+
+

‘स्नायुरोग : अस्पताल पुग्दा अवस्था जटिल भइसकेको हुनसक्छ’

डा. राजीव झा- वरिष्ठ स्नायुरोग विशेषज्ञ, वीर अस्पताल डा. राजीव झा- वरिष्ठ स्नायुरोग विशेषज्ञ, वीर अस्पताल
२०७८ असोज ४ गते २०:३३

डा. राजीव झा वीर अस्पतालका वरिष्ठ स्नायुरोग विशेषज्ञ हुन् । हालसम्म १८ हजारभन्दा धेरै सर्जरी गरिसकेको बताउने डा. झा वीर अस्पतालको न्यूरो सर्जरी विभागका प्रमुख समेत हुन् । उनी समाजमा न्यूरो सम्बन्धी समस्यालाई धेरैले जटिल समस्या मान्ने गरेको भन्दै यो भ्रम हटाउनुपर्ने आशय व्यक्त गर्छन् । समयमा नै यसको उपचार गर्ने हो भने न्यूरोसम्बन्धी धेरै समस्याको उपचार सम्भव रहेको अनुभव बाँढ्दै यसलाई जटिल रोगको बारेमा नलिन सुझाव दिन्छन् । यही विषयमा डा. झासँग अनलाइनखबरकर्मी सुदर्शन अर्यालले गरेको कुराकानीको सम्पादित अंश :

स्नायु रोग के हो ? यो कति जटिल छ ?

स्नायु रोग शरीरको विभिन्न ठाउँमा देखिने समस्या हो । मानव शरीरमा टाउकोदेखि खुट्टासम्म नशा फैलिएको हुन्छ । त्यसैले स्नायुसम्बन्धी समस्या शरीरको जुनसुकै अंगमा पनि देखिन सक्छ ।

स्नायुसम्बन्धी समस्यालाई मूलतः मस्तिष्कभित्रको र बाहिरको गरी २ भागमा विभाजन गर्न सकिन्छ । मस्तिष्क बाहिर स्नायु सम्बन्धी समस्या हुँदा हातखुट्टा झमझमाउने, करकर खाने जस्ता समस्या देखिन सक्छ । यो हातखुट्टामा हुने नशामा देखिएको समस्याका कारण सिर्जना हुने समस्या हो । त्यस्तै, मस्तिष्कभित्रको स्नायुमा हुने समस्याले प्यारालाइसिस, छारेरोग जस्ता समस्या निम्त्याउन सक्छ । मस्तिष्कको स्नायुसम्बन्धी समस्याले मृत्युको समेत जोखिम बढाउन सक्छ । त्यसैले मस्तिष्क भित्रको स्नायुमा देखिने समस्या तुलनात्मक रूपमा बढी जटिल हुन्छ भने मस्तिष्क बाहिरको समस्या तुलनात्मक रूपमा कम जटिल हुन्छ ।

स्नायुसम्बन्धी समस्याको लक्षणहरू कस्ता हुन्छन् ?

स्नायुसम्बन्धी समस्याका केही विशेष लक्षणहरू हुन्छन्, जसले सहजै स्नायुसम्बन्धी समस्यालाई पहिचान गर्न मद्दत गर्छ । शरीरको कुन भागमा स्नायुसम्बन्धी समस्या देखिएको छ, त्यसको आधारमा लक्षणहरू पनि फरक-फरक हुने गर्छ । जस्तो- हातको नशा च्यापिएको छ भने औंलाहरू झमझमाउने, करकर खाने जस्ता समस्या देखिन्छ । यस्तो समस्याले मान्छेलाई विकलाङ्ग नै त गराउँदैन तर दैनिक जीवनशैलीलाई प्रभावित गराउन सक्छ । यसबाहेक घाँटी, ढाड आदि अङ्गमा पनि नशासम्बन्धी समस्याहरू देखिन सक्छ ।

टाउको दुख्ने, रिंगटा लाग्ने, मुखबाट थुक बग्ने, स्मरण शक्ति कमजोर हुने जस्ता समस्याहरूले स्नायुसम्बन्धी समस्याको संकेत गर्छ । जबसम्म बिरामी बेहोस हुँदैन, त्यतिबेलासम्म हामीहरू सिटामोल खाएर महिनौं/वषर्ाैंसम्म बस्छौं । यसले समस्या झनै बल्झाउँछ । हामीहरू बेहोस नहुँदासम्म, छारेरोगका कारण काम्न नथालेसम्म उपचार गर्न जाँदैनौं । जतिबेला हामी अस्पताल जान्छौं, त्यतिबेला स्नायु सम्बन्धी समस्या जटिल भइसकेको हुन्छ ।

कुन भागमा समस्या छ भनेर कसरी थाहा पाउने ?

मस्तिष्कको स्नायुमा हुने समस्या पनि अनेक थरीका हुन्छन् । दिमागको कुन भागको स्नायुमा समस्या छ त्यसको आधारमा लक्षण फरक हुन्छ । दिमागको ठूलो भाग, पछिल्लो भाग जसलाई सानो दिमाग भनिन्छ, दायाँ दिमाग, बायाँ दिमाग, अक्सिपिटल लोप, टेम्पल लोप जस्ता अनेक भागहरू हुन्छन् । यी ठाउँमा हुने स्नायुसम्बन्धी समस्याले छुट्टाछुट्टै लक्षण देखाउने गर्छन् ।

शरीरको जुनसुकै ठाउँमा ट्युमर भए पनि बान्ता हुने समस्या देखिन्छ । बिर्सिने समस्या, एकछिनका लागि पागलपनको समस्या आदि मस्तिष्कमा हुने ट्युमरको कारण निम्तिने समस्याहरू हुन् । यस्ता समस्याहरू केवल ट्युमरमा मात्रै होइन, ब्रेन हेम्रेज हुँदा पनि देखिन सक्छ । यस्ता लक्षणलाई बेवास्ता गर्दा प्यारालाइसिसको जोखिम बढी हुन्छ ।

अक्सिपिटल लोबमा समस्या भयो भने यसले मान्छेमा छारे रोगको समस्या निम्तिन्छ । दिमागको बीच भागमा ट्युमर पलायो भने आँखा र दिमाग दुवैलाई असर गर्छ । सामान्यतया अरू ठाउँमा ५ देखि २० सेन्टिमिटरसम्मको ट्युमरहरू हुँदासम्म पनि थाहै नहुन सक्छ । तर दिमागमा २/३ सेन्टिमिटरको मात्रै ट्युमर पलायो भने पनि त्यसले स्पष्ट लक्षण देखाउँछ । स्नायु सम्बन्धी समस्याको लक्षण ट्युमरको कारणले मात्रै हुँदैन । रगत जमेर होस् वा ब्रेन हेम्रेजको कारणले पनि दिमागको स्नायुमा असर गर्न सक्छ र यो बढी जोखिमपूर्ण हुन्छ । किनभने पेटमा, छातीमा, फोक्सोमा वा हात खुट्टामा ट्युमर पलायो भने ती अङ्गहरू फुलेको देखिन्छ । तर दिमागलाई दुवैतिर हड्डीले घेरेर राखेको हुनाले त्यहाँ सानो ट्युमरले पनि ठूलो असर गर्छ । यसरी दिमागमा पलाएको ट्युमरका कारण दिमागले राम्रो काम नगर्ने, नशा सुक्दै जाने जस्ता समस्याहरू देखिन्छ ।

धेरै मान्छेले स्नायुलाई जटिल समस्या मान्छन्, यसमा कति सत्यता छ ?

स्नायुसम्बन्धी समस्या भयो भने मान्छे पनि सकियो, घरबार पनि जान्छ भन्ने जुन सोचाइ छ, त्यो गलत हो । केही जटिल रोगहरू छन्, त्यसको उपचार पद्धतिहरू अलिक महंगो छ । किनभने त्यसमा प्रयोग हुने सामान नै महंगो हुन्छ । तर स्नायुसम्बन्धी ९७ प्रतिशत रोगहरू सामान्य खालका हुन्छन् र महंगा पनि हुँदैनन् । एक दिनमा १०० जना स्नायुसम्बन्धी समस्या भएका बिरामीहरू आए भने यसमध्ये २/३ जनामा मात्रै जटिल खाले स्नायु समस्या हुने गर्छ ।

तर यसको सामान्य लक्षण देखिँदा नै उपचार गर्नुपर्छ । समयमा नै यसको पहिचान गर्ने हो भने यो जटिल र खर्चालु समस्या होइन । स्नायुसम्बन्धी समस्यामा त्यति डराउनुपर्ने अवस्था छैन । कुनै समस्याको प्रारम्भिक अवस्थामा उपचार गरियो भने अप्रेसन नै गर्नुपरे पनि सानो र कम खर्चमा हुन्छ । तर बेवास्ता गरियो भने यसले जटिल रूप लिन सक्छ ।

मस्तिष्कमा हुने स्नायु सम्बन्धी समस्या र बाहिर हुने समस्यामा कत्तिको फरक छ ?

यी दुई समस्यामा आकाश जमिनको फरक छ । किनभने मस्तिष्क बाहिरको समस्याले मान्छेको ज्यान जाने सम्भावना कम हुन्छ भने मस्तिष्क भित्रको स्नायुसम्बन्धी समस्याले मान्छेको ज्यानै जोखिममा पार्न सक्छ । यति भन्दाभन्दै पनि मस्तिष्क बाहिरको स्नायु समस्याको पनि उपचारमा ढिलाइ गर्नुहुन्न ।

हाम्रो देशमा स्नायुसम्बन्धी शल्यकि्रया सुरु भएको कहिलेदेखि हो ?

हाम्रो देशमा स्नायुसम्बन्धी शल्यक्रिया सन् १९५८ तिर डा. दिनेशनाथ गोंगलले सुरुआत गर्नुभएको हो । शायद उहाँले शरीरको विभिन्न ठाउँमा स्नायुसम्बन्धी सर्जरीको काम वीर अस्पतालमा नै सुुरु गर्नुभएको हो । हामी यसमा गौरव गर्छाैं ।

स्नायु सम्बन्धी समस्यामा पूर्ण रूपमा निको हुने दर कति छ ?

स्नायुसम्बन्धी समस्या कति हदसम्म निको हुन्छ ? भन्ने कुरा कुन अङ्गमा समस्या देखिएको छ ? भन्ने आधारमा भन्न सकिने कुरा हो । जस्तो ब्रेन ट्युमर भएको छ भने यसको ४ वटा चरण हुन्छ । पहिलो र दोस्रो चरणको ट्युमर छ भने एकपटक अप्रेसन गरेपछि फेरि पलाउँदैन । त्यसपछि मान्छे पहिलेकै अवस्थामा पुग्छ । तर तेस्रो र चौथो चरणको ट्युमरको त्यस्तो राम्रो नतिजा छैन । यी दुई चरणको ट्युमरमा रेडियोथेरापी विधिबाट सेक्ने, औषधि दिने जस्तो उपचार विधि अपनाउने गरिन्छ ।

त्यसैले कुन चरणको ट्युमर हो, त्यसको आधारमा निको हुन्छ हुँदैन ? भन्ने यकिन हुन्छ । यति हुँदाहुँदै पनि मेडिकल साइन्समा रिसर्चले एउटा कुरा देखाएको हुन्छ भने व्यवहारमा धेरै फरक पनि पाइन्छ । चिकित्सकले धेरैमा डेढ वर्षभन्दा बाँच्दैन भनेर भनेर पठाएको बिरामी ८ वर्षसम्म बाँचेको रेकर्ड पनि छ । केही यस्ता भाग्यमानीहरू हुन्छन् उनीहरूलाई डिफरेन्ट ˆयाक्टरले रिसर्च र एक्सपेरियन्सले देखाएकोभन्दा धेरै समय बाँचिरहेको हुन्छ ।

दिमागमा ट्युमर देखियो भने ती सबै सर्जरीबाटै निकाल्नुपर्छ ?

सामान्यतया दिमागमा देखिने ट्युमरलाई सर्जरी नगरी हटाउन सकिन्छ । अहिले धेरै प्रविधिहरू आइसकेका छन् र कतिपय ट्युमरहरूलाई पुर्न पनि सक्छौं । किनभने यस्ता ट्युमरहरू एकदमै विस्तारै बढ्ने गर्छन् । १० वर्षमा एक सेन्टिमिटर बढ्ने ट्युमर फाल्न हतार गरेर अप्रेसन गर्दा फाइदाभन्दा बेफाइदा धेरै हुन्छ । सबैखाले ट्युमर देखिनेबित्तिकै निकाल्नै पर्छ भन्ने हुँदैन । तर दुर्भाग्यवश धेरै बिरामीहरू ट्युमर ठूलो नहुँदासम्म लुकाएरै राख्छन् । एक्कासी ट्युमर ठूलो भएपछि सर्जरी नै गर्नुपर्ने हुन्छ ।
कतिपय ट्युमरहरूलाई सेक्ने प्रविधिबाट पनि सल्टाउन सकिन्छ । यदि कुनैपनि ट्युमर २ देखि ३ सेन्टिमिटरसम्मको छ भने त्यसलाई सेक्ने प्रविधिबाट उपचार गर्न सकिन्छ । अहिले प्रविधिको विकाससँगै ट्युमरलाई मात्रै हुने गरी रेडियोथेरापी गर्न सकिने अवस्था छ । सबैलाई सर्जरी गरिहाल्नुपर्छ भन्ने छैन । स्नायुसम्बन्धी रोगको निदानको लागि रेडियो थेरापी एकदमै अहम् पार्ट हो । यसमा पनि प्यारालाइसिस भइसकेको छ भने त त्यो गर्नैपर्छ । अहिले प्यारालाइसिस भएको मान्छेको पुनस्र्थापना केन्द्रमा जानुपर्ने हुन्छ । तर बिरामीलाई घर लैजान्छन् । घरमा पर्याप्त थेरापीको अभावले प्यारालाइसिस भएको मान्छेको हात जाम हुँदै जाने, मोड्न पनि नसक्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैले थेरापी गरिरहनुपर्छ ।

प्यारालाइसिस भएपछि पूर्ण रूपमा निको हुन्छ कि हुँदैन ?

केही रोगहरू यस्ता छन्, जुन सामान्य उपचारपछि पहिलेकै अवस्थामा फर्काउन सकिन्छ, कतिपय दीर्घकालसम्म पनि पूर्ववत् अवस्थामा फर्काउन नसक्ने खालको समस्या हुन्छ । जस्तो- धेरै रक्सी खानेहरूमा रगत जम्ने समस्या हुन सक्छ । रगत निकालेर सफा गरेपछि त्यस्ता बिरामी एकदुई दिनमा पुरानै अवस्थामा फर्किन्छन् । त्यसैले सबै प्यारालाइसिस पहिलेको अवस्थामा फर्काउन नसक्ने खालको हुँदैन । धेरै प्यारालाइसिस धेरै दुःख गरेर पनि पहिलेको जस्तो फिट हुन नसक्ने खालको हुन्छ ।

स्नायु रोगबाट बच्नको लागि केही सुझावहरू छन् ?

स्नायु रोग निदानको उपाय खोज्नुभन्दा पहिले यो किन हुन्छ ? भन्ने खोज्नुपर्छ । जस्तो- धेरै स्नायुसम्बन्धी समस्याहरू चोटपटकको कारणले हुन्छ । त्यसैले चोटपटक लाग्नबाट बच्नु स्नायु रोग रोकथामको एउटा उपाय हो । सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको स्नायुसम्बन्धी समस्याको अलिकति पनि लक्षण देखियो भने परीक्षण गरिहाल्नुपर्छ । समयमा नै परीक्षण गर्‍यो भने धेरै स्नायुसम्बन्धी समस्याहरू समाधान हुन सक्छन् ।

दिमाग होस् या शरीरको अन्य भागमा पलाउने ट्युमरलाई रोक्न सकिँदैन । यो कतिपय वंशाणुगत कारणले पनि हुन्छ । तर लागिसकेपछि यसलाई कसरी निर्मूल पार्ने र प्यारालाइसिस हुनबाट कसरी रोक्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । जस्तो टाउको दुख्ने समस्या जसलाई पनि हुन्छ । तर बिहान उठ्नेबित्तिकै टाउको दुख्ने, बान्ता हुने जस्तो समस्या देखियो भने तुरुन्त परीक्षण गराइहाल्नुपर्छ । स्मरण शक्तिमा ह्रास आउनु, मुखहरू बाङ्िगन थाल्नु, मुखबाट र्‍याल चुहिन थाल्नु जस्ता समस्याहरू देखियो भने तुरुन्त चिकित्सकसँग परामर्श गरेर उपचार गरिहाल्नुपर्छ । यसबाहेक पनि कन्स्िटपेसन हुने, पिसाब सजिलै नहुने, हातखुट्टा झम्झमाउने, दिसापिसाब आफैँ चुहिने जस्ता आफूलाई असहज हुने जे भए पनि जँचाइहाल्नुपर्छ । यस्तो समस्या हुँदा ठूलै डाक्टर कहाँ जानुपर्छ भन्ने छैन । घर नजिकैको जो सुकै डाक्टरकोमा गए पनि हुन्छ । तर समयमा नै यसको उपचार गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?