+
+

इन्द्रजात्राका अनेकथरी नाचको नालीबेली

अमूर्त सम्पदा संरक्षणमा हनुमान ढोका दरबार संग्रहालयको चासो

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ असोज २ गते १४:३६

वि.सं. १८८५ मा गोर्खाली सेनाले काठमाडौंमाथि आक्रमण गर्दैगर्दा तत्कालीन राजा जयप्रकाश मल्ल जैशीदेवलको डबलीमा देवी नाच हेर्दै थिए । समय इन्द्रजात्राको थियो ।

गोर्खाली सेनाले काठमाडौं कब्जा गरेको थाहा पाएपछि उनी त्यहींबाट टेकुको बाटो हुँदै ललितपुरमा शरण लिन पुगे । यसले इन्द्रजात्रामा सबैभन्दा पहिले सुरु हुने देवी नाचको ऐतिहासिक राजनीतिक घटनाक्रमसँगको सम्बन्ध पुष्टि गर्छ ।

यो कुनै नर्तक र नर्तकीले दर्शकलाई मनोरञ्जन दिन नाच्ने नाच होइन । यसमा भावना जोडिएको हुन्छ, नाचमा प्रयोग गर्ने मुकुटमा प्राण प्रतिष्ठा गरिएको हुन्छ । यही नाचका पात्रमा भगवानको स्वरूप पाइने जनविश्वास छ ।

नाच यति मन्त्रमुग्ध हुन्छ कि आफ्नै राज्यमा शत्रुले आक्रमण गर्दा पनि नाचमा रमाएका राजाले थाहा पाउँदैनन् । यही विशिष्टताको फाइदा उठाएर पृथ्वीनारायण शाहले काठमाडौंमाथि इन्द्रजात्राकै दिन आक्रमण गरेका थिए ।

प्रशस्त मूर्त तथा अमूर्त सम्पदाले ओझिलो बनाएको इन्द्रजात्राका कतिपय ऐतिहासिक नाचहरु अहिले लोप भइसकेका छन् । जति बाँकी छन् तिनीहरु पनि अस्तित्व रक्षाका लागि संघर्षरत अवस्थामा छन् ।

इन्द्रजात्रासँग जोडिएका अनेक संस्कारहरू भेटिन्छन् । कुनै नाचसँग खोला तरेर जान नहुने संस्कार जोडिएको छ भने कुनैसँग खोला तरेर मात्रै आउनुपर्ने परम्परा । पुरातत्व विभाग अन्तर्गतको हनुमानढोका दरबार हेरचाह अड्डाले यस्ता नाचहरुको संरक्षणका लागि सघाउन खासगरी इन्द्रजात्रामा नाचिने १५ थरी नाचको सूची तयार पारेको छ ।

हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनाल हनुमान ढोका दरबार संग्रहालयको तर्फबाट यस क्षेत्रका अमूर्त सम्पदा संरक्षणमा सहयोगको सुरुवात गरिएको बताउँछन् । उनी भन्छन् ‘संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको विशेष पहलमा मासिक ५ हजारको दरमा हरेक नाचलाई आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ ।’ नाचलाई यही आर्थिक वर्षदेखि नै सहयोग सुरु गरिएको खनालले जानकारी दिए ।

माथि उल्लेखित नाचहरूमध्ये धिमे बाजा, नगरा बाजा र ढाडी भजनलाई शुद्ध नाचको श्रेणीमा राख्न सकिँदैन । त्यसैले अहिले प्रचलनमा रहेका १२ थरी नाच इन्द्रजात्रामा नाच्ने गरिएको इन्द्रजात्रा व्यवस्थापन समितिका प्रमुख गौतम शाक्य बताउँछन् । यी नाचहरु प्रस्तुत गर्न काठमाडौंको हल्चोक, किलागल, भक्तपुर लगायत क्षेत्रबाट स्थानीय समुदायहरू आउने गर्छन् ।

समितिका अनुसार अहिले भक्तपुरबाट इन्द्रजात्राको लागि रामचन्द्र प्याखं, कवच प्याखं, वैकाल प्याखं, मार्चु प्याखं, घिन्टाकिसी प्याखं र अरु दुई किसिमका महाकाली प्याखंहरु गरी सातथरीको नाच आउँछ । रामचन्द्र प्याखंबाहेक भक्तपुरबाट आउने सबै नाचलाई काठमाडौंमा महाकाली नाचको नामले चिनिन्छ । तर भक्तपुरेहरुले भने यसलाई पनि दीप्याखं अर्थात् देवी नाच भन्छन् । काठमाडौंबाट आउने नाचमा भने हात्ती प्याखं अर्थात् पुलुकिसी र देवी नाच अर्थात् दीप्याखं किलागलबाट आउने गर्छ ।

लाखे नाच मजिपा भन्ने ठाउँबाट सुरुवात भएको हो भने दश अवतार नाच त्रिपुरेश्वरबाट आउने गर्छ । यी सबै नाचसँग जोडिएका आस्था र विश्वासले इन्द्रजात्राको महत्वलाई झनै बढाएका छन् ।

इन्द्रजात्राका अनेकथरी नाचहरू

इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीको दिनदेखि आश्विन कृष्ण औंसीको दिनसम्म मनाइन्छ । उक्त अवधिमा तिथि टुट हुँदाबाहेक यो पर्व आठ दिनसम्म मनाइन्छ । कतिपय नाच आठै दिन नाचिन्छ भने कुनै कुनै विशेष अवसरमा मात्र नाच्ने गरिन्छ ।

इन्द्रजात्रामा ज्याठा टोलका स्थानीय कुम्हाः (प्रजापति) जातिले नाच्ने खः प्याखं र काठमाडौंका विभिन्न ठाउँमा देखाइने दबू प्याखं लगायतका नाचहरू लोप भइसकेका छन् ।

इन्द्रजात्रा काठमाडौंको मुख्य क्षेत्र बाहिर कसरी फैलियो ? हल्चोकबाट किन हनुमानढोकामा नाच ल्याउन थालियो ? यी प्रश्नका जवाफ खोज्न एउटा किंवदन्तीलाई विश्वास गर्नुपर्ने हुन्छ । राजा प्रताप मल्ल हनुमानढोका दरबारभित्र निर्माण गरिएको भण्डारखाल पोखरीको लागि बूढानीलकण्ठबाट पानी ल्याउन ढल खनाउँदै थिए । त्यही क्रममा एक वर्षको इन्द्रजात्रा उनले रानीवनमै बसेर मनाएका थिए ।

अर्काे वर्षदेखि त्यहाँका स्थानीयले त्यही नाचलाई निरन्तरता दिन थाले । त्यही समयदेखि हल्चोकबाट सवाः भकु नाच हनुमानढोका दरबारमा आएर नाच्न थालियो भन्ने जनविश्वास छ । स्थानीय गुठियारका नाइके, काठमाडौं महानगरपालिकाले प्रकाशित गरेको ‘इन्द्रजात्रा’ र यसबारे लेखिएका विभिन्न पुस्तकलाई आधार मान्दा इन्द्रजात्रासँग जोडिएका नृत्यहरूलाई यसरी व्याख्या गर्न सकिन्छ-

१. किलागलको देवीनाच

किलागलबाट सुरु हुने दिप्याखं अर्थात् देवीनाच इन्द्रजात्रामा नाचिने सबैभन्दा पहिलो नाच हो । द्वादशीको दिन कागेश्वरी मन्दिर अघि यःसीं (इन्द्रध्वजा) उठाएपछि औपचारिक रूपमा सुरू हुन्छ- इन्द्रजात्रा । यही जात्रा सुरु गर्ने यःसीं सँगै उठ्छन् दिप्याखं अर्थात् देवी नाचका पात्रहरू ।

 इन्द्रजात्रा र लिङ्गो -ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ । ध्वजा उठाउने दिन देवी नाचसँगै लाखे, पुलुकिसी, हल्चोकको आकाश भैरव र महाकाली नाच नाचिन्छ । यी नाचहरू आठै दिनसम्म निरन्तर नाच्ने गरिन्छ ।

देवी नाचमा दैत्यबाहेक अरु सबै पात्रहरूले मुकुण्डो लगाउँछन् । जनतालाई सधैंभरि दुःख दिइरहने दैत्यलाई मार्न सुरुमा भैरवले प्रयास गर्छन् । तर दैत्य भैरवभन्दा बलियो भएकोले भैरव आफैँ भाग्नुपर्ने हुन्छ । पछि कुमारीले दैत्यलाई पराजित गरेर भगाउँछिन् ।

यो नाचमा ७ अंकको अनौंठो संयोग पाइन्छ । जस्तो- यसमा भैरव, कुमारी, चण्डी, दैत्य, कङ्काल, बेताल र ख्याक गरी ७ जना पात्रहरू हुन्छन् । सबै पात्रलाई सात जना गुरूहरूले सिकाउने गर्छन् । यसमा सातवटै तालको बाजा बजाइन्छ । सात ठाउँमा सातैपटक नाच प्रदर्शन गरिन्छ । साथै पूरा देखाउने हो भने यो नाच सातै घण्टासम्म नाच्ने गरिन्छ । यो नाचको लागि इन्द्रजात्राको एक महिना अघिदेखि तयारी सुरु गरिन्छ । लामो तयारीपछि ९ दिनअघि भाद्रशुक्ल चौथीको दिन पोशाकविना मुकुण्डोमात्र लगाएर विज्यापू ननीमा देखाइन्छ ।

अष्टमीको दिन मुकुट र पोशाकसहित किलागलमा सार्वजनिक प्रदर्शनी गरेर तान्त्रिक अनुष्ठानसहित सम्बन्धित पात्रलाई दिएपछि एकैपटक इन्द्रजात्राको दिन नाच नाच्ने गरिन्छ । यो कुमारीको रथयात्रा हुँदा जुन क्षेत्रमा कुमारी लगिन्छ, त्यहीँ भएको डबलीमा देखाउने गरिन्छ ।

२. महाकाली प्याखंको अनेक प्रकार

भक्तपुरबाट आउने महाकाली प्याखं इन्द्रजात्राको अर्काे महत्वपूर्ण नाच हो । यो नाच किलागलबाट सुरु हुने देवी नाचसँग मिल्दोजुल्दो रहेको महाकाली नाचका नाइके तुल्सी नारायण दण्डेख्या बताउँछन् ।

इन्द्रजात्राको महाकाली प्याखं ६ किसिमको हुन्छ । नाइके दण्डेख्याका अनुसार सबैखाले महाकाली नाचमा एकाध फरकबाहेक समानता रहेको बताउँछन् । उनी भन्छन्- ‘पात्रमा को के बन्ने भन्नेमा फरक हुन्छ । कुनैमा सिंह र मयुर हुन्छ कुनैमा हुँदैन । तर कथा र मूलभूत प्रक्रिया उस्तै हो ।’

दण्डेख्या महाकाली नाचको कवचप्याखं र भक्तपुरबाटै आउने अर्काे नाच रामचन्द्र नाचको समेत नाइके हुन् । उनी भक्तपुरबाट आउने सबैथरीको महाकाली नाचको नेतृत्व गरेर काठमाडौं आउँछन् ।

महाकाली नाचको इतिहास खोज्दा यो नाच राजा जयस्थिति मल्लभन्दा अघि नै सुरु भएको पाइन्छ । उनले नाचको संरक्षणको लागि गुठी राखेको अभिलेख पाइएको छ ।
महाकाली नाचमा मुख्यगरी महाकाली, महालक्ष्मी र कुमारीलाई मुख्य पात्रको रूपमा खेलाउने गरिन्छ । यसमा पनि सातजना पात्रहरू हुन्छन् । जसमा महाकाली, कुमारी, महालक्ष्मी, बेताल, भूत, दुई जना कंकाल, दुई जना ख्याक, सिंह र मयुरको रूपमा नाँचिन्छ । वाद्यवादकसहित २४ जना पात्र ६ थरीकै महाकाली नाचमा संलग्न हुने दण्डेख्याले अनलाइनखबरलाई जानकारी दिए ।

यो नाचको कथा पनि किलागलको देवीनाचसँग मिल्दोजुल्दो छ । लोकमा उपद्रो मच्चाउन थालेका दानवहरूलाई परास्त गर्न महाकाली, महालक्ष्मी र कुमारीले महिसासुर दैत्यको वध गरेको कथाको आधारमा यो नाच नाचिन्छ । यसमा प्रयोग हुने संगीतमा ७ थरीका धुनको संयोजन पाइन्छ ।

३. रामचन्द्र प्याखं

रामचन्द्र नाच पनि भक्तपुरबाट आउने अर्काे महत्वपूर्ण नाच हो । सीतालाई रावणले हरण गरेर लगेपछि वानर सेनाहरूले उनलाई छुटाउन खेलेको भूमिकालाई जोडेर यो नाच देखाउने गरिन्छ । यो समूहमा नाचिने नाच हो । यसको तयारी घण्टाकर्ण चतुर्दशीको दिनदेखि थालिन्छ । सो दिन भक्तपुरमा नै नासः द्यः स्थापना गरिन्छ ।
गाईजात्राको दिन भक्तपुरको विभिन्न डबली र बजारमा रामचन्द्र प्याखंका पात्रहरूलाई मुकुट लगाएर घुमाउने गरिन्छ । इन्द्रजात्राको लागि पनि एक हप्ताअघि नै यो नाचको प्रक्रिया सुरु हुन्छ । यसलाई हनुमानढोका दरबारअघिको डबलीमा देखाउने गरिन्छ ।

यो नाचमा बाजागाजा सहित २८ देखि ३० जनासम्म पात्र सहभागी हुन्छन् । पात्रहरू जोडीजोडीमा गरेर १६ देखि २४ जनासम्म हुने गर्छन् ।

४. पुलुकिसी

इन्द्रजात्राको आसपासमा किलागल क्षेत्रतिर सेतो ऐरावत हात्तीको स्वरूपमा एउटा नाच नचाइन्छ । जसलाई पुलुकिसी अर्थात् हात्तीनाच भनेर चिनिन्छ । पुलुकिसी इन्द्रकी आमा बसुन्धराले इन्द्रलाई फूल टिप्न पठाउँदा यहाँका स्थानीयले इन्द्रलाई पक्राउ गरी राखेपछि उनलाई छुटाउन आएको हात्तीको कथासँग सम्बन्धित छ ।

अर्को किंवदन्ती अनुसार हालको किलागल क्षेत्रमा पहिले घना जंगल थियो । त्यहाँ बनेपाका राजा शिकार खेल्न आउँथे । एकदिन हात्तीको ठूलो बथानले उनलाई आक्रमण गर्न लागेपछि उनले श्वेतकालीको आराधना गरे । श्वेतकालीले सेतो हात्तीको भेषमा हात्तीको बथानमा छिरेर राजाको ज्यान जोगाएपछि यो नाचको सुरुवात भयो भन्ने मान्यता पनि छ ।

पुलुकिसी निकाल्दा चिराग अनिवार्य हुन्छ । पुलुकिसी ऐरावत हात्तीको प्रतीक हो । हात्ती इन्द्रलाई खोज्दै आउँदा ताङताङ आवाज आउने भएकोले सोही आवाजको तालको आधारमा पुलुकिसी नाच नाच्ने गरिन्छ ।

पुलुकिसी बनाउँदा एउटा बाँसको कंकालभित्र दुई जना अड्ने खाली ठाउँ राखिन्छ । त्यसबाहिर सेतो कपडाले बेरिन्छ । एकादशीसम्म मुकुट लगाउनेबाहेक सबै काम सकिन्छ । द्वादशीको दिन इन्द्रको मूर्ति प्रदर्शन गर्ने दिन नै पुलुकिसीलाई समेत बाहिर निकालिन्छ ।

पुलुकिसी नाचमा धिमे मुख्य बाजा हो । यो नाचमा बजाइने धिमे अरु धिमेभन्दा फरक हुन्छ । धिमेलाई पनि यो नाचमा तीन किसिमले बजाउने गरिन्छ । धिमे बाहेक कँय् पुइचा नामको त्रिकोणात्मक बाजा पनि बजाइन्छ । त्यसको माथि एउटा धिमे र अर्काे भुस्याः (झ्याम्टा) बजाइन्छ । यो जात्रा इन्द्रजात्रा सुरु भएपछि आठै दिन चल्ने गर्छ ।

५. हल्चोकको आकाश भैरव

हल्चोकको आकाश भैरवलाई स्थानीय भाषामा सवः द्यः वा सव भक्कु भनिन्छ । सवः भक्कु नाच हल्चोकका पुतुवार जातिले निकाल्ने नाच हो । आकाश भैरव गुठीमा १२ जना देवगण हुन्छ । तीमध्ये ३ देवता (भैरव, कुमारी र चण्डी) मात्रै इन्द्रजात्रामा निकाल्ने गरिन्छ ।

यो नाचमा इन्द्रजात्राको अघिल्लो दिन अर्थात् एकादशीको दिन हल्चोकस्थित आकाश भैरवको द्यः छेँमा पूजा गर्छन् । भाद्र शुक्ल द्वादशीदेखि नाच आरम्भ हुन्छ । यो नाच नचाउँदा एउटा मौलिक धुन बजाउने गरिन्छ । यो नाचको ऐतिहासिकताको बारेमा यकिन छैन । यद्यपि, संस्कृतिविद् डा. चुन्दा बज्राचार्य यो गुणकामदेवको पालादेखि सुरु भएको बताउँछिन् ।

६. लाखे नाच

उत्तेजित बाजाको तालमा थः ने, क्वः ने र उपाकु क्षेत्रको परिक्रमा गर्दै नाचिने नाच हो लाखे । यो नेवारी क्यालेण्डर अनुसार यँला महिनामा नाचिन्छ । इन्द्रजात्रामा नाचिने नाचलाई यँला लाखे भनिन्छ । यसलाई मजिपा लाखे पनि भनिन्छ । मजिपा भन्ने ठाउँबाट निकालिने भएकोले यसको नाम नै मजिपा लाखे राखिएको काठमाडौं महानगरपालिकाले प्रकाशित गरेको ‘इन्द्रजात्रा’ मा उल्लेख गरेका छन् ।

इन्द्रजात्रामा नाचिने लाखे नाचको तयारी १५ दिनअघिदेखि हुन्छ । भाद्र कृष्ण एकादशीको दिन लाखेआजुको मुकुट निकालिन्छ । मुकुण्डो निकालेपछि त्यसलाई तान्त्रिक विधिबाट पूजा गरेपछि न्यास (प्राणतत्व) निकाल्ने गरिन्छ ।

त्यसपछि मुकुट रंगरोगनको लागि चित्रकारकोमा पठाइन्छ । एकादशीका दिन मुकुटमा पुनः प्राणप्रतिष्ठा गरेपछि मुकुण्डोलाई द्वादशीको दिन रातो रंगको कपाल जोडेर आसनमा राखिन्छ । लाखे पोसाकमा रातो चोला, जामा, हातमा रुमाल र कम्मरमा घंघला बाँधिएको हुन्छ । लाखे चिकंमुगल दोबाटोबाट जैशीदेवल, हुँदै यंगाल टोलमा एक स्थानीय राजभण्डारीको घरमा गएर पूजा थाप्छन् । लाखेले थाप्ने यो पहिलो पूजा हो । लाखेलाई जिस्काउँदै नाच्ने सानो पात्रलाई झ्यालिंचा भनिन्छ । झ्यालिंचाले ‘तिमी यो संसारमा जन्मिएर के पायौ’ भन्दै जिस्काउँदै हिँड्छ र लाखेले उसलाई लखेट्दै हिँड्छ भन्ने स्थानीयको विश्वास छ । इन्द्रजात्रामा नाच्ने लाखे खोला तरेर जानुहुन्न भन्ने विश्वास छ ।

७. दश अवतार नाच

दश अवतार नाच विष्णुको दश अवतारको स्वरूपलाई झाँकीको रूपमा प्रस्तुत गर्ने नाच हो । वसन्तपुरस्थित कुमारी घरको सम्मुखमा रहेको त्रैलोक्यमोहन नारायणको मन्दिरको पाँच खुड्किलोको पेटीमा दश अवतारको मुकुट प्रदर्शन गरिन्छ ।

दश अवतार नाचका नाइके दीपकप्रसाद श्रेष्ठका अनुसार यो नाच पनि आठ दिन नै मनाउने गरिन्छ । यसको इतिहासबारे यकिन तथ्यहरू भेटिएका छैनन् । तर पुरातत्वविद् डा. साफल्य अमात्यले गुठीका पूर्व नाइके स्व. गंगाप्रसाद श्रेष्ठलाई उद्धृत गर्दै यो नाचको सुरूवात प्रताप मल्लको पालादेखि सुरु भएको उल्लेख गरेका छन् ।

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?