+
+

१८ रुपैयाँको रुटमा २० रुपैयाँ भाडा, खुद्रा फिर्ता माग्नेलाई चकलेट !

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते २०:४२

७ कात्तिक, काठमाडौं । बानेश्वरबाट शंखमूलको टेम्पो चढेका रामकृष्ण श्रेष्ठले चालकलाई भाडाबपात २० रुपैयाँको नोट दिए । तर, उनले फिर्ता पाउनुपर्ने २ रुपैयाँ ओर्लिने बेलासम्म पनि पाएनन् । जब श्रेष्ठले खुद्रा पैसा फिर्ता मागे, उनका हातमा चालकले २ वटा चकलेट थमाइदिए ।

‘म मधुमेह भएको मान्छेलाई चकलेट के काम ? पैसा नै दिनुस्’ भनेर उनले चालकसँग अनुरोध गरे । तर, उल्टै श्रेष्ठले जवाफ पाए, ‘फिर्ता दिने पैसा छैन, २ रुपैयाँ पनि फिर्ता चाहिने भए आफैं खुद्रा जम्मा गरेर मात्रै टेम्पो चढ्ने गर्नुस् ।’ समान्य विवाद भएपछि श्रेष्ठ थप झमेलामा पर्न चाहेनन् र आफ्नो बाटो लागे ।

बानेश्वरबाट रत्नपार्क पुगेर फर्किएकी शर्मिला लामिछानेले जाँदा-आउँदा नै २० -२० रुपैयाँ तिरिन्, तर, खुद्रा फिर्ता दिनेबारे सहचालकले केही बोलेनन्, उनले पनि दुबैपटक २ रुपैयाँमा के किचकिच गर्नु भनेर त्यसै ओलिएएर हिँड्न् ।

कात्तिक १ देखि लागू भएको नयाँ भाडा दरअनुसार काठमाडौंमा सार्वजनिक सवारी साधन चढ्नासाथ -५ किलोमिटरसम्म) १८ रुपैयाँ भाडा तिर्नुपपर्छ, १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ भाडा तोकिएको छ । तर, यात्रुहरु भने यस्ता रुटहरुमा २०, २५ र ३० रुपैयाँ तिरिरहेका छन् ।

अहिले यात्रुले पैसा फिर्ता मागिहाले बसका सहचालक र कन्डक्टरसँग सजिलो जवाफ छ, ‘खुद्रा पैसा नै छैन ।’ १८ रुपैयाँभन्दा बढी पैसा लाग्ने रुटमा चढ्ने पनि तोकिएभन्दा बढी नै भाडा तिरिरहेका छन् ।

‘फुटकर पैसा छैन’ भन्दै ठगी

काठमाडौंमा करिब ३३ हजार सार्वजनिक सवारी गुड्छन् । यसरी उपत्यकामा दैनिक लाखौं रुपैयाँभन्दा बढी ठगी हुने अनुमान छ ।

झण्झट हुने भएकाले धेरैजसो यात्रुले फुटकर पैसा बोक्दैनन् । १८ रुपैयाँ भाडा तोकिएको रुटमा गाडी चढ्दा जति पैसा दिए पनि सवारीका चालक र कन्डक्टरले २० रुपैयाँ नै लिन्छन् । फुटकर नभएको बहाना व्यवसायीलाई फाइदा लुट्ने मेलो बनेको छ । प्रायः उपभोक्ता पनि दुई रुपैयाँमा किन विवाद झिक्नु भन्ने मानसिकतामा हुन्छन् ।

उपभोक्तालाई एकपटक बस चढ्दा दुई रुपैयाँ बढी पैसा लिनु सामान्य लाग्न सक्छ । व्यवसायीलाई भने सबै यात्रुसँग दुई रुपैयाँ बढी उठाउँदा समग्रमा ठूलो नाफा हुन्छ ।

जस्तो एउटा यात्रुले दिनमा दुई पटक मात्रै गाडी चढ्दा चार रुपैयाँ बढी पैसा तिर्छ । उसले महिनामा एक सय २० रुपैयाँ बढी भाडा तिर्छ ।तर, वर्षदिनमा आफूले तिर्नुपर्नेभन्दा एक हजार चार सय ४० रुपैयाँ बढी तिरेको कुरा उपभोक्ताले हिसाबमा राख्दैनन् ।

दिनमा चार पटक सार्वजनिक सवारी प्रयोग गर्नेसँग वर्षमा दुई हजार आठ सय ८० रुपैयाँ ठगिन्छ । अर्थात्, एउटा बसले दैनिक पाँच सय यात्रुसँग दुई रुपैयाँ बढी असुल्यो भन्यो उसले दिनमा एक हजार रुपैयाँ अतिरिक्त आम्दानी गर्छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार एक दिनमा उपत्यकामा २५ लाख पटक यात्रु (एउटै यात्रु हरेक पटक चढेको गन्दा) सार्वजनिक सवारी साधन चढ्छन् । उनीहरु प्रायः सबै अहिले यसखालको ठगीको शिकार भइरहेका छन् । दैनिक २५ लाख पटक यात्रु ठगिए भने दैनिक ५० लाख रुपैयाँको ठगी हुन्छ ।

हात बाँधेर बसेको सरकार

गाडी भाडा लागू भए/नभएको र यात्रु ठगिएकोबारे अनुगमन गर्ने सरकारी निकाय अहिलेसम्म मौन छन् । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी ठगी भइरहेको जानकारी भएर पनि हात बाँधेर बसेको गुनासो पीडित यात्रुहरुको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको महासचिव सरोज सिटौला बढी भाडा नलिन आग्रह गरिएको बताउँछन् । ‘संघ सरकारले लामो दूरीको सवारीका २८ प्रतिशत भाडा बढायो, प्रदेेश-एकले २२ र बाग्मती प्रदेशले २३ प्रतिशत मात्रै बढाए,’ उनले भने,’वैज्ञानिक तवरले मूलय समायोजन नगर्दा पनि समस्या भएको हो ।’ यद्यपि सरकारले तोकेकोभन्दा भाडा नलिन आफूहरुले व्यवसायीलाई आग्रह गरेको सिटौलाको दावी छ ।

यातायात व्यवस्था विभाग भने धेरै भाडा लिनेलाई कारवाही भइरहेको बताउँछ ।

विभागका प्रवक्ता डा. लोकनाथ भुसाल सकेसम्म यात्रुलाई खुद्रा पैसा बोकेर हिँड्न सुझाव दिन्छन् । तर, बढी भाडा लिएर ठगी गरेर ट्राफिक प्रहरी वा विभागमा खबर गर्न उनको आग्रह छ ।

‘खुद्रा छैन भनेर ठग्न पाइन्नँ, उनले भने पैसा छैन भने चकलेट दिन पनि पाइँदैन,’ उनी भन्छन्,’त्यसता सवारीलाई एक हजारदेखि ५ हजारसम्म जरिवाना गरछौं ।’ उनले २ रुपैयाँ हो भन्दै दैनिक ठूलो ठगी हुने भएकाले यात्रु आफैं सचेत हुनुपर्ने बताए ।

सवारीले दैनिक ठग्नेभन्दा थोरै जरिवाना कायम रहेसम्म समस्या नसल्टिने विभागका एक अधिकारी बताउँछन् । ‘ठूला बसले दिनमा ठगी गरेरै पाँच हजार बढी कमाउँछन् । अनि, कुनै दिनमा एक हजार जरिवना तिर्नैपरे पनि केको आपत्ति ?’ ती अधिकारी प्रश्न गर्छन्, ‘एकैपटक ५० हजार जरिवाना हुने व्यवस्था भयो भने कसैले ठग्ने आँट गर्लान् र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?