१७ कात्तिक, जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता उमाकशंकर अरगरियाले उपेन्द्र यादवले मधेशको मत बेचेको आरोप लगाएका छन्। मधेशका जनताले आफ्ना प्रत्यक्ष उम्मेदबारलाई मत दिएर जिताए पनि समानुपातिकका लागि दिएको मत उपेन्द्रले बेचेको उनले बताए।
धनुषाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य समेत रहेका अरगरियाले मधेशको समानुपातिक मतलाई काठमाडौं गएर उपेन्द्रले बेचेको बताए । ‘भोट हाम्रो धनुषा जिल्लाको। तर सांसद कसलाई बनायो ? राजेन्द्र श्रेष्ठ, रेणुका गुरुङ्ग, लिला सिटौलालाई’ उनले भने, ‘मधेशको मत बेचिएको हो कि होइन् ?’
यो कुराको हिसाब माग्दा उपेन्द्रले जवाफ दिन नसक्ने उनले बताए। ‘काठमाडौंबाट पार्टीलाई २ सय ४० मत आएको थियो’ उनले भने, ‘तर, सबै मधेशको मतलाई काठमाडौंमा बेचियो ।’
आफू उक्त पार्टीमा रहँदा जय मधेश समेत नभन्न सिकाएको उनले स्मरण गरे। ‘काठमाडौंको एउटा बैठकमा मैले जय मधेशभन्दा संघीय अभिभावदन भन्न भनियो’ उनले भने, ‘झन् पार्टी अध्यक्ष उपेन्द्रले माइक समातेर मधेश जाँदा मधेश भन्ने, लिम्मुबानमा गएर लिम्मुबान भन्ने तर पार्टीभित्रमा संघीय अभिभावदन भन्न सिकायो । के म त्यसलाई मधेशी पार्टी भन्न सक्छु ?’
उपेन्द्रजी १८ महीना सरकारमा रहँदा मधेशी जनतासँग पनि रकम लिएर सरुवा बढुवा गरेको आरोप लगाए । ‘सरुवा बढुवाको नाममा रकम असुली गर्न आफ्नै छोरालाई स्वकीय सचिव राखेका थिए’ उनले भने, ‘यो कुरालाई बिर्सन सकिन्न ।’
उनले प्रदेश २ मा दुई तिहाई बहुमत रहेको भन्दै २ नम्बरिया छाप हटाएर मधेश नामाकरण गर्न आग्रह गरे । मधेश नामाकरण गर्दा लोसपाले खुल्ला हृदयले सहयोग गर्ने उनले बताए।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4