+
+
विचार :

यो संविधान खारेज गर्ने कि संशोधन गरेर जोगाउने ?

दमननाथ ढुंगाना दमननाथ ढुंगाना
२०७८ असोज ३ गते १९:१३

हामी किन संविधान दिवस मनाउँदैछौं ? औपचारिकता हो कि परम्परा ? आज पनि हाम्रो प्रधानमन्त्री शेरबहादुरजी जानुभयो (टुँडिखेलमा संविधान दिवस मनाउन), पञ्चायतकालमा त सेनाले ड्याङडुङ बन्दुक पड्काएपछि संविधान दिवस मनाएको मानिन्थ्यो ।

संविधान दिवसको महत्व के छ ? मैले अघि विमलेन्द्रजीलाई सोधें । के हाम्रो पार्टी (नेपाली कांग्रेस)ले आज सर्कुलर गरेको छ ७७ वटै जिल्लामा संविधान दिवस मनाउन ? सर्कुलर गरेको छैन भने हामी नेपाली कांग्रेस भन्नलायक भइरहेका छौं ?

यो संविधान मात्र नभई संविधानवादको सबैभन्दा बढी महत्व बुझ्नुपर्ने पार्टी र नेताको नै नेपाली कांग्रेससँग सम्बन्ध छ । यो डेमोक्रेसीको इतिहास नै नेपाली कांग्रेसबाट शुरु भएको छ ।

बेलायतको अभ्यास भारत आएको र भारतको अभ्यास नेपाल आएको पाइन्छ । यस्तो परम्परासँग सबै परिचित थिए । हामी पनि त्यही बेला परिचित भयौं । बीपीको कुरै भएन, सूर्यप्रसाद उपाध्याय, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, (गणेशमानजी अलि हाहाहुहुमा बुझ्नुहुन्थ्यो), उहाँहरुले संसदीय व्यवस्था भनेको के हो ? यसको महत्वलाई उल्लंघन गर्न दिनुहुन्न थियो ।

म देखिरहेको छु- अहिले प्रक्रिया, पद्धति कसैलाई केही मतलब नै छैन । संविधान भनेकै राजनीति, संविधान भनेकै चुनाव जित्ने, संविधान भनेकै शक्तिमा पुग्ने र त्यसको दुरुपयोग गर्ने । देश निर्माणको एजेण्डा कहाँ छ ? को नेताले, कुन पार्टीले अहिले देश निर्माणको योजनामा, प्रजातन्त्रमाथिको गुण र दोषमा छलफल गरिरहेको छ ?

यो संविधानले संसदीय व्यवस्थालाई नै धेरै नै छेकबार गर्छ । जस्तो- ७६(५), यो विल्कुलै संसदीय व्यवस्थाको विपरीत हो । यो आतंककारी धारा हो । यो कसले लुकाएर त्यहाँ राख्यो ?

धारा ७६ () अर्थात् आतंककारी धारा

हामी त संसदवादीहरु हौं । जहिले पनि संसदीय व्यवस्था नै हाम्रो दर्शन हो । यो व्यवस्था र अहिलेको संविधानमा संसदीय व्यवस्था र दर्शनको विपरीत विषय छ । म यति मात्र भन्छु, व्याख्या गर्दिनँ ।

यो संविधानले संसदीय व्यवस्थालाई नै धेरै नै छेकबार गर्छ । जस्तो- ७६(५), यो विल्कुलै संसदीय व्यवस्थाको विपरीत हो । यो आतंककारी धारा हो । यो कसले लुकाएर त्यहाँ राख्यो ?

हुन त कांग्रेसीहरु आजकल अलि धेरै उत्तेजित हुन्छन् । म पुरानो कांग्रेस परें, उत्तेजनाकालको होइन । त्यही धाराले गर्दा हाम्रो शेरबहादुरजी प्रधानमन्त्री हुनुभएको छ । तपाईंहरुले के भनेको भनेर पनि तपाईंहरु तात्नुहोला । तर, म देखिरहेको छु- शेरबहादुरजी प्रधानमन्त्री बन्नुभयो, संविधान सकिरहेको छ । त्यसैगरी प्रधानमन्त्री पाउँछौं अनि संविधान खान्छौं ।

किनभने यो ७६ (५) ले राजनीतिक शक्तिको खेललाई समर्थन गरेको छ । पहिले माधव नेपालजीहरुले सही गर्नुभयो । अनि अदालतमा केस पुग्यो । अदालतले त्यसलाई समर्थन नगरेको भए शेरबहादुरको सरकार गठन हुँदैन थियो । ह्वीपलाई पनि तोडिदिएको छ, दलीय व्यवस्थालाई पनि तोडिदिएको छ । दलको प्रधानमन्त्री हुनेलाई पनि तोडिदिएको छ ।

अनि जुन दलको मान्छेले जता सही गरिदिए पनि हुन्छ, प्रधानमन्त्री हुन पाउँछ भनेको छ । अहिले शेरबहादुरजीलाई समर्थन गर्नेहरुले अर्को प्रधानमन्त्री प्रस्तावित गरे के हुन्छ ? पाउने कि नपाउने ? ७६ (५) अन्तर्गत हामीले फलानोलाई प्रधानमन्त्री प्रस्ताव गरेका छौं भन्न पाउने कि नपाउने ?

म यति नै भनेर छोड्छु- अहिलेको संविधान संसदीय प्रणालीका आधारभूत व्यवस्था र दर्शनको बर्खिलाप छ ।

२००७ सालदेखिको अन्तरिम संविधानलाई हेर्ने हो भने यो हाम्रो छैटौं संविधान हो । २०४७ सालको संविधान बनाउने १० जनामध्ये म र माधव नेपाल मात्रै बाँकी छौं । मैले सोचेको थिएँ- २०४७ सालको संविधान त यसरी जाँदैन होला भनेर ।

मेरो साथी हुनुहुन्थ्यो वकालत गर्ने- उहाँ संविधानसभाको नाम लियो कि मान्छेलाई ठोक्न थाल्नुहुन्थ्यो । किनभने २०४७ सालको संविधान मर्छ भनेर । कताकता जसरी २०४७ सालको संविधानलाई हामीले शहीद बनायौं, यो संविधानलाई पनि शहीद बनाउनु पर्ने हो कि होइन ? त्यस्तो अवस्था नआओस् । यो हाम्रो अन्तिम संविधान होस् ।

संविधान दिवस कसरी मनाउनुपर्छ ? किन मनाउने ? पार्टीले सबै जिल्ला इकाई, विद्यार्थी, युवा विद्यार्थीहरुमा पनि यस्तो शिक्षा दिनुपर्छ । निर्वाचनको समयजस्तै यो संविधान दिवस पनि शिक्षाको समय हो ठूलो संवैधानिक शिक्षा दिने ।

संविधान भनेको हरेक व्यक्तिको अधिकारबाट शुरु हुन्छ । अधिकारको शिक्षा उसलाई दिनुपर्छ । अनि मेरो देशमा कसरी सरकार गठन हुन्छ, के हो चुनावको महत्व ? जनप्रतिनिधि को हुन् र उनीहरुको दायित्व के हो ? भन्ने कुरा सिकाउँछ । हरेक वर्गको लागि यो आवश्यक छ ।

भारतमा अगस्ट १४/१५ मा कसरी मनाइन्छ ? अमेरिका जहाँ धेरै परम्परागत चाडपर्वहरु हुँदैनन्, त्यहाँ पनि भयंकरसँग संविधान दिवस मनाउने गरिन्छ । अधिकारको मुहान त्यहींबाट शुरु हुन्छ । अरु दिवस छाडेर फागुन ७ गते नै स‌ंविधान दिवस मनाउनुपर्छ । किनभने फागुन ७ गते नै संविधानसभाको शुरुवात भएको हो ।

अहिलेका कम्युनिष्ट संसदीय प्रणालीमा विश्वास नै गरेर आएका हुन् त ? होमोजेनिटी भनेको त्यही हो । कमसेकम सबैजना एउटा दर्शनमा विश्वास गर्नुपर्छ । जस्तो अमेरिका वा भारतमा संसदीय व्यवस्थामा कसैले पनि प्रश्न उठाएको छैन । तर हाम्रोमा सधैं उठिरहन्छ ।

दर्शनगत भिन्नता र संविधान

कुनै पनि संविधान पूर्ण हुँदैन, कमजोरी हुन्छन् । यो संविधान त माओवादीसँग बसेर अथवा संसदीय व्यवस्थामा आएका कम्युनिष्टहरुसँग बसेर धेरै विचारधारागत संकटमा बनाएको हो । एउटा संवैधानिक देश चलाउनका लागि हेटेरोजेनिटी होइन, होमोजेनिटी चाहिन्छ । कमसेकम दर्शनगत समानता चाहिन्छ ।

अहिलेका कम्युनिष्ट संसदीय प्रणालीमा विश्वास नै गरेर आएका हुन् त ? होमोजेनिटी भनेको त्यही हो । कमसेकम सबैजना एउटा दर्शनमा विश्वास गर्नुपर्छ । जस्तो अमेरिका वा भारतमा संसदीय व्यवस्थामा कसैले पनि प्रश्न उठाएको छैन । तर हाम्रोमा सधैं उठिरहन्छ । अहिले पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गरिरहेका छन्, निर्वाचित प्रधानमन्त्रीको कुरा गरिरहेका छन् । त्यो दर्शन र मूल्यमान्यता बाझिएको हो । त्यसैले पहिला हाम्रोमा होमोजेनिटी हुनुपर्‍यो ।

अहिलेका कम्युनिष्टहरु संसदीय व्यवस्था मान्ने कम्युनिष्ट हुन् कि होइनन् ? यो दार्शनिक पक्ष स्पष्ट हुनुपर्‍यो । त्यसो भयो भने मात्रै संविधानले गति लिन सक्छ ।

देशमा यो संविधानबारे दुईवटा धारणा देखिएको छ । एउटा पक्ष यो संविधानलाई आद्योपान्त खारेज नै गरिदिने । यसले अग्रगामी परिवर्तन ल्याएको छ । यसले संघीयता, गणतन्त्र, समावेशिता र आमूल परिवर्तन ल्याएको छ । यो आमूल परिवर्तन नचाहनेहरु यसलाई आमूल खारेज गर्न चाहन्छन् ।

दोस्रो स्कूल अफ थटले हामी बारम्बार संवैधानिक अस्थिरतामा नजा‍‍औं, हाम्रो राजनीतिक अस्थिरता संवैधानिक अस्थिरतासँग जोडिएको देखिएको छ । त्यसकारण जे जति कमजोरी भएता पनि यही संविधानभित्र संशोधन र पुनर्लेखन गरेर काम चलाउँ । यी दुइटा धारा देखिएका छन् ।

यसकारण सबैले सोच्नुपर्‍यो हामी कुन पक्ष लिने ? अस्तिको विघटन हेर्नुभयो भने त्यो संविधान खारेज गर्ने धारा हो । प्रतिनिधिसभाको दुईपटकको विघटन हेर्नुहुन्छ भने यो संविधानलाई आमूल खारेज गरिदिने सोच हो । किनभने यो संविधानले आमूल परिवर्तन ल्याएको छ । यो संविधानलाई खारेज गर्दा आमूल परिवर्तन पनि एकैचोटी जान्छ ।

त्यसैले हामीले सोच्नुपर्छ- हामीकहाँ छौं ? यो संविधानलाई आमूल परिवर्तन गर्ने लक्षण देखा परिसकेको छ । यो संविधानलाई टिकाएरै अगाडि बढाउन यसलाई पुनर्लेखन गरौं, संशोधन गरौं, विकास गरौं र आधारभूत संरचना संविधानको कहीं पनि बदलिँदैन । भारतमा पनि ‘बेसिक स्ट्रक्चर’ बदल्नु हुँदैन भनेर इन्दिरा गान्धीको ‘मुभ’पछि सिद्धान्तहरु प्रतिपादन भएका छन् । अमेरिकाले पनि ३०० वर्ष अगाडिको संविधान फेरेको छैन । संविधानको आधारभूत संरचना फेर्नुहुँदैन । संशोधन, पुनर्लेखनबाट चलाउनुपर्छ ।

अब तपाईं हामी कहाँ छौं ? यो संविधान खारेज गर्ने पक्षमा छौं कि यही संविधान टिकाएर संशोधनबाट अस्थिरता जोगाउने पक्षमा छौं ? यी कुराहरु सोचिदिनुहोला ।

(आइतबार संविधान दिवसका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको कार्यक्रममा पूर्वसभामुख ढुंगानाले व्यक्त गरेको विचारको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?