+
+

डर्टमण्डलाई हराउँदै अयाक्स नकआउट चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते ७:१४

काठमाडौं । डच क्लब अयाक्स युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ३-१ ले पराजित गर्दै अयाक्स दुई खेल अगावै अन्तिम १६ मा पुगेको हो ।

डर्टमण्डको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै अयाक्सले पुनरागमन जित हात पारेको हो ।

खेलको २९औं मिनेटमा माट्स हुमेल्सले रातो कार्ड पाउ मैदान बाहिरिए पनि ३७औं मिनेटमा मार्को रिउसले पेनाल्टीमा गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफको अन्तिम १८ मिनेटमा अयाक्सले ३ गोल फर्कायो । ७२औं मिनेटमा डुसान टाडिकले बराबरी गोल फर्काए । त्यसपछि सेबास्टिएन हलरले ८३औं र डेभी क्लासेन इन्जुरी टाइममा गोल गरेपछि अयाक्स ३-१ ले विजयी भयो ।

जितपछि अयाक्सले अपराजित यात्रा कायम राख्दै चार खेलबाट १२ अंक जोडेको छ । समान खेलबाट ६ अंक रहेको डर्टमण्ड दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले टर्किस क्लब बेसिकटासलाई ४-० ले पराजित गरेको छ । स्पोर्टिङका लागि पेड्रो गोनकाल्भेसले दुई तथा पाउलिन्हो र पाब्लो साराबियाले एक एक गोल गरे ।

स्पोर्टिङ ६ अंक जोडेर तेस्रो स्थानमा छ भने लगातार चौथो हारपछि बेसिकटास अंकविहीन हुँदै पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?