+
+

बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १८:४५

७ कात्तिक, काठमाडौं । संसदीय समितिले बाढीपहिरो पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।  प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरवारमा बसेको बैठकले बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो पीडितहरुलाई तत्काल उचित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोज कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरी पीडितलाई उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देश गरिएको समितिकी सभापति कल्याणीकुमारी खड्काले बताइन् ।

समितिले वर्षाका कारण अवरुद्ध सडक तथा पुलहरु तत्काल सञ्चालनमा ल्याउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराएको छ । सभापति खड्काले मनाङ, बझाङ र बाजुरा जिल्ला बाढीपहिरोका कारण ठप्प रहेको उल्लेख गर्दै तत्काल आवश्यक प्रवन्ध गर्न सरकारलाई निर्देशन दिइएको बताइन् ।

‘बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र खोजी कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरी घाइते भएकाहरुको उपचार र प्रभावितहरुलाई उचित राहत उपलब्ध गराउन समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देश गर्दछ,’ उनले भनिन् ।

समितिले पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाको कार्य प्रगति सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै सम्पन्न हुने लक्ष्य तोकी कामलाई तीव्रता दिन पनि सरकारलाई निर्देशन दिएको छ । १४ वर्ष बितिसक्दा पनि आयोजनाको भौतिक प्रगति ५८ प्रतिशत मात्रै भएकाले त्यसलाई सक्ने लक्ष्य तत्काल तोकी कामलाई छिटो अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको समितिले जनाएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणूकुमारी यादवसहित मन्त्रालयका पदाधिकारीहरुले बाढीपहिरोबाट उत्पन्न सडक, पुलहरुको अवस्था र त्यसको व्यवस्थापनका लागि भइरहेका कामबारे समितिलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?