+
+
बेमौसमको झरी :

भित्र्याउन ठिक्क पारेको धान स्वाहा, किसानको आँखामा आँशु

१ लाख ८४ हजारबढी हेक्टरमा फलाएको धान डुबानमा पर्दा आर्थिक बृद्धिमै धक्का पुग्नसक्छ

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ कात्तिक २ गते २१:०९
१५ कठ्ठा जग्गामा लगाएको धानबाली पानीले बिगारेपछि गहभरी आँसु पार्दै मालबर मण्डल ।

२ कात्तिक, काठमाडौं । बेमौसमको वर्षाका कारण भित्र्याउन ठिक्क पारेको धान बालीमा ठूलो क्षति पुर्‍याएको छ । तीन दिनदेखि निरन्तर पानी पर्दा काटेर खेतमा राखेको धान डुवानमा परेको छ । वर्षासँगै हावा चलेकाले नकाटेको धानलाई पनि क्षति पुर्‍याएको छ ।

प्रदेशहरुबाट प्राप्त विवरणअनुसार मंगलबार मध्यान्नसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो क्षति भएको छ । ‘निरन्तरको ठूलो वर्षा र बाढीका कारण कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका ७ जिल्लामा पाकेको धान बालीमा ठूलो असर परेको छ,’ कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले भने ।

प्रारम्भीक सूचनाअनुसार कैलाली, कञ्चनपुर, सुर्खेत, बाँके, बर्दिया र कपिलवस्तु जिल्लाका किसानको पाकेको धान बाढीको चपेटामा परेका छन् । किसानहरूले काटेर खेतमा सुकाएको र कुन्यू लगाएर राखेको धान बाढीले डुबेको प्रवक्ता सञ्जेल बताए ।

प्रदेश एक, प्रदेश दुई, बागमती र गण्डकी प्रदेशमा पनि भित्र्याउन लागेको धान पानीले  बिगारेको छ । पानीले बोटमा भिजेको धानभन्दा किसानले काटेर खेतमा सुकाएको, हावा र पानीका कारण ढलेर भिजेको धान बिउका लागि प्रयोग गर्नै नसक्ने बिगि्रएको छ । प्रदेश दुईमा मंगलबार दिउँसोबाट निरन्तर वर्षा सुरु भएकाले किसानहरु चिन्तित छन् । अन्य प्रदेशमा पनि आंशिक असर देखिएको छ ।

सातै प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार पानी र हावाका कारण देशको कुल धान उत्पादन क्षेत्रफलको ७.२९ प्रतिशत क्षेत्रफलमा प्रारम्भिक असर परेको देखिएको छ ।

नेपालमा यो वर्ष १३ लाख ४२ हजार ८१९ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । मंगलबार अपरान्हसम्म एक लाख ८४ हजार २०० हेक्टर क्षेत्रफलमा फलाइएको धान डुबानमा परेको छ ।

सुदूरपश्चिमका अन्न भण्डारमै बाढीको बितण्डा

प्रदेशका सबभन्दा धेरै धान उब्जनी हुने कञ्चनपुर र कैलालीको पकेट क्षत्रमै बाढीले पाकेको धान सखाप बनाएको छ ।

कृषि विकास निर्देशनालय, सुदुरपश्चिमका प्रमुख यज्ञराज जोशीकाअनुसार पाकेको धान काटेर खेतको गरामा सुकाएका, कुन्यू लगाएको फाँटहरुमा डुवानमा परेका छन् । किसानका घर वरपर नै डुवान भएकाले धान खेतको पानी तर्काउने वा धानलाई व्यवस्थित गर्ने काम गर्नै सकेका छैनन् ।

उनका अनुसार बेमौसममा आएको पानीका कारण प्रदेशको कुल धान उत्पादनको करिब २५ प्रतिशत धानमा असर परेको छ । अब एकदुई दिन झरी परे धान खेतमा नै कुहिने अवस्था रहेको बताए ।

कैलाली र कञ्चनपुरमा मात्रै झण्डै ४६ हजार ४६७ हेक्टर क्षेत्रफलमा लगाईको एक लाख ७१ हजार ९२७ मेटि्रकटन धान बालीमा क्षति पुगेको निर्देशनालयको प्रारम्भिक अनुमान छ ।

जोशी भन्छन्

दशैंको बिदामा किसानले काटेको धान भित्र्याउन पाएका थिएनन् ।  प्रदेशभरी ६० प्रतिशत जति धान काटेर भित्र्याएका छन् । १५/२० प्रतिशत जति काट्नै बाँकी छ भने काटेर सुकाएको २५ प्रतिशत धानमा क्षति भएको अनुमान छ । दशैंअघि काटेर सुकाएको र कुन्यू बनाएको कन्चनपुर र कैलालीको धानको यो बेमौसमको झरीले बर्बाद बनाएको छ ।

अहिले पनि निरन्तर पानी परिरहेको छ । कृषकले मानो उब्जार ममुरी फलाउन लगाएको परिश्रम खेरा जाने जोखिम छ । धान बालीको क्षति अनुगमन गर्न स्थलगत रुपमा हाम्रो टोली अहिले कैलालीको जोशीपुर नगरपालिका छौं । कतिपय ठाउँमा बाटो अवरुद्ध भएको छ ।

हामी स्रोत साधनले भ्याएसम्म उपाय गरेर फिल्डमा हिँडेका छौं, सबै जिल्लाबाट विवरण मागेका छौं । सुदूरपश्चिमको कुल धान उत्पादनको ७० देखि ७५ प्रतिशत धान फल्ने कञ्चनपुर र कैलाली बेस्सरी प्रभावित छ । एकाध दिनमा घाम लाग्यो र सुकाउन पाइयो भने केही मात्रामा धान प्रयोगका लागि योग्य हुन्नसक्छ । निरन्तर वर्षा भइरहे सबै धान खेतमै उमि्रने अवस्था आउँछ ।

कर्णालीमा ढुवानसँगै हुरीको चपेटा

कणर्ाली प्रदेशमा पनि निरन्तरको वर्षाका कारण धान बालीमा निकै ठूलो असर पुगेको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार सुर्खेत, जुम्ला, दैलेख र सल्यान जिल्लाका किसान मारमा परेका छन् ।

प्रारम्भिक तथ्यांकअनुसार प्रदेशभर रोपाइँको झण्डै २० प्रतिशत अर्थात् ७ हजार ६७७ हेक्टर क्षेत्रफलमा किसानले लगाएको धान हुरी र डवानमा परेको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले बताए । ‘तीन दिनदेखि पानी लगातार परिरहेको छ । प्रदेशको कुल रोपाइँको २० प्रतिशतले धान किसानले खेतमा काटेर सुकाएको र त्यो धान डुबानमा परेको छ,’ रोकायले भने ।

पानीको निकास नभएकाले काटोको धान सुरक्षित गर्न नसकिएको र नकाटेको धान पनि हावाले ढालेको उनले बताए । झरी एक दुई दिन थपियो भने धान सबै कुहिने अवस्था आउने भन्दै उनले अनलाइनखबरसँग भने, पानी रहेपछि क्षतिको वास्तविक विवरण प्राप्त हुन्छ ।’

लुम्बिनीमा १ लाख ३० हजार हेक्टरमा क्षति

लुम्बिनी प्रदेशमा पनि भित्र्याउन ठिक्क पारिएको धान बालीमा पानी र हावाले क्षति पुर्‍याएको छ । मंगलबार मध्यान्हसम्म प्रदेशभर १ लाख ३० हजार ५६ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा बाढी र हावा लागेको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

प्रदेशभर कुल ३ लाख १७ हजार ४१४ हेक्टरमा धान लगाएकोमा ५५ हजार ५४ हेक्टरको धान काटेर भित्र्याईको निर्देशनालय प्रमुख यम नारायाण देवकोटाले बताए ।  यस्तै ३६ हजार ४८० हेक्टरमा लगाईएको काटेर खेतमा रहेको र ९३ हजार ५७६ हेक्टरमा लगाइएको धान हावा हुरी र भारी वर्षाले ढलाएको उनले बताए ।

‘लगातार परेको पानीले काटेर खेतमा राखेको र ढलेको धानमा ठूलो क्षति पुगेको छ, पानी सुक्यो भने ढलेको धानमा असर कम पर्न सक्छ । तर अझै ठूलो पानी पर्ने आंकलन भएका कारण थप क्षतिको सम्भावना देखिन्छ,’ प्रमुख देवकोटाले भने ।

गण्डकी र प्रदेश २ मा आंशिक असर

वर्षा निरन्तर भएपनि गण्डकी र प्रदेश दुईको धान बालीमा भने असर कम परेको पाइएको छ । गण्डकी कृषि विकास निर्देशनालयका निमित्त प्रमुख बासुदेव रेग्मीकाअनुसार प्रदेशमा धेरै धान उत्पादन हुने नवलपुर, कास्की र स्याङ्जामा धानहरु भिजेको छन्, तर डुबेको छैन ।

डुबान नहुने क्षेत्र भएका कारण चामलको गुणस्तर घट्ने र पराल बिगि्रने जस्ता समस्या देखिने भए पनि ठूलो क्षति तत्काल नदेखिएको रेग्मीले बताए । पहाडी क्षेत्रमा लगाइएको धानमा फुल खेल्ने र पसाउने बेला भएका छ । हावा र पानीले त्यसमा पनि असर परेको उनले बताए । प्रदेश अन्र्तगतको सबै जिल्लाबाट क्षतिको विवरण माग गरिएको भन्दै रेग्मीले तत्कालका लागि क्षति न्युन मात्रै भन्न सकिने बताए ।

धानको भण्डारण मानिने प्रदेश दुईमा भने मंगलबार मध्यन्हपछि वर्षा सुरु भएको छ । प्रदेश कृषि विकास निर्देशनालय प्रमुख रतन कुमार झाका अनुसार हालसम्म धान डुवानमा परेको छैन । तर केही मात्रामा धानहरु ढलेको र खेतमा रहेको धान भिजेको सूचना आएको छ । ‘पाकेको धान पानी र हावाले ढलेको छ, उनले भने । कात्तिकमा काट्न लगाइएको अगौटे धानलाई भने असर गर्ने अनुमान रहेको उनले बताए ।

धनुषाको कमला नगरपालिका वडा नम्बर ४ का मालबर मण्डलले १५ कठ्ठा जग्गामा धानबाली लगाएका थिए । पाकिसकेको धानबालीलाई घर भित्र्याउन बाँकी थियो । काटेर खेतमा राखेको धान बेमौसममा परेको पानीले डुबाएको छ । ‘शुरुदेखि खेती गरेरै परिवार पाल्दै आएको छु, अब कसरी छाँक टार्ने ?’ गहभरी आँसु पार्दै उनले भने ।

क्षति विवरण खोज्दै बागमती र प्रदेश एक

भारी वर्षा र हुरीका कारण धान बालीमा पुगेको यकिन विवरण आइनसकेको बागमती र प्रदेश एक कृषि विकास निर्देशनालयले जनाएका छन् । पानीले धान बालीमा परेको असर पहिल्याउन ‘र्‍यापिड टास्कफोर्स’ गठन गरेको कृषि विकास निर्देशनालय, बागमतीका प्रमुख रबिन्द्रबहादुर प्रधानले बताए । नजिकैको स्थानीय तह वा ज्ञान केन्द्रमा आफ्नो क्षतिको विवरण पठाउन  किसानलाई  आग्रह गरिएको प्रधानले बताए ।

चितवन, काभ्रे, धादिङ लगायतका ठाउँहरुमा धान बालीलाई हावा र पानीले ढालेको विवरण अपुष्ट रुपमा प्राप्त भएको उनको भनाइ छ । प्रदेशभर ठूलो डुबानको अवस्था नहुने भएकाले पानी पर्न कम भए खासै ठूलो असर देखिने अवस्था नरहेको उनले बताए ।

प्रदेश एक भने धान बालीमा ठूलो असर परेको, तर क्षतिको विवरण प्राप्त नभएको कृषि विकास निर्देशनालयले जनाएको छ । ३१ गतेदेखि निरन्तर वर्षा भएकाले  झापामा ठूलो क्षति पुगेको खबर आएको, तर ज्ञान केन्द्रहरुबाट विवरण आइनसकेको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिए ।

गुवा धान बाली भित्र्याउने चटारोमा रहेका किसानहरु झरीको मारमा परेको हुनसक्ने आंकलनसहित कृषि ज्ञान केन्द्रहरुलाई फिल्डमा पुगेर सूचना लिन लगाइएको डाँगीले बताए ।

आर्थिक बृद्धिमै धक्का पुग्नसक्छ : विज्ञ

भित्र्याउने बेला भएको धान पानी र हुरीको चपेटामा परेपछि आगामी वर्ष उन्नत बिउ उत्पादनमा संकट आउन सक्ने आंकलन विज्ञहरुको छ ।

वरिष्ठ कृषि अर्थविज्ञ डा. महादेवप्रसाद पौडेलका अनुसार सामान्य पानीले धान डुब्यो भने चामलको स्वाद हराउने र चामल पहेँलो हुन्छ । ‘एक दुई दिन मात्रै डुबे चामल प्रयोगका लागि ठीकै हुन्छ, तर ५/६ दिन भिज्यो भने धान कुहिन्छ र उमि्रन थाल्छ,’ पौडेलले भने ।

पाकेपछि पानीमा भिजेको धानको बिउ उन्नत नहुने उनले बताए । ‘देशैभरको धान बिगि्रने भो, कतै यस्तै धानबाट बिउ बनाइउयो भने अर्को वर्ष झन दानै नलाग्ने हुनसक्छ,’ पौडेलले भने ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का धानबाली विज्ञ डा. सुशील सुवेदी धान भित्र्याउने बेला देखिएको पानीको असर मुलुकको आर्थिक वृद्धिमै पर्ने बताउँछन् । गत वर्षको आँकडाअनुसार कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.८३ छ, जसमा माछा र वनजंगलको भन्दापनि धानको योगदान धेरै छ । डाक्टर सुवेदीका अनुसार पानीका कारण पाकेको बालीमा परेको डुबान यस कारण पनि मुलुकका लागि खतरा छ ।

‘नकाटेको धानमा त धेरै क्षति नपर्ला, तर काटेर सुकाएको धान बगाउनु र डुबाउनु ठूलो समस्या हो । यसले धान उत्पादन घट्छ, र समग्र अर्थतन्त्रमा असर पार्छ’ सुवेदीले भने ।

वर्षातका कारण पूर्वभन्दा पश्चि मनेपाल धेरै प्रभावित भएको र फूल फुल्न थालेको धान उच्च जोखिममा रहेको उनले बताए । बिउ काट्ने बेलामा धान पानीमा भिजेपछि धान परिपक्क हुनै नपाउने र अब बनाउने बिउको उमि्रने शक्ति पनि घटने उनको आँकलन छ ।

कृषि अनुसन्धान परिषद् नार्कले अब केही दिन पानी परिरहने भएकाले सकेसम्म सग्लो रहेको धान नकाट्न किसानलाई अनुरोध गरेको छ । ‘सकेसम्म धान नकाट्ने, काट्नबाट रोक्ने नसक्ने अवस्था आए सुकाउने प्रबन्ध गर्न अनुरोध गर्दछु,’ नार्कका सूचना अधिकारी डा. बालकृष्ण जोशीले भने । भिजेको धान पनि पंखा र कुनै माध्यमबाट सुकाउन सकिन्छ भने त्यसो गर्न पनि उनले किसानहरुलाई सुझाव दिएका छन् ।

श्रवण देवको सहयोगमा

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?