+
+

सुनचाँदी पसल लुटपाटमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १९:०२

११ कात्तिक, जनकपुरधाम । पाँच महिनाअघि महोत्तरीको एक सुनचाँदी पसलमा आक्रमण गरी लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ पुर्नवास निवासी कारी भनिने विश्वनाथ पासवान छन् ।

पासवानसहितको समूहले गत असार ३ गते सम्सी गाउँपालिका-१ पर्सा बजार बस्ने ५७ वर्षीय वीरेन्द्र साहले सञ्चालन गरेको राजीव ज्वेलर्समा आक्रमण गरी लुटपाट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहको पसलमा प्रवेश गरी पासवानसहितको समूहले उनकी पत्नी सुशिला देवी, छोराहरू शम्भु साह, राजीव साह र छोरी कञ्चन कुमारीमाथि रडले आक्रमण गरेको थियो । पसल सञ्चालक साहको ढाडमा गोली प्रहार गरी सो समूहले ८ लाख ९७ हजार २ सय बराबरको नगद तथा सुनचाँदीका गरगहना लुटेर लगेको थियो ।

लुटपाटमा संलग्न व्यक्तिहरू मध्येका मुख्य योजनाकार पासवान नै रहेको प्रहरीको भनाइ छ । महोत्तरीको सोनमा गाउँपालिका-३ रघुनाथपुरमा घुमफिर गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको र उनीमाथि थप अनुसन्धान भइहेको महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए । विष्टका अनुसार पासवान विभिन्न अपराधिक घट्नामा समेत संलग्न रहेको पाइएको छ । २०६६ वैशाख ७ गते पासवानसहितकाले हतियार देखाउँदै सर्लाहीका राम किशोर महतोको साथमा रहेको नगद ७ लाख ५० हजार रुपैयाँ लुटेका थिए । उनीविरुद्ध सर्लाहीमा डाँका तथा हातहतियारसम्बन्धी मुद्दा पनि चलेको उनले बताए ।

२०६४ भदौ १९ गते लालबन्दीबाट नयाँ रोड हरिवनतर्फ गइरहेको ना २ ख ८७८५ नम्बरको ट्रकमा बम प्रहार गरी आगो लगाइ क्षति पुर्‍याएको घट्नामा पनि पासवानमाथि मुद्दा रहेको उनले बताए ।

यस्तै, पासवान सिरहाको मिर्चेयामा २०७३ साल असार १ गते भएको रु २ लाख १७ हजार बराबरको गहना लुटपाट, सर्लाही, धनगडीमाई–४ बस्ने प्रदिपकुमार साहको घरकोठामा प्रवेश गरी कुटपिट गर्दै अपहरण गर्न खोजेको घट्नामा तथा रुपन्देहीमा गरगहना लुटपाट गरेको घट्नामा उनीविरुद्धमुद्दा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?