
२० असोज, काठमाडौं । फेसबुकका एक पूर्व कर्मचारीले यो सामाजिक सञ्जालले बालबालिका र लोकतन्त्रलाई असर पारिरहेको बताएकी छिन् ।
३७ वर्षीया फ्रान्सिस हउगेनले अमेरिकी सांसदलाई यो सामाजिक सञ्जाल एपले ‘बालबालिकालाई हानी गर्ने, विभाजनलाई बढावा दिने र लोकतन्त्रलाई कमजोर पार्ने’ आरोप लगाएकी हुन् ।
हउगेनले यसअघि फेसबुकमा प्रोजेक्ट म्यानेजरको रुपमा काम गरेकी थिइन् । उनले अमेरिकाको संसद् भवनमा चलिरहेको एक सुनुवाईको क्रममा फेसबुकको आलोचना गरेकी हुन् । पछिल्लो समय फेसबुकमाथि नियमनको माग उठिरहेको छ ।
फेसबुकका संस्थापक मार्क जुकरवर्गले भने फेसबुकमाथिको आरोपको खण्डन गरेका छन् । उनले सञ्चारमाध्यमहरुले फेसबुकको नकाम्रो छपि देखाएको बताएका छन् । कर्मचारीहरुलाई एक पत्र लेख्दै जुकरवर्गले भनेका छन्, ‘धेरै दाबीको कुनै अर्थ छैन । हामी मानिसको सुरक्षा र मानसिक स्वास्थ्यजस्ता विषयमा गम्भीर छौं ।’
उनले थपेका छन्, ‘हाम्रो काम र उद्देश्यलाई गलत तरिकाले प्रस्तुत गरिएको समाचार देख्दा निकै दुःख लाग्छ ।’
हउगेनले आइतबार एक सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा वाल स्ट्रिटसँग फेसबुकले धेरै आन्तरिक विवरण साझेदारी गरेको बताएकी थिइन् । उक्त विवरणको आधारमा वाल स्ट्रिट जर्नलले इन्स्टाग्राममा गरिएको अनुसन्धानको क्रममा यो एपले महिलाको मानसिक स्वास्थ्यमा असर पार्न सक्ने देखिएको उल्लेख गरेको थियो ।
फेसबुक विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो । कम्पनीकाअनुसार यसको मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ७० करोड छन् । कराडौं मानिसले फेसबुकका अन्य उत्पादन इन्स्टाग्राम र ह्वाट्सएप पनि प्रयोग गर्छन् । यद्यपि प्रयोगकर्ताको गोपनीयता कायम राख्न असफल भएको, गलत समाचार तथा जानकारी रोक्न पर्याप्त कदम नचालेको भन्दै फेसबुकको आलोचना हुँदै आएको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4