+
+

पक्की पुल बनिसक्यो, सडक चाहिँ छैन

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ कात्तिक ८ गते १९:४२

८ कात्तिक, काठमाडौं । नुवाकोटको केउरेनी र धादिङको फोस्रेटार जोड्ने पक्की पुल गत वैशाखमा निर्माण सम्पन्न भयो । तीन वर्षमा सक्ने गरी २०७१ असार ३० ठेक्का लगाइएको उक्त पुल ७ वर्ष लगाएर पूरा त भयो तर सञ्चालनमा भने आउन सकेन ।

१५ करोड ११ लाख ३५ हजार लागतको १९२ मिटर लामो पक्की पुलको धादिङतर्फको क्षेत्रमा सडक नै नभएका कारण सञ्चालनमा आउन नसकेको हो । ‘लामो समय लगाएर पुल त बन्यो तर पारिपट्टी सडक नभएको थाहा पायौं,’ गल्छी गाउँपालिकाकी उपाध्यक्ष राधा तिमिल्सिनाले भनिन् ।

पुल पारी सडकको सानो ट्र्याक खुले पनि स्थानीय जग्गाधनीले अहिले खम्बा गाडेर सडक बन्द गराइदिएका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिकाको केउरेनीबाट धादिङको गल्छी गाउँपालिका फोस्रेटार जोड्ने त्रिशुली नदी माथिको उक्त पुलले जिल्ला सदरमुकाम धादिङवेशी र काठमाडौंबीचको दूरी छोटो बनाउँछ ।

पुलको नुवाकोटतर्फको छेउदेखि ३०० मिटरसम्म सडक कालोपत्रे भइसकेको छ भने र धादिङतर्फ भने पुलदेखि १५ मिटरसम्म मात्र सडक छ । तर यहाँ स्थानीय वासु खतिवडाले खम्बा गाडेर ७ महिनादेखि सडक रोकेका छन् ।

पुल निर्माण सम्पन्न भइसक्दा पनि सडक नभएकोबारे आफूहरुलाई जानकारी नदिइएको गल्छी गाउँपालिकाको दाबी छ । पुल निर्माणकै चरणमा कयौं पटक निर्माणकर्ता र सरकारी इन्जिनियरसंग पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माग गर्दा नदिएको गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठको भनाइ छ ।

‘यो योजना संघीय सरकारको भएकाले हामीले पनि खासै चासो दिएनौं तर पुलको डीपीआर नभएको र पारिपट्टी बाटोको नक्सांकन नै नभएको भर्खर थाहा पायौं,’ अध्यक्ष श्रेष्ठले भने ।

सडक यकीन नभएको ठाउँमा बल प्रयोग गरेर बाटो खोल्न नसकिएको उनको दाबी छ सडक डिभिजन भरतपुरले पनि धादिङमा पुलदेखि अगाडि सडक नभएको बताएको छ ।

‘पुलपारि बाटो नभएको कुरा सत्य हो, तर डीपीआर नभई काम गरेको र नक्कली डीपीआर बनाएको कुरा सत्य होइन,’ डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख बाबुराम सापकोटाले भने । पुलको पहुँच मार्गमा पारिपट्टी बाटो खोल्न समस्या रहेका स्वीकार गर्दै उनले भने, ‘गाउँपालिका र स्थानीय बासीसंग मिलेर समस्या सुल्झाउन अब छलफल गर्छौं ।’

जिल्ला समन्वय समितिका जगन्नात नेपालले यो पुल र सडकको विषयमा चासो नदिन आग्रह गरे । ‘पुल बनेको छ, गाडी चल्ने नचल्ने तपाईंहरुको मतलबको कुरा होइन हाम्रो समस्या आफै सल्ट्याउँछौं’ अनलाइनखबरसँग उनले भने ।

बरु उनले यो सूचना दिने व्यक्तिको नाम आफूलाई दिन भन्दै फोन काटे ।

धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पुल निर्माण भएर पनि सञ्चालन हुन नसकेकोबारे आफूले पनि जानकारी पाएको बताए । ‘निर्माण सम्पन्न भएको विकास आयोजनामा कसैले अवरोध पुर्‍याउन पाइन्न, बाटोको अवरोध छिट्टै समाधान गर्छौ,’ प्रमुख जिल्ला अधिकारी लम्सालले भने ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?