+
+

बादी महिला : देहव्यापार, तिरस्कार र आत्मसम्मानको लडाइँ

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ असोज २ गते २०:१०

२ असोज, काठमाडौं । एकतमास सुसाइरहेछ, पातुखोला । बगरमा छ बादी समुदायको सानो बस्ती । त्यही छिन्, चन्द्रकला बादी (परिवर्तित नाम) ।

दाङकी चन्द्रकलाले खोलाको डिलमा बसेर आफ्नो उमेर हिसाब गरिन् । ५८ वर्ष भइछन् उनी । जीवनको यो अन्तरालमा उनले के मात्र भोगिनन् । चरम गरीबी, अभाव, सामाजिक विभेद, तिरस्कार र घृणा ।

कुनै समय बादी समुदायका महिलाले झैं चरम गरीबीसँग जुध्न बाध्यात्मक पेशाका रूपमा उनले पनि देहव्यापार अँगालिन् । उनको आफ्नो यौवन देहव्यापारको अँध्यारा कोठाहरूमा बिताइन् । जीवनभर अविवाहित रहेर पनि दुई सन्तानकी आमा भइन् । जन्मिएका आफ्ना सन्तानलाई बाबु को हो भनेर चिनाउन सकिनन् ।

२०५० दशकपछिको समयमा बादी समुदायका महिलाहरूमा आएको चेतनाको विकास र सामाजिक रूपान्तरणपछि उनले पनि देहव्यापार छोडिन् ।

लागेको थियो, त्यो अन्धकारबाट उनी सजिलै बाहिर आउनेछिन् । सोचेकी थिइन्, सामाजिक तिरस्कार र अपमान भोग्नुपर्ने छैन । उनीमाथि हेर्ने नजर बदलिनेछ । जीवनको नयाँ अध्याय शुरू हुने र उनी सम्मानको जीवन बाँच्नेछिन् ।

तर त्यो अँध्यारोबाट निस्कनु सजिलो थिएन । सुनौलो बिहानअघिको रात नै सबैभन्दा धेरै अन्धकार हुन्छ भनेझैं त्यो समय उनका लागि भयानक अन्धकार थियो । बरु देहव्यापार छाडेपछि उनले आत्मसम्मानका लागि एउटा अर्काे संघर्षको मैदानमा उत्रनुपर्‍यो ।

किन पनि भने बादी समुदायलाई दलितभन्दा पनि ‘अछूत’ मानिन्थ्यो । त्यतिबेला समाजमा जातीय विभेद त थियो नै, बादी समुदायलाई हेला र हेपाहा दृष्टिले हेरिन्थ्यो । त्यसमाथि बादी समुदायका माथि लागेको देहव्यापारको कलंक । सबैभन्दा धेरै तिरस्कृत र अपमानित थिए, बादी महिला ।

०००

देहव्यापार छाडेपछि उनका शुरूका दिन अभावमा बिते । जेनतेन खान चल्यो । देहव्यापार छाडेपछि समाजमा बादी महिलालाई हेर्ने दृष्टिकोण फेरिएको थिएन । चरम घृणा र विभेद उस्तै थियो । कतिले ‘बदेनी’ जस्ता अश्लील शब्दले बोलाउँथे । समाजमा शिर उठाएर हेर्न समेत सक्दिनथिन् ।

एकदिन उनले आँट गरिन् । शहरको पुछारमा एउटा पसल थापिन् । फलफूल राखिन् । पहिलो दिनको कमाइ थियो ३०० रुपैयाँ । उनको त्यो जीवनको पहिलो कमाइ थियो । ‘जीवनकै पहिलो कमाइ थियो’ उनले भनिन्, ‘त्यो दिन जीवनमै सबैभन्दा धेरै खुशी भएँ ।’

श्रमको मूल्य उनले त्यसपछि बुझिन् । पैसा थपेर उनले बङ्गुर पालन शुरू गरिन् । त्यसपछि धेरथोर खर्च चल्ने भयो । आय-स्रोतकोे गतिलो बाटो बन्यो । अन्ततः त्यही उनको जीवन जिउने आधार बन्यो ।

अहिले समय फेरिएको छ । उनी मात्रै हैनन्, बादी समुदायका उनी जस्ता थुप्रै दिदीबहिनी केही न केही आय आर्जनको बाटोमा लागेका छन् । ‘हिजो चेलीबेटी जोगाउन गाह्रो हुन्थ्यो । अहिले त्यस्तो छैन । सबै आफ्नो खुट्टामा उभिएका छन्’, उनले भनिन् । २० वर्षअघि र अहिले, जीवन उही हो, तर बाँच्ने तरिकाले जीवन नै फरक बनाइदिनेरहेछ । यो उनको निष्कर्ष हो ।

२००७ सालसम्म राणा शासन अन्त्य हुनु अघिसम्म बादी समुदायका महिलाहरू देहव्यापार पेशामा संलग्न थिएनन् । ‘२०१७ साल यतादेखि जीविकोपार्जनका निम्ति देहव्यापार शुरू गरिएको देखिन्छ’ उनले भने, ‘२०४५ सालसम्म देहव्यापार चरम उत्कर्षमा थियो । बादी बस्ती-बस्तीमा खुलमखुल्ला देहव्यापार भए ।’ करीब तीनदेखि चार पुस्ताका महिलाहरू देहव्यापारमा संलग्न भएको निर्मलले बताए ।

कान्छी (परिवर्तित नाम) बादी समुदायकी एक प्रतिनिधि पात्र हुन् । विगतमा उनी पनि बाध्यात्मक रूपमा आफ्नो समुदायका कतिपय पात्रहरू जस्तै देहव्यापारमा लागिन् । समाजबाट छिछि र दुर्दुर्को पात्र भइन् । तिरस्कार भोगिन् । अरू त अरू, बादी महिलासँग सम्भोगसुख लिने पुरुषहरूबाटै पनि तिरस्कृत हुनुपर्थ्यो ।

हिजो बाँचेको जीवनमा केही थिएन । थियो त केवल चरम निराशा, उदासीनता र एकप्रकारको हीनताबोध । आफ्नो शरीर आफ्नो जस्तो थिएन । अरूले जस्तो गर भन्यो, त्यही गर्नुपर्ने । ‘जे जस्तो गरे पनि सहनुपर्थ्यो। अर्काे दिन नआउला कि भन्ने डर हुन्थ्यो’ उनले आफ्नो विरक्तलाग्दो विगत सुनाउँदै भनिन्, ‘ग्राहक नआए के लाउने के खाने समस्या हुन्थ्यो ।’

दुई दशक यता उनी पनि देहव्यापारमा छैनन् । अहिले उनको जीवन फरक छ । यौन कर्मले होइन, आफ्नै श्रमले चलिरहेको छ उनको जीवन । बजारका सडकपेटीमा उनी फलफूल व्यापार गर्छिन् । घरमा केही बंगुर र कुखुरा पालेकी छन् । यही उनको आयस्रोतको बाटो बनेको छ । ‘हिजो घिनलाग्दो पेशा गरेर बाँच्नुपर्‍यो । अहिले त्यो छैन । आफ्नै पसिना बगाएर गरी खाएका छौं । यसैमा खुशी छु’, उनले भनिन् ।

यी दुई जस्तै बादी समुदायका महिला अहिले देहव्यापारमा छैनन् । अपमानको अँध्यारोबाट निस्केर आत्मसम्मानको जीवन बाँचिरहेका छन् । यस्तो अपमान जुन केवल महिलाको भागमा मात्र पर्थ्यो । खेल र खेलाडी उही, मैदान उही तर, एउटाको भागमा अपमान मात्रै ।

तर यो रूपान्तरण यत्तिकै भने आएको होइन । यसका निम्ति बादी समुदायका महिलाहरूले विभिन्न कालखण्डमा थुप्रै संघर्ष र आन्दोलन गर्नुपर्‍यो ।

देहव्यापारको त्यो बिम्ब

समाजका टाठाबाठाहरूले बादी समुदाय भन्ने बित्तिकै देहव्यापारको चित्रण आउने अवस्था सिर्जना गरिदिएका छन् । समाजको संस्थापनले देहव्यापारमा केवल बिक्रेताको चर्चा र बदनाम गराइरहेका तर क्रेताहरू सधैं सम्मानित छन् ।

वास्तवमा बादी समुदाय वाद्यवादन सामग्री बनाउने र बजाउने समुदाय हो । बादी समुदायलाई देहव्यापारसँग जोडेर बुझ्ने र बुझाउने गलत काम भइरहेको बताउँछिन् बादी समुदायकी अगुवा निर्मला गुप्ता बादी ।

पहिले पहिले राजाहरूलाई गीत-संगीतका माध्यमबाट मनोरञ्जन दिन बादी समुदायका महिलाहरू दरबारमा जान्थे । तिनै राजाहरूले बादी समुदायका महिलाहरू माथि यौन शोषण शुरु गरे । भित्रभित्रै बादी समुदायका महिलामाथि यौन शोषण हुने क्रम चलिरहृयो । शोषणमा परेर महिलाबाट बच्चा जन्मिन थाले । त्यसपछि क्रमशः महिलाहरूलाई राजाका दरबारहरूबाट निकालिंदै गइयो ।

त्यसरी छुट्टिएका बादी महिलाहरू यौन शोषणबाट जन्मिएका बच्चा बोकेर खोलाका बगरमा गएर बस्न शुरू गरे । राजाहरूबाट शुरू भएको यौन शोषण कालान्तरमा आएर उनीहरूको रोजी-रोटी र जीविकासँग जोडिन थाल्यो । आयस्रोतको रूपमा महिलाहरूले यौन कार्यलाई पेशाका रूपमा अँगाल्न पुगे ।

बादी समुदायको अगुवामध्येका एक हुन्, दाङ तुलसीपुरका निर्मल नेपाली बादी । उनले बादी समुदायका विभिन्न आन्दोलनको नेतृत्व समेत गर्दै आएका छन् ।

उनका अनुसार २००७ सालसम्म राणा शासन अन्त्य हुनु अघिसम्म बादी समुदायका महिलाहरू देहव्यापार पेशामा संलग्न थिएनन् । ‘२०१७ साल यतादेखि जीविकोपार्जनका निम्ति देहव्यापार शुरू गरिएको देखिन्छ’ उनले भने, ‘२०४५ सालसम्म देहव्यापार चरम उत्कर्षमा थियो । बादी बस्ती-बस्तीमा खुलमखुल्ला देहव्यापार भए ।’ करीब तीनदेखि चार पुस्ताका महिलाहरू देहव्यापारमा संलग्न भएको निर्मलले बताए ।

यसरी राजाहरूबाट यौन शोषणका रूपमा शुरु भएर बादी महिलाहरू देहव्यापार अँगाल्न पुगे ।

यसले के भइदियो भने थुप्रै बाबु पहिचान नभएका सन्तानहरू जन्मिए । त्यसरी जन्मिएका बादी समुदायका बालबालिकाले तत्कालीन कानूनी व्यवस्था अनुसार बाबुको पहिचान नभएकोले नागरिकता पाउन सकेनन् ।

अनि जुर्मुराए बादी महिला

२०४६ सालसम्म देहव्यापार बादी बस्तीमा खुलमखुल्ला जस्तै थियो । यसमा महिला मात्र थिएनन् बालिका र किशोरी समेत यौन हिंसाको शिकार भएका थिए । निर्मलका अनुसार देहव्यापार गलत हो र यसलाई बन्द गर्नुपर्छ भन्दै सामाजिक रूपान्तरणको अगुवाइ गैरसरकारी संस्थाहरूले गरे ।

त्यसपछि मात्र बस्ती-बस्ती पुगेर देहव्यापार बन्द गर्नुपर्ने भन्दै जनचेतनामूलक अभियानको थालनी भयो ।

तर देहव्यापारलाई पूर्ण बन्द गर्नु सजिलो थिएन । किनभने यो बादी समुदायका महिलाहरूको रोजीरोटीसँग जोडिएको थियो । उनी भन्छन्- ‘बादी समुदायमा चरम गरीबी थियो । त्यसकारण पनि महिलाहरू यस्तो पेशा अँगाल्न बाध्य थिए । यसलाई छुटाउन सजिलो थिएन ।’

सामाजिक रूपान्तरणको यो अभियानले धेरै लामो उतारचढाव व्यहोर्नुपर्‍यो ।

‘हामी बस्ती बस्तीमा पुगेर देहव्यापार विरुद्ध जनचेतना फैलाउने काम गर्‍यौं । महिलालाई देहव्यापार गलत हो भनेर बुझाउन थाल्यौं’ निर्मल भन्छन्, ‘हामी चाहन्थ्यौं, उनीहरू स्वयम्ले यो पेशा गलत हो भनेर आत्मबोध गरून् ।’

र, भइदियो पनि यस्तै । निर्मलका अनुसार देहव्यापारमा लागेका महिलाहरूले यो कुरा आफैं बोध गर्न थाले । विस्तारै परिवार नै वैकल्पिक पेशातिर आकषिर्त हुन थाले । बादी समुदायमा एकप्रकारको लहर चल्यो ।

निर्मल भन्छन्, ‘किन पनि भने त्यो रहरले गरेको नभएर बाध्यात्मक पेशा थियो ।’

त्यसपछि बस्तीमा महिलाहरूलाई जनचेतना फैलाउने अभियानले तीव्रता पायो । बस्ती बस्तीमा देहव्यापार निषेध लेखेर साइन बोर्ड झुण्ड्याइन थालियो । क्रमशः महिलाहरू विस्तारै यो पेशा गलत हो, छाड्नुपर्छ भन्ने सोचाइको विकास हुँदैगयो ।

तर भित्रभित्र भने गुपचुप यौन धन्दा चलिरहेकै थिए । मुख्य चुनौती थियो- बालिका र किशोरी जोगाउने । किनभने बादी समुदायमा महिलासँगै कलिला बालिका र किशोरीहरूलाई समेत देहव्यापारमा संलग्न गराइन्थ्यो ।

‘उनीहरूलाई पेशामा लाग्नबाट कसरी जोगाउने मुख्य चुनौती थियो’ निर्मल विगत सम्झँदै भन्छन् ।

विभिन्न गैरसरकारी संघसंस्थाले बालिका र किशोरीलाई देहव्यापारमा जानबाट रोक्न दाङ, बाँके, बर्दिया, कैलाली लगायत जिल्लामा होस्टेल सञ्चालन गरे । उक्त समुदायका बालिका र किशोरीहरूले यौन पेशा नअँगालुन् भनेर छुट्टै होस्टेल शुरू गरिएको हो ।

यसको दुईवटा कारण थियो । निर्मल भन्छन्- ‘एउटा त देहव्यापारमा संलग्न हुन सक्छन् भनेर समुदायबाट टाढा राख्नु र शिक्षामा पहुँच ल्याएर देहव्यापार गलत पेशा हो भनेर उनीहरूको चेतनाको विकास गराउनु ।’ यो क्रम २०५२ सालसम्म चल्यो र ६ जिल्लाका १२०० भन्दा बढी किशोरीहरू होस्टेल बसेर पढे । यो अभियानले नयाँ पुस्तालाई देहव्यापारमा सहभागी हुन मात्र रोकेन, शिक्षित र सचेत दुवै बनायो ।

सचेत नयाँ पुस्ताले नयाँ-नयाँ विकल्प खोज्न शुरू गरे । २०५८ साल यता दाङ लगायतका धेरै जिल्लामा देहव्यापार क्रमशः बन्द हुँदै गए ।

आन्दोलनका अनेक रूप

बादी समुदायले आफ्नो सम्मानजनक जीवन बाँच्नका लागि विभिन्न कालखण्डमा चरणबद्ध आन्दोलन गरे । कहिले सामाजिक रूपान्तरणका लागि त कहिले अधिकारका लागि बादी समुदायको आन्दोलन निरन्तर चलिरहृयो । महिलाहरू सम्मानजनक जीवन बाँच्न पाउनुपर्छ भन्दै जुर्मुराउन थाले ।

२०६१ सालमा कैलाली र दाङमा आत्मसम्मानपूर्वक बाँच्न पाउनुपर्छ भन्दै ‘लाइसेन्स दे या पुनस्र्थापना गर’ भन्दै महिलाहरूले आन्दोलन गरे । त्यसअघि र पछि जिल्लास्तरमा यस्ता थुप्रै आन्दोलन भए ।

बादी समुदायको आन्दोलनको मुख्य माग थियो- बाध्यात्मक रूपमा यौन पेशामा संलग्न महिलालाई पुनस्र्थापना हुनुपर्ने भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी र भूमि व्यवस्था गर्नुपर्ने । र, त्योभन्दा ठूलो थियो, देहव्यापारका क्रममा जन्मिएका बालबालिकाको नागरिकताको माग । निर्मलका अनुसार देहव्यापारबाट थुप्रै सन्तान जन्मिएका थिए । कानूनले आफ्नै देशमा विद्यमान समस्या पनि चिन्दैनथ्यो ।

२०६० मा बादी समुदायले बाध्यात्मक देहव्यापारबाट जन्मिएका सन्तानलाई आमाको नामबाट नागरिकता दिनुपर्ने लगायतका माग सहित सर्वाेच्चमा रिट दिए । अन्ततः सर्वाेचले २३ भदौ २०६२ मा बुबाको पहिचान नखुलेका बादी समुदायका बालबालिकालाई आमाको नामबाट नागरिकता दिनु भनेर निर्देशनात्मक आदेश दियो ।

‘आन्दोलनको यो एउटा ठूलो उपलब्धि थियो’ निर्मल भन्छन्, ‘बादी समुदायले गरेको यही आन्दोलनको प्रतिफल स्वरूप नेपालमा आमाको नामबाट नागरिकता पाउने व्यवस्थाको शुरुआत त्यहींबाट हुन पुग्यो ।’ यद्यपि, यसको कार्यान्वयनमा भने थुप्रै जटिलमा देखिए ।

२०६४ सालमा त्यस्तै अर्काे महत्वपूर्ण आन्दोलन भयो । बादी समुदायले यसपटक इतिहासमै पहिलोपटक राजधानी केन्द्रित आन्दोलन गरे ।

उमादेवी बादीको नेतृत्वमा २०६२ मा देशभरका बादी समुदायले शिक्षा, स्वास्थ्य, रोजगारी, जग्गाजमीन र सम्मानपूर्वक बाँच्नका लागि पुनस्र्थापना गर्नुपर्ने भन्दै २६ बुँदे मागसहित माइतीघरमण्डल अगाडि अर्धनग्न प्रदर्शन गरे । माइतीघरमण्डल हुँदै आन्दोलन सिंहदरबारसम्म पुग्यो । त्यो आन्दोलन ४८ दिनसम्म चल्यो । यसले सबैको ध्यान बादी समुदायतिर खिच्यो ।

उक्त आन्दोलनमा सहभागी भएकी दाङकी शान्ती बादी भन्छिन्- ‘आत्मसम्मानपूर्वक बाँच्न पुनस्र्थापनाको माग गर्दै ४८ दिन आन्दोलन गर्‍यौं । त्यही आन्दोलनबाट हाम्रो आवाज सरकारसम्म पुग्यो ।’ दुःखद कुरा उक्त आन्दोलनमा दुई जनाले ज्यान गुमाउनुपर्‍यो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले वार्तामा बोलाए भने तत्कालीन शान्ति मन्त्री रामचन्द्र पौडेलको नेतृत्वमा जग्गा प्राप्ति, बसोबास, पुनस्र्थापना गर्ने भन्दै सरकारसँग सम्झौता भयो । सम्झौता भएका मागमध्ये केही कार्यान्वयन भए, धेरै भने भएनन् ।

त्यस आन्दोलनको लगत्तै सरकारले २०६५ मा बादी समुदायलाई देहव्यापारमुक्त घोषणा गरेको थियो ।

०००

उमा बादी : प्रभावशाली महिलादेखि माननीयसम्म

बादी समुदायकी आन्दोलनकर्तामध्ये एक हुन्- उमादेवी बादी । उनी अहिले सुदूरपश्चिम प्रदेशकी प्रदेश सभा सदस्य छिन् । २०७४ सालमा भएको निर्वाचनबाट उनी प्रदेश सभामा निर्वाचित भइन् । उनी बादी समुदायबाट पहिलो र एक्ली महिला सांसद हुन् ।

२०६४ मा माइतीघर र सिंहदरबार अगाडि अर्धनग्न प्रदर्शनमा ४८ दिने आन्दोलनको अगुवाइ उनले गरेकी थिइन् । उनी सन् २०१८ मा बीबीसी विश्व सेवाले प्रकाशित गरेको बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा पनि परेकी थिइन् ।

रूपान्तरणको बाटो

पवित्रा बादी नेपाली ।

विभिन्न समयक्रममा बादी समुदायले गरेको चरणबद्ध आन्दोलन र महिलाहरूमा आएको चेतनाको विकासले समुदायमाथि ठूलो परिवर्तन आएको छ । २०६५ मा सरकारले बादी समुदायलाई देहव्यापार मुक्त समुदाय भनेर घोषणा गर्‍यो । दाङ लगायत केही जिल्लामा भने त्यस अगाडि नै आंशिक बाहेक धेरै ठाउँमा देहव्यापार बन्द भइसकेको थियो ।

भनिन्छ- १२ वर्षमा खोलो फर्किन्छ । बादी समुदायमा रूपान्तरण अहिले उत्कर्षतिर पुगेको छ । उनीहरू आफ्नै बलबुतामा उभिएका छन् । विभिन्न पेशा, व्यवसायमा संलग्न रहेर बादी समुदायका महिलाले नयाँ पहिचान बनाइरहेका छन् । श्रमसहित सम्मानको जीवनका लागि बलियो जग हालिरहेका छन् ।
४५ वर्षीया पवित्रा नेपाली बादी एक प्रतिनिधि पात्र हुन् ।

तीन दशक यता मादल बनाउनु उनको मूल कर्म बनेको छ र, बाँच्ने आधार पनि । भदौदेखि माघसम्म उनी मादल तयार गर्छिन् । उनलाई बजारको मागअनुसार आपूर्ति गर्न मुस्किल छ  ।

अफसिजनमा उनी ठेक्का लिएर घर बनाउने मिस्त्रीको काम गर्छिन् । धेरै दिदीबहिनीलाई रोजगारी पनि दिन्छिन् । उनी भन्छिन्, ‘हाम्रा दिदीबहिनीहरू माथि हेर्ने दृष्टिकोण फेरिंदैछ । हिजो जस्तो कसैले विभेद गर्दैनन् । सम्मानजनक व्यवहार पाउँदा खुशीको सीमा नै रहँदैन ।’

त्यस्तै, ३४ वर्षीया निरमाया बादीले चार वर्षअघि शुरू गरेको बंगुरपालनबाट राम्रै आम्दानी गरिरहेकी छन् । ‘घर खर्च राम्रै चलेको छ । दुईचार रुपैयाँ कसैसँग माग्नुपर्दैन’, उनी भन्छिन् । निरमायालाई पछ्याउने धेरै दिदीबहिनी छन् । आर्थिक अवस्था उठेसँगै सामाजिक सम्मानको सूचक पनि उकालो लागेको उनको अनुभव छ । ‘उत्साहित छु, व्यावसायिक बंगुरपालनसँगै केही बाख्रा पनि थप्ने सोच बनाइरहेकी छु’, उनी भन्छिन् ।

विगत सम्झँदा उनी लामो सुस्केरा हाल्छिन् । वर्तमान सम्झाउना साथ उनको अनुहारमा खुशीको प्रकाश देखिन्छ । भन्छिन्, ‘हाम्रै हिम्मत र साहसले त्यो अवस्था बदल्न सकेका छौं ।’

बादी समुदायकी नेतृ रञ्जिता बादी अहिले समुदायका महिलाहरू धेरथोर आय आर्जनको बाटोतर्फ अगाडि बढेको निष्कर्ष सुनाउँछिन् । लगानीको समस्याले केही अप्ठ्यारो पारिरहेको पनि उनको अनुभव छ ।

पर्याप्त लगानी र सीप नहुँदा दिगो रूपमा उपार्जन सुनिश्चित गर्न नसकिएको रञ्जिता बताउँछिन् । उनी भन्छिन्, ‘महीना दिनको तालिम लिएर मात्रै हुँदैन, त्यसलाई निरन्तरता दिन लगानी चाहिन्छ । लगानीकै अभावले हाम्रा महिला दिदीबहिनीहरू आर्थिक उपार्जनको बाटोतर्फ अघिबढ्न सकिरहेका छैनन् ।’ सरकारले समेत बादी महिलाको रूपान्तरणमा ध्यान नदिएको उनको गुनासो छ ।

रञ्जिता बादी समुदायकी नयाँ पुस्ताकी प्रतिनिधि पात्र हुन् । उनी अगाडि थप्छिन्, ‘हामी आफ्नो श्रम पसिनाले जीवनयापन गरिरहेका छौं । हिजोका दिनमा हाम्रा दिदीबहिनीमाथि भएको यौन शोषणलाई गलत अर्थ लगाइयो । हामी विगत भुल्न चाहन्छौं । आज हामी जति आफ्नो श्रमले आत्मसम्मानको जीवन जिउन सक्छौं, त्यति विगत भुल्न सजिलो हुन्छ ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?