ग्वार्डिओलालाई च्याम्पियन्स लिगको पाठ : स्ट्राइकरविना जित्न गाह्रो छ


१३ असोज, काठमाडौं । मंगलबार च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले म्यानचेस्टर सिटीमाथि २–० गोलको जित हात पार्यो । मंगलबारको खेलमा म्यानचेस्टर सिटीले राम्रो प्रदर्शन गरेको थियो । तर गोल गर्न नसक्दा हारको सामना गर्नुपर्यो ।
सिटीले ७ पटक फ्रेममा प्रहार गरे पनि एउटा पनि गोल भएन । जबकि पीएसजीले केवल तीनपटक फ्रेममा प्रहार गरेको थियो, जसमध्ये दुई गोल भए ।
अधिकांश समय बल आफ्नो नियन्त्रणमा राख्नुका साथै अवसरहरु सृजना गरे पनि सिटीले गोल गर्न सकेन । अर्थात् सिटीमा स्ट्राइकरको अभाव छ ।
आफ्नो टोलीमा स्ट्राइकरको अभाव देखिएको सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले स्वीकार गरेका छन् । ‘हामीले गोलबाहेक सबैथोक गरेका थियौं,’ ग्वार्डिओलाले भने, ‘उनीहरुले रक्षापंक्तिमा पनि निकै राम्रो प्रदर्शन गरे भने काउन्टर अट्याकमा निकै आक्रामक देखिए ।’
सिटीले अट्याकिङ मिडफिल्डर ज्याक ग्रिलिसलाई एस्टनभिल्लाबाट १०० मिलियन पाउण्डमा अनुबन्ध गर्यो । तर सर्जियो एग्युरोको सम्झौता नवीकरण नगरेको उसले नयाँ स्ट्राइकर ल्याएन ।
सिटीले इंगल्याण्डका कप्तान ह्यारी केनलाई भित्र्याउने प्रयास गरेको थियो, तर सफल भएन । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी पनि आउने चर्चा नचलेको होइन । तर चर्चामै सीमित भए र म्यानचेस्टर सिटी प्रमुख स्ट्राइकरविहीन बन्न पुग्यो ।
ग्वार्डिओलाको विश्वास रहिम स्टर्लिङ र केभिन डे ब्रुयनजस्ता खेलाडीमाथि छ । उनीहरुले मध्यभागमा राम्रो प्रदर्शन गरिरहेका छन्, तर क्लबले राम्रो नतिजा निकाल्न सकेको छैन । यद्यपि प्रशिक्षक ग्वार्डिओलाले आफ्नो टोलीमा भएका खेलाडी धेरै कमजोर नरहेको र कुनै पनि टोलीविरुद्ध राम्रो नतिजा निकाल्न सक्ने दाबी गर्दै आएका थिए ।
तर च्याम्पियन्स लिगको हारले पनि उनलाई स्ट्राइकरविना जित्न गाह्रो छ भन्ने सन्देश दिएको छ ।
एजेन्सीहरुको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4