+
+

भरतमणिको जीवनशैली : माछामासुको भोगी, पहिरनमा ‘जोगी’ !

सुशील नेपाल सुशील नेपाल
२०७८ असोज १८ गते १६:४५

भरतमणि पौडेल । अहिलेलाई यति नै काफी छ । किनभने उनी सर्वत्र चिनिएका छन्, कमेडीबाट । यी ताप्लेजुङ्गे ठीटोले कमेडी च्याम्पियनको मञ्चबाट सबैको मन जिते । बेजोड हास्य–चेत र प्रस्तुतीले उनलाई कमेडियनको रुपमा नयाँ चिनारी दिलायो । उनै भरतमणिको दैनिकी कसरी बित्छ ? उनको खानपान, जीवनशैली कस्तो छ ?

तपाईंको दैनिकी कसरी सुरु हुन्छ ? उठ्ने समय एउटै हो वा फरक हुन्छ ?

म प्रायः उठ्ने ७ बजेतिर हो । तर, च्याम्पियनपछि अलि सेड्युल मिलिरहेको छैन । देश–विदेशमा रहनुभएका धेरैले सामाजिक सञ्जालमार्फत् शुभकामना दिइरहनुभएको छ । उहाँहरूलाई धन्यवाद पनि भन्नुप¥यो । त्यसैले हिजोआज अलि ढिलो सुत्ने हुनाले उठ्ने सेडयुल नमिलेको हो । तर, छिट्टै सुत्ने–उठ्ने सेडयुलचाँहि मिलाउँछु । योभन्दा एक वर्ष अगाडि कलेज जानुपथ्र्यो । त्यो बेला ६ बजे नै उठ्थेँ ।

उठ्नासाथ बिस्तारामा मोबाइल चलाउने बानी कत्तिको छ ?

चलाउँछु । उठ्नासाथ बिस्तारामै हुँदा मोबाइल खोलेर समाचार हेर्ने बानी छ ।

बिहान पूजापाठ गर्ने, योग-ध्यान वा अन्य व्यायाम गर्ने बानी कत्तिको छ ?

उठेपछि पानी पिउँछु । त्यसपछि फ्रेस हुन्छु । म भगवानप्रति धेरै नै आस्था राख्छु । तर, उठेपछि पूजा नै गर्ने बानी छैन । भगवानलाई मनमनैचाँहि सम्झिन्छु । जन्मदिन, एकदमै नराम्रो सपना देख्दा मन्दिर जान्छु । योग–ध्यान वा अन्य व्यायाम गर्ने बानी पनि छैन ।

बिहान नास्ता के खानुहुन्छ ?

पानी मात्रै पिउँछु, बिहानमा नास्ता खानैपर्छ भन्ने छैन । हुनलाई म ग्यास्ट्रिक पीडित हुँ तर बिहानमा नास्ता रुच्दैन जस्तो लाग्छ । पहिले–पहिले गाउँमा हुँदा दूध, मकै, भात भुटेर खान्थे । काठमाडौं आइसकेपछि बिहान कलेजमा समोसाहरु खान्थेँ । अहिलेको सन्दर्भमा उठेर एकछिन समाचार हेर्ने, त्यसपछि फ्रेस हुने । अनि फेसबुक, युट्युबहरू हेर्छु । त्यो हुँदाहुँदै खाना पकाउने बेला भइहाल्छ । त्यसैले बिहानमा प्रायः नास्ता खाँदिनँ ।

खाना आफैँ बनाउनुहुन्छ ? कतिबजे खानुहुन्छ ?

भाइ हुँदा प्रायः भाइले बनाउँछ । भाइ नहुँदा आफैँ बनाउनुप¥यो । लास्टै अल्छि लाग्यो भने साथीकोमा गैदिन्छु (हाहा…) । खाना खाने समय साढे ९ देखि साढे १० बजेभित्र हो ।

खाना बनाउन जाँगरचाँहि कत्तिको चल्छ ?

खाना बनाउन सुरु गर्दा अलिकति अल्छि लागेजस्तो हुने हो । जब हात हालिन्छ, त्यसपछि खाना पकाउने, भाँडा माझ्ने, सरसफाइ गर्ने कुरामा गाह्रो लाग्दैन ।

कस्तो खाना रुचाउनुहुन्छ ? खानामा के–के हुन्छ ?

दात, भात, तरकारी हुन्छ । अचारचाँहि टमाटरको भाउअनुसार हुन्छ (हाहाहा…) । टमाटरको भाउ घटेको छ भने अचार हुन्छ, भाउ बढेको छ भने अचार खानु हुँदैन भन्ने लाग्छ (हाहाहा…) ।

मलाई खासमा दाल पनि चाहिँदैन । भात र तरकारी मात्र भएपनि हुन्छ । भाइ र म दुवैजना भयौं भने दाल पनि पकाउँछौं । मलाई यही चाहिन्छ, त्यो नभए खाँदिन भन्ने हुँदैन ।

तपाईंले खाना मीठो बनाउनुहुन्छ ?

मेरो नजिकको साथीहरुले मीठो बनाउँछस् भनेर मलाई खुब तारिफ गर्छन् । उनीहरुलाई पनि अल्छि लागेर मेरोमा खान आउनका लागि हो कि (हाहा…) । मीठो बनाइस् भनेपछि त फुर्केर भोलिपनि आइज भनिन्छ नि त ।

माछामासुचाँहि कत्तिको खानुहुन्छ नि ?

माछामासुको म भोगी नै हो नि । दुई-तीन दिन, दुई तीन दिनमा माछामासु भएन भने के छुटाएँ जस्तो लागिहाल्छ । म जनजाति समुदायमा हुर्किएको । माछामासु बच्चैदेखि देखिरहेको, खाइरहेको हो । मैले थाहा पाएदेखि हप्तामा २ दिन खसीको मासु खान्थ्यौैं । क्षेत्री बाहुनकोमा कुखुरा, सुंगुरहरू चल्दैन’थ्यो ।

काठमाडौं आएपछि भने कुखुरा, माछा बढी खान थालेँ ।अहिले खसी, कुखुरा, माछा ल्याएर पकाइरहेको हुन्छु । नलजाइ भन्ने हो भने बंगुरको मासु पनि ल्याएर पकाइरहेको हुन्छु ।

सबैभन्दा मनपर्ने परिकार कुन हो ?

मलाई लोकल कुखुराको मासु बढी मनपर्छ ।

बाहिर रेस्टुरेन्टमा खानेकुरा कत्तिको खानुहुन्छ ?

म एक्लै कमै खान्छु । साथीभाइसँग गएर खाइरहेको हुन्छु ।

कपडा धुने, भाँडा माझने, सरसफाइमा कत्तिको जाँगर चल्छ ?

म ताप्लेजुङमा हुँदा घर पनि लिप्थेँ । बुहारी, भरतको श्रीमतीले धेरै सुख पाउनेभई भनेर छरछिमेकीले जिक्काउनुहुन्थ्यो । यहाँ पनि कपडा धुने, भाँडा माझ्ने, सरसफाइको काममा खासै गाह्रो लाग्दैन ।

घरभित्रको सबैभन्दा गाह्रो लाग्ने काम कुन हो ?

कहिलेकाँही अल्छि गरेर खाना खाएको भाँडा छोडिन्छ । त्यो दुई–चार दिनपछि माझ्नुपर्ने हुँदा गाह्रो लाग्छ । कट्कटिएर जाँदै जाँदैन, त्योचाँहि गाह्रो लाग्छ ।

अब धोइहाल्छु भनेर कहिलेकाँही सरफमा लुगा भिजाइन्छ । तर, को साथीले कतातिर बोलाइदिन्छन् । बाहिर निस्किएर आएपछि अल्छि लाग्छ । दुई–तीन दिनमा त्यो लुगा गह्नाएको हुन्छ, त्यो धुँदा लास्टै गाह्रो लाग्छ ।

घरबाहिर निस्कने समय कुन हो ?

म त्यतिकै निस्किहाल्ने गर्दिन । त्यसैले ठ्याक्कै यो समय बाहिर निस्किन्छु भन्ने छैन । काम कतिबेला परेको छ, त्यो अनुसार निस्किन्छु ।

बाहिर निस्कनुअघि तयारी हुनका लागि कति समय लाग्छ ?

धेरै समय लाग्दैन । कपाल कोर्न दुई–तीन मिनेट लाग्छ । कपाल लामो भएको हुनाले लट्टा फुटाउनुपर्छ । अरू तयारीका लागि खासै समय लाग्दैन ।

लुगाफाटो कस्तो सहज लाग्छ ?

क्याजुअल ड्रेस सहज लाग्छ । सर्ट, पाइन्ट वा ज्याकेट र पाइन्ट लगाएर निस्किन्छु ।

सिलाएको (सुट) नलगाएको चाँहि धेरै भयो । स्पेसल कार्यक्रममा चाँहि सर्ट, पाइन्ट, कोट लगाएर जान मन लाग्छ ।

कपडामा कत्तिको सौखिन हुनुहुन्छ ?

त्यस्तो सौखिन छैन । साथीहरुले भन्नुहुन्छ – एउटै जुत्ता भो, एउटै सर्ट भो, एउटै पाइन्ट भो, एउटै ज्याकेट भो । फरकफरक किन्नका लागि त आम्दानी पनि राम्रो हुनुप¥यो । अब त सकिएला कि ! मलाई जे सहज लागिरहेको छ त्यही लगाउँदै आएको छु ।  पाइन्ट म एउटै कम्पनीको दुई–तीनवटा किनेर राखिरहेको हुन्छु । त्यो म फेरेर लगाएपनि सधैं एउटै देख्छन् । अहिलेचाँहि फरक–फरक किनेको छु । अहिले त फेरेछ भनेर जिस्काउँछन् पनि । मलाई फरकफरक, स्टाइलिस लगाउन मनपर्ने जुत्ता हो ।

मलाई मन परेको जुत्ता महँगो–महँगो पर्दोरहेछ । मैले त्यसरी किन्न सकिरहेको थिएन । अहिले विदेशतिरबाट जुत्ता र अन्य गिफ्टहरू पठाइरहनुभएको हुन्छ । अहिले जुत्ताचाँहि फेरिफेरि लगाइरहेको छु । जुत्ता हेर्दा युनिक होस् जस्तो लाग्छ ।

कपडा वा जुत्ता मनप¥यो भने जता पनि किन्नुहुन्छ कि राम्रै ठाउँमा जाउँ भन्ने लाग्छ ?

किनिरहनु नपरोस् । किनेपछि राम्रो होस् भन्ने लाग्छ । रंग नजाने ओर्जिनल होस् जस्तो लाग्छ । सोधिखोजी गरेर राम्रो नै किन्छु ।

कस्तो रंग मन पराउनुहुन्छ ?

मलाई नीलो र सेतो हो । हेर्दाखेरि लाइट देखियोस् भन्ने लाग्छ । तर मैले लगाइरहेको सर्टहरु विभिन्न रंगका छन् । पाइन्ट कालो लगाइरहेको हुन्छु । सर्ट, ज्याकेट, कोटचाँहि बढी सेतो र निलो रंगलाई प्राथमिकता दिन्छु । सेतो र नीलो भएन भने लगाउँदै लगाउँदैन भन्ने होइन ।

सवारी साधन के प्रयोग गर्नुहुन्छ ?

मैले २०१८ देखि पल्सरको टु टवान्टी चढ्दै आएको छु । अहिले कार चलाउन सिकिरहेको छु ।

दिनभर कसरी बिताउनुहुन्छ ?

अहिले च्याम्पियनपछि मेरो दिनचर्या अलिकति फरकचाँहि भएको छ । पहिले म आफ्नै काम गरिरहेको हुन्थे, जस्तो रेडियोमा बज्ने कार्यक्रमहरुको कम्युटरमा इडिट गरिरहेको हुन्थेँ । युट्युबको लागि सानोतिनो भिडियो पनि बनाउँथे ।

अहिलेचाँहि कन्टेन्ट लेख्नमा फोकस छु । हेरौं कत्तिको राम्रो बनाउन सकिन्छ । सकेसम्म साथीभाइ भेटघाटलाई पनि प्राथमिकतामा राख्छु । कलेजको, पहिले काम गर्दाको, गाउँठाउँका साथीहरु हुनुहुन्छ । सबै साथीहरूलाई सकेसम्म समय दिने प्रयास गरिरहेको हुन्छु ।

कलाकारिता क्षेत्रका साथीहरु कत्तिको हुनुहुन्छ ?

म साथीहरु बनाउन माहिर मान्छे हुँ । मेरो कलाकारिता मात्र नभएर सबै क्षेत्रको साथीहरु हुनुहुन्छ । किन हो किन, संसारमा सबैभन्दा धेरै साथीहरू मेरै छन् जस्तो लाग्छ ।

राजनीति गर्ने साथीहरु धेरै हुनुहुन्छ । कलाकारिता क्षेत्रमा संघर्ष गरिरहनुभएका साथीहरू पनि धेरै हुनुहुन्छ । विजनेसमेन साथीभाइ पनि हुनुहुन्छ । पूर्वका मात्र नभएर काठमाडौं आएपछि पश्चिमतिरका साथीहरू पनि हुनुहुन्छ ।

कलाकारिता क्षेत्रको नजिकको साथी ?

कलाकारितामा चाँहि नजिकको साथी सुमन कोइराला हो ।

दिनमा फोन कल कतिसम्म आउँछ ?

अहिले कार्यक्रमहरुको पनि कुरा आईरहेको छ । उहाँहरुको कुरा सुन्दै, आफ्नो कुरा राख्दै गरिरहेको हुन्छु । फोन एकदमै धेरै नै आइरहेको हुन्छ । अहिले दिनमा लगभग ४० फोन कल आउँछ ।

दिनमा औसतमा कति रुपैयाँ खर्च हुन्छ ?

घरमा बस्दा प्रायः खर्च हुँदैन । बाहिर पनि खाजा खानुप¥यो भने खर्च हुने हो । ठ्याक्कै यति नै भन्ने हुँदैन ।

आफैँले किनेको अहिलेसम्मको महँगो कुरा के छ ?

हङकङमा स्टेज प्रोगाम गरेर ल्याएको पैसाले बाइक किनेको हुँ । मेरो आफ्नै कमाइ २ लाख, घरबाट १ लाख मागेर ३ लाखमा बाइक किनेको थिएँ । अरू आफैँले किनेको त्यस्तो महँगो सामान छैन । पछिल्लो समयमा चाँहि आफैँले दराज, सोफाहरु किनेको थिएँ । त्यो पनि लास्टै महँगो लाग्यो ।

आफ्नो मनपर्ने स्वभाव के हो ?

म अरूलाई पनि धेरै सम्मान दिन्छु । मेरो कारणले कसैको चित्त नदुखोस् भन्ने लाग्छ । त्यो चिज मन पर्छ ।

यो बानी सुधार्न पाए भन्ने केही ?

धेरै छन् । म झनन् रिसाइदिन्छु । कसैले धेरै लम्बेतम्बे कुरा ग¥यो भने झ्याउ लाग्न थाल्छ ।

साथीहरू तपाईंको कुन बानी मन पराउँछन् ?

साथीहरु मन नपराउने मेरो छिटो रिसाउने स्वभाव हो । साथीहरु तिमी छिटो रिसाउँछौ यार भन्छन् । नत्र, त्यस्तो कुनैपनि कुरा छैन साथीहरुले कम्प्लेन गरेको । तर म छिटो रिसाएपनि छिट्टै कुल पनि भैहाल्छु ।

पुस्तक कत्तिको पढ्नुहुन्छ ?

पढ्नुपर्ने जस्तो लाग्छ सधैं । तर, पुस्तकहरु धेरै पढेको छैन । इन्टरनेट आएदेखि नयाँनयाँ कुराहरु जे–जे हेर्न मन लाग्छ त्यसमै पाएपछि पुस्तक पढ्नलाई समय नदिएको हो । त्यो मेरो ठूलो कमजोरी लाग्छ ।

चलचित्र कत्तिको हेर्नुहुन्छ ?

भ्याएसम्म हेर्छु ।

मनपर्ने चलचित्र ?

पुराना मनपर्ने चलचित्रहरु धेरै छन् । अलि पछिल्लामा ‘टलकजंग भर्सेस टुल्के’ एकदमै राम्रो लागेको हो । लुट, पशुपति प्रसाद, छक्का पञ्जा, कबड्डी कबड्डी लगायतका चलचित्रहरु मन परेका चलचित्र हुन् ।

मनपर्ने अभिनेता–अभिनेत्री ?

प्रायः सबैजना मनपर्छ । त्यसमा पनि मलाई विपिन कार्की एकदमै धेरै मनपर्छ । दयाहाङ राई मनपर्छ । अभिनेत्रीमा सिर्जना सुब्बा, मेनुका प्रधान, लक्ष्मी बर्देवा मनपर्छ । उहाँहरुको अभिनय राम्रो लाग्छ ।

मनपर्ने गायक–गायिकाहरु ?

मेरो मनपर्ने गायक सुगम दाइ हो । हामी एक हिसावले निकट पनि छौं । निकट भएको हिसाबले भन्दापनि म बच्चैदेखि उहाँको फ्यान हुँ । गायिकामा धेरैजना हुनुहुन्छ । प्रविशा अधिकारी एकदमै धेरै मनपर्छ । विद्यामञ्जु तिवारी मनपर्छ । अञ्जु पन्त, मेलिना राई, अस्मिता अधिकारी पनि मनपर्छ ।

घुम्न कत्तिको मन पराउनुहुन्छ ?

मलाई घुम्न पनि एकदमै रमाईलो लाग्ने हो । किनभने म पर्यटकीय क्षेत्रबाट आएको हो । काठमाडौं हुँदा समय र पैसा छ भने म पोखरा जान्छु ।

मनपरेको ठाउँ कुन हो ?

मलाई अहिलेसम्मकै मनपरेको ताप्लेजुङ नै हो । यो कुरा मैले प्रवद्र्धन गर्नका लागि मात्रै भनेको होइन । ताप्लेजुङमा धेरै सुन्दर–सुन्दर ठाउँहरू छन् । त्यहाँ जहाँसम्म म पुगेको छु, त्यहाँसम्म कोहीपनि गएको छैन र त्यस ठाउँको तस्वीर काहीँ पनि आएको छैन । हिँडेरै ११ दिनसम्म लाग्ने ठाउँहरू छन् । त्यो भएर पनि त्यहाँका धेरै स्थानमा धेरै मानिसहरु जान सक्नुभएको छैन ।

साँझ कतिबजे घर फर्किनुहुन्छ ?

काम हेरेर हुन्छ । प्रायः ७–८ बजे फर्किन्छु ।

बेलुकाको खाना कतिबजे खानुहुन्छ ?

९ देखि १० बजेभित्र ।

साँझको समयमा फेसबुक, टिकटक, युट्युब कत्तिको चलाउनुहुन्छ ?

फेसबुकमा म एक्टिभ नै छु । टिकटक म आफैँले धेरै मेहनत गरेर बनाएको छैन । मलाई अभिनय धेरै आउँछ जस्तो लाग्दै–लाग्दैन । अभिनय नआएरै हो टिकटक धेरै नबनाएको । टिकटक हेर्न चाँहि रमाईलो लाग्छ ।  एक्टिभ चाँहि फेसबुक र इन्ट्राग्राममा छु । साँझको समयमा भन्दा पनि फुर्सदको समयमा सामाजिक सञ्जालमा बिताउने हो ।

मदिरापान गर्ने बानी कत्तिको छ ?

प्रायः घरमै बसेर पिउन रुचाउँछु । कहिले विदेशबाट साथीहरु आएको हुनुहुन्छ, कहिले जिल्लाबाट आउनुहुन्छ । कुनैदिन धेरै समय नभेटेको साथीहरुसँग भेट हुन्छ । त्यस्तो साथीहरु भेट भएको समयमा पिउँछु । तर, पिउनैपर्छ भन्नेचाँहि छैन ।

सुत्दा कति बज्छ ?

११ बज्छ ।

 

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?