+
+

‘आपसी विश्वासको अभावले परिवारमा विघटन आउँदैछ’ 

डा. चन्द्र उपाध्याय, समाजशास्त्री डा. चन्द्र उपाध्याय, समाजशास्त्री
२०७८ कात्तिक ५ गते १९:१०

कुनै पनि सामाजिक सम्बन्ध; चाहे त्यो व्यावसायिक होस् वा श्रीमान्–श्रीमती बीचको, त्यसमा दुई वटा महत्वपूर्ण पक्ष हुन्छन्— आपसी सम्मान र विश्वास अनि यौन ।

आपसी सम्मान र विश्वासको कमी भएपछि सम्बन्ध सधैं तनावपूर्ण हुन्छ । त्यसैले वैदेशिक रोजगारी सम्बन्धविच्छेदको देखिने कारण मात्रै हो, वास्तविक कारण परिवारबीचको आपसी सम्बन्ध र विश्वासमा भएको अभाव हो ।

त्यसैगरी यौन सम्बन्ध अर्को कारण हो । यौन एउटा जैविक आवश्यकता हो । जसरी मानिसलाई गाँस, बास र आवास चाहिन्छ त्यसरी नै यौन पनि जैविक आवश्यकता हो । यसलाई बेवास्ता गर्न मिल्दैन । वैदेशिक रोजगारीको प्रयोजनका लागि वर्षाैंसम्म छुट्टिएर बस्नुपर्ने भएपछि त्यस अवस्थामा यौन चाहनाले विचलन ल्याउन सक्छ ।

यो महिला र पुरुष दुवैमा देखिन्छ । वैदेशिक रोजगारीमा गएका पुरुषहरू आउँदा विभिन्न यौन रोग लिएर आएका घटना पनि छन् । आपसी सम्मान र विश्वास भयो भने श्रीमान्–श्रीमती सँगै बस्नुपर्छ भन्ने छैन । जहाँ भए पनि सम्बन्ध सुमधुर रहन्छ । तर, सँगै बस्दा पनि विश्वास भएन भने सम्बन्ध बलियो रहन्न ।

विचलन ल्याउने काम निश्चय नै वैदेशिक रोजगारीले गरेको छ । सामाजिक विग्रह र परिवार विघटन रोक्न राज्यले रोजगारीसँगै सामाजिक चेतना विकास गर्ने अभियान चलाउनु आवश्यक छ

केही दिनअघि म नोबल मेडिकल कलेजमा डाक्टर रामहरि घिमिरेलाई भेट्न जाँदा थुप्रै महिला बिरामी आउनुभएको थियो । करीब आधा घण्टा जति बसें होला त्यहाँ, त्यसबेला आउने अधिकांश बिरामीलाई डाक्टरसाबले मानसिक परामर्शका लागि पठाउनुभयो । समस्या सबैको साझा थियो, श्रीमान् विदेशमा थिए ।

श्रीमान् वा श्रीमती विदेशमा रहँदा दुई वटा कुराको तनाव रहन्छ । पहिलो मिल्ने मान्छे आफूसँग छैन, अनि जैविक आवश्यकता पूरा भएको छैन । अर्काे कुरा घर व्यवहारको तनाव छ । विवाह गरेर आएकी महिलालाई छोरी सरहको व्यवहार गरेको त भन्छौं तर त्यहाँ नदेखिने तनाव हुँदोरहेछ । जसले गर्दा त्यस्ता महिलामा मानसिक समस्या देखिने गरेको डाक्टर घिमिरेले बताउनुभयो ।

मानिस एउटा समझदारीमा विदेश गएको हुन्छ । दुई वर्षमा फर्कने समझदारी हुँदा किन धैर्य रहेन ? मेरो विचारमा त्यसको विचलनको पछाडि इन्टरनेट प्रविधिसँगको पहुँच र भौतिक जीवनशैलीमा आएको परिवर्तन नै हो ।

आर्थिक हैसियत बढेपछि मानिसको जीवनशैलीमा परिवर्तन आउँछ । चाहनाहरू बढ्छन् । आर्थिक रूपमा सम्पन्न भएपछि विचलन धेरै हुन्छन् । सुनसरीमा मैले अध्ययन गर्दा केही परिवारमा श्रीमान्ले पैसा कमाएर ल्याएपछि श्रमतीलाई गरेको दुव्र्यवहारले पनि सम्बन्धविच्छेदसम्म पुगेको देखेको थिएँ । विवाह हुँदा समान आर्थिक हैसियत भए पनि पछि लोग्नेले पैसा कमाएपछि श्रीमतीमाथि दुव्र्यवहार भएको पनि देखियो । अर्थात् सम्पन्नताले पनि मानिसमा विचलन ल्याउँदो रहेछ ।

तर यसो भनेर वैदेशिक रोजगारीका सकारात्मक पक्षलाई बिर्सनुहुन्न । समाजमा धेरै सकारात्मक पक्ष पनि छन् । श्रीमान्ले विदेशबाट पठाएको पैसाले श्रीमतीले व्यवसाय गरेका छन् । छोराछोरी पढाएका छन् । आर्थिक सम्पन्नता प्राप्त गरेका सफलताका कथा पनि धेरै छन् ।

समग्र वैदेशिक रोजगारीको अवस्था हेर्ने हो भने यसबाट आएको पैसा कहाँ खर्च हुन्छ भन्ने ठूलो कुरा हो । उत्पादनमूलक क्षेत्रमा लगानी अति न्यून छ । भौतिक सामग्री खरीदमा विदेशको पैसा खर्च भएको छ । यसलाई उत्पादनमा जोड्न सकिएको छैन ।

व्यक्तिसँग नगद भएपछि गलत कामका लागि पनि आँट आउन सक्छ । जैविक आवश्यकता हुँदा विकल्पहरू प्रयोग गर्न नसक्ने, चाहनालाई नियन्त्रण गर्न नसक्ने अवस्थाले पारिवारिक विघटन भएका थुप्रै उदाहरण छन् ।

अतिरिक्त आय, सम्पन्नता, यौन सन्तुष्टि परिपूर्ति गर्न नसक्ने अवस्थाले मानिसमा विचलन ल्याउँछ । यसमा महिलालाई मात्रै दोष दिन मिल्दैन, पुरुष पनि उत्तिकै दोषी छन् । यौनप्रतिको हाम्रो बुझाइ, यौन व्यवहारमा भएका बन्धन जिम्मेवार छन् ।

परिवारको विघटनले हाम्रो समाजमा नकारात्मक असर गर्छ । समाज र संस्कृति सँगसँगै जाने विषय हो । जुन कुरा संस्कृतिले अपनाउँदैन त्यो कुरा समाजमा गर्न मिल्दैन । हाम्रोमा विवाह र शारीरिक सम्बन्ध सामाजिक रूपमा स्वीकृत व्यक्तिहरूबीच मात्रै हुन्छ । आजको यो विचलनले भोलिका दिनमा समाजमा अस्थिरता ल्याउन सक्छ । पश्चिमा मुलुकको जस्तो संस्कृति भए ठूलो प्रभाव पर्दैनथ्यो होला ।

सामाजिक विकृति रोक्न राज्यले योजना बनाउनुपर्छ । स्वदेशमै रोजगारीको अवसर सृजना भयो भने वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था नै रहँदैन । सामाजिक चेतनास्तर पनि सुधार गर्न आवश्यक छ । वैदेशिक रोजगारीमा गए पनि त्यहाँबाट प्राप्त आम्दानी कसरी खर्च गर्ने भन्ने विषयमा समाजमा सचेतना कार्यक्रम चलाउनुपर्छ । वैदेशिक रोजगारीको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च हुनु राज्यका लागि पनि नोक्सानको विषय हो ।

आर्थिक हैसियत बढेपछि मानिसको आवश्यकता बढ्छ । जीवनशैली परिवर्तन हन्छ । आर्थिक रूपमा सम्पन्न भएपछि यस्ता विचलन पनि धेरै हुन्छन् । यो विचलन ल्याउने काम निश्चय नै वैदेशिक रोजगारीले गरेको छ । सामाजिक विग्रह र परिवार विघटन रोक्न राज्यले रोजगारीसँगै सामाजिक चेतना विकास गर्ने अभियान चलाउनु आवश्यक छ ।

(महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा प्राध्यापनरत समाजशास्त्री उपाध्यायसँग अनलाइनखबरकर्मी हरि अधिकारीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?