+
+

घुम्ती कोष : सीमान्तकृत महिलाको आर्थिक उन्‍नतिको आधार

सुरेश बिडारी सुरेश बिडारी
२०७८ असोज ३० गते १४:०९

३० असोज, काठमाडौं । शंकरपति देवी वीन, विन्दवासिनी गाउँपालिका-५ भेलाहा टोलमा बस्छिन् । श्रीमान्, छोरा, बुहारी नातिनातिना गरी १३ जनाको परिवार छ । ५ वर्षअघि परिवारमा श्रीमान् र छोरा मात्रै कमाउँथे ।

श्रीमान् गाउँमा अरूको खेतमा ज्याला मजदुरी गर्थे । उनी खेतमा धान रोप्न, गोड्न र काट्न पर्दा जान्थिन् । सिजनको काम नहुँदा घरमै बस्नुपर्ने बाध्यता । घरमा छाक टार्न निकै धौधौ हुने गर्थ्यो।

तर महिला समूहमा आबद्ध भएपछि उनको जीवन बदलिएको छ । ५ वर्षअघि गाउँमा संसारीमाई महिला समूह खुल्यो । उनी पनि सदस्य बनिन् । २० जना महिला आबद्ध समूहमा जोडिएपछि अधिकारको बारेमा बताइयो । महिलाहिंसाबारे बुझाइयो ।

समुदायमा सानै उमेरमा विवाह गर्ने-गराउने चलन छ । त्यो गलत हो भन्ने सिकाइयो । महिला कुनैपनि व्यवसायमा संलग्न थिएनन् । महिलाले पनि पैसा कमाउँदा परिवार चलाउन सजिलो हुन्छ, सम्मान बढ्छ भन्ने शंकरपतिले बुझिन् ।

उनलाई केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी चल्यो । श्रीमान्सँग सर सल्लाह गरिन् । गाउँमा समूहकै अर्की एक महिलाले तरकारी खेती गरिरहेकी थिइन् । ‘तरकारी खेतीमा लगानी गर्ने कि नगर्ने ? डुब्ने पो हो कि ? भनेर दोधारमा थिएँ । समूहमा आर्थिक रुपमा सशक्त हुनको लागि के गर्ने भन्नेबारे धेरै छलफल भयो,’ उनले भनिन्, ‘आफूले जानेको सीपलाई व्यवसायमा बदल्ने भन्ने निर्णय भयो ।’

समूहमा आबद्ध महिलाको आर्थिक सशक्तीकरण गर्न ‘घुम्ती कोष’मार्फत् सहयोग उपलब्ध हुने भयो । ‘पैसा दिनुस्, म तरकारी खेती गर्छु भनेर बैठकमा कुरा राखे, १० हजार रुपैयाँ दिने निर्णय भयो,’ उनले भनिन्, ‘त्यसपछि ३ कठ्ठा खेत भाडामा लिएर तरकारी खेती सुरु गरेँ, घर खर्च टारेर बचेको पैसाले बाख्रा पाल्दै आएको छु ।’

तरकारी खेती सुरु गरेपछि नातिनातिनालाई पढाउन र घरको दैनिक आवश्यकता पूरा गर्न सहज भएको उनी सुनाउँछिन् । ‘लौका, घिरौँला, बोडी, फर्सी लगायत तरकारी लगाउँछु । गाउँको हाट बजारमा लगेर बेच्ने गरेको छु,’ उनले भनिन्, ‘सिजनमा तरकारी बेचेर मासिक १० देखि १५ हजार कमाउँछु । पहिला अरूकोमा काम गर्ने श्रीमान् मलाई नै सघाउनुहुन्छ । आयश्रोत बढेपछि परिवारमा सबैजना खुसी छौं ।’

प्रभावती देवी वीनको जीवन पनि समूहमा आबद्ध भएपछि बदलिएको छ । विन्दवासिनी गाउँपालिका– ५ भेलाहा टोलकी उनको परिवारमा श्रीमान्, छोरा, छोरी, देवर, देउरानी, उनीहरूका तीन सन्तान गरी ९ जनाको परिवार छ । लामो समयदेखि महिला समूहमा आबद्ध उनी विभिन्न तालिममा सहभागी भएर समुदायमा कसरी बोल्ने र आफ्नो अधिकार कसरी लिने भन्नेमा जानकार छिन् । उनी पनि संसारीमाई महिला समूहमा सदस्य छिन् ।

‘पहिला समूहको बैठकमा जान दिँदैनथे, लुकीचोरी सहभागी हुन्थेँ,’ उनले भनिन्, ‘समूहमा जोडिएपछि निर्धक्क भएर बोल्न सिकेँ ।’ नडराई बोल्ने व्यवहार मन पराएर संस्थाका कर्मचारी घरमै आएर समूहमा बस्न आग्रह गरे । त्यसपछि श्रीमान् तथा घरका सदस्य जाने अनुमति दिए ।

उनी भन्छिन् ‘संघ संस्थाको सहयोगमा घरमै सानो किराना पसल सञ्चालन गरिरहेको थिएँ, लकडाउनको मारमा पर्‍यो । तरकारी खेतीसम्बन्धी तालिम लिएपछि भने त्यतैतिर आकर्षित भएको छु ।’

तरकारी खेती गर्न थालेपछि अरूको काम गर्न छोडेर श्रीमान्ले प्रभावतीलाई नै साथ दिए । तालिममा दिएको बीउबाट तरकारी खेती सुरु गरेकी उनले अहिले एक विगाहा जमिन भाडामा लिएर खेती गरिरहेकी छन् ।

सिजन अनुसार काँक्रा, लौका, घिरौला, बोडी लगाउने उनले पानी तान्ने मोटर र पाइप सेट अनुदानमा पाएकी छन् । ‘सिजनको तरकारी बिक्री गरेर मासिक १० देखि १२ हजार आम्दानी गर्न सकेको छु,’ उनी भन्छिन् ।

रीता कुमारीको बुबा दैनिक ज्यालादारीमा इँटा भट्टामा र आमा अरूको खेतमा काम गर्छन् । ९ सदस्यीय परिवारमा आमाले घरको काम पनि भ्याउनुपर्छ । सम्पत्तिको नाममा बस्ने घर मात्रै हो । जमिन एक टुक्रा पनि छैन । आर्थिक अवस्था एकदमै कमजोर । रीतालाई सानामा विद्यालय जान मन नलाग्ने, आमा बुबाले पढ्न जा भन्दा पनि झर्को मान्थिन् ।

‘पढ्न स्कुल जानुपर्ने, अनि आएर घरको पनि काम सघाउनुपर्ने ? बरु बाख्रा चराउन नै जान्छु’ भनेर त्यता मन लगाएँ । ४ कक्षा पढेपछि पढाइमा ब्रेक लाग्यो । दाइजो जस्तो कुप्रथाका कारण तराई मधेशको समाजमा छोरीको विवाहलाई अभिभावकले बोझ मान्छन् । सानै उमेरमा विवाह गर्दा कम दाइजो दिए पुग्छ ।

रीताको घरमा पनि बालविवाह भएको रहेछ । ‘म घरको काम गर्ने र सुतेर दिन कटाउँथे । दिदीको सानै उमेरमा विवाह भएको थियो । मैले पढाइ छोडेकोले घरमा विवाहको चर्चा चल्न थाल्यो ।’ उनले भनिन् ‘गाउँमा सम्मुन्नति परियोजनामार्फत् महिला, पुरुष, किशोर, किशोरी समूह गठन भयो । दलित टोलमा गंगा किशोरी समूह गठन भयो । म त्यसैमा आबद्ध भएँ ।’

समूहको बैठकमा समुदायका महिला, किशोरीले भोग्नुपरेको विभिन्न समस्याबारे छलफल हुने गर्दथ्यो । ‘सुरुमा केही समस्या छैन जस्तो लाग्थ्यो । बाल विवाह, दाइजो जस्ता कुप्रथाले जटिल समस्या निम्त्याउने रहेछ, विद्यालय छोड्ने त धेरै ठूलो समस्या पो रहेछ भन्ने थाहा भयो ।’

समूहको बैठकमा सीप सिकेर आर्थिक रूपमा सक्षम हुने भन्ने निर्णय भयो । रीता गाउँमै एक जना भाउजूकोमा कहिलेकाहीँ गएर सिलाई सिकिरहेकी थिइन् । पैसा नतिरी सधैं सिक्न सम्भव थिएन । पैसा तिरेर सिक्न पारिवारको आर्थिक अवस्थाले दिएन ।

‘मैले समूहमा आफ्नो कुरा राखेँ, त्यसपछि हामीले एउटा सिलाई मेसिन पाएका छौं । सोही मेसिनबाट सीपलाई तिखार्ने र आयआर्जन गर्ने लक्ष्य हाम्रो छ,’ उनले भनिन्, ‘घरमा सघाउन सके विवाहका लागि दबाब आउँदैन भन्ने छ ।’

बजारसँग जोड्न पालिकाले सहयोग गर्नुपर्ने

दिव्य युवा क्लबले एक्सन एडसँगको सहकार्यमा पर्साको तीनवटा पालिकामा समुन्नति परियोजना सञ्चालन गरेको छ । विन्दवासिनी गाउँपालिका–५, पकाहामैनपुर गाउँपालिका–३ र पोखरिया नगरपालिका–७, ८ र १० मा सञ्चालित परियोजना व्यवहार परिवर्तनको सिद्धान्तमा आधारित छ ।

५ वटा वडामा ७ महिला र ४ किशोरी गरी ११ वटा समूह छन् । शंकरपति र प्रभावती देवीजस्ता २५ जना महिलाले सीप, क्षमता अनुसारको काम थालेर आम्दानी गरिरहेका छन् भने पैसा पाएपछि काम गर्ने भनी २० जना महिला तथा किशोरी तयारी अवस्थामा छन् ।

समूहमा महिला तथा किशोरीको सुरक्षा तथा आर्थिक पाटोका मुख्य समस्याहरुको पहिचान गर्ने, समाधानका लागि कसको र कुन व्यवहार परिवर्तन गर्न आवश्यक भन्ने पत्ता लगएर कार्ययोजना बनाइन्छ । समूहमा आबद्ध भइसकेपछि लेखपढ गर्न नसक्ने महिला र सानै कक्षामा विद्यालय छोडेका किशोरी स–साना आयआर्जनको काममा संलग्न हुन थालेको संयोजक कोपिला चौलागाईं साह बताउँछिन् ।

‘दलित सीमान्तकृत समुदायका अधिकांश महिला अधिकारका बारेमा जानकार छैनन्, जानकार महिला पनि आर्थिक रूपमा सशक्त छैनन् । जसले गर्दा घर परिवारमै कुरा राख्न पनि संकोच मान्ने गर्छन् ।’ उनी भन्छिन्, ‘समूहमा आबद्ध महिला तथा किशोरीसँग पटक–पटक छलफल गर्छौ, त्यसपछि उनीहरू सीपलाई व्यवसायको रूपमा अगाडि बढाउन तयार हुन्छन् ।’

उनीहरुलाई आर्थिक रूपमा सशक्त बनाउन व्यवसाय सम्बन्धी तालिम, तरकारी खेती तालिम, कृषि कर्म गर्ने महिलालाई अनुदानमा कृषि सामग्री, घुम्ती कोषको रकम परिचालन जस्ता कार्यक्रम गरिरहेको उनले बताइन् । ‘पालिकाले सीमान्तकृत समुदायका महिलाका लागि लक्षित गरेर कुनै कार्यक्रम गरेका छैनन् ।

तर, हामीले गठन गरेका महिला समूहमा आबद्ध भएकाले घुम्ती पसल, नास्ता पसल सञ्चालन गर्ने, तरकारी खेती बाख्रा पालन गरिरहेका छन् ।’ उनले भनिन् । स–साना पेशा व्यवसाय गर्ने महिलालाई बजारसँग जोड्न सकियो भने अझै प्रभावकारी हुने उनको बुझाइ छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?