Comments Add Comment
विचार :

गीतमा महिलाको हुर्मत कहिलेसम्म ?

शब्द, मेलोडी र स्वरको संयोजन नै गीत हो । गीत मार्फत कथा भन्ने, भावना व्यक्त गर्ने, विशेष मान्यता वा विचारलाई व्यक्त गर्ने गरिन्छ । श्रोता रिझाउने उद्देश्य बोकेका हाम्रा गीतहरूमा महिलाद्वेषी सन्देश प्रशस्त पाइन्छ । पुरुषसत्ताको भाका गाउने त्यस्ता गीतहरूले महिलाको भावनामाथि हदैसम्मको मजाक गरेका छन् । ‘गीतमा त रमाउने हो, त्यत्ति सिरियस्ली नलिऔं’ भन्ने कतिलाई लाग्ला । सुर र तालद्वारा सजिएका गीतभित्रका अन्तरवस्तुबाट हामीले कस्तो समाजको कल्पना गर्दैछौं भनेर चिन्तन गर्‍यौं भने यसले मेरो जस्तै धेरैको टाउको दुखाउँछ ।

लैङ्गकि भूमिका, शक्ति सम्बन्ध र यौनिकताको सवालमा महिला पात्रलाई सधैं निरीह बनाए गीतहरूले । यसलाई प्रमाणित गर्न अभागी कर्महारा मानवको रूपमा वर्णन गर्दै छोरीको जायजन्मलाई नै धिक्कार्ने यस्ता गीतहरू बने- ‘छोरीको जन्म हारेको कर्म, कहाँको जनम भो कहाँ’, ‘ठोक न मादल ठोक सानु …देउता उल्लु आइमाईको संख्या बढाउनाले’ । यी पुराना गीत कानमा ठोक्किंदा लाग्छ- यसले आम महिलाको आत्मसम्मान र अस्तित्वमाथि झापड हानेको छ ।

एकताका रेडियो नेपालमा खूबै चलेको ‘लै बरी लै लै बरी लै, गाउँका केटी सबैलाई’ गीतले मर्यादाको सीमा नाघ्दै शब्दद्वारा महिलाको चीरहरण गरियो । गीतले उमेर पुगेका केटाहरूले जे पनि गर्न सक्छन्, त्यसैले तिम्रा छोरीचेलीहरू थुनेर राख भन्ने आशय दिन्छ । त्यस्तै ‘छोरीभन्दा आमा तरुनी लिपिस्टिक पाउडरले, लान्छ क्यारे घुमाउन झिल्के ड्राइभरले’ ‘जुनी काट्छु भन्थेउ नि मसित…..कमाउ धन पाइहाल्छौ जोवन’ पुराना गीतका शब्दहरूले बिकाउ मालको कोटिमा राखी महिला पात्रको हुर्मत लिएका छन् ।

पुरुषत्वको हाँक दिंदै बनाइएका चर्चित गीतहरूका कुरा गरौं । ‘झटारोले हानु कि अंकुसेले तानु कि, यो नानीको शिरमै मोहनी’ तथा ‘दमौली हिंड माया मैसँगै रमाउली’ को अन्तराले भन्छ, ‘सिरानी फाटी सक्यो उध्री सक्यो रात भरी तानेर, मैले च्याप्ने सिरानीलाई तिमी ठानेर’ । ‘नारी यी सब ताडनाका अधिकारी’ उक्तिलाई चरितार्थ गर्दै पुरुषले महिलाको शरीरमाथि यो हदसम्मको खेलबाड गर्ने हक राख्छन् भन्ने सीधा अर्थ यसले दिन्छ ।

पचासको दशक अगाडि सोह्र्र वर्षे यौवनको चर्चा भएका गीत धेरै सुनिन्थे । कलिला बालिकामा बैंसालु अदा र कामुकता देख्ने त्यो कस्तो विकृत समाज होला ? बालविवाह सामान्य भएको त्यो जमानाको सोचमा परिवर्तन आएतापनि गीत लेखनको अभ्यासमा त्यसकै पुनरावृत्ति पाइन्छ । ‘सोह्र वर्षे तिम्रो मस्त जवानी’ ‘सोह्र वर्षे जवानीमा आँखा लगाउँछन्’, ‘सोह्र वर्षे जोवनले मनै हरायो’ जस्ता गीतहरू यसका उदाहरण हुन् । बालिकाहरूमाथि यौन हिंसा बढिरहेको बेला बलात्कारीको मनोबल बढाउने यस्ता गीतप्रति हामी संवेदनशील हुनुपर्ने देखिन्छ ।

‘फर्सी धेरै पाक्यो भने भित्रभित्रै कुहिन्छ, छोरी धेरै माइत बसे अनेक कुरा सुनिन्छ’, ‘माइतघर बसी छोरा पाउने भइछौ, हे बरै नलाउनू मलाई दोष’ गीतहरूले जसले महिलासँग सतीत्वको अग्निपरीक्षा माग्छन्

परापूर्वकालमा दमनकारी प्रणालीको जगमा बनेका ‘संस्कारी महिला’ को साँघुरो परिचयभित्र महिलाको स्वतन्त्र अस्तित्व अटाउनै सक्दैन । संस्कारजन्य नियमलाई पुस्तान्तरण गरी महिलामाथिको घरेलु शोषणलाई प्राकृतिक बनाउने गीतहरू हुन्- ‘ए ससुरा बा मलाई साली मन पर्‍यो …साली तिम्रो जोवन कसले लाने हो तिम्रो हातको तिहुन तरकारी कसले खाने हो’, ‘मादल घन घन घन्काउँ कि सोरठी भाकामा … केटीले सेखी नगर्नू सासूलाई ढोग्न पुगिन्छ’, ‘धनकुटा हिले दिलचित्त मिले… हात्ती पाल्नु भन्दा स्वास्नी गाह्रो भन्छन् ।’

समाजका असल नारीको बिम्व यही हो, अनि भान्से, मर्यादापालक, पशुतुल्य पराश्रति सामथ्र्यभन्दा माथि गीतले किन पत्याउन् नारीलाई ?

यस प्रसङ्गमा नेपालखबर मा शीतल दाहालले ‘कुटुमा कुटु सुपारी दाना’ माथि टिप्पणी गर्दै लेखेको याद आउँछ- ‘यो गीत छोरीहरूको सपनाको हत्यारा हो । केटी मानिसले म पाइलट बन्छु या वैज्ञानिक बन्छु अर्थात् मलाई जे मन लाग्यो त्यो बन्छु भन्ने भाष्य हाम्रो समाजले बनाएकै छैन । यस्ता खालका गीतै हामीले रचेका छैनौं ।’

हाम्रा रचनाहरूले त नारी पतिव्रता हुनू भन्ने भाव अनि पुरुषलाई कानूनले वर्जित गरेको बहुविवाह गर्न उक्साउने मनसाय दर्साउँछन् । जसरी यी गीतहरूले भन्छ- ‘घरमा छे चिटिक्क परेकी पियारी, तैपनि कहिलेकाहीं भैहाल्छ गडबडी’, ‘भात जति खाए नि भोक लाग्छ तरुनी देख्दा लोभ लाग्छ, लोभी छ आँखा पापी छ मन ।’

दाहालले भने झैं ‘साली’ रोमाञ्चकता र यौनिकताको सजिलो बिम्व हो । त्यसैले भेनाहरूले हाक्काहाक्की यसो भन्ने आँट गर्दछन् ‘भन साली तेरी दिदी काँ छ … घरकीले मन भरेन अब तेरो पालो’ । तर दिदीले देवर जेठाजुसँग त्यस्तै रोमाञ्चकता प्रकट गरे इज्जत माटोमा मिल्छ ।

अनि तिम्रो इज्जत सियोको टुप्पोमा हुन्छ इज्जत र चरित्र जोगाउ है भन्ने खाले सतर्क गराउने गीत बने । ‘साइली र माइली पोइला गएछन् गाउँघर नै शून्य पारेर, हामीलाई झुक्याइ भागेछन् बाउबाजेको नाकै काटेर’ । केटीको बाउबाजेको मात्रै नाक काटिएको यो गीतमा तिनलाई बिहे गर्ने चाउरेका बाउको नाक काटिंदैन । ‘फर्सी धेरै पाक्यो भने भित्रभित्रै कुहिन्छ, छोरी धेरै माइत बसे अनेक कुरा सुनिन्छ’, ‘माइतघर बसी छोरा पाउने भइछौ, हे बरै नलाउनू मलाई दोष’ गीतहरूले जसले महिलासँग सतीत्वको अग्निपरीक्षा माग्छन् ।

हामी धेरैले यी गीत सुनेका हौंला-‘कति बस्छ्यौ माइतीकै कौसीमा, लाग्छ आँखा पाकेको लौसीमा’, ‘कलियुगको बेलैमा जोशमा हुन्न होश, उनकै छोरी तरुनी हाम्लाई केको दोष’, ‘बट स्लोली स्लोली…फुरफुर नगर पुतली चाल पाउली जालैमा परेसी’ । आजकालको बजारे गीत ‘दाह्री फुले बैंसैमा चश्मा लाउँछौ पावर’ त नसुन्ने कुरै भएन । हजुरआमाहरू भन्नुहुन्थ्यो केटाले केटीलाई छोयो भने पनि उसैको हुनुपर्दथ्यो, त्यहाँ महिलाले जान्न भन्ने गुञ्जायसै थिएन । समग्र गीतको अन्तर्यमा लुकेको, केटाले चाहेेपछि केटीले नाइँनास्ति गर्न नपाउने नत्र जबरजस्ती लछारेर लैजाने महिला यौनिकतामाथिको अधिकार जताइ उस्तै छैन र ?

महिलाको प्रशंसा गर्दा शरीर मात्र देख्ने बौद्धिकता र क्षमता नदेख्ने सर्जकहरूले महिला अङ्गलाई सांगीतिक बजारमा पस्किएर नाम र दाम कमाए । त्यस्ता गीत हुन्-‘गाजलु ती ठूला ठूला आँखा’, ‘लोलाएका ती ठूला तिम्रा दुई नजरले’ तथा नयाँ पुस्ताको ‘तिम्रो फिगर कोकाकोला’, जसले महिला शरीरलाई केस्रा केस्रामा केलाएका छन् । तथाकथित वर्गले निर्माण गरेको सौन्दर्यको मानकमा स्याउ जस्ता गाला, ठूला आँखा, बारुले कम्मर, सुन्तले ओठ, गोरो छालावाला मात्र अटाए । जसमा फिट नहुने मधेशी, जनजाति लगायत धेरै महिलाले भुन्टी, डल्ली, च्यान्टी, मोटी, काली, नेप्टी नामको उपहास पाए ।

नयाँ विधा, ‘आइटम गीत’ महिला चरित्रलाई ‘शो पिस’ बनाई श्रव्यदृश्यमा प्रस्तुत गर्ने माध्यम हो । चल्तीका नेपाली सिनेमामा बिकाउ मसलाको रूपमा आइटम गीत अनिवार्य भएको छ । बलिउडका ‘मै तो तन्दुरी मुर्गी हुँ यार घट्काले सैंया अल्कोहल से’ टाइपका-‘छलक छलक छल्केझैं घैलाको पानी छल्किरन्छ लौन नि मेरो जवानी’, ‘आँखा मेरो रक्सी रे जीउ मेरो पेप्सी रे’, ‘ब्लाष्ट हुनेवाला छ मेरो जवानी’ गीतहरूले बजार पिट्यो । यसबाट महिलालाई हट अवतारमा उतार्दै ‘म भोगिन तयार छु है’ भनी आˆनै विज्ञापन गराउने परिकल्पनाकारको व्यापारिक अभीष्ट पूरा भयो होला । यस्ता बोक्रे अवसरमा लिप्त हुँदै महिलाहरूलाई आˆनो मूल्यको बोध नहुनु पनि विडम्बना हो ।

अध्येता रेलटोन र वाट्सनले भनेझैं निश्चित अवधि भर लगातार बजिरहने गीतले मान्छेको ध्यान यसरी खिच्छ कि जसले प्रतिनिधित्व गरेको सन्देश समयसँगै जनस्तरमा सर्वस्वीकार्य बन्दछ । यसर्थ गीतप्रति नागरिकको चासो वाञ्छनीय हुन्छ ।

तथापि गीतमा चित्रित भाषा, शैली, अर्थहरू महिलाका लागि अपाच्य र अमर्यादित भए पनि हामीले यसप्रति प्रश्न उठाएनौं । फलस्वरूप सस्तो मनोरञ्जन दिने नाममा आम महिलाहरूको मानमर्दन गर्दै गीतहरू लेख्ने, गाउने र बजाउने क्रम जारी रहृयो । यसलाई रोक्न अब महिलाले सक्षम, बौद्धिक र स्वाभिमानी पात्रको रूपमा गीतमा आफूलाई खोज्नुपर्दछ ।

सुनसरी, धरान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment