+
+

जब्बर जानुका: लिडर पनि, निडर पनि

भौतिक उपस्थितिमा पढाउँदा कारबाहीमा परेकी प्रधानाध्यापक जानुका

नुनुता राई नुनुता राई
२०७८ भदौ ३० गते ११:५५

नीलबाराही मावि कालीमाटी उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालय मध्ये एक हो । २०१० सालमा स्थापना भएको विद्यालयको २०६२ सालमा पहिलो महिला प्रधानाध्यापक बनिन् जानुका नेपाल पौडेल ।  १२ सय विद्यार्थी रहेको विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ । आफ्नो रात–दिनको मिहिनेतले उत्कृष्ट विद्यालय मध्ये एक बनाउन सफल भएको जानुकाको दाबी छ ।

कोरोना संक्रमणका कारण २०७६ साल चैतदेखि भदौसम्म विद्यालय बन्द भयो । त्यसबेला सरकारले भने जस्तो वैकल्पिक सिकाइसँग विद्यार्थीलाई जोड्न सम्भव थिएन । त्यसको लागि विद्यालय आफैं पनि पर्याप्त प्रविधिको पहुँचमा थिएन । अधिकांश विद्यार्थी प्रविधिको पहुँचमा थिएनन् । वैकल्पिक माध्यम रेडियो, टेलिभिजनको पहुँचमा समेत नहुँदा बन्द अवधिमा बालबालिका सिकाइबाट पूर्ण रूपमा वञ्चित रहे । प्रअ जानुका भन्छिन्, ‘शुरूको केही महीना त अब के गर्ने भन्ने विषयमा नै अल्मलियौं । विस्तारै उपाय खोज्न थाल्यौं । तत्कालका लागि वैकल्पिक माध्यममा जान सकिने अवस्था नै थिएन ।’

लामो समय विद्यालय बन्द हुँदा विद्यालयले विद्यार्थीको अवस्था अध्ययन ग¥यो । त्यसपछि मोबाइल तथा इन्टरनेटको पहुँचमा भएकालाई अनलाइन, रेडियो तथा टेलिभिजन भएकालाई त्यहाँबाट प्रसारित सामग्री र त्यो पनि नभएका विद्यार्थीलाई भने भदौदेखि आलोपालो प्रणालीमा विद्यालयमा नै पढाउन थाल्यो । विद्यालय भौतिक उपस्थितिमा नखोल्न कडाइ गरेको अवस्थामा पनि नीलबाराहीले कुनै पनि माध्यममा पहुँच नभएका विद्यार्थीलाई विद्यालयमा नै बोलायो ।

आलोपालो प्रणालीबाट विद्यालयमा नै पढाउन थालियो । यो समाचार बाहिरिएपछि प्रधानाध्यापकलाई महानगरको शिक्षा शाखाले स्पष्टीकरण सोधेर कारबाही ग¥यो । ‘त्यसबेला म विद्यालय खोल्न बाध्य भएँ । किनभने हाम्रा केही बालबालिका कुनै पनि माध्यमको पहुँचमा थिएनन् । जसको कारण पूर्ण रूपमा सिकाइबाट वञ्चित भएका थिए ।’ प्रअ भन्छिन्, ‘ती बालबालिकालाई सिकाइसँग नजोड्दा उनीहरूमाथि अन्याय हुन्थ्यो ।’ बालबालिकालाई भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर नै राखिएको थियो ।

महानगरले स्पष्टीकरण लिएपछि विद्यालय फेरि केही समयका लागि पूर्ण रूपमा बन्द भयो । बालबालिकालाई त्यही अनुसार सूचित गरियो ।

त्यसपछि तिहारको भोलिपल्टदेखि फेरि ती विद्यार्थीलाई विद्यालयमा नै बोलाएर पढाउन थालियो । कुनै पनि पहुँचमा नभएका बालबालिकालाई बोलाउनुको विकल्प नभएको कारण त्यस्तो गरिएको उनको दाबी छ । भन्छिन्, ‘हामीले बालबालिकालाई अनिवार्य गरेका थिएनौं । आउन चाहन्छौ भने आउ भनेका थियौं । अभिभावकलाई पनि त्यही भनेका थियौं तर पहुँचमा नभएकाहरू सबै आए ।’

मंसीरदेखि सबै विद्यालय खुले । सामान्य हुँदै गयो । फेरि गत वैशाख १६ मा दोस्रो लहरको कोरोनाभाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले लकडाउन जारी ग¥यो । त्यसपछि फेरि विद्यालय बन्द भयो । यसपटक गत वर्षको भन्दा बढी विद्यार्थी अनलाइनमा जोडिए । विद्यालयले पनि प्रविधिहरू थप गरेको छ । राष्ट्रपति शैक्षिक सुधारका लागि पाएको रकमबाट २७ वटा ल्यापटप शिक्षकहरूलाई वितरण गरेको छ । पाँच कक्षा भन्दा तलका बालबालिकाका अभिभावकलाई आफ्ना बालबालिका घरमा पढाउन भनिएको छ । पाठ्यसामग्री दिइएको छ । विषय शिक्षकले फोन गरेर उनीहरूको बारेमा सोधपुछ गर्छन् ।

६ कक्षा भन्दा माथिकालाई पहुँच अनुसार अनलाइनमा जोडिएको छ । कुनै पनि पहुँचमा नभएकालाई फोनबाट सम्पर्क गरेर पढ्न सुझाव दिने र विद्यार्थीको जिज्ञासा सम्बन्धित विषय शिक्षकले समाधान गर्ने गरेका छन् । असोज १ देखि उपत्यकाका विद्यालय खोल्न सकिने निर्णय भएको छ । तर अहिले विद्यालयको ‘रेट्रोफिटिङ’ चलिरहेकोले भौतिक उपस्थितिमा कसरी सञ्चालन गर्ने भन्ने अन्योलमा परेको बताइन् ।

महिला शिक्षक समाज

‘नेपाली समाजमा पितृसत्तात्मक सोच भएका मानिसको बाहुल्य छ । यस्तो सोच भएका मानिस सबै क्षेत्रमा छन् । हाम्रो शिक्षण क्षेत्रमा पनि छ ।’ महिला शिक्षक समाजकी अध्यक्ष एवं नीलबाराही मावि कालीमाटीकी प्रधानाध्यापक जानुका नेपाल पौडेलले शिक्षण पेशाको यथार्थता प्रष्ट्याउँदै भनिन् ।

शिक्षण पेशाले ज्ञान, सकारात्मक सिकाइ बाँड्ने जिम्मेवारी लिएको हुन्छ । समाजका सबै वर्ग, लिंग, वर्ण भएका मानिस समान हुन् । उनीहरूको अधिकार, कर्तव्य समान हुन्छ भन्ने सिकाउँछ । तर पितृसत्तात्मक सोच भएका व्यक्तिहरूले बोलीमा र व्यवहारमा फरक देखाउँछन् । त्यही व्यवहारबाट शिक्षण पेशामा भएका महिला शिक्षकहरू पनि भुक्तमान छन् । त्यही फरक व्यवहारका कारण नै जन्मिएको हो महिला शिक्षक समाज ।

महिला शिक्षक संगठित हुनुको कारण थाह पाउन २०६४ सालमा फर्किनुपर्छ । २०६४ साल मंसीरमा धुलिखेलमा दुई दिन राष्ट्रिय प्रधानाध्यापक गोष्ठी भयो । त्यसबेला तत्कालीन शिक्षामन्त्री प्रदीप नेपाल सहभागी दुई दिने गोष्ठी कार्यक्रममा देशभरका प्रधानाध्यापकहरू सहभागी भएका थिए । उद्घाटन कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई मुख्य मञ्चमा अतिथि बनाइयो । विभिन्न जिल्लाबाट सहभागी १७ जना महिला प्रधानाध्यापक भएको कार्यक्रममा पेशागत रूपमा वरिष्ठ महिला प्रधानाध्यापकलाई मञ्चमा राखिएन ।

महिला प्रधानाध्यापकहरूलाई गरिएको उपेक्षाको विरोधमा उनीहरूले तत्काल आवाज उठाए । महिला प्रधानाध्यापकहरूको विरोधपछि अर्को दिन महिला प्रधानाध्यापकलाई मञ्चमा राखियो । उक्त उपेक्षापछि उनीहरूले बृहत् छलफल गरे । अधिकांशले शिक्षक हुँदादेखि नै धेरै यस्ता उपेक्षा, विभेद भोग्दै आएको अनुभव थियो । त्यसकारण उनीहरू संगठित भएर अगाडि बढ्नुपर्ने निष्कर्ष सहित जुटे ।

सहभागी महिला प्रधानाध्यापकहरूले समग्र महिला शिक्षकहरूलाई समेत समेट्दै संगठन नै बनाएर हक, अधिकारको लागि काम गर्ने योजना बन्यो । उनीहरूले संगठन बनाउने तयारी गरिरहँदा पुरुष शिक्षकहरूले थाहा पाए । उनीहरूको योजना थाहा पाएका अधिकांशले छुट्टै संगठन बनाउन जरूरी नभएको सुझाव दिएका थिए । जानुका भन्छिन्, ‘हामीलाई समाज दर्ता गर्न नदिन धेरैले प्रयास गरे । तर हामीले हिजो भोगेको पीडा र भोलि भोग्नुपर्ने विभेद, उपेक्षासँग लड्न संगठित हुन जरूरी थियो । हामीले कसैको कुरा सुनेनौं ।’

उनीहरूको दृढ संकल्पका कारण २०६४ साल पुसमा महिला शिक्षक संगठन दर्ता भयो । गोष्ठी भएको ठीक एक महीनापछि संगठन दर्ता भयो । विजय स्मारक मावि डिल्लीबजारकी तत्कालीन प्रधानाध्यापक इन्दु काफ्लेको नेतृत्वमा ११ सदस्यीय संगठन गठन भयो । जानुका बनिन् संस्थापक सचिव ।

त्यसपछि उनीहरूले नियमित बैठक बसी महिला प्रधानाध्यापक तथा शिक्षकहरूले भोग्दै आएको विभेद विरुद्ध आवाज उठाए । उनीहरूको हक, अधिकारमा एक भएर लागे । प्रधानाध्यापक बन्ने योग्यताक्रममा रहेका महिला शिक्षकलाई मिचेर प्रधानाध्यापक बन्न खोज्ने पुरुष शिक्षकको विरोध गरे । महिलालाई प्रधानाध्यापक बनाए । जानुका भन्छिन्, ‘पितृसत्तात्मक सोच पुरुषमा मात्रै हुँदैन महिलामा पनि हुन्छ । त्यही सोचका कारण प्रधानाध्यापक बन्ने लाइनमा भएको तर म बन्दिनँ, सक्दिनँ भन्ने महिला शिक्षकलाई पनि सक्नुहुन्छ, बन्नुपर्छ भनेर बनाएका छौं ।’ महिला शिक्षक समाज गठनपछि उपत्यका लगायत विभिन्न जिल्लाका विद्यालयहरूमा रोलक्रम अनुसार महिला प्रधानाध्यापक बनेको जानुकाको दाबी छ ।

महिलाहरू कमजोर भएका कारण पेशागत नेतृत्व अथवा जिम्मेवारी निभाउन नसक्ने सोच भएका पुरुष र महिला शिक्षक आफैंमा पनि हाबी हुँदा महिलाले अवसर चुकाउने र पुरुषले हत्याउने गरेका छन् । प्रधानाध्यापक हुने रोलक्रममा महिलाको नाम भएका महिला शिक्षकलाई विभिन्न बहाना अथवा निहुँ पारेर तिमी सक्दैनौ, तिमीभन्दा अर्को व्यक्ति सक्षम भएकोले उनलाई छोडिदेऊ भनेर समेत अवसरबाट बञ्चित गराउने गरिएको छ भने कतिपय विद्यालयमा आफ्नो अडान नछोडेपछि अनेक जालझेल गरेर प्रधानाध्यापक बन्न नदिएको समेत पाइएको जानुकाको भनाइ छ । भन्छिन्, ‘महिला शिक्षकको दिमागलाई अनेक कुतर्क गरेर बंग्याएर सक्दिनँ भन्ने बनाउने र छोडाएको पनि पाइएको छ । कतिपय चाहिं महिला शिक्षक आफैं बन्छु भनेर अडान लिंदा जालझेल गरेर समेत बन्न नदिएको अवस्था छ ।’ तर महिला शिक्षक संगठन भएपछि यस्तो हुन नदिएको उनको भनाइ छ ।

संगठन भइसकेपछि धेरै जना महिला शिक्षक प्रधानाध्यापक बनाइएको उनी बताउँछिन् । यसरी सहज रूपमा, अधिकारको लागि लडेर, सशक्तीकरणका कारण महिला प्रधानाध्यापक भएका अधिकांश विद्यालय उत्कृष्ट भएको जानुकाको दाबी छ ।

महिलाको व्यवस्थापकीय कुशलताले महिलाले नेतृत्व गरेको संस्था, विद्यालय वा कुनै पनि क्षेत्रको प्रगति हुने उनको भनाइ छ । संगठन अहिलेसम्म विभिन्न १९ जिल्लामा गठन भएको छ । यी जिल्लामा भएका महिला प्रधानाध्यापक तथा महिला शिक्षकको पछिल्लो विवरण संकलनको तयारी गरिरहेको जानुकाले जानकारी दिइन् । गत जेठसम्मको समाजको तथ्यांक अनुसार माध्यमिक तथा आधारभूत विद्यालय गरेर ५५ जना महिला प्रधानाध्यापक र करीब १५ हजार महिला शिक्षक छन् ।

विद्यार्थीको समस्या बुझ्ने

संगठनले महिला शिक्षकको सशक्तीकरण, हक, अधिकारको लागि मात्रै काम गर्दैन । बालिका, किशोरीलाई समेत सशक्तीकरण गर्ने तथा अभिभावक, शिक्षक, सहपाठी लगायतबाट भोग्ने दुव्र्यवहार, विभेदबारे पनि कुरा गर्छ । उनीहरूको समस्या बुझ्छ । मासिक श्रावले हुने समस्याबारे जानकारी लिन्छ । समाधानका लागि उपाय खोज्ने, कारबाहीको लागि सिफारिश गर्ने काम पनि गर्छ ।

संगठनमा आवद्घ भएका शिक्षकहरू कार्यरत विद्यालयमा स्यानिटरी प्याड, बालबालिका मैत्री शौचालय, खानेपानीको धारा बनाउनुपर्ने अथवा बनाउनका लािग भूमिका खेल्नुपर्ने हुन्छ ।

यसबीचमा महिला शिक्षकहरूको समन्वयमा विद्यार्थीलाई दुव्र्यवहार गर्ने शिक्षकहरू कारबाहीमा पनि परेका छन् । अवस्था अनुसार सुध्रिने अवसर दिइएको र केहीलाई भने जागिरबाट हटाउनु परेको पनि छ ।

सामुदायिक विद्यालयमा पढ्ने कतिपय बालबालिका आफन्तको घरमा बसेर पढ्ने, अर्काको घरमा काम गर्न बस्नेहरू हुन्छन् । त्यस्ता बालबालिकाले भोग्ने दुव्र्यवहार र विभेद जटिल समस्या देखिएको छ । उनी भन्छिन्, ‘विद्यालयमा दुव्र्यवहार, विभेद गर्नेलाई कारबाही गरेपछि समस्या समाधान हुन्छ । तर, अभिभावकीय भूमिका निभाइरहेको व्यक्ति नै अपराधी हुँदा चाहिं समस्या हुनेरहेछ ।’ त्यस्तो अवस्थामा बालबालिकालाई कसरी बचाउने भन्ने समस्या हुने गरेको उनको भनाइ छ । त्यस्ता बालबालिकालाई कसरी सुरक्षित राख्ने भन्ने समस्या छ । पछिल्लो समयमा चुनौती बन्दै गइरहेको विषय यो एउटा मुख्य हो ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?