
२९ असार, काठमाडौं । नेपाली युवासँग प्रतिव्यक्ति १५ लाख रुपैयाँ असुली गरेर संयुक्त राष्ट्रसंघीय कार्यक्रममा स्पेन पुर्याउने गिरोहमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६३ अनुसार अनुसन्धान हुनसक्ने देखिएको छ ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका एक अधिकृतका अनुसार, पहिले नेपालमा मानव तस्करीलाई सम्बोधन गर्ने कानुन थिएन । तर, ३० चैत २०८० मा भएको यो ऐनको संशोधनले ‘विकासका लागि वित्तको चौथो अन्तर्राष्ट्रिय सम्मेलन’का सहभागी बनाएर स्पेन लैजाने गिरोहमाथि अनुसन्धान गर्ने बाटो खुला गर्ने उनी बताउँछन् ।
संशोधिन ऐनको दफा ४ मा रहेको ‘मानव बेचबिखन र ओसारपसार गरेको मानिने’ शीर्षकको उपदफा २ (ग) मा मानव तस्करीबारे व्याख्या गरिएको छ ।
‘प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै गैरकानूनी लाभ वा अन्य फाइदा लिने उद्देश्यले बदनियतपूर्वक कुनै नेपाली नागरिक, विदेशी वा आप्रवासी व्यक्तिलाई नक्कली वा झुठ्ठा कागजात बनाई वा झुक्याई विदेश लेजाने वा त्यस्तो व्यक्तिको आफ्नो मुलुक वा निज रहेको स्थानबाहेक अन्य मुलुकमा गैरकानूनी रुपमा प्रवेश गराउने मानव तस्करी सम्बन्धी कार्य गरे वा गराएमा’ मानव ओसारपसार गरेको मानिने भनिएको छ ।
असुलीपछि नक्कली कागजात तयार गरेर विभिन्न गैरसरकारी संस्था (एनजीओ) सँग आबद्ध भएको व्यक्ति बनाउँदै यूरोप पठाइएका कारण यसमा मानव तस्करीको मामिलामा अनुसन्धान गर्न सकिने ती अधिकृत बताउँछन् ।
‘कोही मान्छे अवैध बाटोको प्रयोग गरेर गलत उद्देश्यका साथ विदेश जान्छ, भिजिट भिसाको नाममा गएर त्यहीँ हराउँछ वा त्यो भए वापत जोखिम हुनसक्छ भन्ने पहिल्यै जानकारी हुँदा हुँदै पैसा बुझाइरहेको छ भने त्यो नै मानव तस्करी हो’, ब्यूरोमा काम गरेका पूर्वप्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थी भन्छन्, ‘रकम बुझाएर पनि जान पाएकाले समेत आफूहरु ठगीमा परेको भन्दै उजुरी दिए भने पनि त्यो बेग्लै अनुसन्धानको विषय बन्छ ।’
स्पेनको सेभियामा ३० जुनदेखि २ जुलाईसम्म चलेको सम्मेलनमा सहभागी गराउने र त्यहीँ बस्ने व्यवस्था मिलाउने भन्दै रकम असुली गरेर असम्बन्धित व्यक्तिहरु विदेश पठाइएका थिए ।
१४ असारमा प्रधानमन्त्री केपी शर्मा ओली समेत स्पेनका लागि उडेकै विमानमार्फत मड्रिड पुगेका एक युवाका अनुसार, असुली गरेर नेपाली युवालाई विदेश लगिएको विवरणसहित समाचारहरु आएपछि हालै उनीहरुलाई विचौलियाले समेत सम्पर्क गरेका छन् ।
‘केही साथीहरुलाई फर्किने भए आफूहरुले निःशुल्क टिकट काटिदिने भनेका रहेछन्, मलाई पनि फोन आएको थियो’, ती युवाले अनलाइनखबरसँग भने, ‘तर, यहाँ आइसकेका धेरैले नफर्किने भनेका छन् ।’
संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ अफ डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा गैरसरकारी संस्थातर्फबाट सहभागिताका भन्दै उनीहरुको नाम वेवसाइटमार्फत रजिष्ट्रेसन गराइएको थियो ।
त्यसरी दिइएको आवेदनमार्फत उनीहरुको नाममा कार्यक्रमको निम्तो आएको थियो । र, त्यो निम्तो देखाएर उनीहरुले दिल्लीस्थित स्पेनको दूतावासबाट भिसा पाएका थिए ।
पछि भिसा लिएकाहरुको पृष्ठभूमि शंकास्पद देखिएपछि ५५ जनाको सूची एयरलाइन्सका कर्मचारीहरुलाई पठाइएको थियो भने उनीहरुलाई रोक्न भनिएको थियो । त्यसदिन खानेपानी मन्त्री प्रदीप यादवसहित केही अधिकारीहरु सोही कार्यक्रममा सहभागी हुन स्पेन प्रस्थान गर्दै थिए ।
‘त्यो रातमा विभिन्न एयरलाइन्सबाट स्पेन भिसा भएका २५ जना यात्रुहरुलाई उतारिएको थियो, ती सबैले यूएन सम्मेलनमा सहभागी हुन सेभिया जाँदैछौं भनेर दाबी गरेका थिए’, एयरलाइन्सका अधिकारीहरुलाई पठाइएको सूचनामा भनिएको छ, ‘तीमध्ये केहीले नक्कली एनजीओको पत्र त केहीले सम्मेलनमा भाग लिने नै नक्कली पत्र बोकेका थिए ।’
तीमध्ये कतिपयले आफू किन स्पेन जान लागेको भन्ने समेत स्पष्ट जानकारी दिन नसकेको भनिएको छ । केही यात्रुले अंग्रेजी समेत राम्रोसँग बोल्न नसकेको भनिएको छ । अध्यागमन विभागका अधिकारीहरु ती व्यक्तिलाई अध्यागमन जाँचभन्दा अगाडि नै रोकिएको बताउँछन् ।
तर, स्पेन जान रकम बुझाएका एक युवाले भने उनलाई अध्यागमन जाँचका क्रममा भिसा रद्द भएको भन्दै पासपोर्टमा समेत केरेर फिर्ता दिइएको बताए ।

यसरी स्पेन छिर्न नपाएकाहरुले चाहिँ आफूहरुबाट असुली गरिएका रकम फिर्ता गरिदिन भन्दै ताकेता गरिरहेका छन् । यस्तोमा उनीहरुले ठगीसम्बन्धी कसुरमा जाहेरी दिए प्रहरीले अनुसन्धान अघि बढाउन सक्ने फौजदारी अपराधका मामिलाका जानकार वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल बताउँछन् ।
‘पैसा लिएर नपठाएको सन्दर्भमा त उनीहरुलाई पूर्वजानकारीमै रकम दिएको भए पनि त्यो मान्छेले प्रलोभन वा आश्वासनमा परेको थियो भनेर जाहेरी परेको थुप्रै उदाहरणहरु छन्’, उनी अनलाइनखबरसँग भन्छन्, ‘यसमा पनि पीडितहरु आएपछि ठगी, आपराधिक विश्वासघात, मानव बेचबिखन तथा ओसारपसार ऐनविपरितको कसुर सबैमा मुद्दा लैजान सक्छन् ।’
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख एसएसपी कृष्ण पंगेनी अहिलेसम्म स्पेन गएको विषयमा कुनै पक्षबाट औपचारिक वा अनौपचारिक रुपमा जानकारी नआएको बताउँछन् ।
‘उजुरी आयो भने त्यो छानबिनको विषय बन्छ, तर त्यसका लागि पीडित हामी कहाँ आउनु जरुरी हुन्छ’, उनले अनलाइनखबरसँग भने, ‘यो विषयमा के भएको छ मलाई थाहा छैन, तर नक्कली कागजात खडा गरेर जान नपाउने ठाउँमा मानिस लगिएको छ भने त्यसमा मानव तस्करी आकर्षित हुनसक्छ ।’
फेरिएको मानव तस्करीको शैली
मानव बेचबिखन अनुसन्धान ब्यूरोका पूर्वप्रमुख जीवन श्रेष्ठका अनुसार, पहिले मानव बेचबिखन हुनलाई ललाइफकाइ विभिन्न मुलुकमा पुर्याएर बेच्नु भन्ने बुझिन्थ्यो । तर, अहिले मानव बेचबिखन तथा ओसारपसारको शैली फेरिएको उनी बताउँछन् ।
अहिले बैदेशिक रोजगारीका नाममा विभिन्न मुलुकमा पुर्याउने, त्यहीँ अलपत्र पार्ने र कतिपय अवस्थामा घरेलु श्रमिकका रुपमा त्यहाँका साहुलाई बेच्नेहरुको संख्या बढ्दो छ । प्रहरीको तथ्यांकले पनि त्यही देखाउँछ । अधिकृतहरुका अनुसार, ललाइफकाइ भारतमा पुर्याएर कोठीमै बेचिएका घटना निकै कम छन् ।
अनेक प्रलोभन र बहानामा देखाएर नेपाली नागरिकलाई विभिन्न मुलुकमा अलपत्र बनाउने क्रम बढ्दो छ । दुबईलगायतका खाडी मुलुकमा भिजिट भिसामा पठाउने र त्यहाँ नेपाली नागरिक अलपत्र पर्ने क्रम समेत तीब्र छ ।
श्रम, आप्रवासन मामिलामा अनुसन्धान गर्दै आएका अधिवक्ता अनुराग देवकोटाका अनुसार, पछिल्लो समय नेपालबाट विभिन्न बहानामा युरोपतर्फ जाने क्रम बढ्दो छ । ‘हामीले एउटा अध्ययन समेत गरिरहेका छौं, त्यसले पहिले खाडी मुलुकतिर हुने माइग्रेसन अहिले युरोपतिर सरिरहेको देखिन्छ’, उनी भन्छन्, ‘तथ्यांक हेर्नुहुन्छ भने पनि १० वर्षमा युरोपसँग जोडिएको ठगीका घटना १७ प्रतिशतले बढेको छ ।’
स्पेन छिर्न खोजेका युवाले समेत दिल्लीस्थित दूतावासबाट सेन्जेन मुलुक (युरोपका जर्मन, बेल्जियन, फ्रान्सलगायत २९ देश छिर्न मिल्ने भिसा) पाएका थिए । र, त्यसरी पुगेकामध्ये कतिपय स्पेन छाडेर अन्य मुलुक पुगिसकेको उनीहरुको फेसबुक पोष्टले देखाउँछ ।
‘यो पृष्ठभूमिमा प्रहरी अनुसन्धान हुने भनेको पैसा नपाउनेले आएर उजुरी दिँदा मात्र हो’, ब्यूरोका एक अधिकृत भन्छन्, ‘पीडितविना यो घटनालाई कानुनी दायरामा ल्याउन गाह्रो हुन्छ ।’
प्रतिक्रिया 4