+
+
यात्रा संस्मरण :

मैले देखेको दक्षिण बंगाल

सेमन्त उपाध्याय सेमन्त उपाध्याय
२०७८ कात्तिक ९ गते ८:२४

हामी नेपालीलाई कोरोना कहरको लामो फुर्सद खासै ‘फुर्सद’ जस्तो लाग्दैन । तर हिन्दुहरूको महान चाड बडादशैंको पाँचदिने छुट्टी निकै महत्वपूर्ण र अर्थ बोकेको रहन्छ । मेरो पनि संयोगवश यसपटक भारतको पश्चिम बंगाल स्टेट घुम्ने र दशैं मनाउने अवसर जुट्यो ।

दशमीको भोलिपल्ट इटहरीबाट काँकडभित्ता मेची पुलहुँदै भारतको पानीट्याङ्की जाने क्रममा मेची पुलमा सुरक्षा निकै कडा पारिएको महसुस गरें । नागरिकता, पासपोर्ट वा भोटरकार्ड र कोरोना भ्याक्सिन लगाएको कार्ड अनिवार्य लिएर जानुपर्ने प्रावधान रहेको थियो । सोही अनुसार यात्राको श्रीगणेश गरियो ।

२०७८ असोज ३० गते पानीट्याङ्कीबाट भारतको पश्चिम बंगालको जलपाइगुडी बानरहाट चिया स्टेट भन्ने ठाउँमा मेरो मामाघर थियो । सोही स्थानका लागि बिहानको ११ बजे बसको टिकट लिएर यात्रा शुरु गरियो । मैले यात्रा गरेको स्थान बानरहाटसम्म थियो । रोचक कुरा के छ भने मैले यात्रा गरेको स्थानमा वा त्यो भूगोलमा जहाँ जहाँ गएँ, ढुक्कसँग नेपाली बोल्दा सबैले बुझ्ने र बोल्ने रहेछन् । चाहे त्यो त्यस ठाउँको आदिवासी जनजाति होस्, बंगाली होस् वा अन्य मुलुकका मानिस, नेपाली भाषी अत्यधिक रहेको पाइयो ।

बसमा यात्रा गर्दा चालक र सहयोगीले गरेको सम्मान, यात्रीलाई गरेको सत्कार उदाहरणीय देखें । पानीट्याङ्कीबाट चालसा यात्रामा हिंडेकी बूढीआमा झुक्किएर बानरहाट नजिक पुग्नुभएछ । त्यसपछि बसका चालक र सहयोगीले अर्को बस खोजेर गाडीमा चढाइदिए । पैसा पनि तिरिदिए । उनीहरूले बूढीआमालाई गन्तव्यसम्म पुर्‍याउने सुनिश्चितता गरेर उनीहरूको कर्तव्य पूरा गरे ।

निकै राम्रो र सहयोगी मनहरू पाउँदा बसमा यात्रा गरेका सबै यात्रीहरू खुशी देखिन्थे । चार घण्टा लामो बसको यात्रापछि जलपाइगुडी जिल्लाको बानरहाट बजारमा पुगियो । बानरहाटदेखि सानो भेन मार्फत कटलगुडीतिर यात्रा शुरु भयो ।

एक घण्टा ३० मिनेटको यात्रापछि गन्तव्य नजिक पुगियो । सिटी रिक्सामा ३० मिनेट जति यात्रा गरेपछि कटलगुडी पुगियो । कटलगुडीमा बग्ने खोला खानावर्ती वारि भारतको पश्चिम बंंगाल जलपाइगुडी र त्यही खोलाको पारि भूटानको गाउँ, पहाडी भेग पर्दो रहेछ । भूटानमा अन्तर्राष्ट्रिय आवतजावत बन्द भएकोले भूटानको यात्रा गर्ने रहर हुँदाहँुदै पनि जान सकिएन ।

भारतमा २८ स्टेट प्रत्येक प्रान्तको आफ्नो आफ्नो नियम, कानून, कर्तव्य र अधिकार छ । म पश्चिम बंगालको जलपाइगुडी जिल्लाको कुरा गर्न गइरहेको छु । पश्चिम बंगालमा मात्र लगभग ९ करोड जनसंख्या अर्थात् नेपालको भन्दा तीन गुणा बढी जनसंख्या रहेको तथ्याङ्क पाइन्छ । त्यहाँको प्रमुख आयस्रोत चिया र काठ रहेको पाइन्छ ।

भौगोलिक दृष्टिकोणमा चुरे क्षेत्र, पहाड र तराई रहेछन् । मुख्य बासिन्दा आदिवासी, मधेशी, नेपाली र बंगाली रहेछन् भने औपचारिक भाषा बंगाली र हिन्दी रहेछ भने अन्य भाषामा नेपाली पनि प्रयोग हुने रहेछ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी जो कंग्रेस इण्डियाबाट पार्टी फुटाएर चुनावबाट भारी मतले जितेर मुख्य मन्त्री भएकी हुन् । अहिले उनै ममता बेनर्जी मुख्यमन्त्री छिन् । त्यहाँ र पूरै भारतमा रासन कार्ड मार्फत प्रत्येक भारतीयलाई खानका लागि चामल, आँटा, चिनी, तेल, अनिवार्य चिजहरू सरकारको तर्फबाट प्रत्येक घरलाई उपलब्ध हुन्छ । आजभोलि कोरोना कहरका कारण प्रत्येक व्यक्तिलाई पाँच केजी चामल आँटा थप गरिएको थियो ।

प्रत्येक विद्यार्थीलाई स्कूलका तर्फबाट तीन केजी चामल थप गरिएको रहेछ । सरकारी विद्यालयमा प्रत्येक विद्यार्थीलाई विद्यालय पोशाक, स्कूलमा खाना, खाजा र किताब निःशुल्क रहेछ । प्रत्येक विद्यार्थीको बैंक खाता खोलिदिने र ८ कक्षा पास गरेपछि छात्रालाई एउटा साइकल, १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था रहेछ । लगत्तै थप अध्ययनका लागि ६० हजार ऋण, १० कक्षा पास गरेपछि ल्यापटप किन्न १० हजार दिने वा ल्यापटप उपलब्ध गराइदिने सम्पूर्ण काम स्थानीय गाउँ पञ्चायत र प्रान्तले गरेको रहेछ ।

तर अलि बढी साम्प्रदायिक, धार्मिक सरकार भयो कि भन्ने उनीहरूको अनुभूति पाएँ । यो हिन्दु, मुसलमान, क्रिश्चियन लगायतका विभिन्न धर्म मान्ने सबैको विशाल भारत हो भन्ने उनीहरूको बुझाइ रहेछ

जलपाइगुडी जिल्लाका चिया बगानहरू सरकारको स्वामित्वमा रहेछन् । चिया बगानमा काम गर्ने कामदारलाई सरकारले आवासको व्यवस्था गरिदिएको रहेछ । सम्पूर्ण कामदारलाई खानाका निम्ति रासन कार्ड मार्फत दाल, चामल, आँटा, चिनी, तेल, नुन उपलब्ध गराइदिने, स्वास्थ्यका लागि ५ लाख बराबरको स्वास्थ्य बीमाको व्यवस्था भइरहेको रहेछ । सरकारको तर्फबाट गरिदिने यी चार काम खान, बस्न, शिक्षा र स्वास्थ्य राज्यले जनतालाई उपलब्ध गराइदिएपछि त्यहाँका जनता सरकारसँग खुशी छन् । प्रायः नेपाली मूलका जनता बसोबास गर्ने बानरहाटमा खान-बस्नलाई समस्या नरहेको बताउँछन् ।

नेपाली मूलका बासिन्दाको बाहुल्य भएको ठाउँमा नेपाली परम्परा र संस्कृतिलाई फलो गरेको पाइन्छ । उनीहरूको चाडपर्वहरू यता नेपालमा जस्तै त्यहाँ पनि हर्षोल्लासका साथ मनाउने नेपालमा आउने, नेपालका आफन्त इष्टमित्र उता जाने, दुःखसुखमा सहयोग आदानप्रदान गर्ने गरेको पाइन्छ ।

त्यहाँका जनता चियाबगानमा काम गर्दछन् । जस्तै- चिया टिप्ने, दवाइ लगाउने, नयाँ नर्सरी लगाउने, गोड्ने, प्याक गर्ने आदि । त्यहाँ १६ वर्षदेखि ६० वर्षका मानिसलाई काममा लगाउन पाइने व्यवस्था रहेछ ।

सम्पूर्ण चियाबगान सरकारी भएको हुनाले त्यहाँ काम गरेपछि उपदान, पेन्सन हुने व्यवस्था रहेछ । ६० वर्ष पूरा गरेपछि एकमुष्ट पैसा आउने र प्रत्येक महीना पेन्सनका रूपमा पैसा आउने, वृद्धभत्ता ६० वर्ष पूरा भएपछि एक हजार रुपैयाँ पाइने । यो सबैले गर्दा त्यहाँ बसोबास गरेका वृद्धवृद्धा खुशी देखिन्छन् ।

प्रायः सबैको घरमा एक दुईवटा गाई, बाख्रा र परेवा देखिन्छन् । व्यावसायिक हिसाबमा हैन, दूधको चिया पिउनका लागि मात्र दूध बेच्ने चलनै रहेनछ । गाई फुकायो छोडिदियो । बेलुका आफैं घरमा आउने रहेछन् । चियापत्ती गाईले नखाने र कसैको घरमा करेसाबारी नहुने । दाल, खाना, अचार, रोटी, पुरी त्यहाँको मुख्य खाना रहेछ ।

मासु प्रायः सबैले खाने, बंगालीहरू माछा औधी मन पराउने हुँदा माछा, मासुको राम्रो खपत भएको देखियो । प्रत्येक घरमा प्रायः माछा विना खाना नखाने, कटलगुडी चिया बगानका स्थानीय नेपाली मूलका केदार भट्टराईले जानकारी दिए । चिया बगानमा काम गर्ने कामदारको दिनको न्यूनतम तलब दुई सय रुपैयाँ हुने र आफूलाई इच्छा लागेको दिन काममा नजाँदा केही फरक नपर्ने स्थानीय कामदारले बताए ।

‘हप्तामा दुई दिन काम गर्दा खान पुग्छ भने अरू दिन किन जानु ? आनन्दले बस्ने हो’, एक स्थानीयले भने ।

अहिले प्रत्येक भारतीय पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धिबाट प्रताडित छन् । नेपालको पैसासँग तुलना गर्ने हो भने लगभग एक लिटरलाई १८० रुपैयाँ पर्न आउँछ । प्रति लिटर भारु ११० पर्ने रहेछ । म गएको पश्चिम बंगाल जलपाइगुडी जिल्लामा खाना पकाउने एलपी ग्याँस पाउन बिजुलीको मिटर पाउन जस्तो सम्पूर्ण कागजात चाहिंदो रहेछ । सरकारी कार्यालयमा गएर निवेदन दिएर एक महीनामा एउटा ग्याँस सिलिण्डर मात्र उपलब्ध गराउने प्रावधान रहेछ । एक परिवार एक ग्याँस सिलिण्डर महिलाको नाममा लिंदा पैसा केही प्रतिशत फिर्ता समेत गरिदिंदो रहेछ ।

२० वर्षभन्दा माथि एक परिवारको दुई छोरीलाई विवाह गर्दा पश्चिम बंगालको सरकारले निश्चित रकम सघाउने रहेछ । विवाह गरिसकेपछि कागज पेश गर्दा विवाह खर्च भारु २५ हजार प्राप्त हुने रहेछ । गाउँ पञ्चायतले उपलब्ध गराउँदो रहेछ । सरकारी हस्पिटलमा लगेर बच्चा जन्माउँदा सुत्केरी यातायात खर्च पाँच हजार र सुत्केरी स्याहार, बच्चाको पौष्टिक आहार महीनैपिच्छे पाउने प्रावधान पश्चिम बंगाल सरकारले गरेको पाइयो ।

पश्चिम बंगाल जलपाइगुडी जिल्ला बानरहाट कटलगुडी टी स्टेटको चार दिन लामो बसाइमा त्यहाँका स्थानीय जनतासँग प्रत्यक्ष कुराकानी गर्ने मौका मिल्यो । प्रत्येक महीना जस्तो हिन्दु, मुसलमान, क्रिश्चियन, आदिवासीहरूको कला, संस्कृति र परम्पराअन्तर्गत चाडपर्वहरू आइरहन्छन् । सबैको सबैले सम्मान, आदर र सत्कार गर्दछन् । सबै धर्म, समुदाय एकआपसमा मिलेर बसेको अनुभूति गर्न सकिन्छ ।

राजनैतिक रूपमा त्यस क्षेत्रमा मुख्यतः तीन/चार वटा पार्टीको (राजनैतिक) चर्चा परिचर्चा सुनियो । पहिलो भाजपा (भारतीय जनता पार्टी), सीपीआई (कम्युनिष्ट पार्टी अफ इण्डिया), सीपीआईएम (कम्युनिष्ट पार्टी अफ इण्डिया मार्क्सवादी), भारतीय कंग्रेस पार्टी आदि । अहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल चलिरहेको छ । प्रधानमन्त्रीका रूपमा त्यहाँका स्थानीय जनता खुशी नै छन् तर अलि बढी साम्प्रदायिक, धार्मिक सरकार भयो कि भन्ने उनीहरूको अनुभूति पाएँ । यो हिन्दु, मुसलमान, क्रिश्चियन लगायतका विभिन्न धर्म मान्ने सबैको विशाल भारत हो भन्ने उनीहरूको बुझाइ रहेछ । राजनीतिले धर्मप्रतिको आस्थामा चोट पुर्‍याउनुहुँदैन । सबै धर्मप्रति समान दृष्टिले राज्यले हेरोस्, अनि सबैलाई आफ्नो सरकार र देशप्रति झन् बफादार र इमानदार बनाउँछ भन्ने उनीहरूको अनुभूति थियो । त्यही भएर सरकारको अब आउने चुनावमा कंग्रेस र कम्युनिष्टहरूको सिट बढ्ने र भाजपाको घट्ने अनुमान एक स्थानीयले लगाए ।

म एक नेपाली । रेल चढ्ने थियो । रेल चढ्दा नि रमाउनुपर्ने हाम्रो आफ्नै किसिमको अवस्था छ । बानरहाटबाट सिलगुडीसम्मको टिकट काटियो । भारु ५० मा र आठवटा स्टेशन पार गर्दै बानरहाटबाट नागाराकटा, डामडिम, चालसा, मालबजार, वडलाबारी, नागराकोट, सेवक हुँदै सिलिगुडीसम्म तीन घण्टाको रेलको यात्रा अनुभव लिने मौकाको भरपुर सदुपयोग गरें ।

पकेटमाराको अनुभव लिन पाइएन । चाय, चटपटे, गरम समोसा यात्राको क्रममा लिएर पहिलो रेलयात्राको अनुभव बटुल्दै सिलिगुडीबाट फेरि पानीट्याङ्कीसम्म बसयात्रा पनि गरें । मेचीपुल वारि आइपुग्दा आफ्नो देश आइपुगियो भनेर मनमा हर्ष उम्लन थाल्यो । खुशी हुँदै यात्रालाई अविस्मरणीय यादको रूपमा मन-मुटुभित्र लगेर ताल्चा लगाएँ । चाहिएको बेला मनको साँचो खोल्ने वाचासहित यात्रा समाप्त भयो ।

इटहरी-५, सुनसरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?