+
+
फिचर अनुभूति :

हातमा किताब समाएपछिका माडीका बालबालिकाको कथा

प्रेमबहादुर बोहरा प्रेमबहादुर बोहरा
२०७८ कात्तिक १ गते २०:२०

थारु बस्ती, माडी चितवन । सन् २०१३ ।समथर भूमिमा लहराउँदो धानका बालाहरू । बिहानको सिमसिम पानी । कालोपत्रे सडककै छेउबाट भित्र जाने गल्ली जहाँ राँगा–भैंसीले टाँगा तानिरहेका थिए । बाटोको दायाँ र बायाँ झुपडी जस्ता देखिने घरहरू थिए ।

कुखुराका चल्लाहरू चारो खोज्दै थिए । स्कूले बच्चाहरू सर्टको बटन लगाउँदै थिए, कोही बाटोमा हिंडिरहेका । हिलो कच्ची बाटोमा पनि बाइक कुदिरहेका थिए । बस्ती पार गरे पनि सानो कम्पाउण्डमा ठडिएका तीन ओटा एक तल्ले भवनहरू ।

गेटबाट भित्र छिरिरहेका साना–साना बालबालिका । बालकहरूले निलो सर्ट र निलै पाइन्ट लगाएका थिए भने बालिकाहरूले निलो फरक र सर्ट । केहीबेरमा लाइन लाग्यो । के हिमाल के तराई ? सरकारी स्कूल जहाँ भए पनि एउटै तरिका र एउटै हालत । अन्त्यमा राष्ट्रिय गान शुरु हुँदा हामी पनि उठ्यौं । त्यसपछि नानीहरू कक्षा कोठामा गए । बाहिर भने घाम चर्किंदै थियो । त्यो हाम्रो लागि गाह्रो थियो जसरी तराईको मान्छे हिमाल पुग्दा हुन्छ । शिक्षक र शिक्षिकाहरूको अनुहारमा पसिना बगिरहेको थियो तर उहाँहरूले त्यति प्रवाह गरेको जस्तो लागेन । बरु हाम्रो लागि भने पंखा लगाइदिनुभयो । टेबुल पंखा ।

बाहिर निस्कँदा त चिसो जमीन सुक्खा भइसकेछ । अर्को कोठामा पुग्यौं जहाँ विद्यार्थी थिए । हामी हेर्दै आएका अरू कोठा भन्दा त्यो कोठा फरक थियो । हरियो कार्पेट बिछ्याइएको थियो । भित्ताहरूमा पनि हरियो रंग लगाइएको थियो । ढोका, झ्याल र भित्ता माथि सेतो रङ्गले ब्लक छुट्याइएको थियो । ती ब्लकहरूमा चर्चित व्यक्तित्व तथा साहित्यकारहरूको भनाइ लेखिएका थिए । पर कुनामा दुइटा र्‍याकहरू उभाइएका थिए ।

ती हरियो, निलो र पहेंलो मिश्रणको रङ्ग लगाइएको थियो । ती र्‍याकहरूमा बालकथाका रंगीन किताबहरू राखिएका थिए । हरियो कार्पेटमा बसेका साना साना नानीहरूले रंगीन किताब पल्टाइरहेका थिए ।

मेरो नजर एकजना नानीको जोडी आँखामा पुग्यो जसका आँखाले किताबको पानातिर हेरिरहेका थिए । हाम्रो लागि त्यो एक किताब, एक किताब मात्र हुन सक्छ तर ती नानीको लागि संसार नै अगाडि उभिए झैं हेरिरहेकी थिइन् ।

भनिन्छ– किताब, कागज र मसीले बनेको वस्तु होइन । यो त सिंगो संसार हो । किताबको माध्यमबाट नजिएको जीवन जिउन सकिन्छ, नखाएको खाना खान सकिन्छ, न गएको संसार घुम्न सकिन्छ । किताबभित्रका कथा र कथासँगैका चित्रले मान्छेको दायाँ दिमागलाई सक्रिय बनाउन मद्दत पनि पुग्छ ।

वैज्ञानिकहरू भन्छन्– मस्तिष्कमा दुई भाग हुन्छन् । दाइने र देब्रे । दाइने मस्तिष्कमा कल्पना, भावना, सपना हुन्छन्, जसले सिर्जना र आविष्कार गर्छ । प्रेम, करुणा, भावुकता, आवेग जस्ता कुरा पनि यही मस्तिष्कमा हुन्छन् । यसको शक्ति ९० प्रतिशत हुन्छ । देब्रे मस्तिष्कमा तर्क, बुद्धि, विचार, गणित हुन्छ, जसको शक्ति १० प्रतिशत हुन्छ । (अमर न्यौपाने, करोडौं कस्तूरी)

सामान्य मान्छेले जीवनमा प्रयोग गर्ने भनेको त्यही देब्रे दिमाग मात्र हो । कुनै पनि बच्चा गर्भमा रहेदेखि दुई वर्षसम्म सक्रिय रहेको दाहिने मस्तिष्क त्यसपछि विस्तारै निष्क्रिय हुँदै जान्छ । संसारभरको सम्पत्ति कमाए पनि र भएभरको सफलता हासिल गरे पनि सन्तुष्टि पाउन मुश्किल हुन्छ । मान्छे त्यहाँ सन्तुष्टिका लागि जीवनभर दौडिन्छ, अन्त्यमा त्यही नपाएर मर्नु अघि तड्पिन्छ ।

कारण, दायाँ दिमाग निष्क्रिय रहनु हो । जीवनको रहस्य नै दाहिने दिमागमा अड्केको हुन्छ तर देब्रे दिमागमै हामी अल्झेका हुन्छौं । त्यही देब्रे दिमाग पनि राम्रोसँग प्रयोगमा ल्याउन सकिइरहेको हुँदैन । तर किताबको सहायताले दाइने मस्तिष्क सक्रिय गराउन सकिन्छ । र, बालबालिकालाई अझ बढी उपयोगी हुन्छ ।

भनिन्छ– किताब, कागज र मसीले बनेको वस्तु होइन । यो त सिंगो संसार हो । किताबको माध्यमबाट नजिएको जीवन जिउन सकिन्छ, नखाएको खाना खान सकिन्छ, न गएको संसार घुम्न सकिन्छ । किताबभित्रका कथा र कथासँगैका चित्रले मान्छेको दायाँ दिमागलाई सक्रिय बनाउन मद्दत पनि पुग्छ ।

देशभरमा एक लाख किताब वितरण गर्ने र हजारौं बालबालिकाको हातमा एक बाल कथाको किताब थमाउने उद्देश्य बोकेको एक किताब अभियान अन्तर्गत हामी चितवनको माडीस्थित गर्दीको जीवनपुरमा अवस्थित श्री राष्ट्रिय प्राविमा थियौं ।

हामीले प्रथमतः कर्णाली जिल्लाका विभिन्न स्कूलमा किताब पुर्‍याउने लक्ष्य लिएको भए पनि माडी पुग्न बाध्य भएका थियौं । माडीका स्कूलहरूको स्रोत व्यवस्थापन हेर्ने जिम्मा पाएका जिल्ला शिक्षाका स्रोत व्यक्ति श्रीकृष्ण रानाभाट सरले जिद्दी गर्नुभएको थियो ।

उहाँ मलाई फोन गरेर भन्नुहुन्थ्यो– ‘हजुरहरूले असाध्यै राम्रो काम गर्नुभएको छ । नेपालमै पनि यसरी पठन संस्कृतिको कमी भएको बेला कर्णालीको लागि त झनै महत्व राख्छ । तर माडी पनि कर्णाली भन्दा फरक छैन । हुन त चितवनमै पर्छ, शहर नजिक छ, राजधानी पनि नजिकै छ तर यहाँको हालत फरक छ । पत्याउनुहुन्न भने एकपटक यहाँ आउनुपर्‍यो । बरु आउने–जाने व्यवस्था म मिलाउँछु । मेरो बिन्ती छ, एकपटक यहाँ आएर आफैं हेरिदिनुस् ।’

उहाँले त्यत्रो चासो देखाउनुभएको देखेर म आफैंलाई त्यहाँ जानुपर्छ भन्ने लाग्यो । म गएँ । मसँग एक जना रोडोला इम्मा भन्ने साथी पनि गइन् । हामी दुईजना नारायणघाट पुग्यौं । भरतपुरबाट माडीको लागि गाडी लाग्ने रहेछ । हामी त्यो तुलनात्मक पुरानो बसमा चढ्यौं । बस चढेको केही बेरमा जङ्गल आयो । बडेमानका रूखहरू, साना–साना बुट्यान र झरेका रंगित पातहरू । कतै जनावरहरू हिंडिरहेका छन् कि झैं लाग्ने ।

अरु मान्छेहरू छतमा बसेका थिए । भित्रको उकुसमुकुसबाट फुत्किन म पनि छतमा गएँ । क्या रमाइलो हुँदोरहेछ, जंगलमा । राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने यस जंगलमा आर्मीले चेकजाँच गर्ने रहेछ, पस्दा र निस्कँदा । हामी कहिलेकाहीं आएका मात्र होइन, त्यहाँका स्थानीयवासीहरू पनि हरेक पटक आवतजावत गर्दा खानतलासी खेप्नुपर्ने रहेछ । मलाई त माओवादी युद्धताका जिल्लामा जाँदाको दिनहरू याद आए ।

विद्युत्को उज्यालो पनि थिएन । कुनै संस्थाले बनाइदिएको केही किमी पिच सडक भने थियो । सोलार प्यानलहरू अस्थायी टहराझैं बनेका घरहरूमा झुण्डिरहेका थिए । बसबाट ओर्लिएपछि हामी तीन स्कूलहरूमा पुग्यौं, राष्ट्रिय प्रावि, जीवनपुर, माडी मावि र बर्मपुरी निमावि । सरकारी स्कूलको हालत त्यही हो जता गए पनि । बर्खामा भेल आएर बाढी त स्कूलका कोठाकोठासम्म पुग्दोरहेछ । पुराना भवन र पुरानै छतहरू ।

जंगल नजिकै ठूलो खोला थियो । हिउँदमा हामी त्यहाँ पुगेकाले पानी सुक्नै लागेको रहेछ र बस पनि खोलाबाटै जाने रहेछ । अलि माथि नयाँ पुल बन्न लागेको रहेछ तर पूरा भएको थिएन । रानाभाट सरले भन्नुभए झैं, पत्याउनै गाह्रो भियो, दुईघण्टा अघि देखेको चितवन र अहिले देखिंदै गरेको माडी चितवन । माडीलाई जोड्ने पुलसम्म त बनेको थिएन ।

सरकारले निर्धारण गरेको पोशाक ती पनि पुराना थिए । यी तीनवटै विद्यालयमा पढ्ने भाइबहिनी देखेर आफ्नो अभावग्रस्त स्कूले जीवनको याद आयो । भूगोल मात्र फरक रहेछ, राज्यले हेर्ने दृष्टिकोणमा गरीबबाट शंका गरिंदोरहेछ र झन् गरीब बन्न बाध्य पारिंदोरहेछ । माडीबाट चोरीतस्करी हुने र निकुञ्जलाई असर पर्ने कारण देखाई यहाँको सुविधामा बाधा पारिएको रहेछ ।

यस्तो ठाउँमा आउँदा साँच्चिकै चितवनभित्रै पनि यत्रो खाडल रहेछ भन्ने थाहा भयो । यसैले, मैले गर्न सक्ने जति त गर्नुपर्‍यो भन्ने सोचाइ बलियो भएर आयो । केही किताब यहाँ पठाउँछु भनेर निस्कें त्यहाँबाट । त्यहाँका सरहरूले पनि छुट्टै कोठा र त्यसका लागि फर्निचरहरू तयार राख्ने आफ्नो जिम्मेवारी पूरा गर्ने बाचा गरेका थिए ।

हामी काठमाडौं फर्केपछि नेपालका लागि युवा नामक संस्थासँग कुरा भयो । नेपाली विद्यार्थीले नेपालमा केही गर्ने उद्देश्यले शुरु गरिएको संस्था रहेछ । उहाँहरूले डोल्पाको लागि सहयोग गर्ने इच्छा देखाउनुभएको थियो । डोल्पामा यसपटक सडक र हवाई दुवै माध्यममा अवरोधका कारण किताब पुर्‍याउन मुश्किल पर्ने भएकाले चितवनको माडीका तीन स्कूललाई सहयोग गर्न अनुरोध गरें ।

उहाँहरूले शुभसंकेत देखाउनुभयो । केही महीना पछि नयाँ र संकलित नयाँ देखिने पुराना किताबहरू सहित हामी गयौं किताब बोकेर माडी । हामी पुगेकै दिनको दृश्य थियो त्यो व्यवस्थित बाल पुस्तकालय र भाइबहिनीहरू पढिरहेको ।

म आफैं पनि धेरै स्कूलहरूमा किताब पुर्‍याउन गएँ तर अहिलेसम्म त्यो प्रावि स्कूल जतिको व्यवस्थित देख्न पाएको थिइनँ । त्यहाँका शिक्षकहरूको जागरुकता, दृढ इच्छा र वाचा पूरा गर्ने बानी साह्रै मन पर्‍यो । म एक वर्षपछि फेरि त्यहाँ गएँ । राउण्डटेबल नामक संस्थाका साथीहरूलाई माडीको एउटा स्कूलमा दुईवटा भवन बनाउन सहजकर्ताको भूमिका खेलेको थिएँ ।

त्यो स्कूलको उद्घाटन र पुस्तकालय निरीक्षण भ्रमणको रूपमा गएको थिएँ । यतिखेर जाँदा झनै रमाइलो महसूस भयो । ती बालबालिकाले अझ धेरै नेपाली कथाका किताबहरू ल्याउनुहोला भनेका थिए । त्यहाँ भएका लगभग किताबहरू पढिसकेका रहेछन् । स्कूलले गरेको लगानी, भाइबहिनीहरूले गरेको मिहिनेत र हामीलाई त्यहाँ गरेको सम्मान भारी परिरहेको थियो ।

हामीले त कसैले सहयोग गरेका केही किताबहरू मात्र दिएका थियौं । उनीहरूको भूमिका अहम् थियो । सबै स्कूलहरूमा यस्तै शिक्षक भइदिएको भए हाम्रो अभियान कति सजिलै पूरा हुन्थ्यो होला ? बर्मपुरी स्कूलका सरहरू पनि राम्रै हुनुहुन्थ्यो । त्यहाँको पुस्तकालय पनि राम्रो बनाउने उहाँको चेष्टा गरेको पाएँ । हामी पुग्दा अलिकति तयारीको कमी थियो तर म पछि पुग्दा धेरै राम्रो बनाइसक्नुभएको रहेछ ।

किताबले जिम्मेवार नागरिक बन्न पनि सघाउँछ । त्यस्तो नागरिक जसले प्रश्नलाई गाली सम्झँदैन । सुझावलाई आलोचना सम्झँदैन । आलोचनालाई विरोध सम्झँदैन । जे हो त्यो स्वीकार गर्छ र जवाफदेही हुन्छ ।

 

एक वर्षपछि मलाई फोन गर्नुभएको थियो त्यहाँका हेडसरले । त्यस क्षेत्रकै उत्कृष्ट पुस्तकालय अवार्ड पाएको र मलाई सम्झिनुभएको रहेछ । गर्ने जति मिहिनेत त उहाँहरूकै थियो तर त्यसको फल हामीले पनि चाख्न पायौं । गज्जब । माडी माविमा भने खासै अपेक्षित तरिकाले काम गर्नुभएको रहेनछ ।

पछि रानाभाट सरले भनेपछि भने कोठा छुट्याउने र र्‍याक राख्ने काम भने गर्नुभएको रहेछ । माडी मावि जस्तै धेरै स्कूलहरू भेटिए जहाँ हामीले उनीहरूलाई नै दुःख दिएको महसूस गरिरहेका थियौं । हामीलाई चाहिएको त अघिल्ला दुई स्कूलहरू जस्तै स्कूलहरू हो जहाँ हामी ढुक्कसँग किताब दिन पाऔं ।

मानिस त्यस्तो कस्तूरी हो, जसले आफ्नो जीवनको सुगन्ध थाहा पाउने क्षमता राख्छ । साहित्यकार अमर न्यौपानेले आफ्नो पुस्तक करोडौं कस्तूरीको शुरूमै भनेका छन्— किताबले बालबालिकालाई उनीहरूमा नै अन्तरनिहित त्यो सुगन्ध थाहा पाउन सघाउने छन् । जति सक्दो चाँडो नै आफैंलाई चिन्न सकियो भने जीवनले सार्थकताको बाटो पकड्छ । आफैंलाई चिन्नु सबैभन्दा गाह्रो कुरा हो र महत्वपूर्ण पनि ।

यति मात्रै होइन, किताबले जिम्मेवार नागरिक बन्न पनि सघाउँछ । त्यस्तो नागरिक जसले प्रश्नलाई गाली सम्झँदैन । सुझावलाई आलोचना सम्झँदैन । आलोचनालाई विरोध सम्झँदैन । जे हो त्यो स्वीकार गर्छ र जवाफदेही हुन्छ । अनि ऊ त्यो व्यक्ति जिम्मेवारीमा पुग्दा उत्तरदायित्वबोध महसूस गर्छ । सीप, क्षमता र आँट त्यो सबै त्यही उत्तरादायित्वबोधले सकारात्मक परिणामतिर धकेल्छ ।

एउटा पढ्न नसक्ने र अर्को पढ्न सक्ने तर नपढ्ने मान्छेमा खासै फरक हुन्न । पढ्न जानेको छ त पढ्नमा प्रयोग गर्नुपर्‍यो नि, होइन र ?

दुई वर्षपछि यूथ फर नेपाल, यूएसएबाट इमेल आयो । माडीको पुस्तकालय हेर्नका लागि एकजना पठाउने भएका रहेछन् । म काठमाडौंमै थिएँ तर उनीसँग जान सकिनँ । उनी नेपाल आइपुगुन्जेल म डोल्पा पुगिसकेको थिएँ । उनले मलाई बताए अनुसार माडीका स्थानीय र स्कूलको जागरुकता र तदारुकता देखेर उनी पनि उत्साहित भइछन् ।

म आफू त्यहाँ जान नपाएकोमा खसखस भइरह्यो । एकातिर स्कूलका बालबालिकासँग भेटेर दिमाग ताजा बनाउन सकिने मौका थियो भने अर्कोतिर जसले साथ दियो त्यो संस्थाप्रतिको उत्तरदायित्व पनि पूरा हुन्थ्यो । तर जे हुने हो त्यो भएरै छाड्छ । त्यो दुवै कुरा एकदिन अवश्य पूरा हुनेछ भनी हिमालको काखमा रहेको घरमा बसेर चित्त बुझाएँ ।

त्यसको केही दिनपछि उनको फोन आयो । उनले भनिन्– ‘म डोल्पा आउन चाहन्छु । कस्तो होला ?’

मैले तत्काल जवाफ फर्काएँ– ‘एकदम ठीक होला ।’

पुस्तक अभियानले पढ्न मात्र प्रेरित गरेन । बरु यससँग संलग्नलाई घुम्न पनि उत्साहित गर्‍यो । हजारौं युवा स्वयंसेवी र बालबालिकासँग रमाउन पनि बानी लगायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?