+
+

‘अपराधको राजनीतीकरण उच्च विन्दुमा छ’

सतिशकृष्ण खरेल, वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, वरिष्ठ अधिवक्ता
२०७८ कात्तिक ८ गते १९:४९

अपराधको राजनीतीकरण सुखद हुनै सक्दैन । भारतमा ‘यूपी सिन्ड्रोम’ भन्छन् । भारतको उत्तरप्रदेशका जति पनि राजनीतिज्ञ छन्, उनीहरूको राजनीतिक वेस क्राइम देखिन्छ । मुलायम सिंह यादवको पालादेखि नै यो शुरू भएको देखिन्छ । समाजवादी भन्ने पार्टी छ, ३० वटाभन्दा बढी ज्यान मुद्दा उनलाई लागेको थियो ।

उनीहरूकोमा चाहिं दुई वटा रूपमा यसको प्रयोग भएको देखिन्छ । एउटा राजनीतिक प्रतिस्पर्धीलाई तल राख्ने माध्यमको रूपमा र अर्को जनमत नियन्त्रण गर्ने माध्यमका रूपमा प्रयोग भएको देखिन्छ । हामीकहाँ चाहिं मुद्दा निर्मलीकरण गर्ने माध्यमको रूपमा गुण्डाहरूको राजनीतिक पुनर्जन्म भयो । त्यसका लागि सबै राजनीतिक दल उत्तिकै जिम्मेवार छन् ।

राजनीतिक नेताका हिसाबले भन्नुहुन्छ भने कुनै निश्चित नेताहरू छन्, जसले त्यो विषयमा बढी चासो राखेको देखिन्छ । जस्तै, एमालेमा चरीदेखिको काण्डमा ओलीको घनिष्ठता देखिन्छ । झलनाथ, माधव नेपालले ‘ह्वाइट कलर’ अपराधमा अलिअलि साथ दिए, तर त्यो अपराध हो भन्ने हिसाबले बाहिर आउन थालेपछि उनीहरू झस्किए । तर ओलीले चाहिं स्पष्ट रूपमा साथ दिएको देखिन्छ ।

राजनीतिका लागि गुण्डाहरू जरूरी हुन् भन्ने सोचाइ उनले राखेको देखिन्छ । आफैं खराब गतिविधिमा संलग्न नभए पनि त्यस्ता पृष्ठभूमिमा संलग्नलाई संरक्षण गर्नुले पनि पनि यसको पुष्टि गर्छ । खुमबहादुर खड्कासँग पनि त्यस्ता व्यक्तिको सम्बन्ध थियो । अहिलेका गृहमन्त्रीदेखि बादल र वर्षमान पुनका छोराहरूले पनि ‘एक्सटर्सन’को काम गरिरहेको जगजाहेर छ । बादलको भाइको त मुद्दा नै छ ।

यो विषय उत्तर भारतको उत्तरप्रदेशको गोरखपुर क्षेत्रको सिन्ड्रोम नेपालमा शुरू भएको हो । अपराधको राजनीतीकरणको शुरूआत ठ्याक्कै २०३६ सालमा राष्ट्रवादी विद्यार्थी मण्डलको गठन भएपछि शुरू भएको हो । त्यतिवेला दीपक बोहोरा, उत्तम गुरुङहरू भएपछि विस्तारै गुण्डागर्दीको राजनीतीकरण शुरू भयो ।

अहिले अपराधको राजनीतीकरण ‘एक्स्ट्रिम’मा छ । हिजोका गुण्डाहरू अलिकति पैसा कमाएपछि आफ्नो संरक्षण कसरी गर्ने भन्ने विषयमा राजनीतिलाई प्रयोग गरिरहेका छन् । आफू राजनीतिज्ञको भेषमा बस्ने र कार्यकर्तालाई ‘सेमी डन’का रूपमा अघि बढाउने प्रवृत्ति देखिन्छ । समूहकै खोज्ने हो भने यो भेटिन्छ ।

यसरी बढ्यो गुण्डागर्दी

२०४७ सालपछि र अघि तुलना गर्ने हो भने हिजो प्रहरी बलियो थियो । २०४७ सालअघि पुलिसको काम शान्तिसुरक्षा थियो । तर शान्तिसुरक्षा भन्दा उसको प्रयोग केमा हुन्थ्यो भने राज्यले राजनीतिक इन्टेलिजेन्सका रूपमा प्रयोग गथ्र्यो । राज्यले कुन मान्छे कहाँ जान्छ ? के गर्छ ? यसको पावर के हो ? भन्ने खोज्नतिर लगायो ।

क्षेत्राधिकार बाहिरको काममा लगाउने वित्तिकै उसले पनि क्षेत्राधिकार बाहिरका अन्य काम माग्न थाल्यो । ठाउँ दिने वित्तिकै उसको क्षेत्र नै नभएको भन्सारमा गयो, कसले सामान ल्याइरहेको छ, त्यसलाई उठाएर ल्याउने काम गर्‍यो । मलाई राज्यले क्षेत्राधिकार बाहिरको काम अह्राउँछ भने मैले क्षेत्राधिकार बाहिरको फाइदा हुने काम किन नगर्ने भन्ने शुरू भयो ।

२०४७ पछाडि विमानस्थलमा सुनको तस्करी गर्दा संरक्षण गर्ने काममा, विशेषतः तस्करीको सामान ओसार्ने काममा प्रयोग गरियो । रवीन्द्रनाथ शर्मा र वामदेव गौतम हुँदा यसलाई संस्थागत गर्ने काम गरियो ।

अहिले अपराधको राजनीतीकरण ‘एक्स्ट्रिम’मा छ । हिजोका गुण्डाहरू अलिकति पैसा कमाएपछि राजनीतिलाई प्रयोग गरिरहेका छन् । आफू राजनीतिज्ञको भेषमा बस्ने र कार्यकर्तालाई ‘सेमी डन’का रूपमा अघि बढाउने प्रवृत्ति व्यापक छ ।

विमानस्थलबाट सुन ल्याएबापत कति दिने भन्ने विषयमा १५-१५ दिनमा टुंग्याउनेसम्मका काम भए त्यसबेला । त्यतिवेला कुपनकै आधारमा नेताहरूका लागि तस्करीको काम गरियो । त्यतिवेला चारवटा पोका मेरो पनि किन पास नगर्ने भन्नेमा भन्सार र प्रहरी प्रयोग भए । त्यसो हुनाले तपाईंले राम्रो मान्छेलाई आफ्नो जिम्माको कामबाट बाहिर अह्राउन थालेपछि उसले पनि दुरुपयोग गर्न थाल्यो । त्यसपछि भ्रष्टाचार पनि शुरू भयो ।

तर प्रहरी प्रशासनको सीमा हुन्छ । भन्सारमा छलेर ल्याउँछ, बोकेर ल्याउन त सक्दैन । त्यसपछि बोकेर ल्याउने खालका मान्छे को हुने भन्दा यिनै खालका गुण्डा हुनेभए । त्यसपछि गुण्डाहरूलाई आर्थिक स्रोतका लागि प्रयोग गरियो । गुण्डालाई पनि प्रहरीले ‘लेजिटिमेट’ हो भनेर गोली हानेर इन्काउन्टर पनि गर्ला । नेताको संरक्षण भए आँट गर्दैन । यसरी दुवैलाई एकअर्का चाहिन थालेपछि गुण्डाहरूले राजनीतिक संरक्षण पाए र यो बढ्यो ।

नेतालाई नै थ्रेट

नेताहरूले गुण्डाहरूलाई राजनीतिमा काँधमा हालेर ल्याएका छन् । हिजो गुण्डाले सहयोग गरेका छन्, त्यसैले उनीहरूको विगतलाई सफा गरेर बचाउन पनि नेताहरूले उनीहरूलाई राजनीतिमा तानिरहेका छन् । उनीहरूको पनि महत्वाकांक्षा बढेको छ । उनीहरूलाई आफ्नो टाउकोमा चढेर ऊ नेता हुने, म चाहिं किन नहुने भन्ने भएको छ ।

अनि, उनीहरूको महत्वाकांक्षा पूरा नभएपछि बार्गेनिङ गर्न थाले । देउवा कहाँ नभए ओलीसँग जान्छु । ओलीसँग नभए अर्कोतिर जान्छु भन्ने भयो । त्यसपछि नेताहरू गुण्डाहरूले माग गरे अनुसार दिन बाध्य भएका हुन् ।

राजनीतिक आस्था भन्दा पनि अपराधको संरक्षण खोज्दै आएकाले उनीहरू जतिसुकै वेला जहाँ पनि जान्छन् । दीपक मनाङे, चक्रे मिलन सबैको देखिएकै छ । ६ महीनामा एउटामा आइरहेका हुन्छन्, ६ महीनामा अर्कोतिर गइरहेका हुन्छन् ।

तर गुण्डागर्दीमा संलग्नले जे भने त्यही पूरा गरिदिंदै गर्दा नेताहरू आफैं पनि थ्रेट बनिरहेका छन् । जसले ग्रुम गरेको छ, उनीहरूका लागि गुण्डागर्दी पृष्ठभूमि भएका व्यक्ति सबैभन्दा बढी चुनौती हुन् । दुईवटा कारणले उनीहरू थ्रेटमा हुन्छन् । एउटा उनीहरूको सबै कुरा थाहा हुन्छ, त्यसलाई लिएर ब्ल्याकमेल गर्न पाउने भए । दोस्रो चाहिं उनीहरूलाई म प्रयोग भएँ भन्ने कुराले पनि घोचेको हुनसक्छ ।

प्रहरीको भूमिका

वास्तवमा अहिले देखिएको समस्या अपराधको राजनीतीकरण हो । भोलि गृहमन्त्री हुने मान्छेलाई प्रहरीले के निगरानी गर्छ ? ढिलोचाँडो गृहमन्त्री हुन्छु भनेर हिंडेको मान्छेलाई प्रहरीले कुन मोरालले निगरानी गर्छ ?

सक्षम प्रहरी अधिकारी भए, राजनीतिबाट प्रहरीलाई टाढा राख्न सके, एउटा प्रोफाइल बनाएर ‘फलोअप’ गर्दै गर्न सक्छन् । तर मेरो प्रमोसनका लागि त्यसलाई रिझाएर जानुपर्छ भन्ने भयो भने चाकडी पनि गर्ने भए ।

अहिलेको प्रणाली हेर्ने हो भने गुण र क्षमताको आधारमा भन्दा पहुँचको आधारमा बढुवा हुने गरेको छ । यस्तो अवस्थामा थुप्रै राम्रा अधिकारीहरू पनि गुण्डाहरूको चाकडी गर्नुपर्ने बाध्यतामा छन् । हुनुपर्ने के भन्ने आफ्नो ठाउँमा छ तर भइरहेको के छ भन्ने कुरा फरक ठाउँमा छ ।

नेताहरूको भूमिका हेर्ने हो भने ‘इन्काउन्टर’ प्रकरणमा गगन थापा, अर्जुननरसिंह केसीहरूले के स्ट्याण्ड लिएका थिए भन्ने हेरौं न ? मारेको ठीक हो, होइन भन्ने आफ्नो ठाउँमा होला । तर एउटा गुण्डा मारिंदा जुन प्रकृतिको पोजिसन उहाँहरूको आयो, त्यसले कसको संलग्नता कहाँ छ भन्ने कुरा बुझ्न गाह्रो छैन ।

जनताले पाखा लगाउने दिन आउँछ

कहिलेकाहीं यस्तो कुरा सम्झिंदा मनमा ‘फ्रस्टेसन फिल’ हुन्छ । कहाँ जाँदैछ हाम्रो मुलुक भन्ने लाग्छ । त्योवेला म जहिल्यै पनि दक्षिण भारतको मेरो एउटा प्रोफेसरले भनेको कुरा सम्झिन्छु ।

उहाँले भन्नुभएको थियो– मेरो देशको राजनीतिमा सबै लुच्चा, फटाहा छन्, असल मान्छेलाई भोट दिंदा केही गर्न नसक्ने एउटा भद्रलाई पठाएर के गर्नु ? बरु एउटा फटाहालाई पठाए, एक/दुई वटा काम त गर्देला भनेर सोच्नुपर्ने अवस्था छ ।

जवाफमा उहाँले भारतमा जतिसुकै विकृति भए पनि राजनीति टिकेको कारण, लोकतन्त्र टिकेको कारण एउटै हो भन्नुभएको थियो । उहाँको विचारमा जिल्लास्तरमा एउटा स्तरका मान्छेहरू पूर्ण रूपमा स्वच्छ र राजनीतिक प्रतिबद्धता बोकेका छन्, जसले राजनीतिक आस्था र लक्ष्यबाहेक केही मतलब गर्दैनन् ।

भलै उनीहरू अहिले ‘भिक्टिम’ भएर बसेका होलान् तर राजनीति टिकाएर राख्ने उनीहरू भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभएको थियो, ‘जुन दिन नागरिकले भोट दिंदा राजनीतिक नेतृत्व मात्र भन्दैनन्, सामाजिक नेतृत्व पनि खोज्छन्, त्यो दिन मुलुकको राजनीति सुध्रियो भनेर सम्झिनुपर्छ ।’

म पनि त्यो दिन पर्खिएर बसेको छु, जुन दिन सामाजिक रूपमा असल भनिएका मान्छेले भोट पाउनेछन् । समय लाग्ला तर त्यो दिन अवश्य आउनेछ । गुण्डागर्दीमा संलग्न राजनीतिज्ञहरूलाई जनताले पाखा लगाउनेछन् ।

(वरिष्ठ अधिवक्ता खरेलसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?