१० असोज, काठमाडौं । दक्षिण एसियामा आफ्नो नारा, गीत र अकाट्य तर्कको माध्यमबाट नारीवादी आन्दोलनलाई सशक्त बनाउन सहयोग पुर्याउने लेखिका तथा नारीवादी आन्दोलनकारी कमला भसिनको शनिबार दिल्लीमा निधन भएको छ। समग्र जीवन आफ्नो शर्त र मानकको आधारमा बिताएकी ७६ वर्षीया भसिन जीवनको अन्तिम समयमा क्यान्सरसँग लडिरहेकी थिइन् ।
कमला भसिनको निकट रहेकी नारीवादी कार्यकर्ता कविता श्रीवास्तवका अनुसार उनी जीवनको अन्तिमसम्म पनि विभिन्न माध्यमबाट मानिसहरुमा ऊर्जाको सञ्चार गरिरहेकी थिइन् । श्रीवास्तव भन्छिन्, ‘जुन महिनामा उनलाई कलेजोमा क्यान्सर भएको थाहा भएको थियो । त्यसको तीन महिनामा नै उनले हामीलाई छोडेर गइन् । यो सबैभन्दा ठूलो रोग हो ।’
‘उनले अन्तिम समयसम्म पनि हार भने मानेकी थिइनन् । दुई-तीनपटक अस्पतालमा भर्ना भइन् । तर, त्यतिबेला पनि उनले आफ्नो गीत, कवितामार्फत ऊर्जाको सञ्चार भने गराइरहेकी थिइन्। उनी अन्य बिरामीलाई हसाउँथिन् । रमाइलो गर्थिन् । योग गराउँथिन् र डाक्टरसँग आफ्नो उपचारको विषयमा पनि कुराकानी गर्थिन्’, श्रीवास्तवले भनिन्।
भासिनको निधनमा धेरैले शुभकामना दिँदै उनी सधैं अपराजित रहेको बताएका छन् ।
आकाशभन्दा उचाइको व्यक्तित्व
कमला भसिनले दक्षिण एसियामा नारीवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनले आफ्ना गीत सरल भाषा र स्वभावको माध्यमबाट आफ्ना विचार आम मानिसमा पुर्याउँदै आएकी थिइन् ।
उनले ग्रामीण महिलादेखि महानगरीय संस्कृतिमा हुर्किएका महिलालाई एकसूत्रमा बाँध्दै नारीवादी आन्दोनलाई संगठित स्वरुप दिएकी थिइन् । उनको सकारात्मक सोचको कारण धेरै मानिसलाई उनी कठिनभन्दा कठिन लक्ष्यको लागि पनि सकारात्मक बनाइदिन्थिन् ।
श्रीवास्तव भन्छिन्, ‘भारतमा महिलाको अवस्थाबारे सन् १९७५ मा सुरु भएको उनको नारीवादी आन्दोलनको दौड विभिन्न बलात्कार मुद्दा, बलात्कार कानुन संशोधन, दाइजो नपाएको निहुँमा हुने हत्याजस्ता मुद्दामा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनले पछिल्लो ४५ वर्षसम्म महिला आन्दोलनको हिस्सा बनिन् । उनले मानवाधिकारको विषयमा पनि धेरै काम गरेकी थिइन् ।’
भसिनले आफ्नो काम र साहसबाट मानिसहरुलाई परम्परागत सीमा पार गर्दै नयाँ उचाइ हासिल गर्न सहयोग पुर्याएकी थिइन् । उनले महिला उत्थानको लागि भारतमात्र नभएर पाकिस्तान, बंगलादेश र नेपालमा अभियान सञ्चालन गरेकी थिइन् ।
भसिनको बाल्यकाल भारतको राजस्थानमा बितेको थियो । उनले यहाँबाट सामाजिक अवस्था, त्यसमा महिलाको स्थान, अवरोध र चुनौतीलाई नजिकबाट नियालेकी थिइन् ।
राजस्थान युनभिर्सिटीबाट स्नातकोत्तरसम्मको पढाइ गरेकी उनी थप अध्ययनको लागि जर्मनी गएकी थिइन् । उनले समाजवादी विकासको पढाइ गरेकी थिइन् । केही समय उनले अध्यापन गरेकी थिइन् ।
भसिनले भारतको राजस्थानमा सेवा मन्दिर संगठनसँग मिलेर जमिनको विषयमा पनि काम सुरु गरेकी थिइन् । उनी भर्खरै स्कुल-कलेज पढ्ने व्यक्ति र पाको उमेरका मानिससँग पनि उत्तिकै सहजताका साथ कुराकानी गर्ने स्वभावको रहेको उनका निकटस्थहरु बताउँछन् । उनले संयुक्त राष्ट्रलगायतका धेरै अन्तर्राष्ट्रिय संस्थासँग मिलेर पनि काम गरेकी थिइन् ।
बीबीसीबाट
प्रतिक्रिया 4