
त्यस बेला असोज लाग्ने बित्तिकै मनमा छुट्टै उमङ्ग छाउँथ्यो । उसो त मेरो जन्म महिना । तर, जन्म महिनाभन्दा पनि दशैंको आगमनले मन फुरुङ्ग हुन्थ्यो । बिहानीको पारिलो घाम, बेलुकीपख चिसो-चिसो । त्यो महिना खासमा क्यालेण्डर हेर्दै घटस्थापना कहिले पर्छ भनेर कुर्थें ।
त्यही दिनदेखि हाम्रो स्कूल पनि बिदा हुन्थ्यो । स्कूलमा पनि साथीहरूसँग यसपालि त हामी बाबियो काट्न कता जाने ? कहिले जाने ? भन्ने कुरा गर्दागर्दै सोह्र श्राद्धसमेत सकेर घटस्थापना लाग्थ्यो । त्यसपछि मेरो दशैं शुरु हुन्थ्यो । गाउँका सबै साथी र दाजुभाइ/दिदीबहिनी मिलेर पिङका लागि बाबियो काट्न जंगल जान्थ्यौं ।
हेटौंडा-१८, ठूलोदमारको गैरीभञ्याङ, जिम्माडाँडाको जंगलमा बाबियो खोज्दै पुग्थ्यौं । कम्तिमा पनि १५ देखि २० जनासम्म हुन्थ्यौं । जसको घरबाट बाबियो काट्न गएका हुन्थेनन्, उसको घरकाले पिङ खेल्न पाउँदैनन् भन्ने नियम राखेका हुन्थ्यौं ।
बाबियो काट्दा कतिचोटि त हात छियाछिया पर्थ्यो, तर वास्ता लाग्थेन । मात्र, ध्यान हुन्थ्यो पिङको । मसँग त्यस बेला साथीहरू भन्दा पनि दिदी र दाइहरू हुन्थे । बाबियो ल्याएपछि गाउँघरका बुढापाकाले डोरी बाटिदिनुहुन्थ्यो । घरनजिकको ठूलो चौरमा होस्टेहैंसे गर्दै लिङ्गो गाडेर पिङ हाल्थ्यौं । र, खेल्ने तयारी थाल्थ्यौं । पिङको काम सकिएसँगै रमाउँदै पालैपालो खेल्थ्यौं, कसले कति माथि पुर्याउने भन्ने पनि होड नै चल्थ्यो । कुनै दाइले त पिङ नै फर्कने गरी डरलाग्दो गरी खेल्थे ।
आफ्नो खेल्ने पिङ तयार भएसँगै घरको काममा पनि म कम थिइनँ । घरमा आउँदा छुट्टै रौनक छाउँथ्यो । घरको सरसफाइ, रातोमाटो र पहेंलो माटोले लिप्ने चलन थियो । घटस्थापना लागेपछि गाउँमा घर लिपपोतमै व्यस्त हुन्थे । वर्षभरि झरीले छियाछिया परेका घरको बाहिरी भित्ता अनि मकुराका जालो हटाई कसैले रातो माटोले त कसैले कमेरोको माटोले घर उज्यालो बनाइसकेका हुन्थे ।
शहरका घरहरू लगाइएको रङसँगै मिसिएको फेबिकलको बास्नाभन्दा गाउँमा पोतिएको माटोको बास्नाले दशैंको संकेत गर्थ्यो । रातो र कमेरो माटो खोज्न गाउँघरका महिलाको दौडधुप चल्थ्यो । वर्षको एकचोटि दशैंमा घर पोत्नुपर्ने प्रचलनअनुसार हामीहरू टाढाटाढाबाट माटो खोजेर ल्याउँथ्यौं । प्रायः गाउँघरको माथिल्लो भागमा सेतो र तल रातोले भित्ता पोत्ने चलन छ ।
धार्मिक मान्यताले पूरै घर रातो माटोले पोत्ने प्रचलन हाम्रो घरमा पनि पालना हुन्थ्यो । ढिस्कोबाट आफैं खनेर ल्याउने चलन थियो । बजारको रङ लगाए शुभ हुँदैन भन्ने गाउँघरतिरको मान्यता त्यति बेला थियो ।
मलाई अझै याद छ, म १२ वर्षको हुँदा गाउँका दिदी र भाउजुहरूसँग कत्लेको माटो लिन गएको । अन्य बेला घरमाथिको जंगलबाट माटो लिएर जाने गरेका हामी त्यसबेला कसैले सुनाएका थिए कि कत्लेको माटो त रङजस्तै हुन्छ, लिन जाऊँ ।
त्यो सुनेसँगै हामी माटो लिन जान तम्तयार भयौं । घरमा बुबाले ‘नजाओ, टाढाको बाटो छ’ भन्दा पनि गाउँका साथीहरूसँग जाने निधो गर्यौं । भोलिपल्ट जानु थियो कत्ले खोला । कति बेला जाऊँ र माटो लिएर आउँजस्तो भएको थियो । अघिल्लो रातभरि सुत्नै सकिएन । भोलिपल्ट बिहान ५ बजेतिर खाजा खाएर टिफीनमा खाजा हालेर लैजाने योजना बन्यो । ममीले हाम्रो घरका म र मेरी दिदी, ठूलोबुबाकी छोरी अनि अर्की दिदीलाई भुटेको भात हालिदिनुभयो ।
हामी नाम्लो र बोरा लिएर कत्ले खोलातर्फ लाग्यौं । गाउँका १०/१२ जना जति मिलेर गयौं । घरबाट करिब ४ घण्टाको बाटो । बकैया गाउँपालिको ५ नम्बर वडामा पर्ने कत्ले खोलामा हामी हर्नामाडीदेखि माटो लिन तम्सिएका थियौं । त्यहाँ पुग्दा शरीरलाई त्यति गाह्रो महसुस भएन । बरु, रमाइलो लाग्यो, टाढादेखि माटो लिन गएका धेरै मानिस थिए, लाग्थ्यो मेला/पर्वजस्तो । सुनेअनुसार रहेछ । त्यहाँको माटो साह्रै रातो र शहर बजारका घरमा लगाउने रङजस्तै । बोराभरि भर्यौं र लगेको खाना खाएर हामी भारी बोक्दै उकालो लाग्यौं ।
करिब ४ घण्टाको बाटो । माटो झण्डै बोराभरि थियो । शुरुमा त बोक्छुजस्तै गरेर ल्याएको थिएँ । उकालो चढ्दै गर्दा बुबाले भनेको कुराको सम्झना आयो । तर, पनि हार भने मानिनँ । बाटोमा आउँदै गर्दा भारी बोक्न नसकेपछि माटो फाल्नु पर्यो, घरमा आइपुग्दा जम्मा दुई पाथीमात्र आइपुग्यो । भए पनि ममी खुशी हुनुभयो ।
भोलिपल्ट माटोले बाहिरी भाग लिप्दा कस्तो चिटिक्क परेको देखियो । दिदी र मैले ल्याएको माटो बढी भएपछि ममीले अर्को वर्षलाई समेत हुन्छ भनेर माटो डल्लो बनाउँदै राख्नुभयो । त्यस बेला गाउँमा सबैले कत्लेको माटो लगाएका थिए, गाउँ नै अन्य बेलाभन्दा उज्यालो देखिन्थ्यो । हाम्रो घरसँगै, सञ्जिता, अस्मिता, कविता, अञ्जु, विष्णुमाया सबैका घर रङगिएका थिए । कसको राम्रो होला भनेर दशैंमा घरसमेत दाँज्ने त्यस बेलाको चलन थियो ।
त्यस बेलाको खुशी हाल सायद खोज्दासमेत भेटिन्न होला । ममीले घरको दलिन, साटादेखि लिएर सबै पोतेर सकाउनु हुन्थ्यो । सुरुमा गोबर र माटोले लिप्ने र पछि रातो र पहेंलो माटोले लिप्ने घरको चलन थियो । घरसँगै रहेका साथी अस्मिताको घर भने कमेरो माटो र रातो माटो लगाउँथे । मलाई चाहिँ कमेरोले पोतेको घर साह्रै राम्रो लाग्थ्यो । घरमा लगाउन अनुरोध गरें । तर, हजुरआमा भने बानियाँको खलकमा सेतो माटो र कमेरोले लिपपोत गर्नहुन्न भनेर जवाफ दिनुहुन्थ्यो ।
माटोको घरमा पोतिसकेपछि झ्यालढोकामा कालो लगाउन जंगलमा सालको बोक्रा लिन जान्थ्यौं, त्यो काम हामीलाई भन्दा पनि बढी मेरी ठूलीमामुले गर्नुहुन्थ्यो । सालको बोक्रा तासेर ल्याएपछि पकाएर त्यसबाट निस्केको पानीले झ्यालढोका टिलिक्क पार्ने गर्थ्यौं । त्यसबेला गाउँमा पक्की घर छिटपुटमात्र थिए । घरका सबै काम सकेर नवमीको दिनका लागि केराको पातको दुनासमेत ठीक पारिन्थ्यो । छुट्टै मज्जा थियो त्यो दुनामा मासु र चिउरा हालेर खान ।
अहिलेजस्तो प्लाष्टिक, स्टिलको प्लेटमा खाएजस्तो भन्दा पनि केराको पातले गाँसिएको दुनामा खाँदा कति आनन्द । घरबाट किनिदिएको नयाँ ‘नाना’ (जसको बास्ना अहिलेका लुगामा कहाँ पाइन्छ र ?) म त दशैंमा ल्याएको नयाँ लुगाको गन्धमात्र सुँघेर बस्थें । खै किन हो खुब मनपर्थ्यो ।
अब त ती सब कुराहरू सम्झनामा मात्र रहे । सायद, गाउँमा जति दशैं रमाइलो हुन्थ्यो, पहिला मलाई लाग्छ शहरमा त्यतिसारो हुन्थेन । तर, हाल शहर र गाउँ उस्तै भइसकेका छन् । हाल दशैं आए पनि उस्तै हो नआएपनि उस्तै हो केही फरक पर्दैन ।
प्रविधिको विकास जसरी हुँदै गयो, त्यति नै मानिसहरू आधुनिकतातर्फ बढ्दै गए । वर्षमा एकचोटि नयाँ लुगा किनेर लगाउने हामी बारम्बार नयाँ लगाउँछौं, वर्षभरि टन्न मासु खान दशैं कुर्ने हामी दैनिक मासु नभइ खाना खान मन गर्दैनौ । अनि, माटोको घरजस्तो वर्षेनी लिपपोत अब पक्की घरमा १० वर्ष, १५ वर्षमामात्र रङरोगन हुन्छ ।
चाडपर्व त मनाइएको छ । तर, पहिलेजस्तो हर्ष छैन, गाउँघरमा वर्षेनी नभेटेका साथ आउँदा चियाचौतारामा भेट्ने हामी हाल मोबाइलमा घरभित्र थन्केर बस्छौं । को आयो, को गयो त्यसको ख्याल राख्दैनौं । पहिला गाउँमा ६/७ वटासम्म पिङ हुन्थ्यो । तर, हाल जिल्लामै यति पिङ भेट्न मुस्किल हुने गरेको छ । झन्, यो कोरोना महामारीले हामीमा यति धेरै परिवर्तन आयो कि हामी खान र हिँड्नसमेत समयमै गर्न सक्दैनौं । अब फेरि कत्लेको माटो लिन जाने दिनजस्तो कसैको आउला । अब पहिलाजस्तो उमंग छाएको असोज कहिले आउला । सोच्दैछु म हिजोआज ।
प्रतिक्रिया 4