+
+

यसकारण जरूरी छ कृषि क्षेत्रको व्यवसायीकरण

पदम भण्डारी पदम भण्डारी
२०७८ कात्तिक १० गते ७:३०
फाइल तस्वीर

‘कृषि मुलश्च: जीवनम्’ अर्थात् जीवनको मूल आधार नै कृषि हो । यसमा कुनै शंका छैन । आदि मानवहरूले अनाजलाई काँचै खान्थे । पछि प्राकृतिक प्रकोप हुँदा आगोको उत्पत्ति भयो । आगोमा पोलेको अन्न खाँदा स्वादिष्ट भयो । यसैले गर्दा अन्न पोलेर, उसिनेर वा पकाएर खाने चलनको विकास भयो । हरेक मानवको लागि चाहिने आवश्यक खाना कृषिबाटै उत्पादन हुन्छ ।

कृषि कर्मको सुधारमा मानिसले धेरै कुरा जानेका छन् । कृषि कार्यको विकास हेर्दा मानिस, पशुदेखि लिएर मेसिनको प्रयोग भएको छ भने प्राङ्गारिक मलदेखि लिएर रासायनिक मलसम्म पुगेको छ । हाम्रो जस्तो विकासोन्मुख देशहरूले त कृषिमा नै निर्वाह गर्नुपर्ने बाध्यता छ तर यही पेशा आज किन सम्मानित हुन सकिरहेको छैन ? किन नेपालको कृषि निर्वाहमुखी मात्रै छ खोजको विषय छ ?

साँच्चै हाम्रो देशको विकास गर्ने हो भने पहिला कृषिलाई आधुनिकीकरण गरी व्यावसायिक बनाउनुपर्छ । यो भनेको कृषिलाई आधुनिकीकरण गर्ने नाममा बाहिरी प्रविधिलाई नक्कल गर्ने, त्यसलाई थेग्न नसक्ने र अलपत्र पार्ने काम गर्ने भन्ने होइन । हाम्रो देशका विशेषज्ञहरू खासगरी कृषिविज्ञ, कृषि प्राविधिक, योजनाकार, अर्थविद् र कतिपय राजनीतिक व्यक्तित्वहरू युरोप, अमेरिकाबाट वा त्यसैतर्फको अध्ययनबाट प्रभावित व्यक्ति छन् । त्यसैले गर्दा होला— हाम्रो वास्तविकता, विज्ञहरूको सुझाव र नीतिनिर्माणमा कहीं न कहीं समस्या छ । फलस्वरुप नेपालको अर्थतन्त्र अत्यन्त पछौटे अवस्थामा छ । करीब ५० वर्ष पहिले कृषि उत्पादकत्व र प्रतिव्यक्ति आयको हिसाबले नेपालभन्दा कमजोर रहेका कतिपय देशहरूले हामीलाई पछाडि पारिसकेका छन् । यसो हुनुमा एउटा मात्र कारण छैन । हामी धेरै कुराको भुमरीमा फसेका छौं । उक्त भुमरीबाट बाहिर निस्कन सबैभन्दा पहिले त नीतिनिर्माणमै जोड दिनुपर्छ ।

हाम्रो देशमा खेती गरिएको जमीनको भूस्वामित्व र भूमि वितरण प्रणाली र उपयोगको ढाँचा बदल्नु जरुरी छ । त्यसैगरी कृषिमा यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायीकरण कसरी गर्ने भन्नेबारे पनि हाम्रै जस्तो भौगोलिक बनोट भएका देशहरूको अनुभव उपयोगी हुन सक्छ । यसतर्फ हाम्रो अध्ययन, योजना, व्यवहार बढी निकट हुनु उपयोगी हुन्छ । कृषिको आधुनिकीकरण गर्ने, यान्त्रिकीकरण गर्न समथर तराई क्षेत्रमा जोत्न ट्याक्टर, सम्याउन डोजर, ओसारपसार गर्न ट्रिपर, ट्रक, बाली काट्न हार्भेस्टर, बाली झार्न थ्रेसर, यान्त्रिक सिंचाइ व्यवस्था, बीउ छर्ने, गोडमेल गर्ने, मल हाल्ने यन्त्रहरू उपयोगी हुन सक्छन् तर मध्य पहाडी भेग, हिमाली भेगमा यसरी सम्भव छैन । तर ती क्षेत्रमा पनि आधुनिकीकरण र यान्त्रिकीकरण जरुरी भने छ ।

यसका लागि कुन ठाउँमा के बाली, बिरुवा, वन, फलफूल जडीबुटी, मसला लगाउने हो, त्यसको समग्र पक्ष अध्ययन गरेर हरेक पकेट एरिया पहिचान गर्नुपर्छ । जुन ठाउँमा जे सबैभन्दा लाभकारी उत्पादन हुन्छ, त्यस ठाउँमा बाली लगाउने र त्यसकै लागि तालिम प्रशिक्षणको व्यवस्था गरेर कार्य विभाजन गराउनुपर्छ ।

श्रम विभाजनले जहाँ जसले जे उत्पादन गर्ने हो, त्यहाँ त्यसलाई त्यही विषयको ज्ञाता विशेषज्ञ बनाउनुपर्छ । यसका लागि राज्यको योजना र सम्बन्धित क्षेत्रका उत्पादक शक्तिको तत्परता आवश्यक पर्दछ ।

परम्परागत उत्पादन प्रणालीका सम्पूर्ण राम्रा पक्षलाई वैज्ञानिक रुप दिएर विकास गर्ने र परम्परागत उत्पादन प्रणालीका पछौटे र कमजोर पक्ष हटाएर त्यसको ठाउँमा आधुनिकीकरण गर्ने । यी दुवै पक्षलाई ध्यानमा राखेर हाम्रो देशको ठोस परिस्थिति र भौगोलिक बनोटका आधारमा कृषिलाई यान्त्रिकीकरण र आधुनिकीकरण गर्नुपर्छ ।

भूमिको स्वामित्वका क्षेत्रमा परिवर्तनका साथै उत्पादन विषय छनौट र आधुनिक बीउ विजनको विकास, सिंचाइ, कृषि सडक, कृषि सहकारी, कृषि उद्योग, कृषि बजारको व्यवस्थालाई एकीकृत ढङ्गले सञ्चालन गरी समाज विकासको चालक शक्तिलाई सचेत र सक्षम ढङ्गले अघि बढाउनुपर्छ

अहिले पनि कतिपय ठाउँमा भूमिलाई सही उपयोग गरिएको, सही बालीको छनौट गरिएको ठाउँमा उत्साहवर्धक उत्पादन भएका उदाहरण छन् । जुम्ला र मुस्ताङमा स्याउ खेती लाभकारी भएको छ । धादिङ र स्याङ्जाको सुन्तला, सिन्धुलीको जुनार, गुल्मीको कफी उत्पादनले नमूना देखाएको छ । त्यस्तै इलामको आलु, अम्लिसो, अलैंची, अदुवा, ओलन (दूध), चितवनको चैनपुरले वन व्यवस्थापन, नवलपरासीको भिउरानले मेवा, सर्लाहीको लालबन्दीले गोलभेंडा र बाराको सिमरौनगढले ताजा तरकारी फलाएर नमूना देखाएको छ ।

यसैगरी अनेक स्थानमा अनेक प्रकारका अन्न, फलफूल, तरकारी, जडीबुटी, मसला वनस्पति, बाली र पशुपक्षी पालन सम्भव छ र त्यसैलाई आधुनिकीकरण गरेर लैजानु जरुरी छ । यसका लागि हामी सबैले कम्मर कस्नु जरुरी छ । निराशा प्रगतिको बाधक हो ।

हाम्रो देशका कुल परिवारमध्ये अधिकांशले पारिवारिक श्रमले कृषि उत्पादन गर्दछन् । आफै र आफ्नै लागि उत्पादन गर्छन् । असार, मङ्सिर वा सिजनमा ज्यालामा केही दिन काम लगाए पनि अधिकांश श्रम आफैं गर्छन् ।

कहिलेकाहीं कतिपय ठाउँमा पर्म अर्थात् श्रम ऐंचोपैंचो गर्दछन् । आमरुपमा मध्यम किसान, सामान्य मध्यम किसान, निम्न मध्यम किसान परिवार यसरी चलेको छ, अर्को ठूलो सङ्ख्या गरीब किसान जोसँग अत्यन्त थोरै जमीन हुन्छ र बाँकी समय ज्याला गरेर खान्छन् । बाँकी भूमिहीन किसान, कमैया, हलियाका रुपमा खेतबारीमा काम गरेर जीविका चलाउँछन् । अर्को भनेको धनी किसान हुन् । उनीहरूसँग जमीन प्रशस्तै हुन्छ, आफू पनि काममा भाग लिन्छन् । प्रायः कामदार, हली, गोठाला, खेताला राखेर काम गराउँछन् ।

कृषिको आधुनिकीकरण गर्ने भनेको किसान समुदायभित्रको भूमिहीन, गरीब र मध्यम किसान परिवारभित्रकै सचेत वर्ग हो । यो शक्तिलाई विवेकपूर्ण ढङ्गले अघि बढाएर नै कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न सकिन्छ । यही अठोट र सिद्धान्त नै हाम्रो जस्तो विकासशील देशका लागि अनिवार्य छ । यसका लागि भूमिहीन, गरीब, निम्न मध्यम, मध्यम किसानलाई सङ्गठित गर्नुपर्छ । धनी किसानलाई साना किसानहरूसँग जोड्ने प्रणालीको विकास गर्नुपर्छ । साथै उत्पादनका साधन श्रमजीवी किसानमा पुर्‍याउने सम्पूर्ण आकार सिर्जना गरेर कृषिको आधुनिकीकरण एवं व्यवसायीकरणको जग बसाउन सकिन्छ ।

भूमिमा गरिने कृषि क्रान्तिले सामाजिक न्यायको क्षेत्रमा परिवर्तन ल्याउँछ र उत्पादनका क्षेत्रमा समेत परिवर्तनको जग बसाइदिन्छ । यसरी सामाजिक न्याय उत्पादन वृद्धिका लागि समग्र कृषि कृषिको आधुनिकीकरण एवं व्यवसायीकरणको जग बस्न जान्छ ।

भूमिको स्वामित्वका क्षेत्रमा परिवर्तनका साथै उत्पादन विषय छनौट र आधुनिक बीउ विजनको विकास, सिंचाइ, कृषि सडक, कृषि सहकारी, कृषि उद्योग, कृषि बजारको व्यवस्थालाई एकीकृत ढङ्गले सञ्चालन गरी समाज विकासको चालक शक्तिलाई सचेत र सक्षम ढङ्गले अघि बढाउनुपर्छ ।

जसरी हरेक परिघटनाको मूल भौतिक कारण हुन्छ, त्यसरी नै मानव समाजको विकासमा भौतिक शक्ति र उत्पादक शक्तिको विकासले यसको निर्धारण गर्दछ । उत्पादन र उत्पादन विकासका लागि औजार र अन्य भौतिक साधन आवश्यक पर्छ तर श्रमका लागि आवश्यक पर्ने औजार, श्रमका साधन आदि पनि मान्छेले नै बनाएका चिज हुन् । यसकारण समाज विकासको इतिहासमा प्रकृतिबाट प्राप्त भौतिक पदार्थलाई आफ्नो श्रम र सीपको प्रयोगबाट मानव उपयोगी बनाउन श्रमको भूमिका अत्यन्त महत्वपूर्ण छ । तर हाम्रो समाजमा वर्तमान अर्ध–सामन्ती, अर्ध—औपनिवेशिक अवस्थामा श्रम गर्ने उत्पादक शक्ति दबिएका छन् । शोषण, उत्पीडन, दमन र भेदभावको शिकार भएका छन् । सबैभन्दा कष्टकर स्थानमा बसेर कष्टकर श्रम गर्ने र उत्पादन गर्नेहरू सबैभन्दा अपहेलित, अपमानित र प्रगतिका अवसरबाट वञ्चित छन् ।

मूल उत्पादक शक्ति उत्पादनका साधनविहीन र दमित भएपछि विकासका तमाम ढोका अवरुद्ध हुनु स्वाभाविक हो । त्यसैकारण आज हाम्रो समाजको विकास गति मन्द अवस्थामा छ । यो अवस्था तोड्न र विकासको गति तीव्र बनाउनका लागि कृषिको आधुनिकीकरण एवं व्यवसायीकरण गर्न आवश्यक छ ।

(लेखक नेपाल कृषि बजार विकास कार्यक्रम -सहज परियोजनामा वरिष्ठ सल्लाहकारको रुपमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?