+
+

भरतपुरको दुर्गा मन्दिरमा दलित र गैरदलित समुदायले गरे सामूहिक रुपमा पूजा  

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १३:२६

११ कात्तिक, चितवन । चितवनको भरतपुर महानगरपालिका-४ स्थित दुर्गा मन्दिर अहिले चर्चामा छ । दशैंको महानवमीका दिन मन्दिर नजिकै स्थानीय भीमबहादुर विकको कुटेर हत्या गरिएपछि उक्त मन्दिर चर्चामा रहेको छ ।

बिहीबार बिहान दुर्गा मन्दिर व्यवस्थापन समितिको आयोजना तथा विश्व ओमकार महासंघको समन्वयमा जातीय र धार्मिक विभेदको अन्त्य, सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले एक कार्यक्रम गरियो । कार्यक्रम लगत्तै प्रमुख अतिथि समेत रहेका भागवत् वाचक दीनबन्धु पोखरेलले दलित समुदायका महिलाहरुलाई मन्दिरभित्र प्रवेश गराएर पूजा गरे । स्वस्तिक वाचन गरे ।

त्यसक्रममा मन्दिरका पूजारी होमनाथ पोखरेल समेत सँगै थिए । स्थानीय जनप्रतिनिधिसमेत रहेकी कोपिला परियारले मन्दिरमा पूजा गरेर पण्डित दीनबन्धु पोखरेललाई टीका लगाएर प्रसाद दिइन् । परियारले आफूहरु मन्दिरमा प्रायः सधैं आएर पूजापाठ गर्ने, कसैले पनि विभेद नगरेको बताइन् । जातीय र धार्मिक कारणले भीमबहादुरको हत्या नभएको उनको दाबी छ ।

पण्डित पोखरेलले धर्मले घटना मन्दिरसँग सम्बन्धित नभएको बताए । समुदायमा सद्भाव कायम गर्न, दलित समुदायको मनोबल माथि उठाउन आफूहरु मन्दिरमा आएर दलित समुदायसँग पूजापाठ गरेको उनको भनाइ छ ।

दलित समुदायको मनमा रहेका दुविधा, उनीहरुमा रहेको आक्रोश र संकोचलाई कम गराउने भन्दै गरिएको उक्त कार्यक्रमको सञ्चालन दलित नेता समेत रहेका विश्व ओमकार महासंघका महासचिव कर्ण विश्वकर्माले गरेका थिए ।

महानवमीको दिन स्थानीय ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठको कुटपिटबाट ५८ वर्षीय भीमबहादुर विकको मृत्यु भएको थियो । कुटपिटमा संलग्नहरुलाई पक्राउ गरी प्रहरीले ज्यान मार्ने कसूरमा मुद्दा चलाएको छ ।

पोष्टमार्टम रिपोर्टमा भीमबहादुर विकको मृत्यु टाउकोमा लागेको चोटकै कारण भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?