+
+

कमल दीक्षितको एक घण्टा

उनी कार्यक्रममा पुगेको एक घण्टा पुगेपछि हातको घडी हेर्दै भन्थे, ‘लौ एक घण्टा भयो,  म हिंडें ।’ उनी त्यसो भनेर जुरूक्क उठेर हिंडिहाल्दथे चाहे कार्यक्रम सकिन लागेको होस्, आधा भएको होस् वा भर्खरै शुरू हुन लागेको किन नहोस् । 

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०७८ असोज ९ गते १९:५५

नेपाली वाङ्मयमा कमलमणि दीक्षित, कमल दीक्षित वा ‘कदी’को जति योगदान रह्यो, त्यो शायद कसैसँग तुलनीय छैन । तर तिनको समुचित मूल्याङ्कन न जीवनकालमा भयो, न त शेषपछि नै । उनको निर्बन्ध लेखन होस् वा खोज-अनुसन्धानमूलक लेख,  ती उच्च कोटिका थिए ।

नेपाली वाङ्मयका लागि ठूलो योगदान उनले कलमले मात्र दिएका थिएनन्, मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कारको स्थापना उनकै सुझबुझ थियो । उनकै सपनाको प्रतिफल थियो । जगदम्बाश्री मदन पुरस्कारकै पछिल्लो थप अङ्ग भयो । यी सबको केन्द्रविन्दुमा थिए, कमल दीक्षित ।

मदन पुरस्कार भनेकै कमल दीक्षित, कमल दीक्षित भनेकै मदन पुरस्कार भयो । मदन पुरस्कार पुस्तकालय भनेकै कमल दीक्षित, कमल दीक्षित भनेकै मदन पुरस्कार पुस्तकालय भयो ।

दुवै संस्थामा यिनी हावी देखिए । यिनकै बोलवाला देखियो ।

उनको लेखनीको तारिफ गरे चाकडी ठहरिने, आलोचना गरे मदन पुरस्कार नपाइने भय ! यसले गर्दा स्वतन्त्र लेखक बुध्दिजीवीहरू समेत उनको मूल्याङ्कनबाट टाढा भए । त्यो दूरत्व उनको निधनपछि पनि निरन्तर रह्यो ।

२०३६ सालको सडक कविता क्रान्तिमा भाग लिएर उत्साहित भएको बेला मैले विभिन्न साहित्यकारहरूलाई भेटघाट, चिनाजानी गर्ने सिलसिला शुरू गरेको थिएँ । म त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय अन्तर्गत आन्तरिक लेखा परीक्षण शाखामा काम गर्थें । त्यतिबेला त्रिवि केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा थियो, पछि मात्र कीर्तिपुर सरेको हो । एक दिन दिउँसो म खाजा खाने समयमा पाटनढोका पुगें, मदन पुरस्कार गुठीको अफिस ।

उनी कार्यक्रममा पुगेको एक घण्टा पुगेपछि हातको घडी हेर्दै भन्थे, ‘लौ एक घण्टा भयो,  म हिंडें ।’ उनी त्यसो भनेर जुरूक्क उठेर हिंडिहाल्दथे चाहे कार्यक्रम सकिन लागेको होस्, आधा भएको होस् वा भर्खरै शुरू हुन लागेको किन नहोस् ।

त्यहाँ कमल दीक्षित भेट्न पाइन्छ भन्ने सुनेको थिएँ ।  त्यहाँ पुग्दा असिनपसिन भएको थिएँ । त्यो अफिस कार्यालय-सचिव वासुदेव लुईंटेलको अफिस रहेछ । त्यहाँ अरू पनि धेरै मानिस गफगाफ गरेर बसेका रहेछन् । म थपिएँ । म पुगेपछि कार्यालयको कुर्सीमा कोट झुण्ड्याएर घाँटीनेरको तुना खोलेको दौराको पहिरनमा वसेका वासुदेव लुईंटेलले सोधे,  ‘भैयाको परिचय के हो !’

मैले आफ्नो नाम बताएँ र कमल दीक्षित भेट्न आएको बताएँ । उनले मेरो नामको प्रतिक्रिया पहिले दिए, ‘ए, गिरी पुरी हलुवा स्वारी हुनुहुँदोरहेछ ।’

बल्ल त्यसपछि भने,  ‘बाबु आउने बेला भयो । भेट हुन्छ ।’

उनले त्यति बताएपछि त्यहाँ उपलब्ध कुनै मेचमा बसें । त्यसको केहीबेर पछि एकजना फूर्तिलो रातापिरा अनुहार भएका व्यक्ति कोठाभित्र प्रवेश गरे । कतिले झुकेरै, कतिले नझुकेर कमलबाबु भन्दै अभिवादन गरे । मैले पनि आफ्नो नाम बताएँ । मेरो नाम सुन्नेबित्तिकै उनले भने, ‘सडक कविता क्रान्तिमा कविता पढ्ने गोविन्द गिरी तपाईं नै हो ?’

मैले हो भन्ने उत्तर दिएपछि शायद उनले सडक कविता क्रान्तिको विषयमा केही भने । के भने त्यो सम्झना भएन । तर मेरो नाम उनले सुनेका रहेछन् भनेर मेरो मन फुरूङ्ग भैहाल्यो ।

त्यति नै बेला किस्तीभरि चिया आयो र सबैलाई बाँडियो । मैले पनि लिएँ ।  त्यसपछि कमल दीक्षित कोठाबाट बाहिरिए । पछि थाहा भो, त्यहाँ दिउँसो एक-दुई बजेको बीचमा कमल दीक्षित आउँदा रहेछन् । उनलाई भेट्न आउनेसँग सामूहिक भेटघाट गर्दा रहेछन् ।

कमल दीक्षतसँग भएको परिचय यस्तरी झाङ्गियो कि मैले उनका किताबमा लेखिएका भूमिकाहरूको पुस्तक नै सम्पादन गरें । उनीसँग करीब ६ महिना इमेलबाट प्रश्नोत्तर गरेर अन्तरवार्ताको पुस्तक नै प्रकाशित गरें । उनको निजी निवासमा उनकी श्रीमती अन्जु (देवीजी) को हातबाट मिठाई खाने अवसर पाएको थिएँ, यो वेग्लै कुरा हो पछि देवीजी अल्जाइमरले थलिएपछि फेरि उनीसँग भेट जुरेन ।

कसरी हो कुन्नि म कमल दीक्षितसँग नजिक हुन पुगें । कमल दीक्षितलाई धेरैले आत्मीयतापूर्वक कमलबाबु भन्थे । मैले पनि कमलबाबु नै भन्न थालें ।

तर जब मदन पुरस्कारको घोषणा हुन्थ्यो, धेरै साहित्यकार कमल दीक्षितको आलोचना गर्थे । पत्रपत्रिकामा आफ्नो नाममा, छद्म नाममा, समाचारको रूपमा उनलाई गाली गर्दथे । म ती पढेर बडो असमन्जसमा पर्दथें । ती गाली र आक्षेप पनि कताकता होहो जस्तो लाग्थ्यो । तर विस्तारै ती गाली गर्ने क्रम घट्दै जान्थ्यो । दशैंछेका पुरस्कार वितरण भएपछि त्यो राष्ट्रिय समाचार बन्थ्यो । पुरस्कृत किताबको चर्चा हुन्थ्यो । बिक्री बढ्थ्यो । पुरस्कृत लेखकलाई अन्तरवार्ता दिन भ्याई नभ्याई हुन्थ्यो ।

कमल दीक्षितले कुनै पनि पुरस्कार र सम्मान नलिने एक प्रकारले घोषणा नै गरेका थिए । उनी कार्यक्रमहरूमा प्रमुख अतिथि वा सभापति बन्न पनि रूचाउँदैनथे । दर्शक दीर्घामा बस्नु, कार्यक्रमको बेला खुसुरपुसुर साइड टक गर्नु उनको खास किसिमको विशेषता थियो । प्रायः कुनै पनि कार्यक्रममा एक घण्टाभन्दा बढी नबस्ने उनको अघोषित नियम हुन्थ्यो ।

उनी कार्यक्रममा पुगेको एक घण्टा पुगेपछि हातको घडी हेर्दै भन्थे, ‘लौ एक घण्टा भयो,  म हिंडें ।’ उनी त्यसो भनेर जुरूक्क उठेर हिंडिहाल्दथे चाहे कार्यक्रम सकिन लागेको होस्, आधा भएको होस् वा भर्खरै शुरू हुन लागेको किन नहोस् । उनी एक घण्टाको नियम अनुसार कार्यक्रमस्थल छाडेर हिंडिहाल्दथे । तर कुनै कुनै कार्यक्रममा भने उनी अन्त्यसम्मै हुन्थे । सामान्यतया कार्यक्रमको अन्त्यमा चियापान हुन्थ्यो नै । उनी त्यहाँका निम्तालुलाई दिएको मिठाई वा खाजाको पोका लिन्थे तर कहिल्यै खाँदैनथे तर त्यो खाजाको पोका चाहिं लिएर जान्थे ।

मदन पुरस्कार वितरण समारोह दशैंको बेला पर्थ्यो । त्योबेला म प्रायः  मूलघर हेटौंडा जान्थें । त्यसो त मदन पुरस्कार वितरण समारोहको निम्तो सीमित व्यक्तिले मात्र पाउँथे । पछि सार्वजनिक समारोह जस्तै हलमा आयोजना गर्ने गरिए पनि पहिला-पहिला सानो समारोहमा पारिवारिक प्रकारले गरिने गरिन्थ्यो । त्यसैले उनी भन्थे, हामी धेरैलाई निम्ता गर्न सक्दैनौं । थोरैलाई मात्र डाक्छौं ।

मोहनराज शर्माले ‘बैकुण्ठ एक्सप्रेस’ नाटकका लागि मदन पुरस्कार पाउँदा, मोहनराज शर्माको तर्फबाट निम्तो पाएको थिएँ । पुरस्कृतले आफ्ना नजिकका केही व्यक्तिलाई डाक्न अतिरिक्त निम्ता पाउने रहेछन् । तर म दशैंमा मूल घर हेटौंडा जाने भएकोले त्यो निम्ता स्वीकार गर्न सकिनँ ।

पछि कमल दीक्षितसँग अलि बढी नै नजिक भएपछि म नेपालमा छँदा नियमित रूपमै पाउन थालें मदन पुरस्कार वितरण समारोहको निम्तो ।

यौटा कुरा के भने, मेरो पहिलो पुस्तक साझा प्रकाशनबाट प्रकाशित कथा सङ्ग्रह ‘सुतेको समुद्र’ मदन पुरस्कारका लागि बुझाएको थिएँ । पछिपछि पनि मैले अरू पुस्तक पनि बुझाएँ, तर कमल दीक्षितसँग  यस विषयमा कहिल्यै चर्चा गरिनँ,  न उनले नै त्यसबारे कहिल्यै केही कुरा गरे ।

मलाई लाग्छ,  मेरो किताब उनले  दर्ता भएको थाहा नपाउने कुरा थिएन । म पुरस्कारको आकांक्षी भएको त त्यसैले प्रमाणित हुन्थ्यो । तर हामी मौनतामै रह्यौं । बरू बेलाबेलामा उनी सोध्दथे, यसपालिको निर्णय कस्तो लाग्यो । म आफूलाई लागेको कुरा भन्थें, त्यसमा मेरो सकारात्मक औपचारिकता हुन्थ्यो ।

एक समयमा एकेडेमीमा उनी सदस्यसचिवका रूपमा जान इच्छुक थिए ।  मोहनराज शर्मालाई त्रिवि केन्द्रीय पुस्तकालयले मदन पुरस्कारले पुरस्कृत भएको उपलक्ष्यमा यौटा सम्मानको कार्यक्रम राखेको थियो पुस्तकालयकै सभाकक्षमा । त्यहाँ कमल दीक्षित पनि आमन्त्रित थिए । कार्यक्रम सकेर फर्कने वेला उनले मलाई पनि आफ्नो गाडीमा साथै ल्याए । बाटोमा एकेडेमीको पुनर्गठनको प्रसङ्ग चल्यो । उनले भनेका थिए, ‘म मदन पुरस्कार गुठीको सदस्यसचिव, एकेडेमीमा सदस्य सचिव घटीमा कहाँ जान्छु ?’

सम्भवत: उनलाई सदस्यका लागि अफर आएको हुँदो हो र उनले त्यसो भनेका थिए । तर उनी पछि कहिल्यै एकेडेमीमा जान इच्छुक भएनन् । बरू उनी फलानो योग्य छ, उहाँलाई लगे वेश होला भनेर सुझाव दिने भए । उनले मदन पुरस्कार गुठीबाहेक अन्त कतै संलग्न नहुने घोषणै गरे ।

एकपल्ट कमल दीक्षितसँग चुँदीरम्घा साथै जाने मौका जुरेको थियो । निर्वाचन आयोगमा तत्कालीन निर्वाचन आयुक्त रहेका रामचन्द्र पौडेल (राजनीतिज्ञ होइनन्) को सौजन्यमा निर्वाचन आयोगको पजेरोमा कमल दीक्षितसँग हामी सँगै गएका थियौं । मेरै सिफारिशमा बेलायतका नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने माइकल हट पनि सँगै थिए । त्यो यात्रामा अनौपचारिक कुराकानी गर्ने अवसर प्राप्त भयो । उनको खानपानको पथपरहेजको विषयमा पनि प्रत्यक्ष अनुभव गर्न पाइयो । कुराकानीमा उनी उदात्त थिए ।

मदन पुरस्कारको घोषणा भएपछि हुने गालीको वर्षाको विषयमा उनले अब त्यसमा बानी परेको र त्यसले फरक नपार्ने बताउँथे । नपाउनेहरू रिसाउने, कराउने, पछि तिनले आफैंले पाएपछि भने तारिफ गर्ने गरेको उनको अनुभव थियो ।

तर उनले हितैषी मानेको मनुजबाबु मिश्रले समेत उनको किंवा मदन पुरस्कारको आलोचनामा लेख नै छपाएकोमा भने उनी दुःखी भएका थिए । त्यसको खास कारण के थियो भने, उनलाई मिश्रको ‘स्वप्न सम्मेलन’ उपन्यास मन परेछ । उनले, अहो यस्तो उपन्यास त अनुवाद हुनुपर्छ भनेर ५० हजार मनुजबाबुलाई दिएछन् । त्यो उपन्यास डा. तारानाथ शर्माले अनुवाद गरिदिए र नकुल सिलवालले बगर प्रकाशन मार्फत प्रकाशन गरिदिए ।

जब मदन पुरस्कारको घोषणाको बेला आयो, मनुजबाबुका नजिकका सबैले भनेछन्, ‘कमल दीक्षितले मन पराएर अङ्ग्रेजीमा अनुवाद गर्न ५० हजार दिनुको मतलब तपाईंको उपन्यास यस वर्षको मदन पुरस्कार पाउने पक्का छ । कमल दीक्षितले मन पराएपछि त सक्किहाल्यो नि !’

तर मदन पुरस्कार नपाएपछि मनुजबाबुले चोट महसुस गरे र त्यसको असन्तुष्टिस्वरूप यौटा लेख लेखेर ‘आजको समाचार’ दैनिकमा छपाए । यस विषयमा कमल दीक्षितको भनाइ थियो, ‘त्यो उपन्यास मलाई मन परेको हो । मैले त्यसैले अनुवाद गर्नुस् भनेर सहयोग गरेको हो । तर मदन पुरस्कार दिन्छु भनेको त होइन । त्यसको निर्णय त गुठीले गर्ने हो । मैले गर्ने हो र ?’

मलाई एकपल्ट के लाग्यो भने, कमल दीक्षित आफ्ना पुस्तकमा एकसेएक विद्वानलाई भूमिका लेखाउँछन् । ती सबैको भूमिकाको यौटा किताब बनाउन पाए, उनको सबै किताबको बारेमा यौटै किताबमा पाठकले पढ्न पाउँछन् । यो प्रस्ताव लिएर म र नकुल सिलवाल उनलाई भेट्न गएका थियौं । उनले यो नयाँ खालको पुस्तक हुने भनेर खुशी भए । अनि उनका उपलब्ध भएजति सबै पुस्तक मलाई उपलब्ध गराइदिए । आफूसँग नभएका पुस्तक किनेर पनि मलाई उपलब्ध गराइदिए । मैले ती सबैको अध्ययन गरेर लामै सम्पादकीय भूमिका लेखें ।

पुस्तकको प्रकाशनका लागि अन्तिम तयारी भएपछि नकुलजी र म भेट्न गयौं । उनले सोधे,  ‘ यो किताब प्रकाशनको लागि कति रकम लाग्छ ।’

नकुलले रकम बताइदिए । उनले भने, ‘तपाईंहरूले यति दुःख गरेर मेरो किताब तयार गर्नुभयो । त्यो नै मेरो लागि लाख हो । त्यसमाथि किताब छाप्ने खर्च तपाईंहरू किन गर्नुहुन्छ ?  म दिन्छु ।’

हाम्रो आग्रह वा अनुरोधबेगर उनले त्यो प्रकाशनको लागि लाग्ने पैसा नकुललाई दिए । किताबको नाम भने उनले नै सुझाए, ‘केही परख कदीका’ । र किताब प्रकाशन भयो ।

****

म अमेरिका बस्न थालेपछि कमल दीक्षितसँग इमेलमा च्याटिङ, इमेल लेख्ने इत्यादि काम हुन्थ्यो । उनको गजबको बानी थियो, इमेल पाउनेवित्तिकै जवाफ लेखिहाल्ने, छिटोछरितो । मैले अहिलेसम्म उनीजत्तिको मान्छे दोश्रो पाएको छैन ।

‘अँ इमेल आएको देखेको थिएँ, मैले इमेल हेरेको छैन’जस्ता जवाफ दिनेहरू प्रशस्त छन् । तर उनी भने तुरून्तातुरून्तै लेख्ने गर्थे । अनि मैले सोचें, इमेलबाटै उनीसँग लामै अन्तरवार्ता किन नलिने किताबै बनाउने हिसाबले । शुरूमा तयार भएनन्, तर पछि तयार भए र झण्डै ६ महिनासम्म हामीले इमेलमा प्रश्नोत्तर गर्‍यौं र किताब तयार भयो, ‘कमल दीक्षितसँग इमेल वार्ता’ । यो यस किसिमको पहिलो पुस्तक हो नेपाली साहित्यमा जसलाई रत्न पुस्तक भण्डारले प्रकाशन गरेको थियो ।

त्यसको विमोचन मैले मेरो तर्फबाट गर्ने भएँ । बबरमहल छेउको एउटा थकाली रेष्टुराँमा विमोचनको कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम सकिएपछि रत्न पुस्तकको तर्फबाट निम्तालु सबैलाई पुस्तक र  मेरो तर्फबाट भोजनको पनि प्रबन्ध गरेको थिएँ । कमल दीक्षितले सबैसँग भोजन गरेका थिए ।

हम्मेसी बाहिर खान नमान्ने बानी थियो उनको । भानुजयन्ती मनाएर फर्कंदा हामीले मलेखुमा खाना खाने प्रस्ताव गर्दा उनले मानेका थिएनन् । तर हामीले खाने नै निधो गर्यौं सबैले, तर उनले यसो चिया–बिस्कुट खाएर घरै पुगेर खाना खाँदा हुने भनेर गनगन गरेका थिए । तर त्यो विमोचन समारोहमा खाना खाँदा म निकै आनन्दित भएको थिएँ । त्यो कार्यक्रममा उनका पुत्र कनकमणि पनि साथमा आएका थिए ।

उनी कुनै पनि पुस्तक पत्रिका पढ्नासाथ त्यसको प्रतिकृया तत्कालै दिन्थें । मैले ‘लघुकथा ‘ नामक लघुकथा प्रधान पत्रिका निकाल्थें । मैले एकदिन दिउँसो पाटनढोका गएर उनलाई भेटेर उनकै हातमा त्यो पत्रिका दिएर आएँ । भोलिपल्ट अफिसमा कमल दीक्षितले पठाएको चिट्ठी आयो । सानो व्यहोराको चिट्ठीमा मैले हिजो उनको हातमा दिएको लघुकथा पत्रिकाको बारेमा उनको प्रतिकृया रहेछ । तुरून्तै पढेछन् । पढिसक्ने वित्तिकै हिजै लेखेर हुलाकमा खसाल्न लगाएछन् । अचम्म हुलाकको पनि मान्नुपर्छ, भोलिपल्टै मेरो हात पर्यो, नत्र हम्मेसी नेपाली हुलाकले काठमाडौंको काठमाडौं भए पनि आजको चिट्ठी भोलिपल्टै पाइने घटना विरलै हुन्छ ।

उनी कहिलेकाहीं फोन गरेर आफूले लेखेको लेख फोनबाटै पनि सुनाउँथे । त्यस्तो सुसंयोग केहीपल्ट मलाई परेको छ ।

कतिपय कुरा उनी निकै खुलस्त पनि भन्थे । एकपल्ट उनले भने, ‘हेर्नुस् न गोविन्दजी, फलानाले (कुनै साहित्यकारको नाम लिएर) फलानालाई (एक वरिष्ठ सुयोग्य साहित्यकार) जगदम्बाश्री पुरस्कार दिनैपर्छ भनेर पछि लागेको छ । उनी योग्य हुन् । हामीले दिनै पर्ने व्यक्ति हुन् । तर त्यो मानिसको सिफारिशमा दिने हो भने मैले दिलाएको हुँ भन्दै हल्ला गर्दै हिंड्छ । त्यही कारणले अब योग्य मान्छे भएर पनि दिन पाइएन ।’

कमल दीक्षित साना, मसिना तर पुराना र महत्त्वपूर्ण विषयमा लेख्न खप्पिस थिए । अत्यन्त अनौपचारिक शैलीमा रोचकतापूर्वक लेख्नु उनको विशेषता थियो । उनले पुराना कृतिहरूको अनुसन्धान गरेर अनुसन्धानमूलक लेखन गरे । दिवङ्गत साहित्यकारहरूको बारे उनले स्मृतिलेखहरू पनि निकै लेखे । तिनका पुस्तकहरू पनि प्रकाशित भए ।

उनी विभिन्न ठाउँमा भ्रमणमा जाँदा ती स्थानको संस्मरण पनि लेख्ने गर्थे तर उनको चीन भ्रमणको भने सिङ्गो नियात्राको पुस्तक नै प्रकाशित भयो- ‘महाचीन’ शीर्षकमा । उनले लघुकथाको पुस्तक पनि छपाए ।

उनमा नियमित रूपमा लेख्न सक्ने क्षमता भरपूर थियो । उनी स्वास्थ्यका दृष्टिले जति फूर्तिला देखिन्थे, लेखनमा पनि उस्तै स्फूर्ति देखिन्थ्यो । पछिल्लो समयमा केही वर्षदेखि हरेक वर्ष मदन पुरस्कार वितरण समारोहमा यौटा उनको नयाँ पुस्तक नियमित रूपमा प्रकाशित हुन्थ्यो र निम्तालुलाई वितरण गरिन्थ्यो ।

सिङ्गो रामायण वाचनको क्यासेट म्युजिक नेपालले प्रकाशन गर्यो । त्यसमा उनीलगायत छन्दमा वाचन गर्न सक्ने कवि-लेखकहरूको स्वर सङ्कलित थियो । यादव खरेलले भानुभक्तमाथि चलचित्र बनाए । त्यसका लागि उनको निकै ठूलो योगदान रह्यो । उनले त्यस चलचित्रमा अभिनय समेत गरे । यो उनको व्यक्तित्वको बेग्लै पाटो थियो ।

नेपाली साहित्य वा वाङ्मयको दुर्भाग्य भन्नुपर्छ, समग्र नेपाली साहित्यको इतिहासको पुस्तक लेखिएको छैन । धेरै लामो समय डा. तारानाथ शर्माको ‘नेपाली साहित्यको इतिहास’ र ‘नेपाली साहित्यको संक्षिप्त इतिहास’ मा भर पर्‍यो । पछि डा. दयाराम श्रेष्ठ र मोहनराज शर्माको संयुक्त लेखनबाट ‘नेपाली साहित्यको संक्षिप्त झलक’ प्रकाशित भयो । तर आधिकारिक र बृहत् इतिहास लेखाउने, प्रकाशन गराउने काम साझा प्रकाशन वा एकेडेमीबाट भएन ।

कमल दीक्षितले नेपाली वाङ्मयको बृहत् इतिहास व्यापक रूपमा लेखक विद्वानहरू परिचालित गरेर प्रकाशनको काम शुरु गरेका थिए । तर अचानक अप्रत्यासित रूपमा उनको निधन भए पनि ‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’ कमल दीक्षित प्रकाशनबाट पहिलो र दोस्रो ठेली प्रकाशन भइसकेका छन् । तेस्रो ठेली पनि मुद्रणको क्रममा रहेको छ ।

सबै ठेली प्रकाशन भएपछि शायद कमल दीक्षितको सपना पूरा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?