+
+

प्रतिनिधिसभा बैठक १८ दिनका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १९:४३

११ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरे ।

सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे । सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको सूचना सभामुखले प्रस्तुत गरेपछि सभाले स्वीकृत गर्‍यो ।

त्यसपछि सभामुख सापकोटाले अर्को बैठक कात्तिक २९ गते दिउँसो १ बजे बस्ने जानकारी दिए ।

एमालेको नाराबाजी कायमै

बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजी भने कायमै रह्यो । सभामुख सापकोटाले ‘प्रतिनिधिसभाको कामकारबाही शुरु हुन्छ’ भन्ने बित्तिकै एमालेका सांसदहरुले नाराबाजी शुरु गरे । सभामुखले सदनको कामकारबाही अवरुद्ध हुँदा जनसरोकारका विषयमा छलफल हुन नपाएको भन्दै संसदमा जारी नराबाजी रोक्न खुलाउन एमालेका सांसदहरुलाई आग्रह गरे । तर, एमालेले नाराबाजी कायमै राख्यो ।

२३ साउन २०७८ बाट शुरु भएको चालु अधिवेशनमा एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ । एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने माग राखेको छ । अन्यथा सदन चल्न नदिने उनीहरुको अडान छ ।

तर, सभामुख सापकोटाले यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भनेर एमालेलाई सम्झाउँदै आएका छन् । एमालेले भने १४ जना सांसद कारबाहीमा परेको सूचना टाँस नगर्ने भए सभामुखले राजीनामा दिनुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?