+
+

रुग्ण बने चिलिमेका चार वटै आयोजना

ढिलाइका कारण लगानीको प्रतिफलमाथि प्रश्न

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ कात्तिक ७ गते २०:५२

७ कात्तिक, काठमाडौं । नेपालमा जलविद्युत् आयोजनाको नमुना मोडालिटी मानिन्छ, चिलिमे जलविद्युत कम्पनी । जनतासँग शेयरबापत पैसा उठाएर कम्पनीमार्फत आयोजना बनाएर जनतालाई लाभ फर्काउने चिलिमे मोडालिटीमा विभिन्न चार वटा आयोजना अघि बढेका थिए । तर, ती आयोजना बनाउँदा–बनाउँदै यति ढिलाइ भइसक्यो कि शेयरधनी सेमत निरास बन्ने अवस्था आएको छ । यसले चिलिमे मोडालिटीमा अरु आयोजना सफल हुनेमा प्रश्न चिन्ह उत्पन्न भएको छ ।

शुरुमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमेअन्तर्गतका १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी र १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना अध्ययनमै सीमित बनेका थिए । तर, निर्माण शुरु भएपछि पनि ती आयोजनाले जनताले सोचे जसरी काम गरेनन् ।

प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङ २०६७ असारमा चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध–सञ्चालकमा नियुक्त भएपछि सर्वसाधारणको पनि लगानी रहने जनकेन्द्रित–सार्वजनिक–निजी–साझेदारीमा २७० मेगावाटका ४ जलविद्युत आयोजना अगाडि बढाएका थिए । आयोजना निर्माणका लागि चिलिमे अन्तर्गत रहने गरी रसुवागढी हाइड्रोपावर, मध्यभोटेकोसी जलविद्युत र सान्जेन जलविद्युत कम्पनी स्थापना गरिएको थियो । प्राधिकरण, आयोजना रहेका स्थानीय तह, आयोजना प्रभावितहरु, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहने गरी आयोजनाहरुको पुँजी संरचना तयार गरिएको थियो ।

चार वटै आयोजनाका लागि कर्मचारी सञ्चय कोषले १६ अर्ब ६० करोड ऋण लगानी लगानी गर्ने गरी २०६८ को मंसिरमा ऋण सम्झौता गरी लगानी जुटाइएको थियो । तर, यसरी तामझाम र उच्च प्राथमिकताका साथ अगाडि बढाइएका आयोजनाहरुको निर्माण शुरु भएको करीब १० वर्ष पुग्न लागेको छ । निर्माण कहिले सकिने हो भन्ने टुंगो छैन । कम्पनीका सञ्चालकहरु, आयोजनाका पदाधिकारी र ठेकदारहरुका कारण आयोजना बेहाल अवस्थामा पुगेका छन् ।

चिलिमेमै रहँदा घिसिङले ५ वर्षमा निर्माण सम्पन्न हुने घोषणा गरेका आयोजनाहरु अहिले पनि कति वर्षभित्र टुंगिन्छन् भन्ने ठेगान छैन ।

घिसिङ आफैं प्राधिकरणको पहिलो ४ वर्षे कार्यकाल पूरा गरी दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् । तर, उनी आफैंले अगाडि बढाएका र सरकारले अहिले ‘जनताको जलविद्युत् कार्यक्रम’मा समावेश गरिएका आयोजना बेवारिसे अवस्थामा पुगेका छन् ।

निर्माण अवधि लम्बिँदा आयोजनाको लागत पनि बढिरहेको छ । आयोजनाबाट लगानीकर्ताले पाउने प्रतिफलको अवधि घटिरहेको छ ।

‘कामलाई गति दिन प्रवर्द्धक कम्पनीका व्यवस्थापन तहमा रहेका पदाधिकारी गम्भीर छैनन्, उनीहरुले ठेकेदारलाई परिचालन गर्न चासो नै दिएका छैनन्’, चिलिमे जलविद्युत् कम्पनी स्रोतले भन्यो,‘प्राधिकरणको नेतृत्व पनि काम नगर्नेप्रति धेरै उदार देखिएको छ ।’

आयोजना निर्माणका लागि रसुवागढी हाइड्रोपावर, मध्यभोटेकोशी जलविद्युत् र सान्जेन जलविद्युत कम्पनी स्थापना गरिएको छ । सबै कम्पनीमा नेपाल विद्युत प्राधिकरणका कर्मचारी सञ्चालक र कार्यकारी प्रमुख छन् ।

यी आयोजनाहरु म्याद थप्दाथप्दै रुग्ण बनिसकेका छन् । सबै आयोजनालाई गति दिन ठेकदार पक्ष र व्यवस्थापन टिमले आटटाल गरिरहेका छन् । साधारण सेयरमार्फत जनताको लगानी समेत राखेर बनिरहेका यी आयोजनामा भएको ढिलाइप्रति न प्राधिकरण गम्भीर छ, न ऊर्जा मन्त्रालयले चासो दिएको छ ।

आयोजनाको निर्माण अवधिसहित लाइसेन्सको म्याद ३५ वर्ष मात्रै हुन्छ । तर, निर्माणमै १० वर्षसम्म बितेपछि आयोजनाले छिटै नाफा उठाउने र लगानीकर्ताले पर्याप्त लाभ पाउने झिनो मात्रै सम्भावना हुन्छ । आकर्षक भन्दै सेयर बेचिएका यस्ता आयोजनामा प्राधिकरणको व्यवस्थापन पक्ष कमजोर बन्दा त्यसको मार जनताले पनि भोग्नुपर्छ ।

सान्जेनका दुवै आयोजनामा ढिलाइ

सान्जेन जलविद्युत कम्पनीमार्फत रसुवामा बनिरहेका सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) आयोजना सकिनुपर्ने चार वर्षअघि नै हो, तर अहिले पनि काम सकिएको छैन । सान्जेनले २०६८ को मंसिरमा र माथिल्लो सान्जेनले २०६९को भदौमा उत्पादन अनुमतिपत्र पाएको थियो । ३५ वर्ष लाइसेन्समध्ये करीब १० वर्ष निर्माणमै गुज्रिसकेको छ ।

माथिल्लो सान्जेन २०७४ को साउनसम्म र सान्जेन २०७५ को माघसम्ममा निर्माण सम्पन्न गरी विद्युत उत्पादन शुरु गर्ने लक्ष्यका साथ काम शुरु गरिएको थियो । तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकिएपछि सान्जेन (माथिल्लो)को आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म र सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७८/०७९ को मध्यसम्म सम्पन्न गर्ने लक्ष्य तय गरिएको थियो । तर, आयोजनाहरु अहिले पनि अनिश्चयकै भुमरीमै छ ।

सिभिलतर्फको काम धिमा गतिमा भइरहेपनि इलेक्ट्रोमेकानिकलतर्फको काम शुरु नै हुन सकेको छैन । दुवै आयोजनामा विद्युत निकाल्ने टर्वाइनसहित विद्युतीय यन्त्र उपकरण जोड्ने ठेक्का पाएको चिनियाँ कम्पनी तोनफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसन माहमारी शुरु भएपछि काममा फर्किएको नै छैन ।

सान्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल ढुंगेल माथिल्लो सान्जेनको सिभिलतर्फको काम सकिएको र अब इलेक्ट्रोमेकानिकलतर्फको उपकरण जोड्ने काममा चिनियाँ प्राविधिकको प्रतिक्षा भइरहेको बताउँछन् ।

‘आगामी असारसम्म माथिल्लो सान्जेनको निर्माण सक्ने लक्ष्य छ,’ उनले भने, ‘त्यसको ६ महिनाभित्र सान्जेनको पनि निर्माण सक्ने योजनाअनुसार काम गरिहेका छौं ।’

रसुवागढीको त्यही कथा

चिलिमे अन्तर्गत नै बनिरहेको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको हालत पनि सान्जेनको भन्दा फरक छैन । सुस्त गतिमा पूर्वाधार निर्माण भइरहेको यो आयोजनाको कामलाई गति दिन आयोजना र ठेकदार कम्पनीले चासो दिएको छैनन् । यो आयोजना २०७४ को असारसम्म सक्ने भनिएपनि अझैसम्म पनि अन्योलमै छ ।

यो आयोजना पनि सिभिलतर्फभन्दा बढी इलेक्ट्रोमेकानिकलतर्फको काम प्रभावित छ । यो आयोजनाको विद्युतीय उपकरण आपूर्ति र जडानको ठेक्का भारतीय कम्पनी भोइथ हाइड्रोले पाएको छ । कोरोना महामारी शुरु भएपछि साइट छाडेको भोइथ हाइड्रोले बीचमा केही प्राविधिक पठाएपनि राम्रोसँग काम शुरु नगर्दै बाढीको बाहना बनाएर फर्किएको थियो । त्यसपछि कम्पनीका प्रतिनिधि साइटमा नै आएका छैनन् ।

आयोजना प्रमुख छवी गैरे भोइथसँग यसै हप्ता निर्णायक वार्ता गर्न लागिएको बताउँछन् । ‘उनीहरुका कारण आयोजना प्रभावित भयो, ठेक्का रद्ध गर्ने कि काम अघि बढाउने भन्नेबारे एक दुई दिनमै सम्वाद गर्दैछौं,’ उनले भने,‘ थप ढिलासुस्ती हुन नदिन गम्भीर छौं ।’

आयोजनाको निर्माण सन् २०२२को जुन महिनासम्म सकमाउने कार्यतालिका भएपनि नसकिने लगभग निश्चित भइसकेको छ । कहिले भूकम्प, कहिले नाकाबन्दी त कहिले बाढी–पहिरो र कोरोनाको महामारीको कारण आयोजनाको काम भएन ।

आयोजनामा सिभिल तथा हाइड्रोमेकानिकलतर्फका थुप्रै काम बाँकी छन् । ८० प्रतिशत सकिएको भनिएको यो आयोजनाको कामले अझै कहिलेबाट कति पाउँछ भन्ने निश्चित छैन ।

रसुवागढीले २०६९ को मंसिरमा उत्पादन अनुमति पत्र पाएको थियो । पछिल्लोपटक आयोजनाको व्यापारिक उत्पादन शुरु गर्ने लक्षित मिति २०७८ असार मसान्त (जुलाई १५, २०२१) तय गरिएको थियो । तर यो समय पनि पनि गुज्रिसकेको छ ।

चिलिमेका ४ आयोजनाहरुमध्ये सबैभन्दा सजिलो र आकर्षक आयोजना रसुवागढी हो । तर, अध्यक्ष तथा सञ्चालक र आयोजना प्रमुख सबै प्राधिकरणको नेतृत्वलाई गलत रिपोर्टिङ गर्दै बस्दा समस्या बढेको कम्पनी स्रोत बताउँछ ।

‘आयोजना प्रमुख साइटमा बस्दैनन्, काठमाडौंमा बसेर सबै ठीक भन्दै ब्रिफिङ गर्छन् तर आयोजनास्थलमा अवस्था फरक छ, आयोजना बेहाल अवस्थामा छ, यसमा हस्तक्षेप नै गर्नु पर्ने देखिन्छ’, आयोजनाका एक अधिकारीले भने । ठेकेदारलाई दोष देखाएर मात्रै पन्छिने गर्दा आयोजना सकिने मिति अझै अनिश्चित बन्न पुगेको उनले बताए ।

यो कम्पनीका सञ्चालक समितिका अध्यक्ष प्राधिकरणका उपकार्यकारी निर्देशक माधव कोइराला हुन् भने आयोजना प्रमुख प्राधिकरणकै छवि गैरै । कोइराला एनइए इन्जिनियरिङका प्रवन्ध–सञ्चालकसमेत हुन् ।

मध्यभोटेकोसीमा चरम ढिलाइ

चिलिमे अन्तर्गत सिन्धुपाल्चोकमा बनिरहेको १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको पनि २०७४को असारमै बनसक्नुपर्ने थियो । तर, अहिलेसम्म ७७ प्रतिशत भौतिक प्रगति भएको छ ।

७ दशमलव २ किलोमिटर सुरुङमध्ये ४१४ मिटर खन्न बाँकी छ । मुख्य सुरुङसहित पावर हाउस, बाँध र हाइड्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ग्वाङ्सी हाइड्रो इलेक्ट्रोनिक कम्पनीको लापरवाही र ढिलासुस्तीले यो आयोजना लगातार समस्यामा छ ।

इलेक्ट्रोमेकानिकलतर्फको काम अष्ट्रियन कम्पनी एन्डिज हाइड्रोले पाएको छ । तर, आयोजनाको पावरहाउसमा झरेको पहिरो हटाएर जडानको काम सक्न ढिलाइ भएको छ ।

भूकम्प, नाकाबन्दी र भोटेकोसी बाढीको कारण देखाउँदै म्याद थप भएको यो आयोजनालाई अहिले कोरोना महामारीको अर्को बहाना मिलेको छ ।

आयोजना प्रमुख रामगोपाल शिवाकोटी सन् २०२२ को डिसेम्बरसम्म सक्ने गरी आयोजनामा काम भइरहेको बताउँछन् ।

‘अहिले सबैतर्फ काम भइरहेको छ, कुनै खालका समस्या छैनन्,’ उनले भने, ‘समग्रमा २५ प्रतिशत काम बाँकी छ, त्यसलाई छिटो सकाउने गरी ठेकदार परिचालन गरेका छौं ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?