+
+

ईपीएलको फाइनलका लागि चितवन र पोखरा तयार

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १७:४४

२२ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को उपाधिका लागि शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै टिम पहिलो पटक फाइनल पुगेकाले ईपीएलको चौथो संस्करणले नयाँ विजेता पाउनेछ । यसअघि पहिलो संस्करणमा पञ्चकन्या तेज च्याम्पियन बनेको थियो । त्यसबेला कर्पोरेट शैलीमा प्रतियोगिता भएको थियो ।

दोस्रो संस्करणमा विराटनगर वारियर्स र तेस्रो संस्करणमा ललितपुर प्याट्रिओट्सले उपाधि जितेको थियो । यसपटक दुवै टिम लिग चरणबाटै बाहिरिसकेका छन् ।

शुक्रबार टीयू मैदानमा भएको फाइनल खेलको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तानले फाइनलका लागि तयार भएको बताएका छन् ।

चितवनका कप्तान सोमपाल कामी र पोखराका कप्तान विनोद भण्डारीले फाइनल भनेर धेरै सोच्ने भन्दा पनि एउटा गेम सोचेर खेल्ने बताए ।

यसअघि चितवन र पोखरा दुई पटक भेट भइसकेका छन् । जसमा दुवै खेल चितवनले जितेको थियो । तर फाइनलमा त्यसले असर नगर्ने दुवै कप्तानले बताए ।

‘फाइनल हो लिगको बारेमा धेरै सोचेर हुँछ । फाइनलमा जुन टिमले राम्रो खेल्छ उसैले जित्छ । फाइनल पुगेको दुवै टिम राम्रो हो । भोलि जसले राम्रो खेल्यो उसले जित्छ’ पोखराका कप्तान विनोद भण्डारीले भने ।

यस्तै चितवनका कप्तान सोमपाल कामीले पनि विगतको बारेमा सोचेर नहुने बताए । ‘मेरो विचारमा पास्ट इज पास्ट । फाइनल भन्दा पनि मेरो लागि एउटा गेम जस्तै हो । खेलाडीले म्याच खेल्न पाइराछ । त्यमसा खुशी छौँ । कन्फिडेन्ट नै छु ।‘

सोमपालले यसअघि आफ्नो कप्ताद्दीमा धनगढी प्रिमियर लिगको उपाधि जितिसकेका छन् । त्यसैले त्यसले पनि मोटिभेट गर्ने बताए ।

उता पोखराका कप्तान विनोद भण्डारीले यसअघि अरु प्रतियोगितामा फाइनल खेल्दै उपाधि जितिसके पनि फ्रेन्चाइज लिगमा भने पहिलो पटक फाइनल पुगेका हुन् । उनले त्यस्तो नसोची खेल्ने बताए । ‘ईपीएलको फाइनल पहिलो पटक खेलेको भनेर सोचेर खेल्यो भने एक्स्ट्रा प्रेसर हुन्छ । त्यसैले धेरै सोचेर हुँदैछ । तर फाइनलमा प्रेसर चाहिँ हुन्छ’ उनले भने ।

यस पटक ईपीएलमा पाकिस्तानका पूर्व कप्तान शाहीद अफ्रिदी जस्ता नाम चलेका स्टार खेलाडीहरु आएका थिए । अफ्रिदीसहित करिब दुई दर्जन खेलाडीले टीयू मैदानमा ईपीएल खेले ।

विदेशी खेलाडीको आगमनले नेपाली खेलाडीले पनि धेरै कुराहरु सिक्ने अवसर पाएको सोमपाल र विनोदले बताए ।

लिग चरणमा पोखरा ५ मध्ये ४ खेल जित्दै ८ अंक जोडेर पहिलो भएको थियो भने पोखरा ३ जित र १ बराबरीबाट ७ अंक जोड्दै दोस्रो भएको थियो । लिगमा पोखरा चितवनसंग मात्र पराजित भएको थियो ।

पहिलो क्वालिफायरमा चितवनले पोखरालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । पोखराले भने दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सलाई हराएर फेरि चितवनसंग नै फाइनल भेट पक्का गरेको हो ।

यसअघि चितवन र पोखराबीच दुई खेल हुँदा दुवै खेलमा चितवनले सहज जित हात पारेको थियो । लिग चरणमा मोहम्मद शाहाजाद र भीम शार्कीले अर्धशतक बनाएपछि चितवनले पोखराले दिएको १२४ रनको लक्ष्य १६.४ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गरेको थियो ।

यस्तै पहिलो क्वालिफायरमा चितवनले पोखरालाई ६६ रनमा अलआउट गर्दै ९ विकेटको जित हात पारेको थियो । चितवनमा अफगानिस्तानका मोहम्मद शाहाजाद र करिम जन्नतले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

यस्तै श्रीलंकन सेकुगे प्रसन्न र मलेसायका भिरनदिप सिंह पनि विदेशी खेलाडीको रुपमा छन् । शाहजाद सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा छन् । उनले ६ खेलमा १ अर्धशतकसहित १९६ रन बनाएका छन् । सोमपाल कामीसहित नेपाली युवा खेलाडीहरु भीम सार्की, सिंह ऐरी, सागर ढकाल, शाहब आलम, राजेश पुलामी मगर लगायतले चितवनका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । चितवनका सागर ढकाल १३ विकेट सहित सर्वाधिक विकेट लिनेमा अघि छन् । चितवनकै करिम ९ विकेटसहित दोस्रो स्थानमा छन् । शाहब र कमलले समान ८ विकेट लिएका छन् ।

पोखरामा रहेका श्रीलंकन साहान अराचचिगे र असेला गुनारत्नेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यस्तै अन्य विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका रिचर्ड लेभी र वेष्ट इन्डिजका केज्रिक विलियम्स छन् । लेभी १५५ रन बनाउँदै सर्वाधिक रन बनाउनेमा चौथो स्थानमा छन् । पोखराका लागि युवा अलराउण्डर विवेक यादवले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले ११२ रन बनाएका छन् भने ४ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?