+
+

विचौलिया बनेर बढी भाडा लिन खोज्ने ९ जना काठमाडौंबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १५:३७

२१ असोज, काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

तोकिएको टिकट काउण्टरमा परिचयपत्र बाहकहरुले मात्र टिकट काट्न् व्यवस्था भएपनि अनाधिकृत व्यक्तिहरुले विचौलिया बनेर यात्रुसँग मोलमोलाइ गरी बढी भाडा लिँदै गरेको अवस्थामा काठमाडौंका विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई टिकट काटिदिन्छु भनी मोलामोलाइ गर्ने भरतपुर चितवनका समीर श्रेष्ठ, धनकुटाका किरण लिम्बु र सुनसरीका सविन राई पक्राउ परेका छन् । यस्तै टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गरिरहेको अवस्थामा काठमाडौं बस्ने राज ठकुरी, दाङ घोराहीका विशाल गुरुङ र कैलालीका रमेश कठायतलाई प्रहरीले गोंगबुबाट पक्राउ गरेको छ ।

पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जानकारी दिए ।

यसैगरी कलंकीबाट नवीन केसी र बल्खुबाट अरुण मगर र जाजरकोटका विनोद रानालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, कालीमाटीमा बुझाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?