+
+

सेनिटरी प्याडको सिधा सम्बन्ध यौनाङ्ग र प्रजनन स्वास्थ्यसँग छ: डा. शाह

नुनुता राई नुनुता राई
२०७८ असोज ११ गते ११:३७

सेनिटरी प्याड प्रयोग गर्ने कि परम्परागत कपडाको ? यो छुटै वहसको विषय हो । यद्यपि चिकित्सकहरु के भन्छन् भने, जस्तोसुकै प्याड प्रयोग गरिरहँदा त्यसको सफाईमा भने ध्यान दिनुपर्छ । अक्सर प्याड सुख्खा, मुलायम र सफा हुन जरुरी छ । त्यसैले परम्परागत रुपमा कपडाको प्याड प्रयोग गर्दा पनि त्यसको स्वच्छता मूल कुरा हो ।

हुन त बजारमा थरीथरीका प्याड पाइन्छन् । त्यसको मूल्य र गुणस्तरमा पनि विविधता पाइन्छ । तर, यी प्याड सबैको पहुँचमा छैन । एकातिर सबैतिर सहजै प्याड उपलब्ध हुँदैनन् भने यसको मूल्य पनि आफुखुसी निर्धारण गरेको पाइन्छ । त्यसैले सबैले बजारमा उपलब्ध सेनिटरी प्याड प्रयोग गर्दैनन् ।

यसको विकल्प हो, कपडाको प्याड । तर, यस्तो प्याड प्रयोग गरिरहँदा त्यसको सही विधी पनि थाहा हुनुपर्ने बताइन्छ । किनभने मासिक स्रावको बेला प्रयोग गरिने यस्ता प्याडको सम्बन्ध यौनाङ्ग र प्रजनन स्वास्थ्यसँग सोझै जोडिएका छन् । यसै सन्दर्भमा अनलाइनखबरले प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. वालकृष्ण शाहसँग कुराकानी गरेको छ ।

महिनावारी भएको बेला सरसफाईमा गरिने लापरवाहीले यौनाङ्गमा कस्तो समस्या निम्त्याउँछ ?

सरसफाईको कमीले समस्या हुने भनेको यौनाङ्गमा संक्रमण हो । संक्रमणका कारण तत्कालीन असर तथा दीर्घकालीन असर देखिन सक्छ । तत्कालीन देखिने असर भनेको सेतो पानी बग्नु, तल्लो पेट दुख्ने, ढाड दुख्नु जस्ता समस्या देखिन्छ । दीर्घकालीन असरहरु पनि आउन सक्छ । यसैको कारण बाँझोपन हुने, यौनाङ्गमा समस्याहरु देखिरहने, पाठेघरमा बच्चा नबसेर फलोपिन ट्युबमा (इक्टोपिक प्रेग्नेन्सी) हुने, ट्युबल ब्लक हुने लगायतका समस्या हुनसक्छ । महिनावारीमा अनियमितता हुने जस्ता दीर्घकालीन समस्या आउन सक्छ ।

यस्तो बेला के कस्ता कुरामा बढी ध्यान दिनुपर्छ ?

महिनावारी भएको बेला सरसफाईमा, खानपानमा बढी ध्यान दिनुपर्छ । कसै कसैलाई आराम पनि गर्नुपर्छ ।

डा. बालकृष्ण शाह

महिनावारी भएको बेला कसैलाई बढी दुखाई हुने कसैलाई सामान्य हुने हुन्छ । त्यो के कारणले त्यस्तो हुन्छ ?

धेरै दुखाई भएकोलाई चाँहि हामी ‘डिस्मेनरिया’ भन्छौं । महिनावारी भएको बेला प्रायलाई हुन्छ नै । तर त्यो दुखाई सहन सक्ने छ कि छैन भन्ने महत्वपूर्ण कुरा हो । कोही दुखाई नै सहन सक्ने क्षमता पनि कम हुन्छ । महिनावारी भएको बेला पाठेघरको भित्री तह टुक्रिने र एक किसिमको रसायनिक तत्वहरु उत्पादन हुने र पाठेघर खुम्चिने कारणले दुखाई हुन्छ ।

सहन सक्ने जत्ति छ भने सामान्य मान्नुपर्छ । सहनै नसक्ने, दैनिक काम काजमा नै असर गरेको छ भने जाँच गर्नुपर्छ । जाँच गर्दा धेरै वटा अवस्थामा कारण पत्ता लाग्छ । कारण पत्ता लाग्दा उपचारपछि ‘डिस्मेनरिया’सन्चो हुन्छ । कतिपय अवस्थामा पत्ता नलाग्न पनि सक्छ । नलाग्ने अवस्थामा केही समय केही मेडिकेसन राख्यौं भने चैं पछाडी गएर सन्चो हुन्छ । तर कारण पत्ता लागेन भने ढिलो हुन्छ । त्यो एउटा कारण संक्रमणले पनि हुन्छ । महिनावारी भएको बेला सरसफाईको कमी भयो र संक्रमण भयो भने ‘डिस्मेनरिया’ हुन्छ ।

मासिक स्रावको बेला सेनिटरी प्याड कति अनिवार्य हुन्छ ?

यो एउटा बहसको विषय हो । सेनिटरी प्याड प्रयोग गर्ने कि परम्परागत अर्थात घरेलु कपडा प्रयोग गर्ने भन्ने बहसको विषय हो । त्यो आफ्नो ठाउँमा छ ।

बैज्ञानिक कुरा गर्दा कुन प्याड प्रयोग गर्ने भन्दा पनि सफा, सुकिलो र सोस्ने खालको प्याडको प्रयोग गर्नुपर्छ । संक्रमण नफैलिने हुनुपर्छ । त्यसको लागि सेनिटरी प्याड नै हुनुपर्छ भन्ने छैन । घरेलु कपडाको पनि बनाउन सकिन्छ ।

प्रयोग गर्दा ध्यान दिनुपर्छ । भिज्न वित्तिकै परिवर्तन गर्ने, पारिलो घाममा सुकाउने हो भने घरेलु प्याडको प्रयोग पनि गर्न सकिन्छ । सफा धुने, अर्को कपडाले छोपेर सुकाउने गर्न भएन । कर्मसियल प्याड प्रयोग गर्न सजिलो, तर खर्चिलो हुन्छ । फाल्न पनि सबै स्थानमा सहज छैन । त्यसैले यहि प्रयोग गर्नुपर्छ भन्न सकिँदैन । जुन आफ्नो पहुँचमा छ त्यहि प्रयोग गर्ने । जुन प्याड प्रयोग गरेपनि सफा, सुकिलो र सोस्ने खालको हुनुपर्छ ।

एक पटक मासिक स्राव हुँदा कति पटकसम्म प्याड परिवर्तन गर्नुपर्छ ?

अहिले बजारमा अत्याधुनिक, कर्मशलाईज गरिएका प्याडहरु बजारमा पाईन्छन् । कम्पनीहरुले आफ्नो आफ्नो किसिमले टार्गेट दिएको छ । अथवा ६ देखि ८ घन्टासम्म प्रयोग गर्न सकिने, धेरै रगत सोस्न सक्ने क्षमता भएको प्याडहरु उत्पादन गरिरहेका छन् ।

त्यस्ता गुणस्तरीय प्याडहरु अफिस समय अनुसार ६ देखि ८ घन्टामा परिवर्तन गरेको राम्रो । घरेलु निर्मित प्याडहरु चाँहि अलि छिटै फेर्नुपर्छ । किन भने कपडामा त्यत्ति धेरै रगत सोस्ने क्षमता हुँदैन । भिजेपछि फेरिहाल्नुपर्छ । नभिजेको अवस्थामा पनि ८ घन्टा भन्दा बढी एउटै प्याड राख्नुहुँदैन ।

लामो समयसम्म एउटै प्याड प्रयोग गर्दा के कस्ता समस्या हुनसक्छन् ?

महिनावारीसँग सम्बन्धित भएको समस्या एउटै हो । महिनावारी भएको बेला पाठेघरको मुख खुला हुन्छ, योनी मार्गमा जीवाणुहरु हुन्छ । रगतमा जीवाणुहरुको बृद्घि राम्रोसँग हुने भएकोले त्यो बृद्घि भएको जीवाणुहरु पाठेघरसम्म अथवा पाठेघर भन्दा पनि भित्रि अंगहरुमा जानसक्छ ।

त्यसले हुने भनेको नै संक्रमण हो । अरु जे हुन्छ यहि संक्रमणका काराण हुने हो । त्यो प्याड लामो समयसम्म प्रयोग गर्दा हुने पनि यहि हो र सरसफाई राम्रो नगर्दा पनि हुने यहि हो ।

प्याडको गुणस्तर र कम्पनी फरक हुन्छन्, कम मूल्यको वा सस्तो प्याड लगाउँदा केही असर गर्छ ?

अवश्य पनि पार्छ । गुणस्तर अनुसार नै कत्ति समय लगाउन सकिने, अथवा कत्ति रगत सोँस्ने, संक्रमण नफैलने निर्धारण हुन्छ । हामीले रगत लुकाउन मात्रै नभएर संक्रमणबाट बच्नको लागि पनि प्याडको प्रयोग गरिन्छ । गुणस्तहिन प्याडले त्यो काम गर्दैन ।

नेपाल सरकारले पनि मापदण्ड तोकेको छ । प्याड कत्ति सेन्टिमिटरको हुनुपर्ने, मोटाई कत्ति हुनुपर्ने लगायतको मापदण्ड हुनुपर्ने तोकिएको छ । त्यहि आधारमा कम्पनीहरुले पनि लामो समयका लागि यो, छोटो समयका लागि यो भनेर बेच्ने गरेको पाईन्छ ।

मासिक स्रावको बेला कसैलाई धेरै ब्लिडिङ हुन्छ, यसको कारण के होला ?

महिनावारी पनि व्यक्ति अनुसार फरक फरक तरिकाले हुन्छ । कसैलाई २२ दिनमा हुन्छ, कसैलाई २८ दिनमा हुन्छ, कसैलाई ३५ दिनमा पनि हुन्छ । त्यसैगरी रगत पनि व्यक्ति अनुसार बग्ने गर्छ । कसैलाई दुई दिनमात्रै हुन्छ, कसैलाई सातै दिन हुन्छ, कसैलाई देखा मात्रै पनि पर्छ ।

तर २१ देखि ३५ दिनबीचमा हुनु सामान्य हो । ३५ भन्दा केही दिन माथि गएको अवस्थामा डराउनु पर्दैन तर घटीमा २१ दिन भन्दा अगाडी गयो भने जाँच गर्नुपर्छ ।

त्यसैगरी उक्त समयमा कसैको दुई दिन, दुई थोपा अथवा सातै दिन भएपनि सामान्य हो । ८० एम एल भन्दा बढी जाँदा, चोक्टामा जाँदा ४० ग्राम भन्दा बढी भयो भने चाँहि उपचार गर्नुपर्छ । स्वास्थ्यकर्मीको सुझाव लिनु जरुरी हुन्छ । शरीरबाट बढी रगत जाँदा समस्या हुनसक्ने भएकोले । नियमित तर कम जाँदा समस्या हुँदैन ।

डा.बालकृष्ण शाह, प्रसुती तथा स्त्री रोग विशेषज्ञ मोरङ सहकारी अस्पताल, बिराटनगर

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?