+
+

मनरोगी र कुण्ठित, जो अरुलाई खिसिट्युरी गरेर रमाउँछन्

नुनुता राई नुनुता राई
२०७८ असोज ४ गते १३:०२

समाजिक सञ्जालमा असामाजिक प्रवृत्तिका व्यक्तिहरु सल्बालाइरहेका हुन्छन् । कसले के लगाएको छ, कसले के बोले, कसले कस्तो फोटो पोस्ट गरे, कसले के लेखे आदिबारे हरबखत चियो–चासो गर्छन् । अनि, सामाजिक सञ्जालमा गएर खिसिट्युरी गर्न थाल्छन् ।

अरुलाई होच्याएर, अरुको खिल्ली उडाएर, अरुलाई हाँसोको पात्र बनाएर उनीहरु आनन्द लिने गर्छन् । सामाजिक सञ्जालमा गरिने यस्ता असामाजिक क्रियाकलाप कति भयानक हुन्छ ? यसप्रति संवेदनशिल हुने होइन बरु मनोरञ्जन लिने प्रवृत्ति हुन्छ ।

मनोचिकित्सकहरुले यसलाई मानसिक विकारको रुपमा अर्थ्याएका छन् । मनोचिकित्सकका अनुसार उनीहरुमा कुष्ठा, आवेग जस्ता विकार जमेको हुन्छ ।

आफुले हल्का मनोरञ्जनका लागि अरुको खिसिट्युरी गरिरहँदा वा अरुमाथि नकारात्मक टिका-टिप्पणी गरिरहँदा त्यसले कस्तो असर गर्छ त ?

यस्ता नकारात्मक तथा गलत प्रवृत्ति भएका व्यक्तिहरूका कारण कतिपय मानिस आत्महत्या प्रयाससम्मको अवस्थामा पुग्ने तथा मानसिक स्वास्थ्य समस्यासँग जुझ्नुपर्ने अवस्थामा पुगेको पनि भेटिन्छन् ।

विशेषगरी नकारात्मक टिप्पणी, विचार, खराव प्रवृत्ति भएका व्यक्तिहरूको कमेन्टका कारण मानिसहरू समस्यामा पर्ने गरेको पाइन्छ । यहाँ त्यस्ता केही प्रतिनिधि  केही घटनाहरूको चर्चा गरिएको छ

घटना एक

गत महिना एक महिलाले फेसबुकमा राखेको फोटोमा एक अपरिचित व्यक्तिले महिलाको चरित्रमाथि गम्भीर आरोप लगाउँदै कमेन्ट गरे । फेसबुकमा फोटो राखेपछि आफ्नो काममा व्यस्त भइन् । त्यो कमेन्ट देखेर बैदेशिक रोजगारीमा रहेका उनका श्रीमानले फोन गरेर कराउन थाले । श्रीमानको फोन काटेर हेर्दा कमेन्ट देखिन् । कमेन्ट गर्ने व्यक्ति उनले चिनेका व्यक्ति थिएनन् ।

तर यो कुरा उनले आफ्नो श्रीमानलाई विश्वसत दिलाउन सकिनन् । जसको कारण दम्पत्तिको सम्बन्धमा फाटो आयो । अपरिचित व्यक्तिको अभद्र कमेन्टका कारण प्रेम-विवाह गरेका यी जोडीको विवाह नै संकटमा प¥यो । दुबैजना मानसिक तनाबबाट गुज्रिए । महिलाको आफन्तको सहयोगमा कमेन्ट गर्ने व्यक्तिविरूद्घ उजुरी गरिन् । उजुरीपछि उक्त व्यक्ति पक्राउ परे ।

त्यसबेला ती व्यक्तिले फेसबुकमा फोटो देखेर रमाईलोको लागि कमेन्ट गरेको जवाफ दिए । उनलाई सामान्य कारबाही गरेर प्रहरीले छोड्यो । तर त्यसले अर्को व्यक्तिमा गम्भीर प्रभाव परिसकेको थियो । त्यो तनावले महिलामा डिप्रेसनको सिकार हुन प¥यो । ती महिलाको श्रीमान्ले आफूले विश्वास नगरेकोमा अहिले पछुतो गर्दै श्रीमतिको उपचार गराइरहेका छन् ।

घटना दुई

१८ वर्षीय एक किशोरले आफनो बढ्दो तौलप्रति दुःख व्यक्त गर्दै फोटो क्याप्सन राखे । बजन बढ्न नदिनको लागि सुझाव दिनसमेत अनुरोध गरेका थिए । उनले फोटो राखेको आधा घन्टामा ३४ थान कमेन्ट आयो । तर अधिकांश कमेन्टमा सुझाव दिनभन्दा उनको बजनलाई लिएर नकारात्मक तथा खिसिट्युरी टिप्पणी गरिएको थियो । त्यसले उनलाई असह्य पीडा दियो ।

मानसिक तनाव त दियो नै त्यहि कुरालाई उनले ईख लिए । सामान्य परिवारका उनले खाना कन्ट्रोल गर्न थाले । तर त्यसले उनलाई फाइदाभन्दा बढी बेफाइदा ग¥यो । जसरी पनि बजन घटाउनको लागि खाना कहिले खाने, कहिले नखाने गरे । जसले ‘इटिङ डिअर्डर’को समस्या निम्त्यायो । त्योसँगै उनको स्वास्थ्यमा असर देखिन थाल्यो । मानसिक स्वास्थ्यामा समेत समस्या देखिएपछि उनी पनि मनोविद्कहाँ पुगेका छन् । अवस्था सामान्य हुँदै गइरहेको छ ।

घटना तीन

गत महिना फेसबुकमा एक १५ वर्षीय किशोरीले ‘जन्मदिन मनाउन पनि जान पाइनँ । अब म मर्छु ।’ भन्ने स्टाटस राखिन् । उक्त स्टाटस तल उनका साथीहरूले ‘मर मर । हामीलाई पर्खाएर आइनस् । जा मर नआइज’ कमेन्ट गरे । उनका करिब आधा दर्जन साथीहरूले मर भन्ने आसयका कमेन्ट गरे । नभन्दै उनले आत्महत्याको प्रयास गरिन् । संयोगवस उनको अभिभावकले बेलैमा थाह पाए र बचाउन सफल भए । आवेशमा आएर लेखेको स्टेटसमा उनको साथीहरूले कमेन्टले झन उनको मनोभावलाई दुरूत्साहन गरेको थियो । अहिले उनलाई अहिले मनोपरामर्श दिईंदैछ ।

सामान्यतया मानिसको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानसम्मान, इज्जत हो । जब कुनै पनि व्यक्तिको कारण मानसम्मान, प्रतिष्ठामा आँच आउँछ तब मानिस विक्षिप्त बन्छ । त्यो विक्षिप्तता यति गम्भीर हुन्छ कि त्यसले मानसिक स्वास्थ्य समस्या हुने, डिप्रेसनमा जाने, आत्महत्याको अवस्थासम्म पु¥याउँछ । कमेन्ट गर्ने व्यक्तिलाई सामान्य लागिरहेको कुरा दोस्रो व्यक्तिलाई गम्भीर लागिरहेको हुनसक्छ ।

सामाजिक सञ्जालमा व्यक्तिगत सम्बन्ध, पारिवारीक सम्बन्ध, यौन सम्बन्धका कुरालाई लिएर गरेको टिका टप्पणीले व्यक्तिलाई बढी नकारात्मक असर गर्ने मनोविद् गोविन्द ढकाल बताउँछन् । नीजि कुराहरूलाई लिएर सामाजिक सञ्जालमा प्रतिकृया जनाउन अपराध मानिन्छ । कसैको गोपनीयता भंग हुने गरी, मानहानी हुने गरी सार्वजनिक रूपमा व्यक्तिगत स्वतन्त्रतामाथि प्रहार गरी कमेन्ट गर्नु कानुनी रूपमा समेत अपराध मानिन्छ । तर अशिक्षा, असंवेदनशीलताका कारण यस्ता नकारात्मक कमेन्टहरू जताततै देख्न सकिन्छ ।

प्रतिक्रिया दिने व्यक्तिको पनि मानसिक स्वास्थ्य समस्या हुनसक्ने मनोविद् ढकाल बताउँछन् । मान्छे आवेगमा आएर गाली गर्ने, आक्रोश पोख्ने, कुण्ठा पोख्ने मान्छे पनि कतै न कतै मानसिक स्वास्थ्य समस्याबाट ग्रसित हुन सक्ने उनको भनाई छ । मन खुशी, सकारात्मक सोच भएको व्यक्तिले कहिल्यै पनि नकारात्मक टिप्पणी नगर्ने उनको जिकिर छ । उनी भन्छन् ‘यस्ता नकारात्मक कमेन्ट व्यक्तिमा कहीं न कहीं कुण्ठा, आक्रोस, निराशा असन्तुष्टि छ भनेर हामीले बुझ्न पर्छ। र कतिपय अवस्थामा मानसिक स्वास्थ्य अवस्थाले पनि प्रभाव परेको अथवा डिस्टर्व भएको भनेर बुझ्नपर्छ ।’

ढकालका अनुसार मानिसले भोगिरहेको मनस्थिति, मानसिक अवस्था अनुसार व्यक्त गरिने भएकोले त्यहि प्रभाव नकारात्मक प्रवृत्ति रूपमा देखिन्छ ।

यस्ता व्यक्तिको कारण अहिले सबैभन्दा बढी किशोर पुस्तालाई असर गरेको उनको अनुभव छ । उनीहरू छिटो निराश हुने, छिटो आवेगमा आउने उमेर समूह भएकोले सानो कुराले पनि बढी प्रभाव पर्ने भएकोले उनीहरूमा सामाजिक सञ्जालमा आउने नकारात्मक कमेन्टको प्रभाव बढी पर्ने उनको भनाइ छ ।

नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति भएका मानिसहरूलाई सामाजिक सञ्जाल झन सहज बनाएको मनोविद रोजिसा शाही ठकुरी बताउँछिन् । उनी भन्छिन्, ‘नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति भएका मानिसहरूलाई प्रत्यक्ष भन्न नसकेको कुरा स्टेटसमा, फोटोमा आएर भन्न सहज भएको छ । कुरा काट्ने शैली परिवर्तन भएको हो ।’

आफ्नो बारेमा आत्मविश्वास नभएको, गर्न सक्छु भन्ने कुरा गर्न नसकेको र अर्को व्यक्तिले गर्दा असुरक्षाको कारण यस्ता प्रवृत्ति रहेको मनोविद् ठकुरीको भनाइ छ । उनी भन्छिन् ‘यदि कुनै व्यक्तिले म नराम्रो छु भन्ने अनुभव गर्छ भने त्यो व्यक्तिले म मात्रै नराम्रो होईन तिमी पनि नराम्रो छौ है भन्नका लागि नकारात्मक कमेन्ट गर्ने, हियाउने गर्छ । हामी असुरक्षित अनुभव गर्यौं भने अर्को व्यक्ति हाम्रो असुरक्षाको निशाना बन्न पुग्छ । अर्थात असुरक्षाले नकारात्मक प्रवृत्तिको विकास गर्छ ।’

नकारात्मक टिप्पणी गर्नेलाई मानसिक स्वास्थ्य समस्या हुनसक्छ भन्न नसकिने उनको भनाइ छ । भन्छिन् ‘यो मानिसको प्रवृत्ति हो । नेचर हुन्छ कसैको केही कुरामा सकारात्मक नदेख्ने अथवा कुनै मन नपरको व्यक्तिले जस्तो राम्रो काम गरेपनि राम्रो नदेख्ने । यसलाई मानसिक स्वास्थ्य समस्या भन्न मिल्दैन ।’

यस्ता उमेर समूह बढी सामाजिक सञ्जालमा सकृय छन् । समाजिक सञ्जाल प्रयोगकर्ता किशोर पुस्ता सुन्दरतालाई बढी केन्द्रित हुन्छन् । सामाजिक सञ्जालमा आउने प्रतिकृया, लाईक, शेयरले स्वमूल्यांकन गरिरहेका हुन्छन् । उनीहरू सामाजिक सञ्जालमा फोटो राख्नको लागि एकदम मिहेनत गरेर राम्रो खिच्ने, मेकअप गर्ने गर्छन । त्यस्तो समय दिएर खिचेको फोटो, बनाएको टिकटकमा नकारात्मक टिप्पणी आउँदा निराश हुने, दुखी हुने हुन्छन् ।

सामाजिक सञ्जालमा आएको कमेन्टले बढी प्रभाव पार्ने भनेको किशोर पुस्तालाई हो । उनीहरूलाई नराम्रो, मोटोपन, वर्णलाई लिएर गरेको कमेन्टले एकदम धेरै असर गरेको पाईएको ठकुरी बताउँछिन् । उनी भन्छिन् ‘उनीहरूमा सेल्फ स्टिम विकास भएको हुँदैन । जसले यस्ता कुराहरूलाई वेवास्ता गर्न सक्दैनन् र एन्जाईटी हुने, डिप्रेसन हुने लेबलसम्म पुग्छन् ।’ त्यहि भएर उनी कसैलाई कुनै पनि विषयमा प्रतिकृया दिन अघि एकदम संवेदनशील भएर दिन आग्रह गर्छिन् । भन्छिन् ‘हामी भन्नेलाई सामान्य लाग्ला तर दोस्रो व्यक्तिमा त्यसले गम्भीर नकारात्मक असर परिरहेको हुन्छ । विशेषगरी किशोर पुस्तालाई कमेन्ट गर्दा संवेदनशील हुन जरूरी छ ।’

किशोर पुस्ता अथवा जो कोहीले पनि सामाजिक सञ्जालमा आउने कमेन्ट व्यक्तिको बसमा नहुने कसले कुन अवस्थामा कसरी कमेन्ट गर्छ भन्ने कोही पनि प्रयोगकर्ताको हातमा नहुने भएकोले टिप्पणीमा दुःखी नहुन मनोविद्हरू सुझाउँछन् ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?