+
+

दुर्घटनाको जोखिममा दशैंका यात्रु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १७:२८

२५ असोज, काठमाडौं । सोमबार कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भयो, एक जना घाइते भएका छन् । पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आइतबार साँझ वालिङ-१० मदिखोला नजिकै भएको जीप दुर्घटनामा परी एकै गाउँका दुईसहित तीनजनाको मृत्यु भएको थियो । जीपमा सवार रहेका अन्य घाइते छन् ।

दशैं नजिकिएसँगै सवारी साधनमा यात्रुको चाप बढ्न थालेको छ । यही समयमा सडक दुर्घटनाको जोखिम पनि बढ्ने गर्छ ।

कारण विभिन्न भएपनि विगतदेखिको तथ्यांक हेर्दा दशैंको छेकोमा सवारी दुर्घटनाको क्रम बढ्ने गरेको पाइन्छ । राजमार्गमा मात्रै हाेइन, ग्रामीण सडकमा पनि दुर्घटनाको जोखिम उच्च हुन्छ । दशैं मनाउन घरपरिवार तथा आफन्तकहाँ जाने र बिदा मनाउन पर्यटकीय गन्तव्यमा पुग्न हतारिएका यात्रुहरु दुर्घटनाको शिकार बन्ने गरेका छन् ।

दशैंमा बढ्ने दुर्घटना न्यूनीकरणमा सरकारले ठोस कदम चाल्न सकेको छैन । सडक दुर्घटना रोक्न यो वर्ष पनि सरकारले कार्यायोजना बनाएर काम गरेन ।

हतारो, लापरवाही र जीर्ण सडक

सडक सुरक्षा विज्ञका अनुसार दशैंमा दुर्घटना बढ्नुका प्रमुख दुई कारण छन् । यो बेलालाई यातायात व्यवसायीले उच्च आम्दानी गर्ने सिजनका रुपमा लिन्छन् । सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु बोक्छन् । सवारीभित्र गुन्द्रुकजस्तो यात्रु खाँद्ने, ढोकामा झुन्ड्याउने मात्र होइन, छतमा पनि खुट्टा राख्ने ठाउँ हुँदैन । यसरी क्षमताभन्दा बढी यात्रु ओसार्नु नै दुर्घटनाको पहिलो कारण हो ।

दोस्रो कारण चाहिं सवारी साधनको उच्च गति हो । धेरै कमाउने धुनमा एउटै गाडीले पटक-पटक ट्रिप गर्ने गर्छन् । यसो गर्दा चाँडोभन्दा चाँडो गन्तव्यमा पुगेर फर्किने दबाब हुन्छ र चालकले स्पिड बढाउने गर्छन् ।

एउटै चालकले लामो समय गाडी चढाउनु दुर्घटनाको अर्को कारण हो । राति र दिउँसो एउटै चालकले लगातार चलाउँदा निन्द्रा नपुगेर उनीहरु गाडीमै उँघ्न सक्छन् । कतिपयले चाहिं आफू केहीबेर आराम गरेर सहचालकलाई पनि चलाउन दिन्छन् । यसले गर्दा पनि दुर्घटनाको जोखिम बढ्छ ।

दशैं मनाउनका लागि आफ्नो गन्तव्यमा पुग्न हतारिएका यात्रुहरु दुर्घटनाको शिकार बन्ने क्रम बढिरहँदा यसको न्यूनीकरणमा सरकारले ठोस कदम चाल्न सकेको छैन । यसबाहेक सडकको जीर्ण अवस्था, पहिरो खस्ने, मापसे गरेर सडक चलाउनुजस्ता नियमित कारण त छँदैछन् ।

सरकारले हरेक दशैंमा कर्मकाण्डकै रुपमा चालक र सहचालकलाई परिचयपत्रको व्यवस्था गर्न, लामो दूरीमा आलोपालो चलाउने गरी चालक राख्न तथा छतमा यात्रुको झिटीगुण्टाबाहेक व्यावसायिक सामान नराख्न निर्देशन दिने गरेको छ । तर, नियमको पालना भए-नभएको प्रभावकारी अनुगमन हुँदैन ।

ग्रामीण सडक बढी जोखिममा

विभागले दशैंमा सुरक्षित यात्रा लागि भन्दै व्यवसायीलाई जिम्मेवार बनाउन, ग्रामीण भेगमा जाने सवारीलाई विशेष रुपमा निगरानी गर्न, कन्डिसनमा नरहेका गाडीहरु चल्न नदिन र सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिन गृह मन्त्रालयसँग आग्रह गरेको थियो ।

‘हामीले प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा यस्ता विषयमा प्रहरी प्रशासनले ध्यान दिनुपर्छ भनेर गृह मन्त्रालयको ध्यानाकर्षण गराएका थियौं,’ विभागका महानिर्देशक नमराज घिमिरे भन्छन्, ‘तर, ठाउँ-ठाउँबाट दुर्घटनाको खबर आइरहँदा दुःख लागेको छ ।’

राजमार्ग तथा सहायक मार्गहरुमा निगरानीको दायित्व विभागको हो । तर, ग्रामीण सडकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको जिम्मेवारी हुन्छ ।

प्रमुख जिल्ला अधिकारीहरुले ग्रामीण सडकमा चल्ने सवारी र बाटोको अवस्था राम्रोसँग हेरेर चल्ने अनुमति दिए दुर्घटना कम हुन सक्छ । तर, जिल्ला स्तरमा पनि दुर्घटना रोक्ने गरी कुनै कार्ययोजना बनेको छैन ।

ग्रामीण सडकमा अनुगमन, निगरानी र कारबाही बढाउन आग्रह गरेपनि जथाभावी रुपमा ग्रामीण भेगमा ‘ओभरलोडेड’ सवारी कुदिरहेका छन् ।  राजमार्गमा टाइम कार्ड लगाउनेदेखि लामो दूरीमा ड्राइभर फेर्नेसम्मका काममा प्रहरीले सक्रियता देखाउनुपर्ने भएपनि त्यसो हुन सकेको छैन ।

नियमानुसार ग्रामीण सडकमा रुट इजाजत जिल्ला प्रशासन कार्यालयहरुले नै दिन्छन् । तर, वर्षायाममा बिग्रिएर जोखिमयुक्त बनेका सडकको अध्ययन नै नगरी बस चल्न अनुमति दिँदा दुर्घटना बढ्ने गरेको छ । यात्रु र यातायात व्यवसायीले पनि जिम्मेवारी पूरा नगरेको सरकारी अधिकारीहरुको आरोप छ ।

दशैंमा किनमेल गर्न बजार पुग्ने, बाहिर रहेकाहरु घर फर्किने र टीका थाप्न आफन्तकोमा आउजाउ गर्नेहरुको चाप सार्वजनिक सवारीमा पर्छ ।

‘प्रहरीले आँखा चिम्लिन्छ’

जसरी पनि घर पुग्ने यात्रुको आकांक्षा र बढीभन्दा बढी कमाउने व्यवसायीको मनसायले दुर्घटना बढाइरहेको निष्कर्ष उपभोक्ता अधिकारवादीको छ ।

छतमा सामान र यात्रु राखिएको तथा ढोकासम्मै झुण्ड्याएर यात्रु कोचिएको दृश्यलाई प्रहरी र ट्राफिक प्रहरीले चाडबाडमा सामान्य रुपमै लिन्छन् । त्यसमा कडाइ गर्दा धेरै यात्रुहरुले आफ्नो गन्तव्यमा पुग्न नपाउने भएपनि वैकल्पिक व्यवस्थाबारे छलफल समेत हुने गरेको छैन् ।

ट्राफिक नियम मिच्नेलाई पनि व्यावहारिकता हेर्ने नाममा कारबाही नगर्दा निम्तिन सक्ने ठूलो दुर्घटनामा राज्यपक्ष र प्रहरी सचेत नदेखिएको उपभोक्ताकर्मी रामबहादुर थापा बताउँछन् । ‘ट्राफिकले आँखा चिम्लिदिन्छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न खुलेआम छुट दिइन्छ,’ उनले भने, ‘प्रहरी र प्रशासन कडा रुपमा प्रस्तुत नभएसम्म दुर्घटना घट्दैन ।’

व्यवसायीले यो समयमा चालकलाई लगातार लामो समयसम्म ड्राइभिङ गराउने र सवारीको प्राविधिक जाँचमा बेवास्ता गर्दा पनि दुर्घटना बढ्ने गरेको छ ।

यातायात व्यवसायी भने सडकको दूरावस्थालाई कारक बताउँछन् । सडकका खाल्डा पुर्ने, आवश्यक स्थानमा ट्राफिक संकेत राख्ने र छेकबार लगाउने कुरामा विभागको ध्यान नपुग्दा समस्या भएको उनीहरुको दाबी छ ।

‘राजमार्गहरु सवारी चलाउन सकिने अवस्थामा छैनन्, ग्रामीण सडकहरुको हालत झन् खराब छ,’ यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भन्छन् ।

दुर्घटनाको दोष व्यवसायीमा थोपरेर सरकार जिम्मेवारीबाट पन्छिइरहेको उनको आरोप छ ।

ट्राफिक प्रहरीको निष्कर्ष भने मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने र अधिक भार हुँदा पनि यात्रु कोचिने गर्दा चाडबाडमा दुर्घटना बढेको भन्ने छ । मापसे जाँचमा ट्राफिकले मुलुकभर कडाइ अपनाएको देखिन्छ । ग्रामीण सडकमा भने ट्राफिक प्रहरीकै पहुँच छैन । जिल्ला सदरमुकामहरुमै पर्याप्त संख्याका ट्राफिक प्रहरी तैनाथ छैनन् ।

अझ राजमार्गमा चल्न अयोग्य सवारी साधन ग्रामीण सडकमा पुर्‍याइएका छन् । थोत्रिएका सवारी साधनको नियमित जाँचमा व्यवसायीले बेवास्ता गर्दै आएका छन् । प्राविधिक गडबडीले थोत्रा सवारीलाई कतिबेला भीरको दिशातिर बंग्याउँछ भन्ने ठेगान हुँदैन । ग्रामीण सडकमा चालकले नभई सहचालकले गाडी हाँकिरहेका छन् । ट्राफिक प्रहरी नहुने भएकाले रोक्ने कोही हुँदैन ।

एकसाथ ठूलो जनसंख्या चलायमान हुने समयमा सवारी साधन नथपिने अर्को समस्या छ । सोही कारण कमजोर सवारी साधनमा अत्याधिक भार पर्न जान्छ । दशैंमा हुने दुर्घटनाको कारण यही भएको उपभोक्ताकर्मी थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?