बजारमा पाइन्छ । यो कार्बन फाइबरले बनेको हेल्मेट हो । यसको बजार मूल्य डेढलाख रुपैयाँ छ ।

यसमा आफ्नो फेसको हिसाबले एड्जस्ट गर्न मिल्छ । यसमा हाइड्रोसिल पाइप हुन्छ, यस पाइपलाइन जोडेर हेल्मेट लगाएरै बाइक कुदाउँदा कुदाउँदै पानी पिउन सकिन्छ ।

दुर्घटना हुँदा बढी जोखिम भनेको घाँटीमा हुन्छ । त्यसको सुरक्षाका लागि पनि हेल्मेटमा सुरक्षा प्रविधि अपनाइएको हुन्छ । यी सबै सुविधा, यसको ब्राण्ड भ्यालु र भ्यालेन्टिनो रोसीको हस्ताक्षरका कारण पनि यो हेल्मेट अरुभन्दा महँगो बनेको हो ।

(पाठक बाइकर्स मार्टका प्रवन्ध निर्देशक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?