+
+
अग्रपथ :

अग्रगमनको तर्कशास्त्र

डम्बर खतिवडा डम्बर खतिवडा
२०७८ कात्तिक २१ गते १५:१२

सृष्टि स्वयं एक बहुआयामिक अस्तित्व हो । प्रकृति आफैंमा एक गैरएकलरेखीय (ननलिनियर) परिघटना हो । सृष्टिका यी गुण, चरित्र वा बिशेषता जब मानव अस्तित्वमा आरोपित हुन्छन्, प्रकृतिको सारतत्व जब मानव चेतनमा प्रकट हुन्छ– बहुलवाद एक स्वाभाविक र सार्वभौम सत्य बन्न पुग्दछ ।

बहुलवाद अर्थात् विचारको बहुलतालाई स्वीकार गर्ने दर्शन । मान्छेका सोच विविध छन् । मान्छेका आवश्यकता, चाहना, माग, इच्छा र रुचि विविध छन् । मान्छे जन्मे, हुर्के, बढे, बाँचे र मरेको भूगोलको बनौट र सामाजिक परिवेश विविध छ । मान्छेको नश्ल, जाति, भाषा, धर्म, संस्कृति, इतिहास, मूल्यमान्यता र जीवन प्रणाली विविध छन् । मान्छेको मनोविज्ञान विविध छ । मान्छेका उद्देश्य, आकांक्षा र महत्वाकांक्षाको स्तर विविध छन् । प्रकृति एक बहुआयामिक अस्तित्व भएजस्तै मान्छे एक बहुआयामिक अन्तर्विरोध हो । तर, अन्तर्विरोध मात्र हैन, त्यसभित्रको सामञ्जस्यता, लय र गति पनि हो ।

यो सत्यलाई स्वीकार गर्ने हो भने विचारधाराको विविधतालाई स्वीकार गर्नुपर्दछ । विविधताको औचित्य, गरिमा र सौन्दर्यलाई स्वीकार गर्नुपर्दछ । विविधताको समग्रताले नै सृष्टि बन्छ । विविधताको समष्टिले नै समाज बन्छ । विविधता सकारात्मक हो, विभेद नकारात्मक । विविधता र विभेद फरक–फरक कुरा हुन् । विविधताले सृष्टि सौन्दर्यको बहुआयामिकतालाई बुझाउँछ, प्रकट गर्दछ । विभेदले विविधताभित्रको कुनै खास प्रवर्गप्रतिको पूर्वाग्रह वा ‘बायसनेस’ लाई बुझाउँछ ।

बहुलवादले चिन्तन, सोच, अवधारणा र सिद्धान्तका प्रकार धेरै हुन्छन् भन्ने यथार्थ स्वीकार गर्दछ । कसैले देखेको, सुनेको, बुझेको, जानेको, भनेको कुरा मात्र सत्य हैन, त्यसभन्दा बाहिर पनि संसार छ, त्यसभन्दा पर पनि सत्यको अस्तित्व हुन्छ । सत्यका अनेक रूप छन् । सत्य आफैंंमा कुनै एक आयामिक अस्तित्व हैन । सत्यको अनेक आयामिकताले विचारका, विचारधाराका, सोचका, सिद्धान्तका, अनेक भावधारा बन्दछन् ।

हरेक विचार, सोच र सिद्धान्तले सत्यको कुनै न कुनै पाटो वा पक्षलाई पक्रेको, समातेको हुन्छ । मानवीय भ्रम कहाँ हो भने हामी त्यही कुनै आयाम, पाटो र पक्षलाई सम्पूर्ण ठान्न थाल्दछौं । अंशलाई समग्र ठान्न थाल्छौं । आफूले बुझेको, पक्रेको सत्य ठीक, अर्काले भनेको सत्य भ्रम वा झूट हो भन्न थाल्दछौं ।

यस्तो हुनुमा पनि कुनै व्यक्तिको मात्र दोष छैन । सत्यलाई समग्रमा बुझ्न सरल र सहज हुँदैन । सत्यलाई समग्रमा बुझ्न एक प्रकारको बुद्धत्व चाहिन्छ । तपस्या र ध्यान चाहिन्छ । अध्ययन, अनुभव र वैज्ञानिक दृष्टि चाहिन्छ । अन्वेषण, खोज र आविष्कार चाहिन्छ । यी चिज सबै व्यक्तिमा हुने कुरा भएन ।

अनेक वैचारिक भावधारामध्ये कुन विचार ठीक, कुन विचार बेठीक ? त्यो त्यसको वैज्ञानिकता र सान्दर्भिकतामा भर पर्दछ । निरपेक्ष रूपमा कुनै पनि विचार ठीक वा बेठीक हुँदैन । त्यसलाई समय र परिस्थितिसँग, काल र दिकसँग, औचित्य र अनौचित्यसँग तुलना गर्नुपर्दछ । यस्तो तुलना, विश्लेषण वा मूल्यांकनको तुलोले सान्र्दभिक र वैज्ञानिक देखायो भने त्यो ठीक हो । असान्दर्भिक र अवैज्ञानिक देखायो भने त्यो बेठीक हो ।

एउटा कालखण्डमा ठीक देखिएका कयौं कुरा अर्को कालखण्डका लागि बेठीक बन्न सक्दछन् । एक परिस्थितिमा ठीक देखिएका कयौं कुरा अर्को स्थितिमा बेठीक बन्न सक्दछन् ।

जस्तो– राजतन्त्र । यो सधैं र सबै अवस्थामा गलत नै थियो भन्न मिल्दैन । मानव जातिको विकासक्रममा जब आवधिक निर्वाचनको ज्ञान र चेतना थिएन, जब निर्वाचन गराउनका लागि सहज राज्य संरचना, सञ्चार, यातायात, छापाखाना र सामग्रीहरू थिएनन्, त्यतिखेर राजतन्त्र सान्दर्भिक सोच थियो । आवश्यक सोच थियो । किनकी त्यतिखेर पनि राज्य चाहिन्थ्यो ।

राज्य सञ्चालक वा शासक चाहिन्थ्यो । राज्यसञ्चालक वा शासक छनौट वा निर्वाचन गर्ने अरु तरिकाबारे मानिस अनविज्ञ थिए । समाज असक्षम थियो । तसर्थ, राजतन्त्रवादी सोच पनि कुनै समयका लागि ठीकै थियो । सिद्धान्ततः त्यो बेठीक नै थियो होला तर व्यवहारिक हिसाबले औचित्यपूर्ण थियो ।

अब कांग्रेसलाई वामपन्थी भन्ने कि एमालेलाई ? यो मुद्दामा एमालेभन्दा त कांग्रेस धेरै प्रगतिशील र वामपन्थी देखियो भने एमाले दक्षिणपन्थी । अझै एमालेलाई वामपन्थी भनिरहनु भन्दा असान्दर्भिक कुरा के होला ?

अब समय बददियो । परिस्थिति बदलियो । समाजको विकासस्तर फरक भयो । मानिसमा लोकतान्त्रिक चेतना र शिक्षा आयो । राज्य संचरना, संगठन, विज्ञान, प्रविधि, यातायात र सञ्चारको कारण समाज फरक भयो । निर्वाचन सम्भव भयो । अब राजतन्त्र असान्दर्भिक भयो । अब राजतन्त्रवादी सोच अनावश्यक भयो । अवैज्ञानिक देखिन थाल्यो । त्यसैले त्यसको पतन र अन्त्य भयो ।

विचार राम्रो वा नराम्रो, खराब वा असल, ठीक वा बेठीक हुँदैन । त्यो सान्दर्भिक वा असान्दर्भिक मात्र हुन्छ । उपयोगी वा अनुपयोगी मात्र हुन्छ । परिणामदायी र परिणामहीन मात्र हुन्छ । सान्दर्भिक, उपयोगी र परिणामदायी रहुन्जेल विचार राम्रो, असल र ठीक हो ।

असान्दर्भिक, अनुपयोगी र परिणामहीन बन्न पुगे विचार नराम्रो, खराब र बेठीक हो । कुनै पार्टी, दल वा संस्था पनि त्यही हो । सान्दर्भिक, उपयोगी र परिणामदायी रहुञ्जेल त्यस्ता पार्टी र संस्था ठीक हुन् । असान्दर्भिक, अनुपयोगी र परिणामहीन बन्न पुगेको दल वा अरु कुनै संस्था बेठीक हुन् ।

कुनै पनि विचारको कहिल्यै अन्त्य हुँदैन । कुनै पनि विचारले अर्को कुनै पनि विचारलाई सधैंका लागि निषेध गर्न सक्दैन । विचार जस्तोसुकै होस्, त्यो अमर हुन्छ । वैचारिक स्पेशको संकुचन र विस्तार हुन्छ । उही विचार कहिले फैलिन्छ, कहिले खुम्चिन्छ, चुनावैपिच्छे पार्टीहरूको भोट घटे वा बढेजस्तो । विचारको स्पेस संकुचन हुँदैमा त्यसलाई समाप्त, अन्त्य वा निषेध भएको भन्न मिल्दैन । विचारको स्पेस अलिकति बढ्दैमा त्यो सधैंलाई विजयी वा कालजयी भएको ठान्न मिल्दैन । संकुचन भएका वा फैलिएका, जितेका वा हारेका, संस्थापन वा प्रतिपक्षी बनेका सबैखाले विचारको समग्रताले सृष्टि विचारसत्ता, अस्तित्वको बौद्धिकसत्ता निर्मित हुन्छ ।

एउटा समयमा मरे भनेका विचारहरू फेरि जाग्न र फैलन सक्दछन् । कुनै अर्को समयमा फेरि कमजोर हुन र खुम्चिन सक्दछन् । सृष्टिमा सास भएका प्राणीहरू मात्र हैन, कुनै पनि अस्तित्व एउटै रूपमा कालजयी हुन सम्भव छैन । हरेक चिजको कि स्थान बद्लिन्छ, कि उपयोगिता बद्लिन्छ, कि रूप बद्लिन्छ, कि गुण बद्लिन्छ, कि कुन न कुनै अरु पक्ष बद्लिन्छ । प्राणी जगत मात्र गतिमा हुने हैन, प्रकृति जगत अर्थात् निर्जीव भनिएका पदार्थहरू पनि गतिमा हुन्छन् । गति अस्तित्वको आन्तरिक अन्तर्विरोध र सामञ्जस्यताको सन्तुलन हो ।

गति हुनै पर्दछ । गति अत्यावश्यक छ । गतिवान हुन चाहेर कोही गतिमा हुने हैन । गतिमा नभए कुनै चिजको अस्तित्व नै कायम हुन सक्दैन । अस्तित्व स्वयं गति हो । गति स्वयम् अस्तित्व हो । तर, गति सधैं सन्तुलित न मानव उपयोगी नै हुन्छ भन्ने छैन । गतिका पनि विभिन्न रूप, स्तर र दर हुन्छन् ।

गति सन्तुलनमा हुनु मानवीय हितमा हुन्छ तर सर्वथा सन्तुलनमा हुुन्छ भन्ने ग्यारेन्टी हुँदैन । गति छ, सन्तुलन छैन, त्यो दुर्घटना हो । त्यसले ठूल्ठूला मानवीय विपत्तिहरू सृजना गर्दछ । सन्तुलन छ, गति छैन, त्यो जडता हो । जडताले अस्तित्वहीनतातिर प्रवृत्त गर्दछ ।

दुर्घटना र जडता पनि सृष्टिकै नियम हुन् तर मानव जीवनका लागि अनुपयोगी । मानव जीवनको सार, स्वतत्व र समृद्धिका लागि गति पनि चाहिन्छ, सन्तुलन पनि चाहिन्छ । अन्तर्विरोध पनि चाहिन्छ, सामञ्जस्यता पनि चाहिन्छ । जब सृष्टिसत्ताका यी सारहरू, यी लय, सुर र तालहरू, राजनीतिक विचारका रूपमा प्रकट वा अभिव्यक्त हुन्छन्, बहु–विचारको जन्म हुन्छ । विचारमा विविधता र बहुलता सृष्टिसत्ताकै चरित्र हो, केवल मान्छेको गुण हैन ।

धर्म, विज्ञान, दर्शन र कला क्षेत्रमा मात्र हैन, राजनीतिक क्षेत्रमा पनि संसारमा अनेक विचारधारा छन् । कसैले आफूलाई उदारवादी, लोकतन्त्रवादी, स्वतन्त्रतावादी वा पुँजीवादी भन्दछन्, कसैले राजतन्त्रवादी, सम्बद्र्धनवादी, रुढीवादी वा परम्परावादी । कसैले आफूलाई धर्मवादी, धार्मिकतावादी वा अध्यात्मवादी भन्दछन्, कसैले संघवादी, महिलावादी, जैविकतावादी वा अराजकतावादी । अनि कसैले आफूलाई समाजवादी, समानतावादी वा साम्यवादी भन्दछन् । यस्ता ‘वाद’ हरूको सुची र श्रृंखला अनन्त छ । जति नै सुसंगतिपूर्ण सिद्धान्त बनाए भने पनि त्यो अपूर्ण नै हुन्छ । मान्छेलाई सबै कुरा समेटिएजस्तो भान वा प्रतीत हुनु सक्दछ, तर समेटिएको हुँदैन ।

किनकी सत्य स्वयं परिवर्तनमा हुन्छ । पुराना सत्यहरूलाई बुझ्दाबुझ्दै नयाँ सत्यहरू जन्मिसक्दछन् । पुराना सत्यहरू समात्दा नसमात्दै नयाँ सत्यहरू उम्किन थाल्दछन् । जतिसुकै नयाँ वाद वा विचार बनाऔँ, त्यो पुग्दो हुँदैहुँदैन । वाद सत्यप्रतिको मानवीय रूझान र मोह हो । मानिसको जीवन र बौद्धिक सीमाले समातेको सत्यको मात्रा हो ।

एउटा जीवनमा जस्तै ज्ञानी, अध्ययनशील र बौद्धिक मान्छेले पनि सृष्टिका सबै सत्य बुझ्न सक्दैन । कसैसँग एउटाभन्दा थप जीवन हुँदैन । एउटा जीवनमा बुझेर नसकिनु, एउटाभन्दा धेरै जीवन कसैको नहुनु एक ठूलो अन्तर्विरोध हो । व्यक्ति वा मान्छेको सीमा हो ।

तसर्थ जस्तै ठूलो, चर्चित, स्थापित, बुद्धत्व प्राप्त व्यक्तित्व नै किन नहोस्, उसलाई सम्पूर्ण ठान्नु हुँदैन । प्रेरणा लिनु पर्दछ, उपयोगी चिज लिन पर्दछ, तर, मार्गदर्शनको स्थिर मानक कसैलाई पनि बनाउनु हुँदैन । तसर्थ व्यक्तिसँग जोडिएका वादहरूलाई मार्गदर्शक सिद्धान्त बनाउने प्रचलन नै गलत हो । चाहे त्यो जुनसुकै भावधारा र विचारको व्यक्ति, व्यक्तित्व होस् ।

कुनै वाद निरपेक्ष रूपमा सही वा गलत हैनन् । ठीक वा बेठीक हैनन् । असल वा खराब हैनन् । केवल समय र सान्दर्भिकताको कुरा हो । उपयोगिता र अवश्यकताको कुरा हो । जे चिज जतिखेर उपयोगी हुन्छन्, ती प्रयोगमा आउँछन्, परिणाम दिन्छन् । जे प्रयोगमा आउँदैनन्, ती समाप्त भए भन्ने हुँदैन । ती पृष्ठभागको अस्तित्वमा हुँदै हुन्छन् । अर्को कुनै समयमा ती उपयोगी भए भने ती पृष्ठभागबाट फेरि अगाडि रंगमञ्चमा आउन सक्दछन् ।

तसर्थ कुनै पनि विचारलाई हेप्नु हुँदैन । कुनै पनि विचारलाई अपमान वा दमन गर्नु हुँदैन । मानिसले आफ्ना विचार खुलेआम भनून्, लेखून्, बोलून् । मन परेको विचार छनौट गरून्, त्यो स्वतन्त्रता हुनुपर्दछ । विचारको खण्डन, मण्डन, वादप्रतिवाद मात्र हुन सक्दछ, दमन वा निषेध हैन । विचार बोक्नु, बोल्नु, लेख्न, बहस पैरवी गर्नु कुनै व्यक्तिको दोष वा गुण हैन । त्यो त सृष्टिको सार्वभौम नियम हो । सृष्टिको सार्वभौम नियम व्यक्तिमार्फत् प्रकट भएको मात्र हो ।

कुनै पनि व्यक्तिले कहिल्यै बिलकुलै नयाँ विचार भनिरहेको हुँदैन । नयाँ दाबी गरिए पनि त्यो कुनै न कुनै प्रकारले पुरानै चिजको पुनरावृत्ति हो । सृष्टिमै नभएको चिज मान्छेले कहाँबाट ल्याउन सक्दछ र भन्छ ? जबकि मान्छे आफैं सृष्टिको अंग हो । मान्छेले सृष्टिमा भएकै, आफ्ना वैचारिक प्रेरणा वा पूर्वज कसैले भनेकै, आफूले बुझेका र अनुभव गरेकै कुरालाई आफ्नो तरिकाले भन्दछ । भन्ने तरिका उसको मौलिक हो । तर भनेको कुरा मौलिक हैन । अलिअलि थपथाप नयाँ कुरा हुन सक्दछ, बिल्कुल नयाँ हैन ।

तसर्थ नयाँ र पुरानोको बहस पनि एक सापेक्षिक तुलना मात्र हो । बिलकुलै नयाँ, बिलकुलै पुरानो भन्ने त केही पनि हुन्न । हरेक नयाँ प्रविधि पुराना प्रविधिको जगमा परिमार्जन हुँदै आएका हुन्छन् । हरेक नयाँ आविष्कार पुराना आविष्कारको जगमा सम्भव भएका हुन्छन् । हरेक नयाँ विचार पुराना विचारकै जगमा पुनविश्लेषित वा पुनर्संश्लेषित भएका हुन्छन् । फरक कति मात्र हो भने कतिपय परिवर्तनले मात्रात्मक अर्थ राख्दछ, कतिपयले गुणात्मक । जुन नयाँ खोज, विचार, विज्ञान र प्रविधिले गुणात्मक अर्थ राख्दछ, त्यसको ऐतिहासिक भूमिका वा योगदान धेरै हुन्छ ।

जब कुनै अपरिचत व्यक्तिसँग भेट हुँदा हामी भन्छौं– आज नयाँ मान्छेसँग भेट भयो । यथार्थमा त्यो मान्छे नयाँ थिएन । त्यो मान्छे हिजोअस्ति देखि नै यही धर्तीमा थियो । तपाईको भेट मात्र पहिलोपटक भएको हो, मान्छे नयाँ हैन । ठीक त्यसै गरी कुनै विचार नयाँ लाग्नुको अर्थ त्यो विचार कसैले तुरुन्तै जन्माउँदैछ, सृजना गर्दैछ भन्ने हैन, त्यो विचार हामी पहिलोपटक सुन्दैछौं भन्ने मात्र हो । तसर्थ कोही पनि विचारक, कोही पनि राजनीतिक सिद्धान्तनिर्माता बिलकुल नयाँ हुँदैन । उसले आफ्नो समय र परिस्थितिका लागि उपयोगी हुनेगरी चिजलाई खोजेर आफ्नै तरिकाले विश्लेषण, संश्लेषण र प्रस्तुत मात्र गरिरहेको हुन्छ ।

विचार वा सिद्धान्त निर्माणको कर्तव्य र कार्यभार यही हो । देश र काललाई बुझ्नु, त्यसको अन्तर्विरोध र सामाञ्जस्तालाई बुझ्नु । त्यसको गति र सन्तुलनको सम्बन्ध, चरण र स्तरलाई बुझ्नु । त्यो देश र कालका समस्यालाई, उल्झन र पीडालाई हल गर्नु, समस्याका गुजुल्टा फुकाउनु, नयाँ चरणमा प्रवृत्त गर्न, गराउन मद्दत गर्नु ।

मानिसले आ–आफ्नो तरिकाले यस्तो प्रयास गर्दछन् । तर, सबैका प्रयासहरू एकसाथ उत्तिकै उपयोगी हुँदैनन् । तत्काल उपयोगी भएनन् भन्दैमा प्रयास निरर्थक पनि हुँदैनन् । प्रयास गर्नु आफैंंमा एक महान कार्य हो । प्रयास गर्नेमध्ये कोही सफल हुन्छ र परिणाम प्राप्त हुन्छ । प्रयास नै भएन भने को सफल हुने र परिणाम आउने ? सफल हुने प्रयास गर्नेमध्ये नै त कोही सफल हुन्छ । सबै प्रयास उत्तिकै सफल हुनै पर्दछ भन्ने छैन ।

प्रयास सफल हुनु, असफल हुनु पनि सृष्टिसत्ताकै सार हो, व्यक्ति वा संस्थाको दोष वा असक्षमता मात्र हैन । अवश्य कमजोरीले असफलताको सम्भावनालाई बढाउँछ तर सत्यको अर्को पाटो कमजोरी विनाको मान्छे हुँदैन । तसर्थ, जुनसुकै विचारधाराको मान्छे होस्, उसले निष्ठापूर्वक इमान्दार प्रयास गर्दछ भने उसको सम्मान गर्नुपर्दछ । उसको विचार मान्नु पर्छ भन्ने छैन, तर उसको निष्ठा, प्रतिबद्धता र प्रयासको सम्मान चाहिँ गर्नु पर्दछ ।

बृहत्तर वैचारिक परिप्रेक्ष्यमा राजनीतिक दल, आन्दोलन र नेतृत्वले बोकेको विचार, एजेण्डा र कार्यदिशाको अन्तर्य–स्थान (स्पेस अफ इसेन्स) निर्धारण गर्ने औजारलाई ‘राजनीतिक रंगावली’ (पोलिटिकल स्पेक्ट्रम) भन्ने गरिन्छ । परम्परागत रंगावली विश्लेषणमा तीनवटा स्थान देखाउने प्रचलन छन् । वामपन्थ, दक्षिणपन्थ र मध्यपन्थ । अर्थात् लेफ्ट, राइट र सेन्टर ।

सृष्टि आधारभूत रूपमा त्रिआयामिक नै हुन्छ– लम्बाइ, चौडाइ र उचाइ । कालमा भूत, भविष्य र वर्तमान भएजस्तो । तर, यो नै अन्तिम सत्य भने हैन । सृष्टिमा कैयौं चिजहरू चतुर्राङ्गिक, पञ्चाङ्गिक, षस्टाङ्गिक, अष्टाङ्गिक, नवाङ्गिक पनि छन् । जस्तो– दिशा । दिशा पूर्व, पश्चिम, उत्तर, दक्षिण गरी चार हुन्छ । अझ त्यसका नैरित्य, वायव्य, इशान र आग्नेय कोण हुन्छन् । यसरी हेर्दा दिशा भन्ने अस्तित्व आठ कोणीय भयो । अष्टाङ्गिक, अष्टआयामिक, अष्टकोणीय बन्छ । परम्परागत राजनीतिक रंगावली विश्लेषणले तीन विचारका तीन आयाम मात्र प्रस्तुत गर्नु यस्तै एक अपर्याप्त दृष्टिकोण हो ।

अझ कतिपयले त परम्परागत रंगावलीमा मुख्य दुई भाग वा विन्दु मात्र देखाउने गर्दछन्– ‘वामपन्थ’ (लेफ्ट) र ‘दक्षिणपन्थ’ (राइट) मात्र । वामपन्थ र दक्षिणपन्थ विभाजनको प्रारम्भ सन् १७८९ को फ्रान्सेली क्रान्तिबाट भएको थियो । फ्रान्सेली ‘नेशनल एसेम्बली’ मा राजाका समर्थक दाहिने हारका कुर्सीमा बस्थे । गणतान्त्रिक क्रान्तिका पक्षधर देब्रे हारका कुर्सीमा बस्थे । देब्रेतिर बस्ने वामपन्थी (लेफ्ट) भए । दाहिनेतिर बस्ने (राइट) भए । क्रान्तिकारी शक्तिलाई ‘लेफ्ट’ र क्रान्तिविरोधी शक्तिलाई ‘राइट’ भन्न थालियो तर, यो विश्लेषण पनि अबको युगको लागि पुग्दो छैन ।

दायाँ र बाँयाको बीचमा मध्यविन्दु हुन्छ नै । जस्तो कि राजतन्त्र कि गणतन्त्र भन्ने विवादको बीचमा संवैधानिक राजतन्त्र थियो । त्यसमानेमा फ्रान्सले वामपन्थको बाटो रोज्यो र बेलायतले मध्यपन्थको । तर, राजतन्त्र कि गणतन्त्र कि संवैधानिक राजतन्त्र भन्नु कुनै स्थिर एजेण्डा हैन । नेपालमा पनि यो बहस थियो– राजतन्त्रवादी पञ्चहरूलाई ‘राइट’ भनिन्थ्यो । संवैधानिक राजतन्त्रवादी कांग्रेस–एमालेलाई सेन्टर मानिन्थ्यो र गणतन्त्रवादीहरूलाई लेफ्ट भनिन्थ्यो । फ्रान्सको राज्यक्रान्तिमा जस्तै यो एजेण्डा नेपालका लागि पनि बन्द अध्याय बन्न पुग्यो । अब के त ?

अर्थात् कुनै खास एक एजेण्डाले मात्र राजनीतिक दलहरूको स्थान रंगावलीमा स्थिर हुन सक्दैन । एजेण्डा फेरिन्छन् । राजनीतिक दलका अडान र भूमिका पनि फेरिन्छन् । कांग्रेस–एमाले संवैधानिक राजतन्त्रबाट गणतन्त्रमा आए, त्यसैले मध्यमार्गीबाट वामपन्थी भइसके, राजावादीहरू निरंकुश राजतन्त्र छोडेर श्रृंगारिक राजतन्त्रको कुरा गर्न थाले । तसर्थ दक्षिणपन्थीबाट मध्यमार्गी भइसके भन्न मिल्दैन । समय र एजेण्डाको सापेक्षतामा राजनीतिक दलहरूको स्थान र भूमिका फेरिन्छ तर रंगावलीको अन्तर्य–स्थान उस्तैउस्तै हुन्छ ।

कुनै एउटा समयका क्रान्तिकारीहरू अर्को समयका प्रतिक्रान्तिकारी वा यथास्थितिवादी हुन सक्दछन् । हाम्रै देशमा ताजा उदाहरण छ– माओवादी हिजो क्रान्तिकारी शक्ति मानिन्थ्यो । दक्षिणपन्थी यथास्थितिवादी भनिएको एमालेसँग मिल्न पुग्यो । मिल्दा आफ्ना एजेण्डाहरू थाती राख्यो । एमालेजस्तै भयो । प्रचण्डपथ हरायो, जनताको जनवाद उदायो । फेरि फुट्यो । फेरि पुराना एजेण्डाहरू सम्झिंदै छ । यस्ता राजनीतिक शक्तिहरूको रंगावली स्थान निर्धारण गर्न सजिलो हुँदैन । स्थान स्थिरर पनि हुँदैन ।

वामपन्थ र दक्षिणपन्थको बीचमा ‘मध्यममार्ग’ (सेन्टर) हुन्छ नै । वामपन्थ र दक्षिणपन्थका दुई भाग र बीचमा हुने मध्यविन्दुको वरिपरि अनेक विन्दु हुन्छन् । जस्तै– वामपन्थ (लेफ्ट), दक्षिण झुकेको वामपन्थ (लेफ्ट अफ राइट लिनिङ), मध्यमार्गी वामपन्थ (लेफ्ट टु सेन्टर), दक्षिणपन्थ (राइट), चरम दक्षिणपन्थ (फार/अल्ट्रा राइट), चरम वामपन्थ (फार/अल्ट्रा लेफ्ट) वामतिर झुकेको दक्षिणपन्थ (राइट टु लेफ्ट लिनिङ), मध्यपन्थ (सेन्टर), मध्यवामपन्थ (सेन्टर टु लेफ्ट), मध्यदक्षिणपन्थ (सेन्टर टु राइट) आदि ।

यो भन्दा सजिलो उपाय पहिला रंगावलीलाई चार दिशाजस्तै चार कोठे बनाउन सकिन्छ । वामपन्थी, दक्षिणपन्थी, अग्रगामी र पश्चगामी । चार दिशाको बीचमा चार कोण, नैरित्य, वायव्य, इशान र आग्नेय रहेजस्तै चार कोठे रंगावलीमा चार कोणहरू हुन सक्दछन् । यस तरिकाले हेर्दा राजनीतिक रंगावली आठ कोठे बन्न पुग्दछ ।

समाज र राज्यलाई पछाडि फर्काउन चाहने, भूत, विगतमार्गी योजना र एजेण्डा भएका राजनीतिक शक्ति पश्चगामी हुन् । नेपालमा राजतन्त्र फर्काउन खोज्नु, गणतन्त्र, लोकतन्त्र समाप्त गर्न खोज्नु, संघीयता र धर्मनिरपेक्षता खारेज गर्न खोज्नु, सकारात्मक विभेद, समानुपातिकता, समावेशिता र सीमान्तकृत समुदायको आरक्षणलाई हानी पुर्‍याउन खोज्नु पश्चगमन हो ।

त्यसरी पूरै पुरानो फर्किने, फर्काउने त हैन, तर स्थापित मूल्यमान्यतालाई हानी पुर्‍याउन खोज्ने राजनीतिक शक्ति दक्षिणपन्थ हो । न अघि जाने न पछि जाने, वर्तमानलाई आर्दश मान्ने राजनीतिक प्रवृति यथास्थितिवाद हो । अहिले केही भएकै छैन, सबै नराम्रो मात्र छ भन्दै समूल परिवर्तन, भविष्य र क्रान्तिको कुरा गर्नु वामपन्थ हो । अहिलेका उपलब्धीहरूको रक्षा पनि गर्ने तर वर्तमानमा सीमित पनि नहुनु, भविष्यका सुसंगतिपूर्ण योजना र परिकल्पना निर्माण गर्दै अघि बढ्नु अग्रगमन हो ।

नेपालमा पश्चगमन र दक्षिणपन्थ चिन्न गाह्रो छैन, तर, ‘अग्रपन्थ’ र ‘वामपन्थ’ लाई फरक गरेर बुझ्ने प्रचलन स्थापित भइसकेको छैन, अब हुनु पर्दछ । वामपन्थी हुनु नै अग्रगामी हुनु हैन । चार कोठे रंगावलीमा अग्रपन्थ वामपन्थभन्दा फरक एक नयाँ स्थान, अडान, विन्दु र भूमिकाका रूपमा देखा पर्दछ । रंगावली विश्लेषणको यो तरिकामा अग्रपन्थ (फ्रन्टिज्म) भनेको अरुभन्दा फरक त हो नै, वामपन्थ भन्दा पनि फरक विन्दु हो ।

दुई कोठे रंगावली विश्लेषणमा वैचारिक कोणबाट उदारवाद, साम्यवाद, समाजवाद, अराजकतावाद, संघवाद, महिलावाद र जैविकतावादलाई ‘वामपन्थी’ विचारधारा मानिन्थ्यो । त्यसैगरी सम्बर्द्धनवाद, राष्ट्रवाद, फासीवाद र धार्मिक कट्टरतावादलाई ‘दक्षिणपन्थी’ विचारधारा मानिन्थ्यो ।

अग्रगामी शक्तिले आफूलाई अब वामपन्थी र साम्यवादी भन्न मिल्दैन । वामपन्थ र साम्यवादसँग निर्णायक सम्बन्धबिच्छेद गरेर मात्र साँचो अग्रगामी र समाजवादी हुन सकिन्छ । नववामपन्थी दृष्टिकोणमा साम्यवाद ‘पुरानो वामपन्थ’ हो ।

बेलायती गौरवमय क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति र अमेरिकी स्वतन्त्रता संग्रामको समय उदार लोकतान्त्रिक राजनीतिक शक्तिहरू क्रान्तिकारी मानिन्थे । वामपन्थी भनिन्थे । किनकी उनीहरू निरंकुश राजतन्त्रको साटो बहुदलीय लोकतन्त्र, निरंकुशताको साटो लोकतन्त्र, धार्मिक रुढीवादको साटो धर्मनिरपेक्षता र स्वतन्त्रता, साम्राज्यवादको साटो, राष्ट्रिय स्वाधीनतामा विश्वास गर्थे ।

सम्बर्द्धनवादको तुलनामा उदारवाद क्रान्तिकारी विचारधारा थियो । समाजवादीहरूले पछि उदारवादीलाई पुँजीवादी, दक्षिणपन्थी र आफूलाई वामपन्थी भन्न थाले । अर्थात् रंगावलीमा विन्दुहरू बद्लिए । सम्बर्द्धनवाद दक्षिणपन्थबाट चरमदक्षिणपन्थतिर धकेलियो । उदारवादी मध्यपन्थीजस्तो बन्यो भने समाजवादीहरूले वामपन्थको ठाउँ लिए ।

सन् १८५० को दशकमा परिदृश्य फेरि फरक भयो । सन् १८४८ मा कम्युनिष्ट घोषणापत्रको प्रकाशनपछि साम्यवादले अरु सबैलाई दक्षिणपन्थ र आफू मात्र वामपन्थ दावी गर्‍यो । साम्यवादी दृष्टिकोणमा समाजवादी पनि दक्षिणपन्थी देखिए । आज पनि यो तरिकाबाट बुझ्ने र विश्लेषण गर्ने प्रचलन हराइसकेको छैन । वामपन्थी भनेका कम्युनिष्टहरू हुन् भन्ने विश्वव्यापी बुझाई छ । पेरुका साइनिङपाथदेखि नेपालको एमालेसम्म आन का तान फरक सोच, एजेण्डा र अवधारणा बोक्ने दलहरूलाई वामपन्थको एउटै डालोभित्र राख्नु सर्वथा अनुचित, अवैज्ञानिक र असम्भव हो ।

अब त्यस्तो वर्गीकरण अप्रासंगिक भइसकेको छ । पार्टीको नाम र नेताको अनुहार हेरेर रंगावलीमा स्थान दिने प्रचलन अब अन्त्य हुनु पर्दछ । त्यसको साटो एजेण्डा र कार्यदिशालाई हेर्नु पर्दछ । किन त ? केही नेपाल कै उदाहरणबाट हेरौं ।

वामपन्थ वा दक्षिणपन्थ विचारधाराभन्दा बढी एजेण्डा र कार्यदिशासँग जोडिन्छ । एउटै विचारका दलको एजेण्डा फरकफरक हुन सक्दछ । उदाहरणको लागि नेपालमा एमाले, माओवादी केन्द्र र मसाल एउटै साम्यवादी विचारधाराका दल थिए/हुन् । तर, संघीयताको एजेण्डामा यी तीन दलका फरकफरक धारणा थिए । माआवादी केन्द्र संघीयताको पैरवीकर्ता थियो । एमाले संघीयताको पैरवीकर्ता थिएन तर सामान्य प्रशासनिक संघीयताप्रति आपत्ति गरेन । मसाल भने संघीयताको पूरै विरुद्धमा रह्यो, संघीयता नै खारेज हुनु पर्दछ भन्दैछ ।

विचारधाराले यी तीनवटै दल एउटै डालोमा पर्दछन्– मार्क्सवादी, लेनिनवादी माओवादी, साम्यवादी वा वामपन्थी । तर, संघीयताको एजेण्डाबाट हेर्दा– माओवादी केन्द्र वामपन्थी, एमाले मध्यमार्गी र मसाल दक्षिणपन्थी दल बन्न पुग्दछ । अर्थात् विचारधाराको आधारमा मात्र राजनीतिक दललाई वामपन्थी वा दक्षिणपन्थी वर्गीकरण गर्न सकिन्न । अझ त्यसभित्र नेकपा (विप्लव), मोहन वैद्य, सीपी मैनाली वा नेमकिपाको समेत स्थान निर्धारण गर्नुपर्‍यो भने त्यो झनै गञ्जागोलपूर्ण हुन्छ ।

जस्तो– नेपाली कांग्रेसलाई सोलोडोलो ‘मध्यमार्गी’ भन्न सकिएला । तर, प्रतिनिधिसभा विघटनको सवालमा कांग्रेस एमालेभन्दा धेरै बढी लोकतन्त्रवादी र क्रान्तिकारी देखियो ।

एमालेले संविधानवाद, विधिको शासन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तमाथि ठाडो आक्रमण मात्र गरेन, त्यसलाई पार्टी विधान महाधिवेशनबाटै वैधानिक मान्यता दिँदै गौरवीकरण गर्‍यो । अब कांग्रेसलाई वामपन्थी भन्ने कि एमालेलाई ? यो मुद्दामा एमालेभन्दा त कांग्रेस धेरै प्रगतिशील र वामपन्थी देखियो भने एमाले दक्षिणपन्थी । अझै एमालेलाई वामपन्थी भनिरहनु यो भन्दा असान्दर्भिक कुरा के होला ?

सोलोडोलो विश्लेषणमा कम्युनिष्टहरूलाई लेफ्ट र कांग्रेसलाई राइट भन्ने हो भने राप्रपा कस्तो राइट भन्ने प्रश्न उठ्छ । कांग्रेस र राप्रपा कुनै पनि अर्थमा रंगावलीको एउटै प्रकोष्ठभित्र पर्न योग्य शक्ति हैनन् । राप्रपा शायद ‘अल्ट्राराइट’ हो, जसलाई चारकोठे रंगावालीमा राख्छ ‘पश्चगामी’ भन्न सकिन्छ ।

यी उदाहरणहरूले के प्रस्ट गर्दछन् भने कुनै पनि राजनीतिक दल उसको औपचारिक विचारधारा के हो भन्ने आधारमा मात्र वाम वा दक्षिण हुँदैन । अग्र वा पश्च हुँदैन । खास ऐतिहासिक सन्दर्भ, एजेण्डा वा घटनाक्रममा तुलनात्मक दृष्टिकोण के कस्तो छ– यो पक्ष हेर्नुपर्छ । यो दृष्टिकोणबाट हेर्दा साम्यवाद वामपन्थ मात्र रहँदैन, कैयौं देशमा साम्यवादी दलले चरम दक्षिणपन्थ, दक्षिणपन्थ, मध्यपन्थ र चरमवामपन्थको भूमिका गरेको प्रष्ट देखिन्छ । यही कुरा अन्य विचारधाराका दलमा समेत लागू हुन्छ ।

यसर्थ दुई भागको रंगावली साटो एक्काइसौं शताब्दीमा सहज र उपयुक्त चार भागको रंगावली हुन्छ । एक– लेफ्ट (वामपन्थ), दुई–राइट (दक्षिणपन्थ), तीन– ब्याक (पश्चपन्थ), चार– फ्रन्ट (अग्रपन्थ) । यो वर्गीकरण अझ सजिलो गरी बुझ्न उदाहरणका रूपमा ‘समानता’ र ‘स्वतन्त्रता’ को ‘प्रवर्ग आव्यूह’ (क्याटेगोरिकल म्याट्रिक्स) बनाउन सकिन्छ । यस्ता थुप्रै प्रवर्ग विश्लेषण गर्न, म्याट्रिक्स बनाउन सकिन्छ ।

समानता छ, स्वतन्त्रता छैन– साम्यवाद हो । वामपन्थ हो । अर्थात् त्यस्ता सबै राजनीतिक शक्तिलाई ‘वामपन्थी’ भन्न सकिन्छ जो आर्थिक समानता र समाजवादको कुरा त गर्दछन् तर, स्वतन्त्रता र मानवीय गरिमा र सौन्दर्यका अन्य विभिन्न पक्ष र आयामलाई बेवास्ता गर्दछन् । लोकतन्त्रको प्रारूप र संस्कृतिप्रति उदासिन हुन्छन् । वामपन्थभित्र पनि वामपन्थ, चरमवामपन्थ र दक्षिणतिर झुकेको वामपन्थ हुन सक्ला ।

जस्तै, वैद्य, विप्लव र आहुति समूह चरम वामपन्थ । प्रचण्ड, नेतृत्वको माओवादी केन्द्र र माधव नेपाल समूह मध्यमार्गी वामपन्थ र ओली नेतृत्वको एमाले समूह दक्षिणतिर झुकेको वामपन्थ ।

यसको ठीक उल्टो– स्वतन्त्रता छ, समानता छैन– त्यो उदारवाद हो । दक्षिणपन्थ हो । नेपाली कांग्रेसजस्तो हो । यसभित्र पनि चरम, मध्य र वामतिर झुकेको दक्षिण हुन सक्दछ । जस्तो, अझै हिन्दू राज्य र संवैधानिक राजतन्त्रको कुरा गर्ने कांग्रेसी समूहहरू चरम दक्षिणपन्थ । अहिलेको संविधान र प्रणाली नै अन्तिम, पुग्दो र आदर्श ठान्ने शेरबहादुर देउवा र रामचन्द्र पौडेलजस्ता मध्यमार्गी दक्षिणपन्थ । अहिलेको संविधानसँग असन्तुष्ट प्रदीप गिरि, गगन थापाजस्ता अझै संवैधानिक सुधार चाहनेहरू वामतिर झुकेका दक्षिणपन्थ ।

जुन राजनीतिक विचारधारामा स्वतन्त्रता र समानता दुवै छैन, हुँदैन– सम्बर्द्धनवाद, फासीवाद, धार्मिक कटट्रतावाद आदि पश्चपन्थ, प्रतिगमन हो । नेपालमा राप्रपा र विवेकशील–साझाको रवीन्द्र मिश्र समूहलाई रंगावलीको यो प्रकोष्ठमा राख्न सकिन्छ ।

समानता र स्वतन्त्रता दुवै छ– समाजवाद हो । अग्रपन्थ हो । समाजवादसँगै महिलावाद, संघवाद, जैविकतावादी विचारधारलाई रंगावलीको यो प्रकोष्ठमा राख्न सकिन्छ ।

अग्रगमन (फ्रन्टिज्म) राजनीतिक रंगावलीको त्यस्तो विन्दु हो, जसले समानता र स्वतन्त्रता बीच कुनै एक रोज्दैन, दुवै सँगै रोज्छ । लोकतन्त्र र समाजवादमध्ये कुनै एक रोज्दैन, दुवै सँगै रोज्छ । माथि प्रयोग भइसकेको गतिशील सन्तुलनको सिद्धान्त यहाँनेर आकर्षित हुन्छ । अग्रगमन भनेको हरेक दुई उत्तिकै महत्वपूर्ण प्रवर्ग बीचको गतिशील सन्तुलन (डाइनामिक ब्यालेन्स) हो । दुईमध्ये कुनै एक हैन, दुवै सँगै र गतिशील सन्तुलनमा हुनु अग्रगमन हो ।

देब्रे र दाहिने आँखामध्ये कुनै एक रोज्न सकिएला ? सकिँदैन । देब्रे र दाहिने खुट्टामध्ये कुनै एक रोज्न सकिएला ? अवश्य सकिँदैन । मुटु र फोक्सोमध्ये कुनै एक रोज्न सकिएला, बिलकुलै सकिँदैन । ठीक त्यस्तै, ‘स्वतन्तता’ र ‘समानता’, ‘राज्य’ र ‘बजार’, ‘व्यक्तिवाद’ र ‘सामूहिकतावाद’ ‘लोकतन्त्र’ र ‘समाजवाद’ जस्ता प्रवर्गबाट कुनै एक रोज्न सकिन्न । जस्तै, ‘लोकतन्त्र’ र ‘समाजवाद’ बनाउँदा समाजवाद छ, लोकतन्त्र छैन– साम्यवाद हो । वामपन्थ हो । लोकतन्त्र छ, समाजवाद छैन– उदारवाद हो ।

दक्षिणपन्थ हो । लोकतन्त्र र समाजवाद दुवै छैन– सम्बर्द्धनवाद, फासीवाद, धार्मिक कटट्रतावाद आदि हुन् । पश्चपन्थ हो । लोकतन्त्र र समाजवाद दुवै छन्– त्यो सामाजिक जनवाद हो । अग्रपन्थ हो ।

जसरी मान्छे– दाहिने र देब्रे दुवै खुट्टाको चाल मिलाएर ठमठम अगाडि हिंड्छ भने त्यो अग्रगमन हो । त्यसरी हिंड्नु उचित ठान्ने दृष्टिकोण नै अग्रपन्थ (फ्रन्टिज्म ) हो । देब्रे खुट्टाले एक खुट्टे हिंड्छ भने त्यो वामपन्थ हो । दाहिने खुट्टाले एक खुट्टे हिंड्छ भने त्यो दक्षिणपन्थ हो । दुवै खुट्टाले ढाडको दिशातिर पछाडि हिंड्छ भने त्यो पश्चगमन, पश्चपन्थ हो । यस्तो तर्कशास्त्रमा अग्रपन्थको स्थान वामपन्थको भन्दा बिलकुलै फरक र प्रस्ट देख्न सकिन्छ ।

देब्रे खुट्टाले मात्र केहीबेर अगाडि हि‌ंड्न नसकिने हैन, सकिन्छ । देब्रे एक खुट््टामा पनि गति हुन सक्दछ तर लामो समय सन्तुलन हुन सक्दैन । तसर्थ वामपन्थको पतन कुनै न कुनै विन्दुमा पुगेर अनिवार्य, अपरिहार्य हुन्छ । देब्रे एक खुट्टाले कहिबेर अगाडि हिंडेर थाकेजस्तो वा लडेजस्तो, वामपन्थ थाक्छ, लड्छ । सोभियत संघ र पूर्वी युरोपमा त्यसरी नै वामपन्थ थाकेको, लडेको, ढलेको हो ।

ठीक त्यसरी नै दक्षिणपन्थ पनि दाहिने खुट्टाले एक खुट्टे हिंडेजस्तै हो । दाहिने एक खुट्टामा पनि गति हुन्छ तर सन्तुलन हुँदैन । केहीबेर हिंड्न सकिए पनि लामो हिंड्न सकिँदैन । देब्रे एक खुट्टाजस्तै दाहिने एक खुट्टाको यात्रा पनि थाक्छ, लड्छ, ढल्छ । उदार लोकतन्त्र र पुँजीवादी अर्थतन्त्रमा बारम्बार संकट आउनुको कारण यही हो ।

पश्चपन्थ त आफैंमा एक अप्राकृतिक यात्रा वा दुर्भाग्य हो । पश्चपन्थमा भने एक सन्तुलन हुन्छ, गति हुँदैन । जसरी मान्छे पछाडिको दिशामा हिंड्न सक्दैन, मोटर गाडीको ब्याक गियरजस्तो हिंडे पनि कहिलेकाहीं थोरै हिंड्न सक्छ । सधैंं पछाडि कुनै पनि समाज र राज्य हिंड्दै हिंड्दैन । हिंडे त्यो कुनै न कुनै दुर्घटनामा पुग्छ ।

तसर्थ स्वाभाविक गति र स्वाभाविक सन्तुलन जहिल्यै अग्रपन्थसँग मात्र हुन्छ । अग्रगमन नै समाज र राष्ट्रको स्वाभाविक गति, प्राकृतिक यात्रा र सहज सन्तुुलन हो । अग्रगामी दृष्टिकोणबाट मात्र अर्थतन्त्रको विकास, शासनको गुणस्तर र सामाजिक सामञ्जस्यता हासिल गर्न सकिन्छ । अग्रगमनको सरल अर्थ हो– मान्छेले देब्रे र दाहिने खुट्टाको सन्तुलन मिलाएर अगाडि हिंडेजस्तो यात्रा ।

‘अग्रपन्थ’ अघि यस्तो अवधारणालाई नववामपन्थ (न्यू लेफ्ट) भनिन्थ्यो । ‘नववामपन्थका पिता’ मानिएका हवार्ड माक्र्यूज भन्थे– ‘पुँजीवादको सीमा र साम्यवादको घेरा नाँघ्न सक्ने राजनीतिक चेतना नै नववामपन्थ हो ।’ उनी अगाडि भन्छन्– ‘क्रिटिकल मार्क्सवाद र र्‍याडिकल डेमोक्रेसीको संयुक्त रूप न्यू लेफ्ट हो ।’

तसर्थ अग्रगामी शक्तिले आफूलाई अब वामपन्थी र साम्यवादी भन्न मिल्दैन । वामपन्थ र साम्यवादसँग निर्णायक सम्बन्धबिच्छेद गरेर मात्र साँचो अग्रगामी र समाजवादी हुन सकिन्छ । नववामपन्थी दृष्टिकोणमा साम्यवाद ‘पुरानो वामपन्थ’ हो । माक्यूर्ज भन्थे– ‘पुरानो वामपन्थको सबैभन्दा ठूलो समस्या वैचारिक प्राधिकारमा विश्वास हुनु, औपचारिक, अनौपचारिक तबरले त्यसमा सीमित भएर संसारलाई हेर्नु र स्वतन्त्रताको सौन्दर्य अनुबोध नहुनु’ हो । यस दृष्टिकोणलाई सामान्य प्रस्थानविन्दु बनाउँदा ‘वामपन्थ’ र ‘अग्रपन्थ’ बीचको भिन्नतालाई निम्नानुसार व्यक्त गर्न सकिन्छ ।

एक– वामपन्थले मार्क्सवाद, लेनिनवाद, स्टालिनवाद, माओवाद, क्यास्त्रोवाद, जुछे विचारजस्ता अनेक सिद्धान्तलाई वैचारिक प्राधिकार मान्दछ । अग्रपन्थले कुनै पनि व्यक्तिको नाममा बनेका सिद्धान्तलाई मार्गदर्शक मान्दैन, सन्दर्भ सामग्री मात्र मान्छ । अग्रपन्थले अरू दर्शन र दार्शनिकहरूलाई जस्तै मार्क्सवादलाई पनि वैचारिक उत्प्रेणा, दार्शनिक सन्दर्भस्रोत मान्दछ तर प्राधिकार वा मार्गदर्शक सिद्धान्त मान्दैन । मार्क्सवादको दार्शनिक पक्ष द्वन्द्ववादलाई अग्रपन्थले पनि अस्वीकार गर्दैन । तर मार्क्सवादका आर्थिक, सामाजिक र साँस्कृतिक मान्यतालाई जस्ताको त्यस्तै स्वीकार गर्दैन । लेनिनवाद, स्टालिनवाद, माओवाद आदि अनेक साम्यवादी सिद्धान्तकारका विचारलाई प्राधिकार वा मार्गदर्शक विचार मान्दैन ।

दुई– वामपन्थ उदार प्रतिनिधिमूलक लोकतन्त्रको विरुद्धमा हुन्छ । त्यसले उदार लोकतन्त्रलाई ‘पुँजीवाद’ भन्दछ । वामपन्थले लोकतन्त्र र पुँजीवादबीच भिन्नता देख्दैन ।

लोकतन्त्रको साटो सोभियत वा कम्युन वा संयुक्त जनवादी अधिनायकत्वमा आधारित राजनीतिक प्रणाली, वैज्ञानिक समाजवादजस्ता प्रणालीको पैरवी गर्दछ । तर, अग्रपन्थले उदार लोकतन्त्रको निन्दा गर्दैन बरु त्यसलाई ‘राजनीतिक लोकतन्त्र मात्र हो’ भन्दछ । राजनीतिक लोकतन्त्रमा, आर्थिक लोकतन्त्र, सामाजिक लोकतन्त्र र पर्यावरणीय लोकतन्त्रमसमेत थपेर लोकतन्त्रको एक नयाँ प्रारूप ‘प्रत्यक्ष–सहभागितामूलक/समानुपातिक–समावेशी लोकतन्त्र’ निर्माण गर्दछ ।

तीन– वामपन्थले वर्ग र वर्गसंघर्षलाई क्रान्तिको केन्द्रीय अवधारणा मान्दछ । आर्थिक आधार र उत्पादन पद्धतिले उपरीसंरचना निर्धारित हुने ठान्दछ । तर अग्रपन्थले मानव समाजमा संघर्ष र क्रान्तिका सवालहरू बहुआयामिक हुन्छन्, त्यसमध्ये ‘वर्ग’ एक महत्वपूर्ण आयाम हो तर सम्पूर्ण हैन । वर्गका अतिरिक्त जाति, वर्ण, लिङ्ग, नश्ल, धर्म, सभ्यता, संस्कृति, पर्यावरण आदि क्रान्तिका अवधारणा हुन सक्दछन् भन्ने मान्यतालाई वामपन्थले मान्दछ । मानिसलाई केवल धन र वर्गको आधारमा मात्रै हैन, अहम्, यौन–प्रेम, पहिचान, शक्ति, प्रज्ञान, अध्यात्म आदि अनेक प्रवर्गबाट बुझ्न र व्यवहार गर्न खोज्दछ ।

चार– वामपन्थले लेनिनको ‘जनवादी केन्द्रीयता’ लाई प्राधिकारपूर्ण संगठनात्मक सिद्धान्त मान्दछ । अग्रपन्थले आमचेतना, स्वस्फूर्त तथा स्वयंसेवी सहभागिता, स्वसाशित र स्वायत्त संगठनहरूको श्रृंखला, सहभागितामूलक लोकतान्त्रिक नेतृत्व प्रणालीमा विश्वास गर्दछ । गैरकेन्द्रीकरण, केन्द्रभंग, बहुकेन्द्र–सन्तुलन, लोकतान्त्रिक संहिताजस्ता अवधारणमा विश्वास गर्दछ ।

पाँच– वामपन्थ मानवअधिकार आन्दोलन, पेशागत आन्दोलनको स्वायत्तता र नागरिक समाजको भूमिकाप्रति खासै सकारात्मक हुँदैन । ती आन्दोलनलाई पार्टीको बृहत्तर हितमा उपयोग गर्ने मनसाय राख्दछ । अग्रपन्थले यस्ता आन्दोलनको मौलिक अस्तित्वलाई उच्च महत्व दिन्छ । वामपन्थले निर्देशित जनसंगठन तथा क्षेत्रगत संगठन बनाउँछ । अग्रपन्थले स्वस्फूर्त पेशागत तथा नागरिक आन्दोलनका मुद्दा आफूमा समाहित गरी जनसमर्थन हासिल गर्ने प्रयत्न गर्दछ ।

छ– वामपन्थले बल प्रयोगको सिद्धान्त, हिंसात्मक संघर्ष र राज्यको वर्गचरित्र, वर्गशत्रु र वर्गदमनजस्ता अवधारणामा विश्वास गर्दछ । सर्वहारा वर्गको अधिनायकत्व, भेनगार्ड पार्टी र सशस्त्र संघर्ष अनिवार्य शर्त हुन्छन् । राज्यको जन्म वर्गस्वार्थमा आधारित हुँदा विरोधी वर्ग र शक्तिको दमन गर्नु स्वाभाविक मान्दछ । अग्रपन्थले राज्यको चरित्र वर्गीय मात्र हैन, वर्गीय र वर्गोत्तर– दुवै हुने ठान्दछ । अग्रपन्थले विरोधी वर्ग, विचार र शक्तिलाई दमन गर्ने हैन, रचनात्मक प्रतिस्पर्धा गर्ने सोचबाट हेर्दछ । वामपन्थ भेनगार्डिज्ममा आधारित हुन्छ, अग्रपन्थ ‘मास  र्‍याडिकलिज्म’ मा आधारित हुन्छ ।

सात– वामपन्थले उत्पादन साधनको राष्ट्रियकरण र शक्तिको संकेन्द्रणमा जोड दिन्छ । अग्रपन्थले बजार अर्थतन्त्रमाथि बलियो नियमन, उत्पादन साधनको न्यायपूर्ण पुनर्वितरण, प्रगतिशील कर दर र शक्तिको निक्षेपणमा जोड दिन्छ । वामपन्थले उत्पादन स्वामित्वलाई निजी र राजकीय गरी दुई भागमा बाँड्दछ । अग्रपन्थले निजी, सार्वजनिक, सहकारी र सामुदायिक गरी चार भागमा बाँड्दछ । स्वामित्वका यी पक्षहरूबीच गतिशील सन्तुलन, सहकार्य र प्रतिस्पर्धाको माग गर्दछ । वामपन्थले राज्यकेन्द्रित समाजवाद वा मिश्रित अर्थतन्त्रको पैरवी गर्दछ भने अग्रपन्थले ‘सामाजिक बजार अर्थतन्त्र’ को पक्षपोषण गर्दछ ।

साथै वामपन्थले समाज दुई ध्रुवीय, बुर्जुवा र सर्वहारा वर्गमा विभाजित हुने ठान्दछ । मध्यम वर्गलाई पेटी बुर्जुवा र अवसरवादी वर्गको रूपमा निन्दा गर्दछ । अग्रपन्थले समाजमा मध्यम वर्गको स्थान र भूमिकालाई भिन्नै महत्व दिन्छ । समाजको उद्यमशीलता, व्यवसायिकताको विकासमा मध्यम वर्गको विशिष्ठ भूमिका हुने स्वीकार गर्दछ । समावेशी विकास, समतामूलक समृद्धि, समन्यायिक वितरण, दीगोपन र आत्मिक उन्नयन अग्रपन्थका आर्थिक सोचहरू हुन् ।

वामपन्थ, दक्षिणपन्थ, पश्चपन्थ र अग्रपन्थ– यो चार कोणीय रंगावली प्रयोग गर्ने हो भने नै नववामपन्थ भन्ने अवधाणा हराउँछ र त्यसको स्थान ‘अग्रपन्थ’ ले लिन्छ । त्यसैगरी दक्षिणपन्थ र चरम दक्षिणपन्थ भन्ने विभाजन हराउँछ, उदारवाद लोकतन्त्रवादीहरू ‘दक्षिण’ र चरम दक्षिणपन्थीहरूलाई ‘पश्चपन्थ’ भन्न सकिन्छ ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?