
१५ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले संविधानको मूल्य, मान्यता विपरीत गएर प्रदेश सरकारले प्रेस स्वतन्त्रता हनन् हुन नदिने भन्दै ढुक्क हुन पनि पत्रकारहरुलाई आग्रह गरे।
नेपाल पत्रकार महासंघ, कास्की शाखाले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रक्रियामा गईसकेको मिडियासम्बन्धि विधेयक पत्रकारहरुसँगकै छलफलमा परिमार्जन गरेर अघि बढन आफूहरु तयार रहेको बताए ।
‘पत्रकार जगत पनि, नागरिक समाज हाम्रा लागि लोकतन्त्रको अपरिहार्य अंग भएकाले पूर्ण स्वतन्त्रता लोकतन्त्रमा हुनुपर्छ भनेर हाम्रो संविधानले स्वीकारी सकेको अवस्था छ । यस अवस्थामा यहाँहरुले जुन आशंका उठाउनु भएको छ, त्यो स्वभाविक हो । यहाँ सरकार परिवर्तन भयो । त्यो विधेयक फिर्ता लिएको भए पनि हुन्थ्यो भन्ने तर्क आउँछ ।’ मुख्यमन्त्री पोखरेलले भने, ‘त्यो विधेयक प्रक्रिया गइसकेको हुनाले त्यो विधान समितितिर गएको छ । सरकारले संविधानको मूल्य र मान्यता विपरीत गएर पूर्ण स्वतन्त्रताको भावना विपरित कुनै पनि विधेयक बनाउँदैन । ’
मुख्यमन्त्री पोखरेलले पत्रकारहरुकै सहयोगमा स्थापित भएको आफू नेतृत्वको प्रदेश सरकारले प्रेस स्वतन्त्रता विरोधी कुनै पनि कानुन नबनाउने बताए । उनले हाम्रो संविधानले प्रेस स्वतन्त्रतालाई स्विकार गरिसकेको हुनाले त्यस विपरित कुनै पनि खालको काम गर्न नमिल्ने समेत स्पष्ट पारे ।
प्रतिक्रिया 4