+
+

४ वर्षपछि पुन: मतगणना हुँदा वडाध्यक्षको नतिजा उल्टियो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १९:५४

७ कात्तिक, जनकपुरधाम । अदालतको आदेशमा चार बर्षपछि आइतबार महोत्तरीको एक वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतगणनामा मतपरिणाम उल्टिएको छ ।

उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतले दिएको आदेश बमोजिम महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को पुनः मतगणना हुँदा पहिले पराजित उम्मेदवार विजयी भएका हुन् ।

यसअघि निर्वाचन आयोगले यो वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरी विजयी भएको घोषणा गरेको थियो । तर आइतबार भएको पुन मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका हुन् ।

४ वर्षअघि स्थानीय तहको निर्वाचनका क्रममा दुबै उम्मेदवारले २६७ मत ल्याएको भन्दै निर्वाचन आयोगले गोला प्रथाबाट चौधरी निर्वाचित भएको घोषणा गरेको थियो ।

तर पुनः मतगणनाको माग गर्दै स्वतन्त्र उम्मेदवार रमेश रायले उच्च अदालत जनकपुरधाममा मुद्दा दिएका थिए । उच्च अदालतले २१ असार २०७५ मा पुनः मतगणना गर्ने आदेश दिएपनि निर्वाचित भएका चौधरीले यो निर्णयविरुद्ध सर्वाेच्च अदालतमा निवेदन दिएका थिए ।

सर्वाेच्चको ६ चैत २०७७ को आदेशबाट उच्च अदालतको आदेश सदर गरेको थियो । सर्वोच्चको आदेश अनुसार पुनः गणना हुँदा पहिला भएको गणना भन्दा फरक नतिजा आएको देखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिए ।

उच्च अदालतका रजिष्ट्रार र आफ्नो उपस्थितिमा भएको पुनः गणनामा नेपाली कांग्रेसका उम्मेदवार चौधरीले २ सय ६६ र पराजित भएका रायले २ सय ६८ मत पाएको देखिएको भुजेलले बताए । अब पुनः गणनाको परिणाम न्यायाधीश समक्ष पेश हुने र त्यसपछि पद परिवर्तनको आदेश त्यहींबाट आउने भुजेलले बताए ।

रायलाई निर्वाचित भएका चौधरीभन्दा बढी मत आएपछि अदालत प्राङ्णमै उनका समर्थकहरुले उनलाई माला लगाइदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?