Comments Add Comment

कांग्रेसमा नेतृत्वको बहस : दाइहरूकै दबदबा

हरेक महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसभित्र अबको नेतृत्व कसको र कस्तो भन्ने विषयमा गर्मागर्मी बहस हुने गर्दछ । बहस मूलतः दुई दृष्टिकोणबाट हुन्छ ।

पहिलो- महाधिवेशनको समयमा नेतृत्वको बहस बढी हुन्छ तर नीति ओझेलमा पर्छ । त्यसैले नीतिमा ध्यान दिनुपर्छ ।

दोस्रो- पार्टी नेतृत्वमा बुढापाकाको वर्चश्व भयो, अब युवा पुस्ता नेतृत्व आउनुपर्छ ।

तर, यस्ता बहसहरू अन्तिमसम्म पुग्दा बरालिन्छन् र उही नतिजाले निरन्तरता पाउँछ । त्यो हो- अन्तिममा महाधिवेशनबाट कम्तीमा ७० वर्ष कटेका पाका नेताहरूले नै नेतृत्व हत्याउँछन् ।

पार्टीको तल्लो तहबाट १४औं महाधिवेशनको प्रक्रिया अगाडि बढ्दै गर्दा नेतृत्वको बहसले पुनः उही पुरानै दिशा र गति पक्रिएको छ । परिमाणतः आसन्न महाधिवेशनबाट पनि ‘भाइ’ र ‘युवा’ होइन, फेरि ‘दाइ’हरू नै निर्वाचित भएर आउने सम्भावना बाक्लो बन्दै गएको छ । ६० देखि ७० को उमेर समूहका र आफू पार्टी सभापति हुनुपर्छ भनी लागेकाहरूले दुई नेता पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई ‘दाइ’ भनी सम्बोधन गर्छन् ।

यतिबेला चर्चामा रहेका ‘दाइ’, ‘भाइ’ र युवाहरूको अहिलेको उमेरको चर्चा गरौं । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही हप्ता आफ्नो ७६औं जन्मोत्सव मनाए । पुनः एकपटक -जसलाई अन्तिम भनिएको छ) पार्टी सभापतिमा लड्ने तयारीमा रहेका देउवा पुनः निर्वाचित भए भने उनले कम्तीमा ८१ वर्षसम्म पार्टीको नेतृत्व सम्हाल्ने छन् जुन कांग्रेसजनका लागि खासै नौलो विषय होइन । किनकि पूर्व सभापति गिरिजाप्रसाद कोइरालाले ८५ वर्षसम्म पार्टी सम्हाले भने सुशील कोइरालाले ८० को हाराहारीसम्म ।

७७ वर्षीय वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सम्भव भएसम्म सभापतिमा लड्ने तयारीमा छन् । उनले आफ्नो समूहमा रहेका नेताहरूसँग अन्तिमपटक आफूलाई सहयोग गर्न आग्रह गरिरहेका छन् । देउवा र पौडेल ‘दाइ’ ले धेरै अवसर पाइसक्नुभयो, अब हामीले अवसर प्राप्त गर्नुपर्छ भन्ने नेताहरू शेखर कोइराला ७०, प्रकाशमान सिंह ६५, विमलेन्द्र निधि ६४ र शशांक कोइराला ६२ वर्षका छन् ।

त्यसैले उमेरले उनीहरू युवा नेता रहेनन् र उनीहरूको ‘भाइ’ को पहिचान रहेको छ । नेतृत्व लिन अगाडि सरेका युवा नेताहरू गगन थापा, विश्वप्रकाश पौडेल, प्रदीप पौडेल, गुरुराज घिमिरे लगायत नेताहरूको उमेर ४० देखि ५० को बीचमा रहेका छन् । उनीहरू पनि युवाको परिभाषामा भने पर्दैनन् । सन् २०१० को राष्ट्रिय युवा नीतिले १८ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा भनी व्याख्या गरेको छ । तर, नेपालमा विद्यमान रहेको पार्टी संरचनामा ८०-८५ वर्षसम्म नेतृत्वमा रहने भएकाले उनीहरू पार्टीको नेतृत्वमा नपुगेका कारण पार्टीमा युवा नेता नै हुन् ।

अहिले देउवा र रामचन्द्र होइन, आफूले नेतृत्व पाउनुपर्छ भन्ने भाइ अर्थात् दोस्रो पुस्ताका नेताहरूको तर्क छ- शेरबहादुर दाइ पटक-पटक प्रधानमन्त्री हुनुभयो र पार्टी सभापति पनि भइसक्नुभयो त्यसैले अब मलाई सहयोग गर्नुपर्छ ।

अहिलेको नेपाली कांग्रेसभित्रको अवस्था र युवा नेताहरूको ताल हेर्दा निकट भविष्यमा नेपाली कांग्रेसले युवा नेतृत्व पाउने सम्भावना एकदमै कम रहेको छ । यसपटक पनि भाइहरू होइन, अहिले नेतृत्वमा रहेका दाइहरू नै निर्वाचित भएर आउने सम्भावना देखिन्छ

अर्का नेता पौडेलका भाइ उमेरका नेताहरू भनिरहेका छन्- ‘रामचन्द्र पौडेललाई पटक-पटक अवसर दिइएको हो, उहाँलाई बोकेर पनि हिंडियो तर जित्न सक्नु भएन, त्यसैले अब उहाँले मलाई सहयोग गर्नुपर्छ ।’ उनीहरू ७० वर्षको हाराहारीमा पुगिसके अझै पनि ‘दाइहरू’ सँग प्रतिस्पर्धा गर्न सकेका छैनन् र दाइको समर्थनमा पार्टीको नेतृत्वमा आउन खोजिरहेका छन् ।

अब चर्चा गरौं- तेस्रो पुस्ता जो पहिलो र दोस्रो पुस्ताका नेताहरूको गुटका ‘शोकेस’ हुन् । आफू युवा नेतृत्वलाई पार्टी सत्ता हस्तान्तरण गर्न तयार छु भन्ने देखाउन यतिबेला हरेक गुटलाई अलिक सशक्त र नाम चलेको युवा नेता चाहिएको छ । पार्टीमा युवा नेतृत्व चाहिन्छ भन्ने सेन्टिमेन्ट पार्टीमा बढेको छ । त्यसैले उनीहरू त्यसलाई क्यास गर्न चाहन्छन् ।

तेस्रो तहका नेताहरू जो आफूलाई युवा नेतृत्व भन्छन्, उनीहरू यसपटक आफ्नो हैसियत र सम्भावित चुनावी परिणामबारे स्पष्ट देखिन्छन् । तेस्रो पुस्ताका नेता कल्याण गुरुङ बाहेक कसैमा पनि सभापतिमा लड्ने महत्वाकांक्षा देखिएन । युवाहरूबीच महामन्त्रीमा प्रतिस्पर्धा हुने देखिन्छ, तर अहिले अगाडि सरेकाहरूमध्ये कतिपय गुटगत बाध्यताका कारण बाहिरिन्छन्, हटाइन्छन् यकिन छैन ।

तर, यसपटक युवाको वर्गमा परेका केही नेता पार्टीको पदाधिकारीमा आउने सम्भावना छ । अहिले चर्चामा रहेका युवाहरूले के ‘रियलाइज’ गरेका छन् भने अहिले नै सभापतिमा लड्दा चुनाव जितिन्न । किनकि पार्टी संरचनामा आफूभन्दा दाइ र ठूल्दाइहरूको नै वर्चश्व रहेको छ ।

केही समय अगाडि युवा नेता गगन थापालाई अनलाइनखबरले सभापतिमा जित्ने सम्भावना कम देख्नुभयो होइन ? भनी सोधेको थियो । उनले जवाफमा भनेका छन्- ‘एकदमै कम रहृयो, झट्ट हेर्दा हारसँग किन डराउने भन्ने होला । तर यो डरको कुरा होइन, अर्काे पाँच वर्षसम्म पार्टीभित्र हस्तक्षेप गर्ने ठाउँमा हाम्रो प्रतिनिधित्व हुने भएन ।’

थापाको तर्कमा दम छ । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता वितरण र महाधिवेशन प्रतिनिधि चयनको जुन प्रक्रिया छ, त्यसबाट युवा नेताहरूलाई जित्ने गरी मत आउने सम्भावना एकदमै कम छ । महामन्त्रीको रूपमा कम्तीमा पाँच वर्ष काम गरेपछि पार्टी सत्ता र नियन्त्रणमा युवा नेतृत्वले राम्रोसँग ‘पेनिटे्रसन’ गर्न सक्छन् र यसले सभापतिमा उम्मेदवारीका लागि सहज वातावरण बनाउन सक्छ । पार्टी सत्ता बाहिर बसेर निर्वाचन लड्दैमा जितिन्न, भित्र प्रणालीमा छिरेर नै आˆनो प्रभाव विस्तार गर्नुपर्छ भन्ने उनीहरूको बुझाइ देखिन्छ ।

नेपाली कांग्रेसमा मात्र होइन, हरेक पार्टीमा युवा नेतृत्व आउनैपर्छ । युवाले हस्तक्षेप गर्नुपर्छ । यसपटक नेपाली कांग्रेसको वडा तह र क्षेत्रीय प्रतिनिधिमा चाहिं साँच्चिकै संयुक्त राष्ट्रसंघले नै परिभाषित गरेको उमेर समूहका युवाहरू त्यहाँको नेतृत्वमा आउने सम्भावना बढेको छ । धेरै ठाउँमा युवाको प्रतिनिधित्व एकदमै उत्साहजनक देखिएको छ । उमेर समूह हेर्दा १८ देखि ६० वर्षसम्मका क्रियाशील सदस्यहरूको संख्या ७० प्रतिशत रहेको छ ।

तर, अहिलेको नेपाली कांग्रेसभित्रको अवस्था र युवा नेताहरूको ताल हेर्दा निकट भविष्यमा नेपाली कांग्रेसले युवा नेतृत्व पाउने सम्भावना एकदमै कम रहेको छ । यसपटक पनि भाइहरू होइन, अहिले नेतृत्वमा रहेका दाइहरू नै निर्वाचित भएर आउने सम्भावना देखिन्छ । गुटमा केही परिवर्तन भए पनि दाइहरू कस्सिएका खण्डमा भाइहरूले चुनाव जित्ने सम्भावना एकदमै कम रहेको छ । अहिले पनि पार्टी सत्ता र महाधिवेशन प्रतिनिधि छनोटमा दाइहरूकै पूर्ण प्रभाव देखिन्छ । देउवाले सभापतिमा प्रतिस्पर्धा गर्ने निश्चित छ ।

यस्तो अवस्थामा देउवालाई टक्कर दिन पौडेल नै अगाडि सर्ने सम्भावना रहेको छ किनकि पौडेल समूहमा रहेका दोस्रो तहका नेताहरूको बीचमा सर्वसम्मत उम्मेदवारमा सहमति जुट्ने सम्भावना एकदमै कम रहेको छ । अहिले नेतृत्वमा रहेकाहरूले नै अर्काे पाँच वर्ष पार्टी सञ्चालन गरे भने दोस्रो तहका नेताहरूको उमेर अर्काे महाधिवेशनमा ७५ पुग्ने निश्चित छ ।

१५औं महाधिवेशनमा दोस्रो तहका नेताहरू पार्टी सभापति भए भने उनीहरूले एक कार्यकालमा नै छोड्लान् भन्ने यकिन छैन । १५औं महाधिवेशनमा अहिलेका युवा नेताहरू सभापतिमा लड्नका लागि कति तयार हुन्छन्, त्यो पनि यकिन छैन ।

यसको अर्काे पाटो पनि छ- अहिले चर्चामा रहेका युवा नेताहरू अर्काे पटक सँगै देउवा, रामचन्द्र र कृष्ण सिटौला तिनै क्याम्पमा ५० देखि ६० वर्ष उमेर समूहका छन् जो मिडियाको नजरमा अहिले त्यति प्राथमिकतामा छैनन् । उनीहरूले यतिबेला उम्मेदवारी पनि घोषणा गरेका छैनन् तर उनीहरूको पार्टी सत्तामा भने निकै पकड छ । लामो समयसम्म पार्टीका महत्वपूर्ण भ्रातृ संगठनहरू हाँकेका नेताहरू छन् । जो पार्टी सत्तामा मात्र होइन, राज्य सत्तामा समेत रहेका छन् जसको चाहना र योजनाबारे सार्वजनिक रूपमा बहस भइरहेको छैन ।

अहिलेसम्म, पार्टीमा सधैं युवा नेतृत्वको बहस त भयो तर युवालाई साँच्चिकै नेतृत्वमा ल्याउनको लागि आवश्यक पर्ने नीतिगत व्यवस्थापनमा उनीहरूको कहिल्यै पनि ध्यान गएन । विभिन्न भ्रातृ संगठन वा गाउँबाट राजनीति गर्नासाथ कुनै पनि युवालाई माथि आउन कुनै गुटको नेताको फेरो समात्नुपर्ने अवस्था सिर्जना भयो । नत्र ऊ त्यहाँबाट माथि नै आउन नसक्ने अवस्था भयो ।

अर्काेतर्फ पाका नेताहरूलाई धक्का दिनसक्ने र मास अपील गरेर नेतृत्वमा आउनसक्ने युवा नेताहरूको विकास नै भएन । उमेरले मात्रै युवा त नीति, सोच र कार्यक्रममा पाका नेताहरू भन्दा क्षमतावान देखिएन ।

अर्काे युवाहरू कहिल्यै पनि पार्टीमा थिति र नीति बसाल्नेतर्फ लागेनन् । यदि युवालाई नेतृत्वमा ल्याउने हो भने उनीहरूले सबैभन्दा पहिले नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ । कुनै पनि गुटमा लागेर शीर्ष नेताहरूबाट नेतृत्वको भिक्षा माग्नुभन्दा एक निश्चित उमेरहद कायम गरी पाका नेताहरूलाई स्वतः बिदाइ गर्ने र युवाले जिम्मेवारी सम्हाल्न पाउने परिपाटीको विकास हुनुपर्छ । गाउँ, भ्रातृ संस्था र सबै तहमा उमेरको हरबन्दी कायम गर्न सकेमा मात्र नेतृत्वमा युवा पुस्ता आउन सक्छन् ।

अर्काेतर्फ केन्द्रीय सभापति, पदाधिकारीदेखि अन्य तहमा कति पटकसम्म दोहोरिन पाउने भन्ने लगायत विषयमा स्पष्ट नीति आउन आवश्यक छ । तर सानो बल र तागतले यो गर्न सकिंदैन । एमालेमा विधानमा नै उल्लेख भएको ७० वर्षे उमेरहद उल्टिएको दृष्टान्त हाम्रो सामु छ ।

यसका लागि आफूलाई युवा नेता र नेतृत्वको दाबी गर्ने सबै युवा एकै ठाउँमा आएर दबाब सिर्जना गर्नुपर्छ । तर, त्यसो गर्दा आफ्नो गुटको नेता रिसाउँछन् । बरु उमेर अलिक होस्, पर्खन्छु भन्ने मानसिकता छ । अहिले नेतृत्वमा भएका पाका नेताहरूले आफैंले यस खालको नीति निर्माण गर्ने र युवा पुस्तालाई हस्तान्तरण गर्ने कुनै सम्भावना छैन ।

यस्तो पहल गर्दा उनीहरूलाई आफ्नो गुटको नेतृत्व गर्ने पाका नेता रिसाउने भय छ र उनीहरू दशकौंसम्म एउटा गुटमा लागेर आफ्नो गुटको नेतालाई कन्भिन्स गरी आशीर्वादबाट नेतृत्व लिन चाहन्छन् ! त्यो हुने नदेखिएमा उनीहरू तत्कालै आफ्नो गुट नै परिवर्तन गरिदिन्छन् ।

अर्थात्, मलाई यो पदमा दाइले समर्थन गर्नुपर्‍यो भन्दै दैलो चहार्ने गर्दछन् । स्पष्ट नीतिको अभावमा सहज रूपमा नेतृत्व हस्तान्तरण हुन सक्दैन । यति मात्र होइन, आफ्नो गुटको नेतालाई सभापति बनाउन कतिपय युवा नेताहरू युवा भनेको अब उमेरले होइन, विचारले हुनुपर्छ भन्न थालेका छन् । यति मात्र होइन, आफ्नो उमेर समूहको कुनै युवा नेता नेतृत्वमा आउने सम्भावना बढेमा उसलाई हराउन षड्यन्त्र गर्ने र पाका नेतालाई जिताउन लाग्ने युवा नेताहरूको संख्या पनि नेपाली कांग्रेसमा निकै छ ।

नेतृत्वमा नपुगे पनि अघिल्लो दशकको तुलनामा नेपाली कांग्रेसमा युवा नेताहरूको प्रभाव र दबाबचाहिं राम्रोसँग बढेको छ । केही वर्ष अगाडिसम्म युवा नेतालाई खासै महत्व नदिने पुरानो पुस्ताले यतिबेला आफू चुनाव जित्नको लागि युवा नेताको बैसाखी खोजिरहेको छ । यतिबेला सभापति लड्ने तयारी गरेका कुनै पनि उम्मेदवार युवाको साथ खोजिरहेका छन् । विगत तीन वर्षको अवधिलाई नै हेर्ने हो भने पार्टी नेतृत्वले प्रतिपक्षको भूमिका खेल्न नसकेको भनी आलोचना भइरहेको अवस्थामा युवा नेताहरूले त्यो भूमिका निर्वाह गरे ।

कतिपय सन्दर्भमा त युवाले नै अगाडि सारेको नीतिलाई नेतृत्वले स्वीकार गर्दै लागू समेत गरेको छ । त्यसैले खबरदारी र प्रभावको हिसाबले युवा नेतृत्व पछिल्लो दशकमा सुनिने र देखिने भएको छ । नीति परिवर्तनका लागि कांग्रेसका युवा नेताहरूले पटक-पटक एकै ठाउँमा आउने प्रयास गरे तर जकडिएको गुटले उनीहरूलाई अगाडि बढाउन दिएन । यसपटक उनीहरूले नीति र थिति बसाल्नको लागि केही भूमिका खेल्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
कमलदेव भट्टराई

भू-राजनीति र कुटनीतिक मामिलामा दखल राख्ने भट्टराई अनलाइनखबरका सहायक सम्पादक हुन् ।

ट्रेन्डिङ

Advertisment