+
+

सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १०:५७

२४ कात्तिक, काठमाडौं । सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

एमाले कार्यकर्ता र सत्तारुढ गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले जानकारी दिए ।

सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बीपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो । कार्यक्रममा सहभागी हुन पोखरेल मंगलबार नै सिन्धुलीगढी गएका थिए ।

तर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी दल आवद्ध गठबन्धनका नेता कार्यकर्ताले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाए । गठबन्धनमा रहेका दलका कार्यकर्ताहरुले लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कलाई घेरेका थिए भने एमालेका कार्यकर्ताहरु पनि ठूलो संख्यामा भेला भएका थिए । अप्रिय घटना हुन नदिन त्यहाँ सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो ।

सहमतिको लागि प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा पनि सहमति जुट्न सकेको थिएन । त्यसपछि जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

सिन्धुलीगढीमा हुने विजयोत्सव समारोहमा भने सत्ता गठबन्धनले विरोध नजनाउने जनाएका छन् । सिन्धुलीगढीमा अंग्रेज सेनाविरुद्धको लडाइँमा गोरखाली फौज विजयी भएको स्मरणमा हरेक वर्ष आजकै दिन त्यहाँ विजयोत्सव समारोह आयोजना हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?