+
+

इच्छाराजलाई सजिलो बनाउने अदालतको त्यो आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते २०:२१

१९ असोज, काठमाडौं । प्रहरीले सोमबार राति पक्राउ गरेको सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरुद्ध ठगी मुद्दामा अनुसन्धान शुरु गरेको छ ।

सहकारीमा सर्वसाधारणको बचत संकलन गरी उक्त रकम आफुखुशी उपयोग गरेर ठगी गरेको घटनामा तामाङ प्रमुख योजनाकार रहेको उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा परेको थियो । सिभिल बैंकका अध्यक्ष समेत रहेका तामाङविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा समेत छानबिन चलिरहेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी श्यामकुमार महतोले अहिले पक्राउ परेकाहरुमाथि  सहकारीको बचत ठगी लगायतका केही गम्भीर आरोपमा अनुसन्धान भइरहेको बताए । ‘एक त बचतकर्ताको रकम सहकारी सञ्चालकले फिर्ता गर्न सक्नुभएको छैन,’ प्रवक्ता महतोले अनलाइनखबरसँग भने, ‘बचतकर्ताले त्यो लगायतका अरु कारण देखाई दिएको उजुरीको अनुसन्धानका सिलसिलामा पक्राउ गरिएको हो ।’

अनुसन्धानमा संलग्न सीआईबीका अर्का अधिकारीका अनुसार ठगीको योजनाकार इच्छाराज नै हो भनी बचतकर्ताले उजुरी दिएका थिए । उनीमाथिको अर्को आरोप भनेको सहकारीमा भएको बचत आफू मातहतकै अरु कम्पनीमा ऋणको रुपमा प्रवाह गरेको र त्यसको अनधिकृत लाभ लिएको भन्ने हो । ती अधिकारीले भने, ‘ऋण लिइसकेपछि हुने प्रतिफलले सहकारीको सावाँ ब्याज तिरेको भएपनि यति विवाद हुने थिएन । सबै रकम आफैंले अपचलन गरेको भनी उजुरी परेको छ ।’

स्रोतका अनुसार राजनीतिक संरक्षण नभएको भए तामाङविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भइसक्नुपर्ने थियो । उनको पत्नीको नाममा रहेको १२ करोड रुपैयाँको जग्गा स्टाण्डर्ड चार्टर्ड बैंकमा भेटिएको छ, जुन रोक्का भइसकेको छ । सम्पत्ति शुद्धीकरण विभागले तामाङ र उनको परिवारको हकमा अनुसन्धान गर्नु भनी प्रहरी र अख्तियारमा पत्राचार गरिसकेको थियो ।

इच्छाराजकी पत्नी सरकारी सेवामा इञ्जिनियर भएकाले विभागले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । विभागसम्बद्ध स्रोतले भन्यो, ‘अहिले सरसर्ती हेर्दा उनीमाथि करिब एक अर्ब रुपैयाँ स्रोत नखुलेको आर्जन देखिन्छ ।’ इच्छाराजको परिवारको नाममा रहेको करिब १७ रोपनी जग्गा अहिले रोक्का छ, जुन सिभिल सहकारीको रकमबाट खरीद भएको विभागसम्बद्ध स्रोतको दाबी छ ।

सिभिल सहकारीमा भएको अनियमितताबारे पीडितले नियमनकारी निकायमा उजुरी गरेपनि सुनुवाइ नहुँदा हैरान थिए । सहकारी विभागदेखि प्रहरी, राष्ट्र बैंकदेखि सम्पत्ति शुद्धीकरण विभागसम्म उनीहरुले उजुरी गर्दा समेत कुनै छानबिन भएको थिएन । यतिसम्म कि सहकारीको ऋणबाटै स्थापित सिभिल होम्स समेत इच्छाराजले बेचेर लाभ लिन थालेपछि अदालतमा समेत मुद्दा परेको थियो । तर उच्च अदालत पाटनबाट इच्छाराजकै अनुकूल आदेश आएपछि बचतकर्ताको रकम जोखिममा पर्‍यो, इच्छाराजले ढुक्कले सिभिल होम्स बेचे र थप सम्पत्ति हात पारे ।

तर पूर्ण सुनुवाइका क्रममा उच्च अदालत पाटनले धितो राखेको रकम चुक्ता गरेमा धितो फुकुवा हुनुपर्ने भनी विवादास्पद व्याख्या गरिदियो । तत्कालीन मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले २ असार २०७६ मा सिभिल होम्स प्रालिले ऋण लिएबापत धितो राखेको रकम चुक्ता गरेमा धितो राखिएको सम्पत्ति फुकुवा गर्नुपर्ने कानूनी दायित्व ऋण प्रवाह गर्ने संस्थाको हुने’ भनी आदेश दिएको थियो ।

त्यही आदेशको आवरणमा सिभिल होम्सले ऋण लिँदा रकम साढे १९ करोड रुपैयाँ बुझाएर धितो फुकुवा गर्‍यो । अनि सिभिलका सञ्चालकहरुले धितो फुकुवा भएको सम्पत्ति सुन्धाराको भवन र जग्गा व्यवसायी अजय सुमार्गीलाई बेचे । त्यतिबेला सिभिल होम्सले सहकारीमा तिर्नुपर्ने ऋण आठ अर्ब रुपैयाँ पुगेको थियो । आठ अर्ब ऋण तिर्नुपर्ने कम्पनीले अदालतबाट आदेश भएपछि करिब साढे १९ करोड ऋण तिरेर धितो फुकाएको थियो । र, त्यतिबेलाको भारी ऋणका कारण अहिले सहकारी संकटमा परेको सीआईबीका एक प्रहरी अधिकृतले बताए ।

त्यतिबेला मुद्दामामिला हुँदा सिभिल होम्सको कुल सम्पत्ति ५ अर्ब ३० लाख रुपैयाँभन्दा बढी थिएन । उसले लिएको ऋण २०७४ सालको असार मसान्तमै ५ अर्ब ७६ करोड रुपैयाँ पुगिसकेको थियो । अदालतले सम्पत्तिभन्दा ऋण बढी देखिएपछि सम्पत्ति दोहोरो रोक्का राख्न नमिल्ने आदेश गरेको थियो । सिभिल होम्सले आफ्नो भनी देखाएका कतिपय जग्गा र सम्पत्तिको स्वामित्व समेत विवादित थियो ।

सिभिल समूहका हर्ताकर्ता इच्छाराज तामाङ अहिले वरिष्ठ सल्लाहकारको हैसियतमा छन् । तामाङ र सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठबीच मामा–ससुरा र भाञ्जा–ज्वाइँको नाता छ । उनीहरुले सहकारीको मान्यता लत्याएर नाफा आर्जन गर्ने कम्पनीलाई समेत सदस्यता दिएर ऋण प्रवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?