+
+

काठमाडौंमा दशैं सुरक्षा : नाकामा कुकुर परिचालन, खसी बजारमा विशेष टोली

एसएसपी सिंह भन्छन् : चाडपर्वमा अप्रिय गतिविध हुन दिँदैनौं

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १७:२२

७ असोज, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले दशैं, तिहार र छठलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख अशोक सिंहका अनुसार चाडपर्वको समयमा देखापर्न सक्ने सुरक्षा चुनौतिलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको हो ।

उनका अनुसार राजधानीको सुरक्षा योजना मुलतः ४ कुरालाई ध्यानमा राखेर बनाइएको छ ।

‘पहिलो राजधानीको सुरक्षा व्यवसथा त्रुटिरहित, भरपर्दो र विश्वसनीय बनाएर जनजीवना सामान्य बनाउने र दोस्रो देशविदेशबाट घर फर्किएर राजधानी हुँदै गन्तव्यमा जाने यात्रुलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउनु हाम्रो उद्देश्य हुनेछ’ सिंहले अनलाइनखबरसँग भने, ‘तेस्रो र चौथो कुरालाई कुनै पनि किसिमको असामाजिक, अप्रिय र अपराधिक घटना हुन नदिन छुट्टाछुट्टै रणनीति बनाएर प्रहरी परिचालन गरेका छौं ।’

उनका अनुसार यो सुरक्षा योजना १ असोजदेखि कार्यान्वयनमा ल्याउन सुरु गरिसकिएको छ । योजनाअनुसार ३ हजार ३०२ जना जनशक्ति राजधानीमा परिचालित हुनेछन् ।

सीमा नाकामा कुकुर परिचालन

प्रहरीका अनुसार दशैंको समयमा चोरी, जुवातास, गुण्डागर्दी, पाकेटमारी जस्ता गतिविधि हुनसक्छन् । त्यससलाई लक्षित गरेर मानिसहरुको भिडभाड हुनसक्ने स्थानमा विशेष टोली खटाइएको छ ।

प्रहरीले खशी, कुखुरा किनबेच हुने बजारमा सुरक्षार्थ ५ टोली परिचालन गरेको छ । राजधानीका मन्दिरहरुमा नियमित सुरक्षाबाहेक १२ वटा टोली परिचालित छ ।

‘५ वटा स्टइकिङ, २२ वटा एम्बुसिङ र निगरानी र ४६ वटा क्रस चेकिङ पनि राखेका छौं’ सिंह भन्छन्, ‘टिकट काउन्टरमा ११ वटा टोली परिचालन गरेका छौं ।’ गाडीमा लुटपाट हुनसक्ने भएकाले सादा पोशाकको टोली खटाइसकिएको उनले बताए ।

सिंहका अनुसार ३६ वटा टोली ‘कर्डन एण्ड सर्च’ अपरेशनका लागि राखिएको छ । वृत्तका आधारमा क्षेत्र भिाजन गरेर २४ मोबाइल टोली परिचालत गरिएको छ, तत्काल रेस्पोन्सका लागि ७६ वटा मोटरसाइकल टोली राखिएको छ ।

सिंहका अनुसार राजधानी प्रवेश गर्ने नाकामा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ । ‘प्रतिबन्ध वस्तु आउनसक्ने भएकाले कुकुरसहितको टोली राखिएको हो’ उनले भने, ‘रिङरोडभित्र र बाहिर छुट्टाछुट्टै तरिकाले सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

प्रहरीका अनुसार अपराध महाशाखासँग समन्वय तथा सहकार्यमा सादा पोशाकको टोली समेत खटाइएको छ । अपराध बढी हुने सम्भावित स्थानमा सादा पोशाकको टोली परिचालन गरिएको छ ।

९ स्थानमा यात्रु सहायता कक्ष

राजधानीबाट बाहिर जाने यात्रुलाई सहजताका लागि काठमाडौंका ९ स्थानमा सहायता कक्ष राखिएको छ । काठमाडौं प्रहरीका अनुसार सुन्धारा, गौशाला, चाबहिल, नयाँ बसपार्क, कोटेश्वर, बल्खु, कलंकी र बालाजुमा ती हेल्प डेस्क राखिएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चेतनामूलक पर्चा, पम्प्लेट र माइकिङ पनि ३५ स्थानमा भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्राफिक एफएममार्फत पनि जनसचेतनामूकल कार्यक्रम प्रशारण भइरहेको छ ।

अपराध हुन नदिने वैज्ञानिक उपकरणको प्रयोग समेत भइरहेको प्रहरी प्रमुख सिंहले बताए । काठमाडौंका मुख्य चोक, व्यापारिक केन्द्र, आर्थिक कारोबार हुने स्थान, काठमाडौं प्रवेश गर्ने नाकामा क्लोज सर्किट (सीसी) क्यामराबाट निगरानी भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?