+
+
Shares

प्रदेशसभालाई नागरिकमैत्री बनाउनुपर्नेमा जोड 

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १८:५४

११ कात्तिक, विराटनगर । प्रदेशसभालाई नागरिकमैत्री बनाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । बिहीबार विराटनगरमा ‘संसदको खुलापन र पारदर्शी अभियान’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले संसदका गतिविधि आम नागरिकका लागि खुला हुनुपर्ने बताए ।

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशलाई नागरिकमैत्री बनाउन आफूहरु सधैं तयार रहेको बताए । संसदको खुलापनका लागि पारदर्शी अभ्यास बढाएर नागरिकमैत्री बनाउने उनले बताए ।

‘नागरिकको सर्वोच्च संस्था भएकाले आम नागरिकको पहुँच सुनिश्चित गर्न हामी तयार छौं,’ उनले भने, ‘अन्य प्रदेशको तुलनामा प्रदेश १ खुला र नागरिकमैत्री छ ।’ प्रदेशसभामा नागरिकका लागि पनि सिटको व्यवस्था गरिएको उनले बताए ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले प्रदेशसभाबाट हालसम्म निर्माण भएका कानून र गतिविधिको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा खुला संसदका अभियन्ता तारानाथ दाहालले कार्यपत्र प्रस्तुत गर्दै संघीय संसदको तुलनामा भर्खरै स्थापित प्रदेशका संसद नागरिकमैत्री बनाउनुपर्ने बताए ।

प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संसदमा आम नागरिकको सोझै प्रवेश गर्न दिने व्यवस्था गर्नुपर्ने बताए । जनता समाजवादी पार्टीका नेता जयराम यादवले संसदको गतिविधि इन्टरनेट मात्र नभएर रेडियो र टेलिभिजनहरुबाट प्रसारण गर्दा अझ प्रभावकारी हुने बताए ।

संघीय लोकतान्त्रिक मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले मिडियाले पुरुष सांसद र ठूला दलका कुराभन्दा पनि महिला सांसदले उठाउने विषयलाई स्थान नदिने गरेको गुनासो गरिन् । नेकपा माओवादी केन्द्रका सांसद कुलप्रसाद साम्बाले सांसदहरुले नै मिनी संसद (समितिको बैठक)मा चासो नदिँदा असल अभ्यास हुन नसकेको बताए ।

सामाजिक विकास समिति सभापति सरिता थापाले असल संसदको मुख्य आधार नै खुलापन भएकाले विषयत समितिलाई अझै पारदर्शी बनाउनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?