+
+
अन्तर्वार्ता :

‘माधव नेपालसँग नउभिँदा मेरै परिवारले पनि आश्चर्य मानेको छ’

संसद विघटन ओलीको गल्ती, पार्टी विभाजन माधव नेपालको

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते २१:४४

१३ असोज, काठमाडौं । रघुजी पन्त, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले असाध्यै विश्वास गर्ने नेताहरुमध्ये पर्छन् । अहिलेसम्म साथ दिएका पन्तले माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी बनाउँदा भने साथ दिएनन् ।

धेरैका लागि यो आश्चर्यजनक थियो । पन्तका अनुसार नेता नेपालले नयाँ पार्टीमा आउन मात्र होइन, महासचिवको जिम्मेवारी लिन प्रस्ताव गरेका थिए । तर उनी पार्टी विभाजनको पक्षमा उभिन तयार भएनन्, बरु अहिलेसम्म आफूले साथ दिएका नेता नेपालसँग अलग हुने निर्णय लिए ।

‘कहिलेकाहीँ एक्लै सोंच्छु, माधव नेपाललाई साथ नदिएर ठीक गरेँ कि बेठीक ? माधवसँग उभिनुपर्थ्यो कि पर्थेन ?’ नेता पन्त भन्छन्, ‘तर उभिइनँ ।’

राजनीतिको यो यात्रामा साथ नदिएपनि सदाकालका लागि माधव नेपालसँग छुट्टिएकै भनेर बुझ्न नहुने उनले बताए । पन्त भन्छन्, ‘यो पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । माधव नेपाल, झलनाथ खनाल र वामदेवहरुलाई ल्याउनुपर्छ ।’

प्रस्तुत छ, एमाले नेता पन्तसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ र सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

दशबुँदे सहमति गरी नेकपा एमालेमै बस्ने तपाईंसहितका नेताहरुको राजनीतिक करिअर सकिएको टिप्पणी गर्ने धेरै देखिन्छन् । एमालेमै बस्नु ठीक भन्ने औचित्य कसरी पुष्टि गर्नु हुन्छ ?

हामीले व्यक्तिको राजनीतिक भविष्य होइन, मुभमेन्ट (वाम आन्दोलन) सोचेको हो । वाम आन्दोलनको भविश्यबारे सोचेको हो । हामीले माधव कमरेडलाई बारम्बार आग्रह गर्‍यौं–विभाजनमा नजाऔं ।

तीन/चार चोटी व्यक्तिगत रुपमा भेटेर पनि भनेँ– पार्टीभित्रै बसौं, लडौं । विभाजनमा जानु देश, जनता र मुभमेन्टका लागि उपयुक्त हुँदैन भन्ने व्यक्तिगत विचार राखेँ । तथापि, उहाँ (माधव) ले अलग पार्टी बनाउनुभयो । हामी एमालेमै बस्यौँ । तर, हामीले विचारसँग सम्झौता गरेको होइन । स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा मैले आफ्नो विचार प्रष्ट राखेँ ।

एमालेलाई प्राणदान दिन होइन, हामी विभाजन रोक्ने पक्षमा उभिएको हौं । माधव नेपाललाई पटकपटक भेटेर विभाजनमा नजाऔं भनेको छु । उहाँले मेरो धेरै कुरा मान्नुहुन्थ्यो । तर यसपटक धेरै साथीहरुको सल्लाह मान्नुभएन । स्थायी कमिटीलाई विश्वास गर्नुभएन ।

माधव नेपाल छोडेर एमालेमै बस्नु बाध्यता हो ?

बाध्यता पनि होइन । पार्टीभित्र बस्दा बोल्ने र छलफल गर्ने कुरा रहन्छ । अध्यक्ष कमरेडलाई मैले भनेको छु– पार्टी विभाजनसम्म पुग्नु र सरकार ढल्नुको मूल कारण २६ भदौ (२६ भदौ २०७७) को तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयन नहुनु र हठात् प्रतिनिधिसभाको विघटन गर्नु हो ।

संसद् विघटन संविधान सम्मत समेत थिएन । त्यसको संवैधानिक र राजनीतिक औचित्य पुष्टि हुन्न । तर, त्यही दुई घटनाले पार्टी फुट्यो, नेकपा एमाले पनि फुट्यो र सरकार ढल्यो ।

जनताले हामीलाई विश्वास गरेर सरकार चलाउन पाँच वर्षको मौका दिएका थिए । देश र जनताको हितमा त्यो अवसर उपयोग गर्न सकेनौं । बहुमतको सरकार टिकाउन सकेनौं । यो प्रश्नको उत्तर भोलि जनतालाई दिनैपर्छ । त्यसैले प्रतिनिधिसभा विघटन ठीक थिएन । मेरो यो मान्यतामा अडिग छु । पार्टीमा बहुमतले एउटा निर्णय गर्ला, त्यो निर्णय मानौंला । तर, आफ्नो विचार राख्छु ।

तपाईंले भनेको २६ भदौबारे त एमालेको राजनीतिक प्रतिवेदन मस्यौदाले एक अक्षर पनि लेखेको छैन । संसद् भंग ठीक भन्ने अडान कायम छ । यस्तो परिस्थितिमा तपाईँले लिएको मान्यताको के अर्थ ?

हजारौं मानिसको आवाज भन्दा एउटा सत्यको आवाज ठूलो हुन्छ । सत्य आजै पुष्टि हुनुपर्छ भन्ने छैन । सत्य सधैं बहुमतसँगै हुन्छ भन्ने पनि छैन ।

प्रतिनिधिसभा विघटन ठीक छ भन्नु ओली कमरेडको बाध्यता देख्छु । किनभने, दुवैपटकको संसद् विघटनलाई अदालतले गलत ठहर्‍याएको छ । अध्यक्षको हैसियतमा आफूले गरेको कुरालाई डिफेन्स गर्नुभएको छ । त्यसलाई बहुमतले मान्ला पनि । तर, आज बहुमतले मानेका कुरा इतिहासमा परीक्षण हुन्छ नि ।

इतिहासको परीक्षणमा तपाईंको मान्यता सत्य सावित हुन्छ भन्ने लाग्छ ?

प्रतिनिधिसभा विघटन ठीक छ भन्ने न राजनीतिक आधार देख्छु, न संवैधानिक आधार देख्छु । संविधानमा विघटनको अधिकार दिएको पनि छैन र सर्वोच्च अदालतले उल्ट्याइ दिएको पनि छ ।

यो मान्यता आसन्न विधान महाधिवेशनमा पनि राख्नु हुन्छ ?

बहुमतले एउटा निर्णय गर्ला । पार्टीभित्र बस्दा मान्नुपर्ला । आफ्नो मत त राख्नुपर्छ, राख्छु ।

तर केपी ओलीले बहुमतबाट पारित गराउने निर्णय मान्न तयार हुँदै वामआन्दोलन जोगाउने यात्राबारे कुरा गर्ने तपाईँहरुलाई पूर्व सहकार्मीहरुले ‘हस्तिनापुर जोगाउन भनेर दुर्योधनतिर उभिएका रथीहरू’ भन्छन् नि ?

फरक पार्टीमा रहेका मान्छेबारे टीकाटिप्पणी भइरहन्छ । त्यसलाई गम्भीरतापूर्वक मनन् गर्नुपर्छ, सुन्नुपर्छ । तर, आफूलाई ठीक लागेको कुरामा अडिग रहनुपर्छ । टिप्पणी गर्ने अधिकार साथीहरुलाई छ । ठीक बेठीक भविष्यले देखाउँला ।

एकीकृत समाजवादीका नेताहरुले गरेको टिप्पणीमा सत्यता देख्नु हुन्न ?

उहाँहरुको व्यक्तिगत विचार हो । त्यसमा टिप्पणी गर्दिनँ । तर २०५४ सालमा एमाले विभाजित भयो, फेरि एकता भयो । अब पनि चार पाँच महिना एकता नहोला । निर्वाचनमा मार खाएपछि अथवा अलिक दुःख पाएपछि फेरि एकता गर्नुपर्ने होला । तर एकताको विकल्प देख्दिनँ ।

मैले बैठकमा पनि भनेँ– वामपन्थी आन्दोलन एकताबद्ध गर्ने जिम्मेवारी कसले लिन्छ ? एमालेले भन्नुपर्‍यो, यो जिम्मेवारी माधव नेपालले बनाउनु भएको नयाँ पार्टीको हो ? या प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रको हो ? होइन त्यो जिम्मेवारी एमालेको हो भने त्यसका लागि लचिलो हुनु पर्दैन ? वाम एकताको जिम्मेवारी नलिने हो भने एक्लै हिड्छौं, भन्नुपर्‍यो । तर, यो एकल यात्रा कहाँसम्म जाने !

अहिलेकै नेताहरू र नेतृत्व रहँदासम्म फेरि एकता सम्भव होला र ?

आशंका छ । साँच्चै भन्ने हो भने जसले नेतृत्व गरेर कम्युनिष्ट आन्दोलन यहाँसम्म ल्याउनुभयो, उहाँहरुले विश्राम लिए हुन्छ । अब केपी ओली, माधव नेपाल र प्रचण्डको पुस्ताले विश्राम लिने हो ।

हामीसँग पनि ६/८ वर्ष भन्दा बढी छैन । तर, ट्रेजेडी ! हामीपछि हाम्रैजस्तो वैचारिक र सैद्धान्तिक योग्यता राखेर पार्टीलाई नेतृत्व गर्ने मान्छे छन् त ? ढुक्क हुने ठाउँ देखिरहेको छैन । यद्यपि विश्राम त लिनैपर्छ ।

यद्यपी उमेर हद राख्नुपर्छ भन्ने म पक्षपाती होइन । राख्ने नै हो भने ७५ सम्म गर्दा हुन्छ । किनकि कसैसँग उमेर बढी हुन्छ, तर विचार ताजा हुन्छ । अनि कसैसँग उमेर हुन्छ, क्षमता हुँदैन । त्यसैले राजनीतिक अवकाशको निर्णायक कुरा उमेर होइन । आउट डेटेड मान्छेले त राजनीतिक नेतृत्व नै लिनसक्दैन ।

धेरैको अनुमान छ, केपी ओली फेरि अध्यक्ष हुनेछन् । प्रचण्ड र माधव नेपाल अध्यक्ष नै रहनेछन् । यो परिस्थितिले न कम्युनिष्ट एकता सम्भव देखिन्छ, न तपाईँको पुस्ताले नेतृत्वको अवसर ?

नेपाली उखान छ– अदूरदर्शीहरु परेर चेत्छन्, दूरदर्शीहरु पढेर र देखेर चेत्छन् । हामी विगतको परिणााम देखेर चेत्ने कि फेरि एकचोटी पराजय भोगेर चेत्ने ? त्यसैले हाम्रो युगिन दायित्व छ । मुलुक र जनतालाई समृद्ध बनाउँदै समाजवादको यात्रामा जान वामपन्थीहरू विभाजित भएर लक्ष्य पुरा हुँदैन । एकताबद्ध हुनैपर्छ ।

सरकारमा एकताबद्ध नभएपनि प्रतिपक्षमा एकताबद्ध र बलियो हुनुपर्छ । त्यो एकताले नेपाली काँग्रेसको सरकार बनेपनि नियन्त्रण गर्छ । सरकारलाई गलत बाटोमा जान नदिने सम्भावना हुन्छ । तर, फुटले प्रतिपक्षमा बस्दा पनि कमजोर भइन्छ । त्यसैले आन्दोलनलाई एकताबद्ध बनाएर लैजानुको कुनै विकल्प छैन । आन्दोलन एकताबद्ध बनाउनु हुन्न, फुटेर जानेलाई आजीवन पार्टीमा ल्याउनुपर्दैन भनेर एमालेका कुनै नेताले भन्न सक्नुहुन्छ र !

दुई/चार जना गरेर ल्याउनुभन्दा (यसअघि जस्तै) पुरै पार्टी मिलाउनु राम्रो राम्रो हुन्छ । माओवादीसँग त एकताको सम्भावना देख्दिनँ । तर, जतिसुकै आक्रोश राखेपनि, पार्टी फुटाउनुभयो भनेर चित्त दुखाए पनि माधवजीसँग एकता टाढा देख्दिनँ । किनकि वैचारिक सामिप्यता नजिक छ । जबज र मार्क्सवाद भन्दा टाढा छैनौं ।

तपाईंहरु हिजो माधव नेपाल सँगसँगै हुनुभएकाले माया र सद्भाव होला । तर अध्यक्ष ओलीले कामै नलाग्ने मान्छेहरु बाहिरिएको टिप्पणी गर्दै हुनुहुन्छ । तपाईंहरू र अध्यक्षबीच त लामै दूरी पो देखियो त ?

विभाजनको विपक्षमा छु । एकताको सम्भावना खोज्नुपर्छ भन्ने मान्यतामा छु । एमालेका हजारौं कार्यकर्ता र लाखौं समर्थकको चाहना पनि हो, यो । फुटेर गएका नेताहरू पनि कालान्तरसम्म एकताको विपक्षमा रहन्छन् भन्ने लाग्दैन ।

किनभने समय सवैभन्दा बलवान हुन्छ । प्रचण्ड, केपी, माधव र शेरबहादुर भन्दा पनि बलवान समय हो । एकताको मर्मबोध गराउने समय पनि आउँछ । त्यो कहिले आउँछ, तोकेर भन्न सक्दिनँ । धेरै अप्ठ्यारो भोगेपछि वा थोरै क्षतिमा एकताको महशुस गर्छौ, त्यो भोलिको कुरा भयो ।

पश्चिम बंगाल कम्युनिष्ट आन्दोलन कसरी पतन हुन्छ भन्ने गतिलो उदाहरण बनेको छ । यदि समयमा नचेत्ने हो भने नेपालको वामआन्दोलन पनि त्यतैतिर जान अहिलेको टुटफुट प्रस्थान विन्दु हुनसक्छ ?

पश्चिम बंगालमा ३४ वर्षसम्म वाम मोर्चाले शासन चलाउने मौका पायो । शुरुतिर भूमिसुधारमा राम्रै काम गर्‍यो । भारतका सवै राज्यहरुमा भन्दा त्यहाँ राम्रै काम भयो । २०औं शताब्दीसम्म के भनिन्थ्यो भने आज बंगालले जे सोच्छ, भोलि भारतले त्यो सोच्छ । तर रोजगारी, औद्योगिकरण जस्ता धेरै कुरामा पछि पर्दै गयो र ३४ वर्षसम्म एक्लौटी शासन गर्दा जनता खुशी बनाउन सकेनन् ।

नेपालमा हामीले पाँच वर्ष देश चलाउने स्वर्णिम अवसर पाएका थियौ । तर अहंकार, अदूरदर्शीता, नेतृत्वको बेमेल, कुण्ठा र आकांक्षाले अवसर गुमायौं । अझै पनि वामपन्थीहरुको संगठनात्मक आधार छ । आउने चुनावमा वाम पार्टीहरुप्रति जनताले कति विश्वास गर्छन्, भन्न सक्दिनँ । किनकि धेरै प्रश्नको जवाफसहित जनतामा जानुपर्ने हामीसँग बाध्यता छ । तर पश्चिम बंगालकै हालत हुन्छ, भन्दिनँ । आउने चुनावपछि एमालेले या सरकार बनाउँछ अथवा प्रमुख विपक्षी बन्छ ।

फेरि सत्तामा जाने वा शक्तिशाली पार्टी रहने विश्लेषणकै आधारमा दशबुँदे गरी वर्तमान सरकारलाई दुई तिहाइ पुग्न नदिने र एमालेलाई प्राणदान दिने निष्कर्षमा पुग्नुभएको हो ?

एमालेलाई प्राणदान दिन होइन, हामी विभाजन रोक्ने पक्षमा उभिएको हौं । माधव नेपाललाई पटकपटक भेटेर विभाजनमा नजाऔं भनेको छु । उहाँले मेरो धेरै कुरा मान्नुहुन्थ्यो । तर यसपटक धेरै साथीहरुको सल्लाह मान्नुभएन । स्थायी कमिटीलाई विश्वास गर्नुभएन । उहाँ र स्थायी कमिटीका साथीहरुको दूरी बढ्दै गयो । यो कुरा हामीलाई थाहा थियो, उहाँलाई पनि । त्यो नहोस् भनेर धेरै प्रयत्न गरेँ ।

व्यक्तिगत अझैपनि माधव नेपालप्रति मेरो धेरै सम्मान छ । भोलि पनि आदर्श रहन्छ । आज उहाँसँग भइन भन्दैमा व्यक्तिगत सम्बन्ध तोड्नुपर्छ, सम्मान गर्न छोड्नुपर्छ, गाली गर्दै हिड्नुपर्छ भन्ने मान्यता राख्दिनँ ।

सम्मान गर्नु हुन्छ, तर माधव नेपाललाई सवैभन्दा बढी आवश्यकता परेको बेला साथ दिन सक्नुभएन ?

राजनीतिको निर्णायक जङ्चरमा कुरा मिलेन । धेरैले आश्चार्य मानेका छन् । माधव नेपालसँग नउभिएको देखेर मेरै परिवारले पनि आश्चर्य मानेका छन् । कहिलेकाही एक्लै सोंच्छु, माधव नेपाललाई साथ नदिएर ठीक गरेँ कि बेठीक ? माधवसँग उभिनुपथ्र्यो कि पर्थेन ? तर उभिइनँ ।

यसको अर्थ सदाकालका लागि माधव नेपालसँग छुट्टिएकै भनेर नबुझ्नुहोस् । यो पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । माधव नेपाल, झलनाथ खनाल र वामदेवहरुलाई ल्याउनुपर्छ ।

यद्यपि, वामदेव कमरेडको अस्थिर राजनीतिक शैली पनि पार्टी विभाजनको कारक हो । उहाँको बढ्दो महत्वाकांक्षा र अस्थिरताले ठूलो विग्रह ल्यायो । विभाजनको कारण बन्यो । तथापि पार्टी निर्माणम वामदेवको योगदान छ । झलनाथ र माधव नेपालको योगदान छ ।

वामपन्थी आन्दोलन रह्यो भने इतिहासले विश्लेषण गरेर भन्छ– केपी कमरेड प्रधानमन्त्री हुँदा दुई चोटी गरिएको विघटन संविधानसम्मत थिएन । आज सबै संविधानविद्ले भनिरहेका छन् । भोलि इतिहासले भन्छ ।

हामीसँग उभिनु भएन भन्दैमा उहाँहरुको योगदानलाई इतिहासबाट मेट्न सकिन्न । एउटा राजनीतिकर्मीले सन्तुलित हुनुपर्छ । मर्यादाभित्र रहनुपर्छ । संयमित, दूरदर्शी, टाढासम्म हेरेर सोच्नुपर्छ ।

केपी ओलीले प्रधानमन्त्रीको हैसियतमा चालेको कदमविरुद्ध माधव नेपाललाई अगाडि लगाएर आन्दोलित हुनुभयो । त्यो क्रममा माधव नेपाल जब निकै टाढा पुग्नुभयो, त्यसबेला उहाँको पछाडि तपाईंहरु हुनुहुन्थेन…

त्यस्तो विल्कुलै होइन । प्रत्येक जङ्चरमा माधव नेपालसँग थियौं । मलाई, भीम रावल र कार्यदलका अरु साथीहरुलाई उहाँले त्यसो भन्न मिल्दैन ।

यहाँ म सबै कुरा खोल्न चाहन्न । तर, प्रत्येक घटनाको रिपोर्ट उहाँलाई गरेका छौं । आँखाभरी आँशु पारेर बहस गरेका छौं । पार्टी नफोर्नुहोस् भनेर हात जोड्यौं । सकेसम्म विभाजन रोक्न प्रयत्न गर्‍यौं । केन्द्रीय कमिटीमा लविङ गर्‍यौं । फुट्न उक्साउने साथीहरुसँग झगडा गर्‍यौं । सबै थाहा छ त उहाँलाई । विभाजनको विपक्षमा महिनौंसम्म विवाद र बहस गरेका छौं र प्रष्ट भनेका छौं– विभाजनमा हाम्रो साथ रहँदैन ।

त्यसैले यहाँसम्म ल्याएर साथ छोडे भन्न मिल्दैन । केही साथीहरु सँगै बस्न (ओलीसँग) मिल्दैन भन्नुहुन्थ्यो । तर रघुजी पन्त विभाजनको पक्षमा कहिल्यै पनि भएन । विभाजन गरौं भनेर साथ नदिएको भए हामीले धोका दिएको हुन्थ्यो त ।

अदालतको फैसला प्रभावित हुनेगरी तपाईंहरुले दश बुँदे सहमति गर्नुभयो भनेर माधव नेपालले असन्तुष्टि जनाउनु भएको थियो । तपाईंहरूमा पनि समस्या देखियो कि ?

त्यो दिन (१० बुँदे सहमति भएको दिन २७ गते) सञ्चो नभएर चाँडै हिँडेका कारण मैले २८ गते सही गरेको हो । तर माधव नेपाललाई थाहा नदिइकन साथीहरुले सहमतिमा हस्ताक्षर गरेको हो र ? २७ गते सही गरेका साथीहरुले पनि सोधेरै गर्नुभएको हो, बिना जानकारी गरिएको होइन ।

त्यसैले पार्टी विभाजन जिन्दगीमा उहाँ (माधवकुमार नेपाल)ले गरेको राजनीतिक भूलहरु मध्ये सबैभन्दा ठूलो भूल हो । यसले उहाँको व्यक्तित्व र इतिहासमा क्षति पुगेको छ । उहाँ त एमाले निर्मातामध्ये एक हो । कसैसँग रिस छ भनेर आफैले बनेको घरबाट निस्केर जानु हुँदैन ।

अध्यक्ष कमरेडलाई पनि भनेको छु– माधव नेपालहरुलाई फर्काएर ल्याउने जिम्मेवारी तपाईंको हो । ५४ सालमा वामेदवले पार्टी फुटाउनुभयो । ६ लाख भोट मालेले नकाटेको भए एमालेले बहुमतको सरकार बनाउने रहेछ । अब के हुन्छ ? एकअर्कालाई गाली गरेर बस्ने कि देश चलाउने ? असली नेता त्यही हो, जसले विभाजित मुभमेन्टलाई एकताबद्ध बनाउँछ । तर अहिले नेताहरु आवेशमा हुनुहुन्छ । फुटेर गएकाले झोंक चलेको छ । सबै बाहुन हुनुहुन्छ । रिसको झोंकमा बाहुनले बेद पढ्दैन भन्छन् । अहिले बाहुनहरुले वेद पढिरहेका छैनन् ।

एमाले नेताको हैसियतमा तपाईंले केपी ओलीलाई साथ दिनु दायित्व हो । पार्टी विभाजनको मूल समस्या केपी ओली भएको पनि भन्नु हुन्छ । अनि ओलीबाटै वाम एकता सम्भव हुने देख्नु हुन्छ ?

आन्दोलनमा व्यक्ति गौण हुन्छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले आज माओत्सेतुङलाई महान नेता भन्छन् । त्यही सीपीसीले माओलाई पटकपटक कारबाही गरेको छ । माओका विचार स्थापित हुँदा पनि नेता मानेको छैन । अरु नै नेता बनेका छन् । तर त्यो सबै सहेर, लडेर बसे । कयौं कमरेडहरुले दुःख पाए । जेल परे । जेलभित्रै मर्नुपर्‍यो ।

रुसी कम्युनिष्ट पार्टी, भारतीय कम्युनिष्ट पार्टी पढ्नुभयो भने पनि पार्टीभित्र त्यस्तो हुन्छ । अत्याचार हुन्छ । भएको छ । पार्टीले आफ्नै नेतामाथि अत्याचार गरेको छ । लेनिनपछि स्टालिनले गरेको अत्याचार पढ्नुभयो भने कम्युनिष्ट आन्दोलनमा लाग्नु पनि मन लाग्दैन । वामपन्थी आन्दोलनलाई लोकतान्त्रिकरण गर्नुपर्ने पक्षमा उभिएको यिनै इतिहास पढेर हो । २०३९ मा सीपी मैनालीलाई साथ दिइयो । यदि, कम्युनिष्ट पार्टी सत्तामा हुन्थ्यो भने रुखमा झुण्ड्याइदिन्थे, हामीलाई ।

एमालेलाई लोकतान्त्रिकरण त भनियो, तर आज एमालेका पूर्व प्रमुखहरु कोही पनि पार्टीमा नरहने अवस्था छ । लोकतान्त्रिकरणले पार्टीमा काम गरेन ?

राजनीति बडा बाङ्गोटिङ्गो हुन्छ । बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ, भित्र त्यति हुँदैन । अत्यन्त कुरुप, जटिल र असजिलो हुन्छ । अहिले हामी अत्यन्तै जटिल र असजिलो राजनीति भोगिरहेका छौं । म असन्तुष्ट छु, नेतृत्वसँग कुरा मिलिरहेको छैन । तर पार्टी विभाजन गर्दैमा समाधान निस्कन्छ त !

हो, उहिल्यैदेखि आफूलाई लागेको कुरा भन्थे । तर निर्णय भइसकेपछि चित्त बुझाउँथे । पार्टीमा लाग्नु भनेको व्यक्तिगत स्वतन्त्रता गुमाउनु हो । पार्टीमा बसेपछि चित्त नबुझेको कुरा पनि मान्नुपर्ने हुन्छ । मानेर आएको छु ।

म सधैं बाँच्दिनँ, हामी सधैं बाँच्दैनौं । तर, वामपन्थी आन्दोलन रह्यो भने इतिहासले विश्लेषण गरेर भन्छ– केपी कमरेड प्रधानमन्त्री हुँदा दुई चोटी गरिएको विघटन संविधानसम्मत थिएन । आज सबै संविधानविद्ले भनिरहेका छन् । भोलि इतिहासले भन्छ ।

अहिले एमाले विभाजित छ । सबै मिलेर एमालेलाई एक्ल्याउन खोजेकाले एक्लै लड्छौं र जित्छौं भन्नु पर्यो । हिजो एक्लै लडेर आएको हो, जितेको पनि हो ।

तर, मनको एउटा कुनामा राख्नुपर्छ, यो आन्दोलनलाई एकताबद्ध प्रचण्डजीले गर्न सक्नुहुन्न । प्रचण्डजी नेतृत्वमा वाम आन्दोलन एकताबद्ध हुँदैन । सवभन्दा ठूलो वामपन्थी पार्टी अध्यक्षको हैसियतमा केपी कमरेडले सक्नुहुन्छ । यो दायित्वबाट पञ्छिनु हुन्छ भने सिद्धिगयो ।

तर, स्थायी कमिटी सदस्यको हैसियतले भन्छु– नेपालको वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने र सत्तामा लैजान चाहिने उदारता देखाउने दायित्व केपी कमरेडको हो । माधव नेपाललाई ल्याउन सकिन्छ । मेरै भाग खोसिएला भनेर कसैले ठान्नुपर्दैन । पार्टी ठूलो र बलियो हुँदा भाग सबैले पाउँछ ।

वाम आन्दोलनलाई एकताबद्ध बनाउने दायित्वबारे सोच्नुभयो भने आज उहाँप्रति उठेको आलोचना पनि हराएर जान्छ । वाम आन्दोलन एकताबद्ध बनाउने दायित्व फुटेर जाने प्रचण्ड र माधव नेपालको भन्दा धेरै हाम्रो हो ।

तपाईंसहित अष्टलक्ष्मी शाक्य, अमृत बोहरा, युवराज ज्ञवाली जस्ता नेताहरुले वर्षौसम्म माधव नेपाललाई साथ दिनुभयो । धेरैलाई आश्चार्यमा पार्नेगरी अहिले साथ छोड्न सजिलो थियो ?

प्रष्टै भनेको थिएँ, विभाजनमा साथ दिन्न । शुरुमा तँ आजसम्म साथ दिएको माधव नेपाललाई फुटेपनि साथ दिन्छु भन्ने थियो । तर पछि विभाजनमा जान मन लागेन ।

यदि पार्टी एकताबद्ध रहेको भए उहाँ प्रमुख नेता बन्ने परिस्थिति र जनमत बन्थ्यो । प्रमुख नेता त हुनुहुन्थ्यो नै, परिस्थितिले अध्यक्ष पनि बनाउथ्यो ।

सायद, केपी कमरेडले नै अब तपाईं चलाउनुहोस् भन्ने अवस्था आउनसक्थ्यो । किनकि माधव नेपाल र केपी कमरेड बीचको द्वन्द्व, विवाद र एकताको साक्षी पनि हुँ । कतिपय कुराको सूत्रधार, कतिपय कुराको सहयोगी पनि हुँ । उहाँहरुबीच प्रेम र घृणाको सम्बन्ध लामो समयदेखि देख्दै आएको हुँ ।

विभाजनमा नजानु भएको भए आगामी निर्वाचनमा माधव नेपालकै नेतृत्वमा एमाले जान पनि सक्थ्यो । त्यो अवसर गुमाउनुभयो । तर फेरि पनि एकताको विकल्प छैन ।

यो त राजनीतिक कुरा भयो, मनोवैज्ञानिक रुपमा सजिलो थियो ?

माधव नेपालले मलाई माया र विश्वास गर्नुहुन्छ । एमालेमा रहेकै कारण मप्रतिको विश्वास र माया टुट्यो भन्ने लाग्दैन । मलाई एक तहको माया र विश्वास त सीपीले पनि गर्नुहुन्छ । यद्यपि सीपीसँग कुराकानी नै नभएको वर्षौं भइसक्यो । राजनीति यस्तो पनि हुँदो रहँेछ । कतिपय भावनात्मक सम्बन्ध मर्दैमर्दै जान्छ । तर सवभन्दा धेरै सहकार्य गरेको, मलाई अगाडि बढाउन भूमिका खेलेको, विश्वास गरेको मान्छे माधव नेपाल नै हो ।

केपीले मलाई पेल्नु भयो । मेरो अगाडि रहेको अवसरहरु खोस्नु भयो । जबकी म योग्य हुँ कि होइन भन्ने उहाँलाई थाहा छ । धेरै साथीहरुलाई पनि थाहा छ ।

माधव नेपालको मनपर्ने कुरा, उहाँ फरक मत राख्नेहरुलाई पनि समेटेर लैजानुहुन्छ । तुष नराख्ने उहाँको राम्रो गुण हो । केपीजीको कमी, आफूसँग डिफर भयो भने टाढै राख्ने । उहाँको यो उपयुक्त बानीजस्तो लाग्दैन ।

यद्यपि यी सबै दोस्रो कुरा हुन् । मूल कुरा आन्दोलनको हित हो, राष्ट्र र जनताको हित हो । अप्ठ्यारो घडीमा मसँग रघु उभिएन भन्नुहोला । बोलाएर भन्नु पनि भयो– मसँग रहेका मध्ये तपाईँ सिनियर हो, महासचिव बस्नुहोस् । त्यो तहको विश्वास र माया देखाउनुभयो । तर म महासचिव हुने कुरा भन्दा पनि महत्वपूर्ण आन्दोलन हो ।

एमालेमै बसेर फेरि एकतालाई जोड दिनुहुन्छ ?

पार्टीहरू बन्छन् र भत्कन्छन् । देश र जनता रहेसम्म यो प्रक्रिया चलिरहन्छ । सारा संसारलाई उत्प्रेरित गर्ने लेनिनको पार्टी कहाँ गयो । नाम निशाना छैन ।

यदि म महासचिव भएर लागेको भए नयाँ पार्टी बनाउने जोड दिनुपर्‍यो । यो त विभाजनको विपक्षमा उभिने कुरासँग मेल खाने कुरा रहेन । अर्कातिर, एकताका निम्ति भूमिका खेल्ने मान्छेहरु पनि चाहिन्छ । किनकि मलाई विश्वास छ, एकताको विकल्प छैन । रातरात यो जोडिँदैन । एउटा कोर्सबाट अगाडि बढ्छ । तर, त्यो कोर्सबाट गइसकेपछि जोड्ने ठाउँको संभावना खोजी गर्ने मान्छे त चाहियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?