
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले धम्क्याएर एक करोड रुपैयाँ असुल्न खोजेको आरोपमा लक्ष्मण पनेरु र विनोद साहलाई पक्राउ गरेको छ।
- साहले आफ्नै व्यापारी साथीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भनी धम्क्याएर रकम माग गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
- धम्कीबाट बच्न २० लाख रुपैयाँ दिनुपर्ने भनिएपछि व्यापारीले प्रहरीलाई खबर गरी रकम बुझाउँदा पनेरुलाई पक्राउ गरिएको थियो।
२० भदौ, काठमाडौं । आफ्नै साथीको योजनामा एक व्यक्तिमाथि धम्क्याउँदै एक करोड रुपैयाँ असुल्न खोजेको पाइएको छ ।
धम्क्याउँदै रकम असुल्न खोजेको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा यो विषय बाहिर आएको हो । । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डोटी घर भइ काठमाडौं कीर्तिपुर बस्दै आएका २७ वर्षीय लक्ष्मण पनेरु र झापाको हरिनगर गाउँपालिका–७ का घर भई काठमाडौं सुकेधारा बस्ने ५४ वर्षीय विनोद साहलाई पक्राउ गरेर अनुसन्धान गरेको छ ।
साह व्यापारी हुन् । उनकै योजनामा साहका व्यापारी साथीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै एक करोड रुपैयाँ माग गरिएको थियो । साहले पनेरुलाई प्रयोग गरेर ठमेल क्षेत्रमा व्यापार गर्ने एक मारवाडी व्यापारीलाई धम्क्याएका हुन् ।
साह योजनाकार र पनेरु फोन गरेर धम्क्याउने व्यक्ति रहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
टोखा नगरपालिका–८ बस्ने एक व्यक्तिलाई फोन गर्दै अख्तियारको कर्मचारी भनेर धम्क्याइएको प्रहरीले बताएको छ । ती व्यक्ति र उनका परिवारका सदस्यहरूसँग नक्कली नेपाली नागरिकता रहेको र यसबारे आफूहरूले अनुसन्धान गरिरहेको उनीहरूले बताएका थिए ।
यो कारबाहीबाट बच्न र फाइल बन्द गर्ने हो भने एक करोड दिनु नत्र जेलसम्म जाने धन्दै धम्की दिइएको थियो । त्यसपछि ती व्यापारी प्रहरीको सम्पर्कमा पुगेका थिए । प्रहरीकै योजनाअनुसार रकमको बार्गेनिङ सुरु भयो ।
पहिलो चरणमा २० लाख रुपैयाँ दिन भन्दै ह्वाट्स एपमा नै म्यासेज गर्न थालियो । त्यसपछि रकम लिनका लागि ती व्यापारीले कीर्तिपुर बोलाए । साहकै कार लिएर पनेरु रकम लिन भन्दै कीर्तिपुर पुगे । ती व्यापारीले अहिले आफूसँग २ लाख मात्रै भएको बाँकी रकम पछि दिने बताए । कीर्तिपुरमा रकम बुझेर कलंकीतर्फ आएपछि पनेरुलाई प्रहरीले पक्राउ गर्यो ।
साथीसँगको सम्बन्धमा दरार आएपछि साहको योजनामा ती मारवाडी व्यापारीलाई धम्क्याएर रकम असुल्न खोजेको पाइएको छ ।
प्रतिक्रिया 4