+
+
चाडबाडमा स्मार्ट फोन बजार :

दशैंअघि भित्रियो १० अर्बको १५ लाख मोबाइल

खोजेको सेट पाउन भने मुस्किल

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ असोज १४ गते १८:४७

१४ असोज, काठमाडौं । सिन्धुलीका सुमन देवकोटा दशैंमा घर जाँदा आमाका लागि ‘इन्ट्री लेभल’को स्मार्ट मोबाइल लैजाने योजनामा छन् । भिडियो कल गर्न मिल्ने सस्तो र राम्रो फोन खोजिरहेका उनलाई १५ हजारभन्दा घटीको मोबाइल भेटाउन मुस्किल परिरहेको छ ।

‘धेरै पसल चाहार्दा पनि भेटिएन,’ नयाँबानेश्वरस्थित एक मोबाइल पसलमा भेटिएका देवकोटाले भने, ‘अब २० हजार आसपासको सेट हेर्दैछु ।’

यस्तो समस्या अहिले मोबाइल पसलमा पुग्ने धेरै ग्राहकले भोगिरहेका छन् । विशेषगरी सस्तो मोलका स्मार्ट फोन खोज्नेहरु पसलको चक्कर काट्न बाध्य छन् ।

दशैं नजिकिएसँगै मोबाइल पसलहरुमा उपभोक्ताको भिड पनि बाक्लिएको छ । कोभिड महामारीपछि उछाललिएको मोबाइल बजारले दशैंको समयमा थप ग्राहक बटुलेको छ । ग्राहकलाई भने आफूले चाहेजस्तो मोबाइल भेटेर किन्न सकस परेको छ ।

ठूलो संख्यामा मोबाइल आयात भएपनि बजारमा मध्यम रेन्जका कतिपय मोडलका सेटहरु नपाइने अवस्था देखिएको छ । ग्राहकहरु अन्य ब्रान्ड र मोडलका विकल्पहरु खोजिरहेका छन् ।

चालु आर्थिक वर्ष ०७८/७९को साउन र भदौमा मोबाइल आयात गत वर्षको यही अवधिको तुलनामा ३४ प्रतिशत बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार यो वर्ष साउन र भदौमा १४ लाख ९८ हजार ७६५ सेट फोन आयात भएको छ । आव ०७७/७८ को यही दुई महिने अवधिमा ९ लाख ९५ हजार ५०० मोबाइल सेट नेपाल भित्रिएको थियो ।

दुई महिनामै गत वर्षभन्दा करिब ५ लाख ५ हजार बढी सेट आयात भइसक्दा पनि बजारमा अभाव हटेको छैन ।

यो वर्ष साउन–भदौमा मात्र १० अर्ब ३६ करोड ३५ लाख मूल्य बराबरको फोन आयात भएको छ । गत वर्षको साउन र भदौमा ७ अर्ब ९४ करोड २४ लाख मूल्यको मोबाइल आयात भएको थियो । यो दुई महिनाको मोबाइल आयातबाट सरकारले १ अर्ब ६३ करोड रुपैयाँ राजस्व संकल गरिसकेको छ ।

गत आव ०७७/७८मा मोबाइल आयातमा दोब्बर वृद्धि भएको थियो । २०७७ साउनदेखि २०७८ असारसम्म ७० लाख ३० हजार मोबाइल सेट आयात भएको थियो । आव ०७६/७७ को भन्दा यो परिमाण २६ लाख ६५ हजार वटा बढी हो । आव ०७७/७८ मा आयात भएको मोबाइलको मूल्य १८ अर्ब १७ करोडबाट ३६ अर्ब ९० करोड रुपैयाँ पुगेको थियो ।

मागअनुसार छैन उत्पादन

सासमङ नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितका अनुसार स्मार्ट फोन कम्पनीहरुलाई अहिले विश्व बजारको माग धान्न हम्मे परिरहेको छ । महामारीपछि विद्युतीय चिप अभाव भएको असर मोबाइल बजारमा परेको बताउँदै उनले बताए ।

कोभिड महामारीपछि अनलाइनमा निर्भरता बढेको छ । राम्रोसँग चल्ने मोबाइल किन्नु बाध्यताजस्तै बनेको छ । त्यसका कारण माग बढ्दै जाँदा मध्यम रेन्जका फोन आपूर्ति असहज बनेको स्थापित बताउँछन् ।

नयाँ बजारमा मोवाइल पसल चलाएका ज्ञानेन्द्र प्रसाइँ गुणस्तरीय स्मार्ट फोनको माग बढ्दै गएको अवस्थामा दशैंमा बढी ‘पपुलर ब्राण्ड’का सेटको अभाव देखिएको बताउँछन् ।

‘अडियो/भिडियो कल, भिडियो कन्फ्रेन्सिङ, अनलाइन कक्षालगायत गतिविधि गर्नसक्ने फोनको माग धेरै छ,’ उनी भन्छन्, ‘विभिन्न पेशा–व्यवसाय गर्नेहरु इमेल गर्न, एसमएस पठाउन, पढ्न, वर्ड/पावर प्वाइन्ट लगायत गर्न मिल्ने फोन खोजिरहेका छन् । दशैंको समयमा किन्नेले पनि यस्तो पक्ष हेरिहाल्छन् ।’

उनका अनुसार ठूलो स्क्रिन भएको फोनमा पनि ग्राहकको रुची बढी छ । ह्याङ्ग नहुने र लामो समय नतात्ने फोन खोज्नेहरु धेरै छन् ।

बढ्दैछ व्यापार

अहिले मोबाइलमा भिडियो हेर्ने, गेम खेल्ने र मल्टिमिडया प्रयोग गर्नेहरु उत्तिकै छन् । राम्रो गुणस्तरको फोटो/भिडियो खिच्ने फोन किन्नुपर्ने आम मानसिकता बनेको छ । २० हजारदेखि ३० हजारसम्मका फोन किन्नेको संख्या अधिक छ । बार फोन बोक्नेहरु स्मार्ट फोनमा ‘अपग्रेड’ हुँदैछन् ।

नेपालमा ग्रामीण दूरसञ्चार सेवा बढ्दै गएकाले पनि यस्तो भएको हुनसक्ने मोवाइल पसल सञ्चालक प्रसाईं बताउँछन् । नेपाल टेलिकम र एनसेलले सेवा विस्तार गर्दै गुणस्तर पनि सुधार्दै लगेकाले मोबाइल बजारमा त्यसको प्रभाव देखिएको उनको विश्लेषण छ ।

विदेशबाट आउने रेमिट्यान्सको रकम ‘कनेक्टिभिटी’को साधनमा पनि खर्च गर्ने क्रम बढ्दो छ ।

‘वाइफाइ’ इन्टरनेट चलाउनेहरुका लागि मोबाइल सहज साधन मानिन्छ । अहिले तारसहितको इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि आक्रमक रुपमा सेवा विस्तार गरेकाले पनि मोबाइल बजार बढाउन सघाउ पुगेको छ ।

नेपाल मोबाइल व्यवसायी संघका अनुसार कोराना महामारीपछि स्मार्टफोनको व्यापार लगातार सप्रिरहेको छ । संघका अध्यक्ष पुरुषोत्तम बस्नेत सामान्य खालका बार फोन छाडेर स्मार्टफोन रोज्नेहरु बढेका छन् ।

‘महामारीले राम्रो फोन किन्न बाध्यता बनाएको छ,’ उनी भन्छन्, ‘सस्ता मोबाइल चलाइरहेकाहरु पनि मध्यममा ‘अपग्रेड’ भएका छन् ।’

अनलाइन कक्षा, भर्चुअल मिटिङ लगायतमा पुराना डिभाइसबाट काम नचल्ने भएपछि नयाँ किन्न पर्ने बाध्यता सिर्जना भएकाले मोबाइलको बजार चम्किन पुगेको हो ।

महामारीपछि नेपाल–भारत सीमामा आउजाउमा कडाइ गरिएका कारण मोबाइल तस्करी कम भएको अनुमान छ । अन्तर्राष्ट्रिय हवाई उडानहरु सीमित छन् ।

विदेश आउने–जानेहरु घट्दा मोबाइल सेट उपहार आउने क्रम घटेको छ । दूरसञ्चार प्राधिकरणले अवैध फोन चल्न नदिने प्रणाली ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ जोड्ने तयारी गरेकाले दशैंपछि व्यापार अझै उचालिने आशामा व्यवसायीहरु छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?