+
+

५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप लगाउन अमेरिकी विज्ञको सिफारिस 

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १३:४५

१० कात्तिक, काठमाडौं । अमेरिकाको एक सरकारी प्यानलले ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर/बायोइन्टेक खोप लगाउनुपर्ने सिफारिस गरेको छ ।

अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए) का विज्ञले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप लगाउनुपर्ने कदमको समर्थन गरेसँगै केही हप्ताभित्रै आतपकालीन अवस्थामा खोप लगाउन सकिने बाटो खुलेको बीबीसीले जनाएको छ ।

सेप्टेम्बरमा खोप उत्पादक कम्पनीले आफ्नो परीक्षणबाट फाइजर/बायोइन्टेक खोप उक्त उमेर समूहका बालबालिका लागि सुरक्षित देखिएको जनाएको थियो । नियमनकर्तासमक्ष पेश गरिएको परीक्षण नतिजा यो उमेर समूहका बालबालिकामा सशक्त एन्टीबडी निर्माण हुने देखाएको थियो ।

अमेरिकामा हाल १२ वर्षमाथिका बालबालिकालाई उक्त खोप यसअघि नै दिन थालिएको छ । पछिल्लो निर्णयबाट २ करोड ८ लाख अमेरिकी बालबालिका लाभान्वित हुनेछन् ।

एफडीए र सीडीसी (रोग नियन्त्रण तथा रोकथाम केन्द्र)ले अनुमति दिएपछि उक्त निर्णय लागू हुनेछ । एफडीएका विज्ञले खोप लगाएपछि यसबाट उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमभन्दा फाइदा धेरै भएको पनि बताएका छन् ।

अनुमित पाउन साथ ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई वयस्कलाई दिइने खोपको एकतिहाई मात्रा दिइनेछ । हालसम्म अमेरिकामा कोरोना भाइरसबाट सात लाख ४० हजार मानिसको मृत्यु भएको छ ।

यसैबीच, सोमबार मोर्डनाले परीक्षणबाट ६ देखि ११ वर्ष उमेर समूहका बालबालिकाको शरीरमा आफ्नो खोप लगाउँदा ‘भाइरसलाई जित्ने सशक्त एन्टीबडी’ उत्पादन हुने देखिएको र नियमनकर्ता समक्ष परीक्षणको नतिजा पेश गरिने बताएको छ ।

बेलायतले भर्खर मात्रै १२ देखि १५ वर्षका बालबालिकालाई कोभिड खोप दिन सुरु गरेको छ । स्वास्थ्य अधिकारीले उक्त उमेर समूहका बालबालिकालाई एक डोज खोप लगाउन सिफारिस गरेका छन् ।

बीबीसीका अनुसार ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिने निर्णय ऐतिहासिक भएको र यसबाट अन्य मुलुक समेत प्रभावित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?