
कुलेन्द्र विश्वकर्मासँग लोकप्रिय लोकदोहोरी गीतहरूको चाङ नै छ । ‘जोगीको भेषैमा’, ‘जिम्मल बाको आँगनीमा’, ‘नजाउ है सानु पँधेरीमा’ देखि ‘सालको पात टपरी’ हुँदै ‘सिलौटोमा चटनी’सम्म आइपुग्दा उनले २५ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । गीतको भिडियोमा उनले मोडलिङ समेत गर्दै आएका छन् ।
‘जोगीको भेषैमा’, ‘सालको पात टपरी’, ‘सिलौटोमा चटनी’ जस्ता थुप्रै गीतको भिडियोमा उनी स्वयंले अभिनय गरेका छन् । लोकदोहोरीमा चर्चाको शिखरमा रहेका यी गायक व्यक्तिगत हिसाबले भने निकै शालीन, सरल र सौम्य लाग्छन् । जीवनशैली स्तम्भका लागि कुलेन्द्रसँग अनलाइनखबरले गरेको कुराकानी :
बिहान कति बजे उठ्नुहुन्छ ? उठ्ने समय एउटै हो वा फरक हुन्छ ?
ठ्याक्कै यति बजे भन्ने छैन । साँझ कति बजे सुत्छु त्यसमा भर पर्छ । प्रायः उठ्ने समय साढे ६ देखि ७ बजेभित्र हो ।
उठ्नासाथ के गर्नुहुन्छ ?
प्रायः मोबाइल हेर्छु । मोबाइलमा विशेषतः विभिन्न अनलाइनका समाचार पढ्छु । त्यसले आफूलाई देशमा के हुँदैछ भन्ने कुरामा अपडेट गराइरहेको हुन्छ । त्यसपछि मात्र फ्रेस हुन्छु ।
फ्रेस भइसकेपछि योग-ध्यान गर्नुहुन्छ, एक्सरसाइज÷जिम जाने बानी छ ?
पहिले नियमित जिम जान्थें । कोरोना महामारीयता जिम गएको छैन । घरमै सामान्य शारीरिक व्यायाम गर्छु ।
रियाज कति समय गर्नुहुन्छ ?
सम्भव भएसम्म एक घण्टा हार्मोनियम अगाडि बसेर नियमित रियाज गर्छु । बिहानमा सम्भव नभए कहिलेकाहीं साँझमा पनि रियाजमा समय दिन्छु ।
बिहान नास्ता खानुहुन्छ वा हुन्न ?
त्यो कतिबेला खाना खाने भन्ने कुरामा भर पर्छ । आफ्नो काममा निस्किनुपर्ने छ भने खाना चाँडै खान्छु, नास्ता खाँदिनँ । घरमै बस्ने हो भने ढिलो खाना खाने हुँदा नास्ता खान्छु ।
नास्ता खानुभयो भने के खानुहुन्छ ?
सजिलोको लागि प्रायः ब्रेड हुन्छ । नत्र रोटी बनाएर खान्छु ।
बिहानको खाना कति बजे खानुहुन्छ ?
घरमै बस्ने हो भने ११–१२ बज्छ । बाहिर निस्किनुपर्ने छ भने त्यही अनुसार ८–९ बजे पनि खान्छु ।
कस्तो खाना रुचाउनुहुन्छ ?
मलाई सामान्य खानाको परिकार मनपर्छ । प्रायः दात, भात, तरकारी नै हुन्छ । कहिलेकाहीं दाल नहुँदा तरकारीको झोलसँग मात्र पनि खाना खाइरहेको हुन्छु । खानामा म त्यस्तो सौखिन होइन ।
माछा-मासु कति खानुहुन्छ ?
माछा-मासुमा पनि म त्यस्तो धेरै सौखिन होइन । भए ठीकै छ, नभए पनि ठीकै छ । तर, परिवारमा माछा–मासु रुचाउने धेरै छन् ।
भान्सामा काम गर्ने जाँगर कत्तिको चल्छ ?
पहिले–पहिले अलि बढी चल्थ्यो । अहिले खासै जाँगर चलेको छैन । आवश्यक परे खाना पकाउने काम गरिरहेको हुन्छु ।
खाना मीठो बनाउनुहुन्छ ? आफैंले बनाएको कुन खानेकुरा बढी मनपर्छ ?
परिवारमा सबै जनाले मैले बनाएको खाना मीठो भन्छन् । तरकारी मीठो बनाउँछु जस्तो लाग्छ । तर, यो चाहिं स्पेशल बनाउँछु भन्ने छैन ।
बाहिर रेस्टुरेन्टमा मीठो कि घरमा बनाएको ?
मलाई घरकै मीठो लाग्छ । बाहिर त्यति खाने बानी पनि छैन । बिहान घरमै खाना खायो अनि बेलुका घरमै आएर खाने मेरो पहिल्यैदेखिको बानी हो । बाहिर खाने भनेको कहिले साथीभाइहरूसँग हुँदा मात्र हो ।
एकदमै भोक लागेको तर खाना खाने अनुकूलता नमिलेको कुनै क्षण छ ?
स्टेजमा जाँदा त्यस्ता क्षणहरू धेरै हुन्छन् । तर, मलाई जति भोक लागे पनि काममा लागेपछि भोक बिर्सिन्छु । त्यो मेरो पहिल्यैदेखिको बानी हो । कहिले रेकर्डिङमा जाँदै गर्दा भोक लागेको छ त्यहाँ गएर गाउन थालेपछि भोक बिर्सिन्छु । कहिले स्टेज जानुअगाडि एकदमै भोक लागेको हुन्छ, तर स्टेजमा चढेपछि भोक बिर्सिन्छु ।
घरबाट बाहिर निस्कनुअघि ड्रेसअपमा कति समय लाग्छ ?
१०–१५ मिनेट ।
कस्तो लुगाफाटो सहज लाग्छ ?
म कहिल्यै पनि टाइट कपडा चाहिं लगाउँदिन । आफूलाई कन्फर्ट हुने खुला खालका क्याजुअल कपडाहरू नै बढी प्रयोग गर्छु ।
कस्तो रंगको पहिरन बढी लगाउनुहुन्छ ?
प्रायः मैले नीलो र कालो रंगको कपडाहरू प्रयोग गरिरहेको हुन्छु । त्यसबाहेक सेतो, गुलावी रङको कपडाहरू पनि लगाइरहेको हुन्छु । मेरो राशी अनुसार हरियो रंग राम्रो हुन्छ भन्छन् । तर, म हरियो रंगको कपडा त्यति धेरै प्रयोग गर्दिनँ ।
कपडामा कत्तिको सौखिन हुनुहुन्छ ?
अलिअलि । शपिङ नै गर्छु भनेर नगएको चार वर्षजति भइसक्यो होला । मलाई दरबारमार्ग गएर किन्नुपर्छ, मलमा गएर किन्नुपर्छ भन्ने हुँदैन । कतै हिंडिरहेको समयमा झुण्डिरहेको कपडा मनप¥यो भने किनिहाल्छु । ब्राण्डेड नै चाहिन्छ भन्ने छैन । आफूलाई राम्रो, कन्फर्ट खालको कपडा लाग्यो भने जहाँ पनि किन्छु ।
सवारी साधन कुन प्रयोग गर्नुहुन्छ ?
१० वर्ष भयो, मैले ‘टु ट्वान्टी पल्सर’ मोटरसाइकल चढ्न थालेको । चार वर्ष अगाडि कार किनेको हुँ । पहिलेको मोटरसाइकल बेचेको छैन । अहिले आवश्यकता अनुसार कहिले मोटरसाइकल, कहिले कार प्रयोग गरिरहेको हुन्छु ।
दिनभर कसरी बित्छ ?
रेकर्डिङ, भेटघाटकै क्रममा बितिरहेको हुन्छ । अहिले धेरै रेकर्डिङ नहुँदा परिवारसँग पनि बढी समय वितिरहेको हुन्छ ।
भेट भइरहने नजिकका साथीभाइ को–को हुनुहुन्छ ?
कस्तूप पन्त दाइ, रामजी खाँणसँग प्रायः भेटिरहेको हुन्छु । उहाँहरू अलि बढी नजिक हुनुहुन्छ । फुर्सदमा हामी प्रायः अनामनगरतिर भेट भइरहेका हुन्छौं ।
भेटमा के गफ हुन्छ ?
हाम्रो प्रायः संगीतकै विषयमा बढी गफ हुन्छ । कस्ता गीत बजारमा आए ? कसको गीत कस्तो चल्यो ? गीत किन चलेन ? किन चल्यो ? आफूहरूका आउने गीत जस्ता विषयमा कुरा भइरहेको हुन्छ ।
अहिले रेकर्डिङ कति गरिरहनुभएको छ ?
पहिले त दिनमा १०–१२ वटा पनि गाएँ । तर, अहिले महीनामा ४÷५ वटा रेकर्डिङ गरिरहेको हुन्छु । अहिले प्रायःले आफैं गाउन थालेसँगै पहिले जस्तो रेकर्डिङ बाक्लो रूपमा गरेको छैन ।
गीत गाएको पारिश्रमिक कति लिनुहुन्छ ? खुलाउन मिल्छ ?
पारिश्रमिक त्यस्तो महङ्गो लिन्न । किनकि हामीले नेपालको बजार हेरेर काम गर्ने हो । तर, यति नै भनेर नखुलाऊँ !
दिनमा औसतमा कति रुपैयाँ खर्च हुन्छ ?
बाहिर गएर खाजामा कहिलेकाहीं खर्च हुने हो । घरमा सामान्य ५–७ सय खर्च भैरहेको हुन्छ । औसतमा दिनमा हजार १२ सय जति खर्च हुन्छ ।
साँझ कति बजे घर फर्कनुहुन्छ ?
प्रायः ५ देखि ६ बजेभित्र फर्किसकेको हुन्छु । कहिलेकाहीं कामविशेषले केही ढिला पनि हुन्छ ।
साँझको खाना कति बजे खानुहुन्छ ?
७ देखि ८ बजेभित्र खान्छु ।
मदिरापान गर्ने बानी कत्तिको छ ?
गीत गाउन लागेको डेढ दशक बढी भयो । यो अवधिमा मदिरापानले म बेहोश छु भन्ने अहिलेसम्म थाहा छैन । खाँदै नखाने भने होइन, कहिलेकाहीं सामान्य हिसाबले खान्छु । तर मदिरामा लत नै चाहिं छैन ।
कति बजे सुत्नुहुन्छ ?
खाना खाइसकेपछि केही समय टेलिभिजन हेर्छु । त्यसपछि सामाजिक सञ्जालतिर समय विताउँछु । अनलाइनका समाचार हेरिरहेको हुन्छु । कहिलेकाहीं मनपरेका गीतहरू युट्युबमा हेरिरहेको हुन्छु । सुत्दा ११–१२ बज्छ ।
प्रतिक्रिया 4