+
+

ईश्वर पोखरेलको नजरमा एमालेका १० समस्या

दश बुँदेदेखि समावेशीताको क्लष्टरसम्म

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १९:१३

४ असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीमा सांगठनिक प्रतिवेदन पेश गर्दै महासचिव ईश्वर पोखरेलले पार्टीभित्र रहेका समस्याहरु केलाएका छन् ।

उनले १० बुँदे सहमतिदेखि संगठनात्मक अराजकता, दोहोरो जिम्मेवारी, नेता र कार्यकर्ताहरुको जीवनशैलीलाई समस्याका रुपमा औंल्याएका छन् । साथै पार्टी अधिवेशनमा समावेशीको क्लस्टरसहितको निर्वाचन गर्नुपर्ने प्रक्रिया निकै बोझिलो भएको समेत उनले बताएका छन् ।

यस्ता छन्, पोखरेलले एमालेमा देखेका १० समस्या :

१. नेता/कार्यकर्ता अध्ययनशील भएनन्

महासचिव पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा नेता/कार्यकर्ता अध्ययनशील नभएको विषयबाट समस्याको उठान गरेका छन् । खासगरी पार्टीमा आवद्ध नयाँ पुस्ताका कार्यकर्तामा अध्ययन गर्ने बानी नरहेको र पुराना नेता/कार्यकर्तामा पनि अध्ययन गर्ने बानी हराउँदै गएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘पार्टीमा जोडिएका नयाँ पुस्तामा दर्शन, राजनीतिक अर्थशास्त्र, वर्ग संघर्षको सिद्धान्त, इतिहास र नेपाली समाज तथा संस्कृतिका बारेमा चासो राख्ने र अध्ययन गर्ने प्रवृत्ति निकै कम देखिन्छ ।’

सूचना प्रविधिको विकासले बैचारिक र सैद्धान्तिक ज्ञान हासिल गर्ने प्रवृतिमा निकै ठूलो ह्रास आएको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘आमसञ्चारमाध्यम र विशेषगरी सामाजिक सञ्जाल बढी पढिने र धारणा बनाउने प्रवृत्ति छ । यस्तो सीमित ज्ञानले समाजलाई सही दिशामा डोर्‍याउन कठिन हुन्छ ।’ ज्ञानको दायरा फराकिलो नहुँदा नेता/कार्यकर्ताले अवसरवाद र अराजकतावादलाई लगाम लगाउने तागत नराख्ने महासचिव पोखरेलको व्याख्या छ ।

एमाले महासचिव पोखरेलले पार्टीमा सांगठनिक अराजकता रहेको बताएका छन् । माले र माओवादी केन्द्रबीच एकता भएपछि पार्टीमा सांगठनिक अराजकताले संस्थागत रुप लिएको उनको निष्कर्ष छ ।

यसको समाधानका लागि पार्टीमा प्रशिक्षण हुनुपर्ने उनले बताएका छन् । ‘प्रशिक्षणहरु केन्द्रमा प्रयास भए पनि प्रदेश र स्थानीय तहमा छैनन् । अध्ययन र प्रशिक्षण नेताहरुको अन्तरर्वार्ता र भाषणमा सिमित बन्न पुगेको छ । परिणाममा संगठनात्मक अराजकता, अनुशासनहीनता, अवसरवाद मौलाएर गएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

२. विना मापदण्ड सदस्यता वितरण

महासचिव पोखरेलले देखेको दोस्रो समस्या हो– मापदण्ड विना नै पार्टी सदस्यता वितरण । ‘बिना कुनै मापदण्ड सदस्यता वितरण गर्ने, सदस्यता शुल्क अरु कसैले तिरिदिने, नविकरण प्रत्येक वर्ष नगर्ने प्रवृत्ति छ’ प्रतिवेदनमा भनिएको छ, ‘कतिपय ठाउँमा चर्को गुटबन्दीले सदस्यता वितरणमा रोकिएको छ ।’

पार्टी सदस्यता लिनुपूर्व प्रशिक्षित नगरिएको र पार्टी सदस्यहरु संगठनको सम्पर्कमा नरहने समस्या रहेको भन्दै उनले यस्तो कार्यले संगठनात्मक योजना प्रभावित हुने भएकाले सचेत हुनुपर्ने बताएका छन् । पोखरेलले अघि लेखेका छन्, ‘पार्टी सदस्यतालाई व्यवस्थित नगरी पार्टी निर्माणको काम प्रभावकारी बन्न सक्दैन । आगामी दिनमा यस कामलाई पार्टी कामको महत्वपुर्ण विषय बनाउनुपदर्छ ।’

३. १० बुँदेले कार्यकर्ताको व्यवस्थापन जटिल

१० बुँदे सहमति कार्यान्वयनसँगै पार्टी काममा क्रियाशिल कार्यकर्ताको व्यवस्थापनमा प्रक्रियागत जटिलता थपिएको छ महासचिवले बताएका छन् ।

एमालेमा २७ असार २०७८ मा १० बुँदे सहमति गरेको थियो । उक्त सहमति अनुसार पार्टीका सम्पूर्ण संरचना २०७५ साल जेठ २ गते अघिको अवस्थामा फर्किनेगरी सहमति कार्यान्वयनको चरणमा छ । तर, ०७५ जेठ २ मा पार्टी संरचना फर्किने सहमतिले क्रियाशील कार्यकर्ताको व्यवस्थापनमा प्रक्रियागत जटिलता थपिएको विश्लेषण महासचिव पोखरेलले गरेका छन् ।

यसको समाधान के हो ? भन्ने बारेमा भने प्रतिवेदन मौन छ । पार्टी संरचना ०७५ जेठ २ को पूर्व अवस्थाको मान्यताले संविधानसभाको समयमा तयार भएको वैधानिक अवस्था यथावत रहने परिस्थिति सिर्जना भएको उल्लेख गर्दै प्रतिवेदनमा थप भानएको छ, ‘मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको लामो समय भइसक्दा पार्टी संरचना तदअनुरुप रुपान्तरण हुन नसक्नु उचित होइन ।’

४. समावेशीताको क्लष्टर बोझिलो

महासचिव पोखरेलले पार्टीका सबै संरचनाको अधिवेशन र त्यसमा पनि समावेशीताको क्लष्टर अर्को समस्या भएको बताएका छन् । नेकपाको समयलाई शून्य मानेर अघि बढ्दा पनि स्थानीय तहका धेरै कमिटीहरुको अधिवेशनको अवधि गुज्रिसकेको उल्लेख गर्दै प्रतिवेदनमा लेखिएको छ, ‘अब नयाँ संवैधानिक र कानुनी प्रवन्ध अनुरुप व्यवस्था गर्नुपर्नेछ र पार्टी सदस्यता नवीकरण हुनुपर्छ ।’

पार्टी संरचनाको अधिवेशनको ब्याख्या गर्दै गर्दा महासचिव पोखरेल समावेशिताको क्लष्टर बोझिलो भएको भन्नेमा पुगेका छन् । ‘…र समावेशिताको क्लष्टर सहितको प्यानलगत निर्वाचन गर्नुपर्दा निर्वाचन प्रपिक्रया निकै बोझिलो बन्ने र त्यसले बढी समय लिने गरेको छ । राष्ट्रिय महाधिवेशन आयोजना गर्दा त यो विषय अझ जटिल बन्ने गरेको छ । महाधिवेशनबाट नेतृत्व चयन हुने समयसम्मको अवधिको तोकिएको भन्दा दोब्बर लाग्ने गरेको छ’ प्रतिवेदनमा उल्लेख छ ।

पार्टीमा वर्ग दृष्टिकोणभन्दा पहिचानको मुद्धामा आकर्षित हुने समस्या पनि देखिएको उनले बताएका छन् ।

२०६२/०६३ सालको जनआन्दोलनपछि नेपालमा जातीय पहिचान र अधिकार विषयहरु प्रभावी बनेको पृष्टभूमि उल्लेख गर्दै थप व्याख्या गरिएको छ, ‘पहिचानको आन्दोलनले वर्ग दृष्टिकोण र वर्ग पक्षधरतानका दृष्टिकोणले सवल र सुदृढ हाम्रो आन्दोलनमा समेत एकहदसम्म प्रभावित बन्न पुग्यो । यसबाट पार्टीका कैयौं पुराना नेता र कार्यकर्ताहरु पार्टीबाट बाहिरिन पुगे । आज उनीहरुको राजनीतिक भविष्य नै संकटमा पुगेको छ । यतिबेला समाजको विकास र पविर्तनको प्रमुख आधार वर्ग संघर्ष हो भन्ने मान्यतालाई एक हदसम्म कमजोर बनाइएको छ ।’

पोखरेलले नेपालमा अध्यापन हुने विकासको अनुभव र बौद्धिक जमातबारे प्रश्न उठाएका छन् । ‘समाज विकासको युरोपेली अध्ययन र अनुभवहरु हाम्रा विश्वविद्यालयमा पढाइने र त्यसको प्रभावमा परेका हाम्रा बुद्धिजीविहरु नेपाली समाजको तदनुरुपको विवेचना गर्नाले सही दृटिकोण निर्माणमा समस्या देखिने गरेको छ । वास्तवमा युरोपेली समाज विकासको प्रक्रिया र एशियाली समाज विकासको प्रक्रियामा भिन्नता रहेको सत्यलाई बुझ्न सक्नुपर्दछ’ प्रतिवेदनमा उल्लेख छ ।

५. सांगठनिक अराजकता

एमाले महासचिव पोखरेलले पार्टीमा सांगठनिक अराजकता रहेको बताएका छन् । माले र माओवादी केन्द्रबीच एकता भएपछि पार्टीमा सांगठनिक अराजकताले संस्थागत रुप लिएको उनको निष्कर्ष छ ।

‘माओवादीभित्र व्यक्ति केन्द्रित संगठनात्मक अभ्यास खुला राजनीतिमा आएपछि संगठनात्मक अराजकताका रुपमा संस्थागत भयो र दुई पार्टीको एकतापछि नेकपाभित्र प्रवेश गर्‍यो’ प्रतिवेदनमा उल्लेख छ ।

एमाले विभाजन भएर माधव नेपालले नयाँ पार्टी बनाएका छन् । तर एमालेमा सांगठनिक अराजकता र गुठबन्दी समस्याको अन्त्य नभएको महासचिव पोखरेलको सांगठनिक प्रतिवेदनमा उल्लेख छ ।

‘माओवादी आन्दोलनमा हुर्किएको संगठनात्मक अराजकता नेकपाभित्रको समूहबन्दीमा हुने र पार्टी आन्दोलन नै संकटमा पर्ने अवस्था सिर्जना भयो’ यसैमा माधव नेपालबारे ब्याख्या छ, ‘पार्टीबाट माधव नेपालको नेतृत्वमा एउटा समूह बाहिरिए पनि संगठनात्मक अराजकता र गुठबन्दीको समस्या स्वतः अन्त्य हुने छैन ।’

यो समस्या समाधानका लागि ‘आगामी दिनमा योजनावद्ध रुपमा संगठनात्मक अराजकता र गुटवन्दीका विरुद्धमा बैचारिक र राजनीतिक अभियान संचालन गर्नुपर्ने’ महासचिव पोखरलले बताएका छन् ।

६. कार्यकर्ताको मुल्याङ्कन र मिडिया मोह

महासचिव पोखरेलले पार्टीमा देखेको छैठौं समस्या हो– कार्यकर्ताको मुल्याङ्कन । संस्थागत मुल्याङ्कन नहुँदा कार्यकर्तामा काम गर्ने भन्दा मिडियामा प्रस्तुत हुने विषयले महत्व पाउन थालेको उनले उल्लेख छ ।

‘विगत लामो समयदेखि पार्टी कामको समीक्षा र कार्यकर्ताको मुल्यांकन संस्थागत रुपमा हुन छोडेको छ । कमिटीको आकार बढेसंगै कामको रिपोर्टिङ समीक्षाहरु जटिल बन्दै गएको छ । पार्टीको निर्देशन पालना गरे पनि हुने नगरे पनि हुने अवस्था सिर्जना भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘नेता/कार्यकर्तामा परिभाषित काम गर्ने भन्दा सञ्चारमाध्यममा प्रस्तुत हुने कुराको महत्व बढेको छ ।’

फिल्डमा काम गर्ने कार्यकर्ताको तुलनामा नेतृत्वको आसपासमा देखिने कार्यकर्ताको भूमिका महत्वपूर्ण बन्ने गरेको, प्रतिस्पर्धामा सफल हुने नाममा परिभाषित काममा जुटने भन्दा असहमति प्रकट गरेर चर्चित बन्ने होडबाजी सुरु भएको महासचिव पोखरेलले बताएका छन् ।

समाज परिवर्तनको ध्येय र उद्देश्य कमजोर भएको, यस ठाउँमा पद, प्रतिष्ठा प्राप्तिले लिन थालेको उल्लेख गर्दै उनले सुझाएका छन्, ‘यसलाई समयमै सुधार नगर्ने हो भने पार्टी निर्माण गर्न सकिने छैन र त्यस्तो पार्टीले सामाजिक परिवर्तनको अभियानको सफल नेतृत्व गर्न पनि सम्भव हुने छैन ।’

७. अस्वस्थ प्रतिस्पर्धा र दोहोरो जिम्मेवारी

पार्टी महाधिवेशनमा अस्वस्थ प्रतिस्पर्धा हुने र त्यसले गुटको रुप लिने तथा पार्टीमा एउटै व्यक्तिले दोहोरो जिम्मेवारी लिने र पाउने विषयलाई महासचिव पोखरेलले सातौं समस्याको रुपमा प्रस्तुत गरेका छन् ।

सादा जीवन उच्च  विचारको आदर्श कमजोर हुँदै गएको, जनवादी विवाहको परम्पराबाट हुर्केका नेता र कार्यकर्ताहरुमा समेत भोजभतेरको संस्कृतिप्रतिको झुकाव बढ्न थालेको, जनतासंग घुलमिल हुने जनशैली क्रमश: कमजोर बन्दै गएको भनी समस्याका रुपमा औंल्याइएको छ ।

‘महाधिवेशनको समयमा हुने प्रतिस्प्रर्धा अस्वस्थ बन्न पुग्दा पार्टीको जीवन नै अस्वस्थकर बन्ने गरेको छ । महाधिवेशनको समयमा समुहगत प्रतिस्पर्धाले पछिसम्मको गुटबन्दीको आधार बन्ने गरेको छ’ प्रतिवेदनमा भनिएको छ, ‘विधान अधिवेशनमा नीति र विधि तयार गरिरहँदा यस्ता कुरालाई समाधान गरिनुपर्दन ।’

एक भन्दा बढी कमिटी क्रियाशील हुने, एउटै कार्यकर्तालाई एक भन्दा बढी कार्यक्षेत्रको जिम्मेवारी दिने वा लिने प्रयत्न गर्नु पनि समस्या भएको महासचिव पोखरेलको प्रतिवेदनमा उल्लेख छ । ‘एउटै व्यक्ति वर्ग र समुदायको दृष्टिकोणले फरकफरक कामको क्षेत्रमा संगठित भएको देखिन्छ । यस्तो भूमिका सधैं अस्थिर र ढुलमुले बन्ने खतरा रहन्छ । यस अवस्थाले अवसरवादलाई हुर्किन मलजल गर्न सक्छ’ सांगठनिक प्रतिवेदनमा भनिएको छ, ‘दोहोरोपनाले संगठन र कमिटीहरुका बीचमा समेत अन्तरविरोध पैदा हुने अवस्था आउन सक्छ ।’

नेकपाका कमिटीहरु ठूलो भएको र एमाले पुनर्स्थापित भएपछि बाहिर रहेकाहरुलाई थप्दा झन् ठूलो भएको भन्दै उनले भनेका छन्, ‘ठूला आकारका कमिटीहरुको बैठक सञ्चालनमा समस्या भएपछि जिम्मेवारी मुख्य नेता वा पदाधिकारीले लिने र कमिटीमा भएकाहरुले भूमिका नपाउने स्थिति पनि छ ।’

८. जनसंगठनको परिचालनमा समस्या

पार्टीमा जननसंगठन परिचालनको समस्यालाई पनि महासचिव पोखरलले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

संगठन सञ्चालनमा बढ्दो आर्थिक भारले परम्परागत रुपमा संगठित सदस्य, शुभेच्छुकहरुको भारमा संगठन सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको, संगठनहरुले दिगो स्रोतको व्यवस्थापन गर्न नसक्दा अनेक प्रकारको विकृति र विसंगति पनि देखा पर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।

जनसंगठनहरु राजनीतिक रुपमा पार्टीप्रति पूर्णरुपमा प्रतिवद्ध हुने र संगठनात्मक रुपमा स्वायत्त हुनु उपयुक्त हुनुे उल्लेख गर्दै लेखेका छन्, ‘यसमा पनि पछिल्लो समयमा जटिलता थपिदै गएको छ ।’

अवसरका लागि संगठनमा जोडिने प्रवृत्ति मौलाएको र यसले जनसंगठन परिचालनमा समस्या भएको प्रतिवेदनमा उल्लेख छ ।

पार्टीमा कार्य विभाजनको विषय प्राय विवाद र असन्तुष्टिको विषय बन्ने गरेको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘कतिपय कमिटीका सदस्यहरुले कामका लागि भन्दा मानका लागि जिम्मेवारीमा बस्न होडबाजी गर्ने गरेको पाइन्छ । उनीहरु कामका लागि भन्द उपयुक्त अवसरको दावीका लागि त्यहाँ बस्न चाहेको देखिन्छ ।’ यो महासचिव पोखरेलले देखाएको आठौं समस्या हो ।

९. काठमाडौं उपत्यकामा के गर्ने ?

महासचिव पोखरेलले ‘काठमाडौं उपत्यकाको पार्टी कामको व्यवस्थापन’लाई पनि समस्याका रुपमा लिएका छन् ।

बाहिरबाट काठमाडौं उपत्यकामा आएर अध्ययन, अध्यापन, पेशा र व्यवसायमा संलग्न हुने ठूलो संख्या रहेको र उनीहरुको पार्टी राजनीतिमा प्रभावमा रहँदै आएको प्रतिवेदनमा उल्लेख छ । उनीहरुमध्ये एउटा हिस्साले भूगोलको संगठनात्मक काममा प्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने गरेको र अर्को हिस्सा विशेष कमिटीमार्फत परिचालित हुने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले विगतमा दुबै प्रकृतिका कामलाई उपत्यका कमिटी अन्तर्गत परिचलान गरेको स्मरण गरेका छन् ।

तर, नयाँ संविधान जारी भएपछि उपत्यका कमिटी उचित नरहने निष्कर्षमा पुगिएको तर, नेकपा कालमा विशेष प्रकृतिका संगठनहरु हेर्न अलग्गै विशेष कमिटीको व्यवस्था गरिएको स्मरण गरेका छन् । ‘एमाले पुनर्स्थापित भएपछि त्यो काम (उपत्यकाको पार्टी कामको व्यवस्थापन)लाई कसरी अघि बढाउने भन्ने प्रश्न खडा भएको छ’ सांगठनिक प्रतिवेदनमा उल्लेख छ ।

१०. जीवनशैली र आचरणमाथि प्रश्न

एमाले महासचिव पोखरलले सांगठनिक प्रतिवेदनमा औंल्याएको अन्तिम समस्या हो– नेता कार्यकर्ताको जीवनशैली र आचरण ।

‘पार्टीका नेता र कार्यकर्ताहरुको जीवनशैली र आचरणका क्षेत्रमा प्रश्न उठ्न थालेको छ । कतिपय नेता कार्यकर्ताको वैध आम्दानी र खर्चका बीचमा असन्तुलन देखिन थालेको छ’ प्रतिवेदनमा उल्लेख छ । सादा जीवन उच्च  विचारको आदर्श कमजोर हुँदै गएको, जनवादी विवाहको परम्पराबाट हुर्केका नेता र कार्यकर्ताहरुमा समेत भोजभतेरको संस्कृतिप्रतिको झुकाव बढ्न थालेको, जनतासंग घुलमिल हुने जनशैली क्रमश: कमजोर बन्दै गएको भनी समस्याका रुपमा औंल्याइएको छ ।

रुढीवादी परम्परा हटाउने, फजुल खर्च कम गर्ने र असल परम्परालाई प्रवर्द्धन गर्ने दायित्वबाट पार्टी पंक्ति क्रमश विमुख हुने जोखिम बढेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक पक्षलाई जोडेर प्रश्न उठ्नुमा निर्वाचन जित्ने ध्याउन्न रहेको पनि प्रतिवेदनमा केलाइएको छ ।

‘पार्टीको उद्देश्य जसरी हुन्छ चुनाव जित्नु हो जस्तो हुन थालेको छ । चुनाव जित्नु राजनीतिक कार्यदिशाका हिसाबले महत्वपूर्ण काम हो । तर, समाजलाई बदल्ने नेता र कार्यकर्ताको टिमले त्यो ठाउँ लिनु आवश्यक छ । अन्यथा चुनावको राजनीतिले पार्टीलाई संसदवादको गोलचक्करबाट माथि उक्लन दिने छैन’ प्रतिवेदनमा भनिएको छ ।

यस्तो समस्या समाधानका लागि के गर्ने भन्ने पनि प्रतिवेदनमा छ । ‘पार्टीको नेता र कार्यकर्ताहरु आर्थिक विकास र सामाजिक रुपान्तरण दुवैका बाहक हुन् भन्ने कुरालाई उनीहरुको जीवनशैली र आचरणका माध्यमबाट प्रकट हुने अवस्था सिर्जना गरिनु पर्दछ । त्यस (जीवनशैली र आचरणमाथि प्रश्न)का लागि नेतृत्वले आफूलाई उदाहरणीय रुपमा प्रस्तुत गर्नुपर्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?